सुविधासम्पन्न नागार्जुन रिसोर्ट सञ्चालनमा, रोजगारी र पर्यटनमा टेवा पुग्ने अपेक्षा
काठमाडौं । तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मंगलबार एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताए । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै उनले निजी क्षेत्रलाई सरकारले सधैँ प्रोत्साहन गर्ने बताए । स्वामी आनन्द अरुणले पर्यटनका लागि हाम्रो देश स्वर्ण भूमि हो भन्दै विश्वका विभिन्न देशका पर्यटक नेपालप्रति आकर्षित भएका बताए । उनले हाम्रो देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिकताले सबै किसिमका पर्यटकलाई लोभ्याएको विचार व्यक्त गरे । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नं वडा कार्यालयका अध्यक्ष परशुराम अर्यालले देशको पर्यटन प्रवर्द्धनमा रिसोर्ट सहयोगी हुने विश्वास व्यक्त गरे । रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ आफूहरुले रिसोर्ट सञ्चालन गर्ने बताए ।
नेपालको अर्थतन्त्र चूनौतिपूर्ण अवस्थामा छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार नेपाल एयरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नेपाल आर्थिक रुपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । नेपाल एयरलाइन्सले पनि आर्थिक व्यवसायिक सफलता हात पार्न नसकेको बताए । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा कर्मचारीहरूले ध्यान दिनुपर्ने जानकारी दिए । निष्ठा र योग्यतापूर्वक काम गर्दा सफलता हात लाग्ने उनको भनाइ छ । यस वर्ष गत वर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रुपमा राष्ट्रिय नाचघर मात्रै रहेको भन्दै नेपाल एयरलाइन्ससँग आफूले अबका दिनमा त्यही अपेक्षा राखेको बताए । उनले भने, ‘हामी निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ । देशको अवस्था पनि चुनौतीपूर्ण छ । यहाँ पनि जुन किसिमको व्यवस्थापन र आर्थिक व्यवसायिक सफलता हामीले प्राप्त गर्नुपर्ने हुन्थ्यो, त्यसको चुनौति र अफ्ठ्यारोबाट गुज्रिरहेका छौँ । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा यहाँहरुले ध्यान दिनुहुनेछ । निष्ठा र योग्यतापूर्वक काम गर्नुहुनेछ भन्ने विश्वास छ ।’ मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्र राम्रोसँग चल्दा नेपालको पर्यटन क्षेत्रको विकास हुने बताए । पर्यटन क्षेत्र अघि नबढेसम्म नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । नेपालको अर्थतन्त्र र स्वरोजगारीलाई अघि बढाउने वा नबढाउने भन्ने मियो ठाउँमा नागरिक उड्डयन प्राधिकरण रहेको जानकारी दिए ।
अन्नपूर्ण हेलिकप्टरले माग्यो ७ जना पाइलट
काठमाडौं । अन्नपूर्ण हेलिकप्टर प्रालिले ७ जना पाइलट मागेको छ । अन्नपूर्ण हेलिकप्टरले एएस३५० सिरिज नामको हेलिकोप्टर उडानका लागि ७ जना पाइलट मागेको हो । उक्त हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ । कम्पनीका अनुसार इन्स्ट्रक्टर पाइलट २ जना, पाइलट (क्याप्टन) ३ जना र ट्रेनी (प्रशिक्षार्थी) पाइलट २ जना गरी ७ जना पाइलटका लागि आवेदन खुलाएको हो। इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र २ हजार घण्टाभन्दा बढी समयको उडान अनुभव भएको हुनुपर्नेछ । क्याप्टन पाइलटका लागि एएस३५० सिरिज हेलिकप्टर उडानका लागि लाइसेन्स, १ हजार २ सय घण्टा उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थी पाइलटका लागि पनि लाइसेन्स अनिवार्य गरिएको छ ।