स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’
कमलकुमार बस्नेत काठमाडौं । कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगञ्जको सहर बीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ । कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रय स्थल हो । जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल चरा अध्ययनका लागि पनि प्रसिद्ध भएको बताउँछन् । विज्ञहरू यो ताललाई ‘बर्ड पार्क’ र ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने बताउँछन् । तर यही तालमा केही समयअघि मोटरबोट चलाउने प्रयास भएपछि स्थानीय, अधिकारकर्मी लगायतको विरोध पनि भयो । विरोधपछि डुङ्गा चलाउने योजना अलपत्र पर्यो । अहिले तालको एक छेउमा एउटा काठको डुङ्गा अलपत्र छ । न डुङ्गा चढ्न आउनेहरू छन् नत चलाउने मानिस नै देखिन्छन् । जैविक विविधता र पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्दै पर्यावरण जोगाउनमा कान्ति तालको भूमिका महत्त्वपूर्ण भएको जानकार बताउँछन् । विशेषगरी सारसका लागि यो क्षेत्र महत्त्वपूर्ण छ । सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोल हो । त्यसमध्ये पनि कान्ति ताल सबैभन्दा राम्रो बासस्थान भएको विज्ञको भनाइ छ । नेपालगञ्ज उपमहानगरको वडा नं २२ र २३ मा २५ बिघामा फैलिएको कान्ति ताल परम्परागत चराका लागि मात्रै नभई विभिन्न देशबाट बर्सेनि आउने विदेशी चराको पनि महत्त्वपूर्ण बासमा पर्छ । तालमा वर्षभरि नै दुर्लभ चराचुरुङ्गी बसोबास गर्नुका साथै जाडो तथा गर्मी छल्न विभिन्न देशबाट बर्सेनि चराहरू आउने गरेका छन् । फ्रेन्डस् फर वाइल्ड वाइल्ड लाइफ कन्जरभेसनका अध्यक्ष आशिष चौधरीका अनुसार नेपालगञ्ज आसपासमा यहाँजस्तो सिमसार अन्य ठाउँमा छैन । ‘यहाँ प्रकृति प्रेमीका लागि मात्र नभई जनावर र चराका लागि पनि उपयुक्त वातावरण छ, लामो समयदेखि यसलाई जोगाउन सकेकै कारण विभिन्न देशबाट यहाँ बर्सेनि चरा आइरहेका छन्,’ उनले भने । दुर्लभ चराको बासस्थान रहेको कान्ति ताल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि मोटरबोट सञ्चालनको प्रक्रिया सुरु भएपछि संरक्षणविद्ले चासो व्यक्त गर्दै उपमहानगरमै उक्त कार्य रोक्नका लागि निवेदन दिएका थिए । उनीहरूले तालमा मोटरबोट सञ्चालन गर्नुको साटो चरापार्क निर्माण गरी आम्दानी गर्न सकिने सुझाव पनि दिएपछि अहिले त्यसतर्फ चासो बढाइएको उनको भनाइ छ । मोटरबोट सञ्चालन भएमा पर्यावरणमा क्षति पुग्नुका साथै चराचुरुङ्गी यहाँबाट लोप हुने भएकाले उनीहरूको संरक्षणका लागि भए पनि मोटरबोट सञ्चालन गर्न नहुने उनीहरूको सुझाव छ । ‘तालमा मोटरबोट सञ्चालनका लागि लामो प्रयास भयो, तर बोट चढ्ने मानिस पनि भएनन्, त्यसपछि प्रयास भएको छैन, यो ताललाई अहिले प्राकृतिक रूपमै संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ,’ चौधरीले भने । चौधरी तालमा काठको डुङ्गा चलाउन समस्या नभए पनि मोटरबोट चलाउँदा त्यहाँको पारिस्थितक प्रणालीमा नै असर पुग्ने बताउँछन् । ‘पोखराको फेवातालमा पनि मोटरबोट चलाइएको छैन, काठको डुङ्गा नै चलाइएको छभने नेपालगञ्जको सानो तालमा मोटरबोट नै चलाउन जरुरी छैन, मोटरबोट चलाउँदा जीवाश्मा इन्धनका कारण जीव र पन्छीमा समस्या हुन्छ,’ उनले भने । चौधरीका अनुसार पछिल्लो समय सिमसारलगायतका