भ्रमण वर्षको प्रचारमा पर्यटनमन्त्रीको आग्रह- ‘फेसबुक, ट्वीटर र इन्स्टाग्राममा लोगो राखिदिनोस्’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि आम समुदायलाई आग्रह गरेका छन् । नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पु¥याउनका लागि वेब साइट, फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरेका हुन् । उनले एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबैको सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दै उक्त अभियानलाई विश्वभर पुर्याउनका लागि सहयोगको आह्वानसमेत गरेका छन् । ‘स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि सामाजिक सञ्जाललगायतमा यस अभियानको लोगो राखी दिनहुन तथा सार्वजनिक एवम् निजी क्षेत्रका सङ्घसंस्थाले पनि यस कार्यलाई उत्साहका साथ दिनहुन हार्दिक अनुरोध गर्दछु’, मन्त्री भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भ्रमण वर्षलाई लक्षित गर्दै निगमको धमाधम परीक्षण उडान

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ । भ्रमण वर्षलाई लक्षित गर्दै निगमले आन्तरिकतर्फ योजनाबद्ध तयारी एवम् व्यवस्थापनका साथ भएका जहाजलाई पूर्णक्षमतामा उडाउने गरी विभिन्न गन्तव्यमा परीक्षण उडान गरिरहेको हो । भ्रमण वर्ष अभियानलाई सहयोग पुर्याउने उद्देश्यले निगमले आन्तरिक उडानलाई विस्तार तथा प्रभावकारी सञ्चालनका लागि परीक्षण उडान गरिरहेको निगमका सह–प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिएका छन् । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भ्रमण वर्षलाई लक्षित गर्दै निगमको कार्यकारी समितिलाई आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिएका थिए । सोहीअनुरूप निगमले आफ्नो सक्रियता बढाउँदै आन्तरिकतर्फ परीक्षण उडान शुरु गरिएको हो । निगमले यही साउन १८ गते चौरजहारी र ताप्लेजुङमा परीक्षण उडान गरिएको थियो । त्यस्तै साउन १९ र २० गते रुकुम र भोजपुर तथा साउन २१ र २२ गते बाजुरा र तुम्लिङटार परीक्षण उडान गरेको थियो । यी गन्तव्यमा निगमका ‘वाई–१२ ई’ जहाजबाट परीक्षण उडान गरिएको सह–प्रवक्ता मिश्रले बताए । उनका अनुसार भोलि सोमबार फाप्लु र २८ गते रुम्जाटार परीक्षण उडान गर्ने निगमको योजना रहेको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकिएको छ । वाई–१२ जहाजबाट क्याप्टेनद्वय आङ्नुरी शेर्पा र फिजोनाथ नेपाली र सह–चालक महेशराज पाण्डेले परीक्षण उडान गर्नेछन् । निगमसँग १४ सिट क्षमताका चार वाई–१२ जहाज छन् । यी मध्ये अहिले दुई जहाज नियमित उडानमा छन् भने दुई प्राविधिक मर्मतको क्रममा रहेका छन् । निगमको ५८ सिट क्षमताका दुई ‘एम–६०’ जहाजमध्ये एक मात्र उडानमा छ । अर्को जहाज मर्मतको क्रममा छ । यसैबीच निगमले काठमाडौँ–लुक्ला सिधा उडानका लागि प्राधिकरणसँग उडान अनुमतिका लागि निवेदन दिएको छ । आगामी भदौ महिनादेखि लुक्लामा नियमित उडान गर्ने योजनाका साथ निगमले उडान अनुमति माग गरेको हो । हालको रामेछापबाट लुक्ला उडान गर्न समस्या परेको भन्दै निगमले काठमाडौँबाटै उडानका लागि अनुमति माग गरेको सह–प्रवक्ता मिश्रले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई मध्यनजर गर्दै अहिले रामेछापबाट विमानस्थलबाट लुक्ला विमानस्थलमा उडान गर्ने व्यवस्था गरिएको छ । देशभरका सबै विमानस्थलमा परीक्षण उडान गर्ने योजनाअनुरूप अब बाँकी रहेका विमानस्थलमा पनि यही महिनाभित्र परीक्षण उडान गरिनेछ । कुनैपनि गन्तव्यमा व्यावसायिक उडान गर्नु पहिला परीक्षण उडान गर्नुपर्ने हुन्छ । अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ । भ्रमण वर्ष नेपालको पर्यटन प्रवद्र्धनका लागि सर्वाधिक महत्वपूर्ण अवसर भएकोले निगमले रचनात्मक एवम सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्ने विशेष अवसरका रूपमा लिएको जनाउँदै त्यसका लागि सम्पूर्ण शक्ति लगाउनेतर्फ प्रयास केन्द्रीत गरेको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । अन्तर्राष्ट्रियतर्फ निगमले प्रदान गरिरहेको सेवा प्रभावकारी रहेको सन्दर्भमा आन्तरिकतर्फ पनि योजनाबद्ध सुधारको काम अघि बढाएको जनाएको छ । रासस

