पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ‘लक्ष्यभन्दा ६ महिना अगावै सकिन्छ काम’

काठमाडौँ । राष्ट्रिय गौरबको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य रफ्तारमा भइरहेको छ । हालसम्म विमानस्थलको भौतिक प्रगति ४२ प्रतिशत भएको छ । विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला लगायतका संरचनाहरु निर्माणको काम सम्पन्न भएको भइसकेको छ । आर्थिक वर्ष २०७८/०७९ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको र चालु आर्थिक वर्षमा ७० प्रतिशत भन्दा बढी काम सकिने गरी काम भइरहेको आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए । अहिले विमानस्थल निर्माण कार्यमा ४ सय ५० जना खटिइरहेका छन् । करिब २२ सय करोड लगानीमा निर्माण हुने विमानस्थलको हालसम्म ६ सय करोड वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा आयोजनाका लागि ६ सय ३० करोड विनियोजन गरिएको थियो, जसको ६९ प्रतिशत अथवा ४ सय ३५ करोड बजेट खर्च भएको हो । आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारको स्रोतबाट ५० करोड छुट्याएको थियो, त्यसको ८५ प्रतिशत अथवा ४२ करोड वित्तीय प्रगति नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्नेछ । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले सन् २०१४ मे मा विमानस्थल निर्माणको ठेक्का पाएको थियो । अन्तराष्ट्रिय उडड्यन संस्था(आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७ सय ५७ एयरबस वा सो सरहका जहाज आवतजावत गर्न सक्ने प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए । पौड्यालले हाल आयोजना कार्यान्वयनमा आउटर पेरिफेरी रोडको लागि अधिग्रहणमा परेको जग्गामा सुकुम्वासीलाई हटाउन, आयोजना सञ्चालनमा आवश्यक फ्युल फाम र डेडिकेटेड फिडर लाईनको ब्यबस्था हुन समय लाग्ने लगायतका समस्याहरु रहेको बताए । उनले स्थानीय वडा कार्यालयसँग समन्वय गरी सुकुम्वासी व्यवस्थापनको लागि पहल गरिएको र फ्युल फामको लागि नेपाल आयल निगमलाई हाल १४ रोपनी जग्गामा कार्य गर्न पत्राचार गरेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले केही दिन अघि मात्रै विमानस्थलको अनुगमन गरेका थिए । अनुगमनपछि विमानस्थलको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् । पोखरा विमानस्थलको कार्य तीव्र गतिमा भइरहेको छ, उनले भने-‘सन् २०२१ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ, यदि अहिलेकै अवस्थामा काम निरन्तर भयो भने हामी लक्ष्य भन्दा ६ महिना अगाडि नै काम सम्पन्न गरी सक्छौं ।’

श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति

काठमाडाैं । निजी वायुसेवा कम्पनी श्री एयरलाइसले अन्तराष्ट्रिय उडानको अनुमति पाएको छ । कम्पनीले बुधबार भारत र बंगलादेशका गरी पाँच शहरका लागि नियमित उडानको अनुमति पाएको जनाएको हो । कम्पनीका प्रवक्ता अनिल मानन्धरले भारतको कोलकत्ता, बेङलोर, दिल्ली, अहमाबाद र बंगलादेशको ढाकाका लागि उडान अनुमति पाएको बताए । उडानका लागि अन्तराष्ट्रिय रुपमा केहि मापदण्डहरु पूरा गर्नु पर्ने भएकोले अब छिट्टै नै उडान भर्न शुरु गर्ने उनले बताए । अहिले श्री एयरलाइन्सले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमाम उडान भरिरहेको छ । यस कम्पनी सँग अहिले चार वटा जेट जहाज रहेका छन् । श्री सँग अहिले ७० सिटे र ५० सिटे जहाज रहेका छन् । हालका गन्तव्यहरुबाट कम्पनीले राम्रो नाफा गर्न नसक्ने भएपछि भारत र बंगलादेश रोजेको मानन्धरले बताए । आउँदो शनिबार एक टर्बो प्रोब क्यू ४०० जहाज आउने उनले बताए । यो कम्पनी हेलिकप्टर कम्पनी पनि हो । कम्पनीका अहिले ६ वटा हेलिकप्टर छन् । जसले हेलिकप्टर मार्फत विगत २० वर्षदेखि सेवा दिदै आएको छ । जहाजका लागि भने दुई वर्ष देखि सेवा दिदै आएको मानन्धरले बताए ।

पर्यटन वर्ष २०२० को प्रचार–प्रसारमा निस्के साइकलयात्री

गोरखा । सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुगेका छन् । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्केका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुगेका हुन् । साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान गरेको छ । पर्यटन वर्ष २०२० को प्रचार–प्रसार एवं ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नारा लिएर आफू साइकलयात्रामा निस्किएको श्रेष्ठले बताए । गएको चैत ३ गतेबाट यात्रा शुरु गरेका श्रेष्ठ १४९ दिन लगाएर गोरखा आइपुगेका थिए । श्रेष्ठले आउँदो असोजभित्रै देशका ७७ वटै जिल्लाको भ्रमण गरेर सक्ने लक्ष्य लिएको बताएका छन् । “साइकलको अगाडि दायाँबायाँ राष्ट्रिय झण्डा फहराउँदै, नेपाली राष्ट्रिय पोशाक दौरासुुरुवालमा साइकलयात्रामा हिँडेका श्रेष्ठले गोरखा सदरमुकाममा जिल्लाका ऐतिहासिक एवं धार्मिकस्थलको बारेमा जानकारीसमेत लिएका छन् । यात्राका क्रममा जिल्ला सदरमुकाममा पुगेर त्यहाँ रहेका उद्योग वाणिज्य सङ्घ, विद्यालय, क्याम्पस विद्यार्थी एवं पत्रकार महासङ्घसँग अन्तक्र्रिया गरेका हुन् । गोरखाका पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले देश भ्रमणका लागि साइकल सस्तो यात्रा भएको र स्वास्थ्यका लागि समेत फाइदा भएकाले साइकलयात्रा रोजेको बताए । रासस