क्षेत्र अतिक्रमणमा पर्दा धेरै प्रजातिका चराहरू सङ्कटमा पर्दै गएका छन् । ‘नेपाल सरकारले संरक्षित सूचीमा राखेका नौ वटामध्ये छवटा तराईमा पाइन्छन्, जसमध्ये बर्दियामा दुईवटा र बाँकेमा पाँचवटा प्रजातिका चरा भेटिन्छन्, कान्ति ताल पनि मासिने हो भने ती प्रजातिका चराको अस्तित्व नै सङ्कटमा पर्ने खतरा छ,’ उनले भने । पन्छी संरक्षण समाज र नेपाल चराविज्ञ सङ्घले केही समयअघि गरेको डेढ घण्टा अवलोकनका क्रममा कान्ति तालमा ३२ प्रकारका परम्परागत चरा र केही आगन्तुक चरा भेटिएका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विस्टले ताललाई सिमसार क्षेत्रका रूपमा लिइएको बताउँछन् । ‘धेरैले यसलााई सिमसार भन्छन्, सिमसारजस्तो नदेखिए पनि स्थानीय र विदेशबाट आउने चराका लागि यो महत्त्वपूर्ण बासस्थान हो,’ उनले भने । प्रमुख विष्टका अनुसार कान्ति तालमा लामो समयदेखि माछापालन हुने गरेको थियो । आफूले सानैदेखि माछापालन गरेको देखेको उल्लेख गर्दै उनले भने, ‘लामो समयदेखि कान्ति तालमा माछापालन हुने गरेको थियो, यसलाई पर्यटकीय गन्तव्य बनाउन अघिल्लो सरकारले काम गरेको हो, यद्यपि यो प्रक्रिया अहिले अगाडि बढेको छैन ।’ कान्ति तालमा जाडोमा यहाँ १५३ र गर्मीयाममा ६२ प्रजातिका चरा देख्न पाइन्छ । तालमा अफ्रिकाबाट जुरे कोइलीदेखि इन्डोनेसिया, उत्तरी चीन, थाइल्याण्ड, साइबेरिया, मलेसियालगायतका देशबाट पनि चरा आउने गरेका छन् । सरकारले संरक्षित सूचीमा सारसका तीन प्रजाति पनि यही तालमा पाइने उनले बताए । तालको जैविक विविधता जोगाएर भावी पुस्ता लागि चरालाई जोगाएर राख्नु स्थानीय तहको जिम्मेवारी भएको उनको भनाइ छ । प्राकृतिक सिमसार भएको जैविक विविधिता जोगाएर राख्नुपर्नेमा मास्ने काम हुन लागेपछि आफूलाई चिन्ता लागको संरक्षणकर्मी चौधरीको भनाइ छ । उनले मोटरबोटको विकल्पमा बायोडाइभर्सिटी पार्क, बोटानिकल गार्डेन वा चरा पार्कका रूपमा ताललाई विकास गरी टिकटमार्फत आम्दानी गर्ने बाटोसमेत भएको बताउँछन् । ‘तालको संरक्षण चराका लागि मात्र होइन, हाम्रै लागि र भावी पुस्ताका लागि पनि आवश्यक छ । नेपालगञ्ज मानसरोवर जाने भारतीय यात्रुका लागि ट्राञ्जिट प्वाइन्ट पनि हो, उनीहरूलाई लक्षित गरी ताललाई यही रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ, यसतर्फ ध्यान नदिई मोटरबोट मात्र विकल्प देख्न हुँदैन,’ उनले भने । कान्ति तालमा हरेक वर्ष चराको गणना हुन्छ । दुई वर्षअघि २५ प्रजातिका चरा रहेकामा गत वर्षको गणनामा २२ प्रजातिका चरा भेटिएका थिए । यस वर्ष भने चराको सङ्ख्या ३२ पुगेको छ । यस वर्ष राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा ३२ प्रजातिका थप चरा भेटिएको र यो गत वर्षको तुलनामा बढी भएको थियो । तालमा सारस, फिसिङ क्याट, मलाहलगायतका चराको बासस्थान छ । यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया र इन्डोनेसियाबाट चरा आउँछन् भने जोडोमा साइबेरिया, उत्तरी चीनबाट चरा आउँछन् । आगन्तुक चराले पनि तालमै बच्चा जन्माउँछन् । स्थानीयहरू ताल संरक्षणका लागि दिगो विकासको अवधारणमा काम गर्नुपर्ने बताउँछन् । यस ताललाई चरा अवलोकनको केन्द्र तथा जैविक विविधता सिकाइ केन्द्रका रूपमा ताललाई विकास गर्न सकिने जानकारहरू बताउँछन् । रासस
पहिलोपटक तातोपानी नाकाबाट भित्रियो हेलिकप्टर, ४ करोड बढी राजस्व
