जेनजी आन्दोलनले पर्यटन सिजनमा ठूलो संकट, पुनरुत्थानमा चुनौती

काठमाडौं । भदौ २२ र २३ गते दुई दिन जेनजी प्रदर्शनीले गर्दा अहिले देश संकटको अवस्थाबाट गुज्रिरहेको छ । प्रदर्शनीको क्रममा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ । यो आन्दोलनको कारण नेपालको पर्यटन क्षेत्रमा समेत गहिरो असर पारेको छ । आन्दोलनले ल्याएको उथलपुथलका कारण नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगमा ठूलो धक्का पुगेको छ ।  पर्यटन सिजनको सुरुवातमै देशमा संकटको अवस्था सिर्जना हुँदा पर्यटन व्यवसायी चिन्तित छन् । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटन क्षेत्रको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यो समयमा अरू समयमा भन्दा बढी पर्यटन नेपाल आउने गर्छन् । विशेषगरी पर्वतारोहण, पदयात्रालगायतका लागि हजारौं विदेशी पर्यटक आउने गर्छन् । पर्यटन सिजनको सुरुवातमै निम्तिएको यो संकटले नेपालको पर्यटन क्षेत्र अत्यन्तै कठिन परिस्थितिमा रहेको व्यवसायीहरू बताउँछन् । होटल संघ नेपाल (हान), नेपाल पर्वतारोहण संघ (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) लगायत पर्यटनसँग सम्बद्ध संस्थाहरूले हालको अवस्थाले निम्तिएको संटक र समाधानको लागि चाल्नुपर्ने प्रयासबारे विज्ञप्ति नै जारी गरेका छन् । हानका अनुसार आन्दोलको क्रममा हिल्टनसहित दुई दर्जन होटलमा ठूलो क्षति पुगेको छ । हिल्टन होटलमा मात्रै ८ अर्ब रुपैयाँको क्षतिको अनुमान गरेको छ । यसरी देशभर करिब २५ अर्बभन्दा बढी क्षतिको प्रारम्भिक आंकलन हानले गरेको छ । धेरैजसो होटलहरू मर्मतसम्भार, पुनः निर्माण नगरी सञ्चालनमा आउन सक्ने अवस्था छैन । हानका अध्यक्ष विनायक शाह २ हजारभन्दा बढी होटलमा कार्यरत कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर पर्ने देखिएको बताउँछन् । पर्यटन क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएको र आन्दोलनले धेरै ठूलो असर पारेको पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पा सुनाउँछन् । ‘पर्यटन क्षेत्र एकदमै संवेदनशील विषय हो,’ अध्यक्ष शेर्पाले भने, ‘अलिकति मात्रै घटना हुँदा पनि यसको असर पर्यटन क्षेत्रमा परिहाल्छ ।’  नेपालमा जेनजी आन्दोलनको कारण सिर्जित संकटले पर्यटकहरु आत्तिएको र टिकट बुकिङ क्यान्सिल हुने क्रम बढेको अध्यक्ष शेर्पाले बताए । ‘पर्यटन सिजनमा आउनुपर्ने विदेशीहरू आउन सकेका छैनन्, यहाँ आउनेहरू पनि जानको लागि हतार छन् । पहिले बुकिङ गरिसकेकोहरूले पनि रद्द गर्न थालेका छन् । यो गम्भीर विषय हो,’ उनले भने । अहिले सिर्जित समस्याले विश्वमा नकारात्मक सन्देश गएको छ । यसले नेपालमा भित्रिने पर्यटकको संख्यामा पनि कमी आउन अध्यक्ष शेर्पाको भनाइ छ । उनले यो सिजन मात्रै गुमाउँदा त्यसको असर नेपालकै अर्थतन्त्रमा पुग्ने बताउँछन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके नेपालको पर्यटनलाई सधै केही न केही घटनाक्रमले असर गरिरहेको विचार राख्छन् । ‘कहिले राजनैतिक अस्थिरता, बाढीपहिरो, भूकम्पजस्ता घटनाले पर्यटनलाई असर गरिरहेको छ, अहिले झन् यो आन्दोलनले पर्यटनलाई थप असर पुगेको हामीले महसुस गरेका छौं,’ उनले भने । आन्दोलनकारीले निजी होटलहरूलाई पनि टार्गेट गरेर क्षति पुर्‍याएको जसको कारण विश्वका पर्यटकमा नेपालको बारेमा नकारात्मक सन्देश पुगेको अध्यक्ष चुके सुनाउँछन् ।  ‘विदेशबाट आएको चेन होटलले राम्रो गरिरहेको थियो, यसरी आज नष्ट हुँदा विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको छैन,’ उनी भन्छन् । अहिलेको अवस्थामा नेपालमै भएका पर्यटकलाई घुमाउन नसक्ने स्थिति भएको र आउन चाहने पर्यटकले पनि बुकिङ क्यान्सिल गर्ने संख्या बढेको छ । पुनरुत्थानमा चुनौती कोरोना महामारीपछि बल्लतल्ल उठ्न थालेको पर्यटन उद्योगमा यो आन्दोलनले अर्को ठूलो चुनौती थपेको छ । व्यवसायीहरूका अनुसार पर्यटन क्षेत्र उठ्न अब फेरि केही वर्ष समय लाग्ने भएको छ । अध्यक्ष चुके अहिले सिर्जित परिस्थितिको कारण नेपालको पर्यटन क्षेत्रलाई पुनः ५/७ वर्ष पछि धकेलेको बताउँछन् ।  उनी अहिलेको सिर्जित परिस्थितिले होटलको अकुपेन्सी झन् घट्न पुग्ने उनले बताए । ‘अहिले होटलको औसत अकुपेन्सी ३० प्रतिशत छ, आन्दोनलको कारण सिर्जित परिस्थितले अबको दिनमा अकुपेन्सी १०/१५ प्रतिशतमा आउने अवस्था हुन्छ,’ उनी भन्छन् ।  होटलको व्यवसायमा संकुचन आउँदा कर्मचारीलाई तलब खुवाएर राख्न नसक्ने र हटाउन पनि नमिल्ने हुँदा व्यवसायीलाई सस्टेन हुन गाह्रोउनले सुनाए । अध्यक्ष चुके जेनजीले उठाएको माग नयाँ सरकारले छिटो सम्बोधन गर्नुपर्ने र नेपालको पर्यटन प्रवद्र्धनको लागि निकासा दिनुपर्ने सुझाव दिन्छन् । अध्यक्ष चुकेले भने, ‘हामीले यो परिस्थितिलाई केही समय थेग्न सक्छौं, तर लामो समय जान सकिँदैन । यो परिस्थितिमा हाम्रो त्यस्तो माग छैन । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको लागि निकास निकाल्नुपर्यो ।’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का वरिष्ठ उपाध्यक्ष जिश्वान तुलाधर श्रेष्ठले संसारकै सबैभन्दा ठुलो चेन होटल हिल्टनमा क्षति पुग्नु भनेको पर्यटन क्षेत्रको लागि निकै दुःखदायी रहेको औंल्याएकी छन्। कुनै पनि घटनाले सुरुमा पर्यटन क्षेत्र प्रभावित हुने उल्लेख गर्दै श्रेष्ठ भन्छिन्, ‘नेपालमा होस् या कुनै पनि ठाउँमा संकट आउँदा सबैभन्दा पहिला असर पुग्ने क्षेत्र भनेको पर्यटन हो र सबैभन्दा पछि उठ्ने भनेको पनि यही पर्यटन नै हो ।’  पर्यटन सरकारको दृष्टिमा पहिलो प्राथमिकता नपर्ने हुँदा यसको असर अझ बढी व्यवसायीहरूले भोग्नुपर्ने उनको गुनासो छ । ‘यो बेलामा पर्यटकहरू नेपाल आउन डराइरहेका छन्, फ्लाइट क्यान्सिलको कुरा धेरै आइरहेको छ, उनले भनिन्, ‘दुई दिन फ्लाइट रोक्दा धेरै पर्यटक रोकिएका छन्, उहाँहरूलाई एकैचोटि मोबिलाइज गर्न सक्दैन ।’  उनका अनुसार कोभिडपछि बल्लबल्ल उठ्न लागेको पर्यटन क्षेत्र फेरि यो आन्दोलनको कारण केही वर्ष पछि धकेलिएको छ । आन्दोलनले सिर्जित अन्योलताको वाबजुत पनि व्यवसायीहरूले पर्यटकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरेको श्रेष्ठले सुनाइन् । पर्यटकहरूको सुरक्षाका लागि समूह नै बनाएर काम गरेको उनले बताइन् । साथै कहाँ कुन होटलमा केकस्तो छ त्यसको अवस्था र तथ्यांक बुझ्ने काम भइरहेको उनको भनाइ छ । ‘हामीले हिल्टन, बर्नबास जस्ता होटेलहरूमा के कस्तो अवस्था छ भन्ने तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भनिन्, ‘यसका साथै हामीले पर्यटकहरू र हाम्रो सदस्यहरूलाई आवश्यक सहयोग प्रदान गरिरहेका छौं ।’  अहिले नियमित उडान भएको हुँदा यात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनको निम्ति वायुसेवा कम्पनीसँग समन्वय भइरहेको उनले जानकारी दिइन् ।  क्यान्सिलभन्दा पोस्टपोन्डमा जोड आन्दोलनको क्रममा केही बुकिङहरू रद्द भए पनि पर्यटन सम्बद्ध निकाय र व्यवसायीहरूले क्यान्सिल गर्नुको सट्टा पोस्टपोन्ड (मिति सार्न) अनुरोध गरिरहेका छन् । विदेशी पर्यटकहरूलाई नेपालमा सिर्जित परिस्थिति सामान्य हुँदै गएको र पर्यटकहरू पूर्ण रूपमा सुरक्षित रहेको विश्वास दिलाउने प्रयास गरिरहेका नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणि लामिछानेले बताए ।  