पोखरामा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम सम्पन्न, ६६ युवा पर्यटनकर्मी सहभागी

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन(पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डको सहकार्यमा अगष्ट ९ र १० मा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम तथा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । पोखरास्थित गेट भोकेशनल फ्याब स्कुलमा आयोजित कार्यक्रममा ६६ जना युवा पर्यटनकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । पाटा नेपालले तालिम कार्यक्रम संचालनका लागि थाईल्यान्डस्थित विनिङ्ग एड्जका प्रबन्ध निर्देशक डा. बर्ट भान वालबिक लाई नेपाल आमन्त्रण गरेको थियो । कार्यक्रमलाई क्षेत्रीय होटल ब्यवसायी संघ चितवन, कैलाश ग्रुप नेपाल र गेट भोकेशनल फ्याब स्कुलले ह्स्पिट्यालिटी पार्टनर र बुद्ध एयरले एयरलाइन्स पार्टनरको रुपमा प्रायोजन तथा सहयोग गरेका थिए । ‘माईस टुरिज्म’ तथा ‘स्पेशल इन्टेरेस्ट टुरिज्म’को प्रवर्धन र बिक्री सम्बन्धी आवश्यक जागरुकता, ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने प्रमुख उद्धेश्यका साथ आयोजित कार्यक्रममा सहभागीहरुलाई पर्यटकहरुको आवश्यकता र बजारक्षेत्र अनुरुप प्याकेज निर्माण गर्ने बारे जानकारी गराइएको थियो । साथै प्रोडक्ट एवम् गन्तब्यलाई निरन्तर रुपमा गर्वका साथ दिगो एवम फाईदाजनक तवरबाट प्रबर्धन एवम् बिक्री गर्न सहभागी आफैले कार्यान्वयन गराउन र नतिजाहरु मुल्याङ्कन गर्न सक्ने आवश्यक विधि, उपकरणहरु र रणनीतिहरुबारे प्रशिक्षण गराइएको थियो । कार्यक्रमका प्रशिक्षक डा बर्ट भान वालबिकले कुनैपनि पर्यटक होटल, एयरलाइन्स, रेस्टुरेण्ट, ट्राभल एजेन्सी वा अन्य कुनै सेवा प्रदायकले होईनस बरु गन्तब्यको आकषणले आफ्नो यात्रा कार्यक्रम निर्धारण गर्ने बताए । नेपाल गन्तब्य प्रबर्धनका निम्ति सबै एकिकृत भई अघि बढेमा भ्रमण बर्ष २०२० ले पनि अपेक्षित उपलब्धि प्राप्त गर्न सक्ने धारणा ब्यक्त गरे । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिक्रित सुरेशसिहं बुडालले सहभागीहरु, सहयोगी संस्था एवम् प्रयोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै सहभागीहरुलाई पाटा नेपालको भावी कार्यक्रमहरु तथा अभियानहरुमा सहभागी हुन आमन्त्रण गरे ।