काठमाडौं । माउन्टेन हेलिकप्टर प्रालिले पहिलोपटक चीनको स्थलमार्ग हुँदै तातोपानी नाकाबाट हेलिकप्टर आयात गरेको छ । फ्रान्समा निर्मित एयरबस कम्पनीको उक्त हेलिकप्टरलाई पार्टपूर्जा खोलेर कन्टेनरमा राखी भन्सार ल्याइएको हो । यो हेलिकप्टर चीनबाट ट्रान्स सिल्क ट्रान्सपोर्टमार्फत ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार दुई दिनअघि ४० फिटे कन्टेनरमा ल्याइएको हेलिकप्टरको जाँचपास प्रक्रिया सुरु भएको छ । उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरी एक प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिएर छोडिनेछ ।’ उनका अनुसार हेलिकप्टरको भन्सार महसुल करिब चार करोडभन्दा बढी पर्नेछ । कम्पनीका महाप्रबन्धक दिल बहादुर ओलीले भन्सारमा ल्याइएका हेलिकप्टरका पंखा लगायतका पार्ट पुर्जा पुनः जडान गरी परीक्षण उडानपछि काठमाडौं ल्याइने जानकारी दिए । उनका अनुसार चीनमा उडिरहेको यो हेलिकप्टर कम्पनीले डिल गरेर नेपाल ल्याइएको हो । ‘नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति, सर्वेक्षणलगायत जाँच पास गरी हेलिकप्टरमा पार्ट पुर्जा जडान गरेर सिधै काठमाडौं उडाएर ल्याउने तयारी छ । हाल बाटो खराब भएका कारण उडाएरै हेलिकप्टर ल्याउने भएका हौं,’ उनले भने । कम्पनीले यसअघि समुद्री मार्गबाट कोलकाता बन्दरगाह हुँदै वीरगन्जबाट हेलिकप्टर ल्याएको थियो । चीनतर्फको अर्को नाका रसुवागढी (टिमुरे) को बाटो साँघुरो र अप्ठ्यारो भएकाले तातोपानीबाट ल्याइएको कम्पनीले जनाएको छ । माउन्टेनले हालसम्म २ वटा हेलिकप्टर सञ्चालन गर्दै आएको छ भने नेपालमा हाल १२ कम्पनीका करिब ३५ हेलिकप्टर रहेका छन् ।
पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ । सिंहदरबारस्थित समितिको सभाहलमा बुधबार भएको बैठका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटनको वर्तमान अवस्था, वार्षिक प्रगती, भावी रणनीति, समस्या र चुनौतीबारे ब्रिफिङ गरेका छन् । बोर्डका सीईओ जोशीले भने, 'हालको आर्थिक वर्ष २०८१/८२ मा ९३.३५ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि १३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य हामीले राखेका छौं ।' पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्व एशिया, र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । ती मेलामा सहभागी ३३३ भन्दा बढी नेपाली पर्यटन व्यवसायी कम्पनीहरूले नेपालको पर्यटन उत्पादन र सेवाहरूलाई प्रवर्द्धन गरेका थिए । विदेशस्थित नेपाली दूतावासहरूसँग सहकार्य गर्दै १५ वटा गन्तव्य प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको र यसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिका थप प्रभावकारी बनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । बोर्डले '४५ गन्तव्य स्तरीकरण कार्यक्रम' सँगै, होमस्टे व्यवस्थापन, होटल व्यवस्थापन, ट्रेकिङ, र्याफ्टिङ, प्रकृति गाइड तालिम, भाषा तालिम, प्याकेज निर्माण र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरेको जनाइएको छ । यससँगै पर्यटन जनशक्ति विकासमा समेत ध्यान दिइएको सीईओ जोशीले बताए । नेपालमा आयोजना गरिएका ४० स्थानीय कार्यक्रमहरू, जस्तै सांस्कृतिक पर्व, परिकार महोत्सव, साहसिक पर्यटन