प्रतिकूल मौसमका कारण आन्तरिक उडान बन्द

काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तर्फका उडानहरू स्थगन गरिएका छन् । खराब मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए ।  उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिक तर्फ भने अहिले उडान स्थगन गरिएको छ ।’ अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडान तर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौंसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।

आन्तरिक हवाई उडानको उच्चतम भाडा दर सार्वजनिक, कुन ठाउँ जान कति लाग्छ ?

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर ताेककाे छ । दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर ताेकेकाे हाे । नेपालीहरूको महान चाड पर्व (दशैं, तिहार तथा छठ) को समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगो भाडा दरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न प्राधिकरणले उच्चतम भाडा सार्वजनिक गरेको हो । स्वीकृत उच्चतम भाडा दर भन्दा कम भाडा दरमै टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणका अनुसार काठमाडौं-विराटनगर उच्चतम भाडा दर ९ हजार ७८५ रुपैयाँ, काठमाडौं-भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौं-भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौं-जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौं-पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौं-नेपालगञ्ज १३ हजार १०३ रुपैयाँ तोकिएको छ ।  यस्तै, काठमाडौं-धनगढी १७ हजार ५७९ रुपैयाँ, काठमाडौं-सिमरा ३ हजार ९७८ रुपैयाँ, काठमाडौं-भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौं-राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं-सुर्खेत ९ हजार ३० रुपैयाँ, काठमाडौं-तुम्लिङ्गटार ७ हजार ६३० रुपैयाँ उच्चतम भाडा दर तोकिएको छ । उच्चतम हवाई भाडा दर भन्दा कुनै पनि वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता तथा ट्राभल एजेन्सीले यात्रुसँग बढि रकम लिई टिकट बिक्री वितरण गरेको पाइएमा कारवाही गरिने प्राधिकरणले जनाएको छ । 

मनकामना केबलकार ३ दिन बन्द गरिने

काठमाडौं । मनकामना केबलकार आजदेखि ३  दिन बन्द गरिने भएको छ । केबलकारको व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए ।  असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।