उत्सवहरूले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको पनि सीईओ जोशीले जानकारी गराएका हुन् । साथै, कुम्भमेलाका अवसरमा भारतीय पर्यटक लक्षित विशेष प्रचार अभियानहरू सञ्चालन गरिएको थियो । सीईओ जोशीले नेपालको पर्यटन विकासमा केही संरचनागत र प्रणालीगत चुनौतीहरू कायमै रहेकोसमेत जानकारी गराएका हुन् । उनले भने, 'आधारभूत पूर्वाधारको अभाव, स्पष्ट रणनीति नभएको गन्तव्य प्रवर्द्धन, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य तथा सुरक्षाको चासो, मौसममा आधारित पर्यटन प्रवृत्ति, संस्थागत दिगोपनाको कमजोरी, नीति–निर्माणमा अस्थिरता, र गुणस्तरीय उत्पादनको अभाव आदि प्रमुख चुनौतीहरू हुन् ।' साथै, अन्तर्राष्ट्रिय स्तरमा उदीयमान प्रतियोगिता र पर्यटकको बदलिँदो मनोविज्ञानको प्रभाव पनि नेपालले ध्यानपूर्वक अवलम्बन गर्नुपर्ने विषय भएको बोर्डका सीईओ जोशीले बताए । पर्यटन बोर्डले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै नेपाललाई 'विश्वकै सबैभन्दा अनुभवमूलक र जीवनभर सम्झनलायक गन्तव्य'को रूपमा स्थापित गर्ने योजना अघि सारेको छ । बोर्डले एसियाली बजारमा माग वृद्धि र परम्परागत बजारको संरक्षण, डिजिटल क्षमतामा वृद्धि, गुणस्तरीय लगानी प्रोत्साहन र गन्तव्य विविधीकरण, पर्यटन उत्पादनको सुधार र नियामकीय सुधार, श्रम, सीप र प्रादेशिक सहभागिता विस्तार, उद्योगको लचिलोपन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि, वातावरणीय उत्तरदायित्व र दिगोपनाको सुनिश्चितता र प्रदेशहरूको पर्यटन सम्भावना उजागर गर्ने रणनीतिक आधारस्तम्भ अवलम्बन गरेको सीईओ जोशीले जानकारी गराएका हुन् । 'पर्यटन सडक पूर्वाधार आयोजना' अन्तर्गत काठमाडौं–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, बुटवल–पाल्पा–पोखरा आदि मार्गहरूमा सुधार गर्नुपर्ने सीईओ जोशीले बताए । हवाइ सेवा सुधारमा सिधा अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर सञ्चालन सहजता, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम प्रयोग, र हवाइ खेलकुद प्रवर्द्धनको लक्ष्य बोर्डले लिएको छ । पर्यटन बोर्डको दीर्घकालीन योजनाअनुसार आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र २.५ खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन बोर्डले गरिरहेका गतिविधिहरुको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारका काममा लागिरहेको बताएका हुन् । नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, 'पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं । उहाँहरु पनि बोर्डको सहजीकरणबाट विश्वस्त र उत्साहित हुनुहुन्छ । पर्यटन बोर्ड थिंक ट्यांक पनि हो । त्यसकारण बोर्ड थप रणनीतिक तवरमा अघि बढ्नेछ भन्नेमा विश्वस्त छ ।' त्यसैगरी समितिका सदस्यहरू एनपी साउद, उदय शमशेर जबरा, धवल शमशेर राणा, प्रेम सुवाल, भिम आचार्य, शिशिर खनाललगायतले नेपालको पर्यटन प्रबर्द्धनमा देखिएका चुनौतीहरू समाधान गर्न समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । समितिका सभापति राजकिशोर यादवले पर्यटन बोर्डले आफ्ना समस्याहरूलाई प्राथमिकिकरण गरेर ल्याउन आग्रह गर्दै खरिद नियमावली, पूर्वाधार विकास तथा सडक र हवाई यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।