निर्देशक लामिछानेका अनुसार पोखरालगायत पर्यटकीय क्षेत्रमा कुनै समस्या छैन र पर्यटकहरू सुरक्षित रहेका छन् । होटेल र रेस्टुरेन्टहरूले विशेष सतर्कता अपनाएर पर्यटकलाई सेवा दिन समन्वय गरेको उनको भनाइ छ । निर्देशक लामिछानेले भने, ‘सिजनको समयमा देशमा सिर्जित समस्याले पर्यटनमा ठुलो असर परेको छ नै । धेरैले बुकिङ क्यान्सिल गर्न खोजिरहनुभएको छ, कतिले आफ्नो यात्रा छोट्याउन खोजिरहनुभएको छ । तर हामीले क्यान्सिलभन्दा पोष्टपोन्ड गर्न सुझाव दिइरहेका छौं ।’  लामिछानेले आन्दोलनको सुरुको २/३ दिन पर्यटकलाई असहज भएपनि अहिले धेरै सामान्य हुँदै गएको जानकारी दिए ।  सुरक्षा र समन्वयमा जोड नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक (सीईओ) दीपक जोशीले अहिलेको अवस्थामा पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् ।  उनले सबैभन्दा धेरै पर्यटक काठमाडौं र पोखरामा रहेको र उनीहरुलाई सुरक्षित बसोबास र निश्चित गन्तव्यसम्म पुर्‍याएको जानकारी दिए । ‘व्यक्तिगत रूपमा पर्यटकलाई क्षति पुगेको छैन । केही होटलहरूमा क्षति पुग्दा त्यहाँ भएका पर्यटकहरूमा त्रासपूर्ण वातावरण चाहिँ सिर्जना भएको छ,’ सीईओ जोशीले भने, ‘ हामीले पर्यटकलाई सुरक्षित साथ राखेका छाैं, आफ्नो देश फर्कन चाहनेलाई सुरक्षितसाथ एयरपोर्टसम्म पुर्‍याएका छाैं ।’  बोर्डले अहिलेको संकट परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर पर्यटन व्यवसायीसँग भर्चुअल छलफल गरेको जोशीले बताए । साथै तत्काल रिकभरीको लागि के कसरी अघि बढ्ने भनेर रणनीति बनाउने तयारीमा बोर्ड जुटेको जोशीले जानकारी दिए । देशमा सिर्जित अहिलेको परिस्थितिले नेपाल भित्रिने पर्यटकको संख्या घट्ने सहजै अनुमान गर्न सकिन्छ । साथै होटलमा लगानी गर्ने लगानीकर्ता पनि निराश बनेका छन् । सीईओ जोशीका अनुसार यो संकटको अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय पर्यटन सम्बद्ध निकाय, डायस्पोरालगातसँग समन्वयसमेत भइरहेको छ । 

पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

गण्डकी । जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ । सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि राख्न लागेको जानकारी दिँदै उनले सेवा प्रवाह सुरु गर्ने सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सानाठूला गरी करिब ८० कार्यालयमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको छ । केही दिनयता सुरक्षा अवस्थालाई दृष्टिगत गरी लगाइएको निषेधाज्ञा एवं कफ्र्यू शनिबारदेखि खुला गरिएसँगै पोखरामा व्यापार व्यवसाय एवं सार्वजनिक यातायातहरू पूर्ववत् सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकै कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन गराउने तयारी गरिएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो । बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय ५५ पुगेका छन् । कञ्चनपुरमा सबैभन्दा बढी एक सय २६ गुँड फेला परेका छन् । त्यस्तै बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन् । यस वर्ष कञ्चनपुर र डडेल्धुरामा गुँड सङ्ख्या बढेको भए पनि कैलाली र बैतडीमा भने केही घटेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये अति सङ्कटापन्नमा पर्ने डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । कञ्चनपुरमा आठ प्रजाति र कैलालीमा सात प्रजातिका गिद्ध फेलापरेका छन् । यसले सुदूरपश्चिमलाई गिद्धका लागि महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा चिनाएको छ । राष्ट्रिय गिद्ध गणना सेप्टेम्बर ५, ६ र ७ तारिखमा गरिएको थियो । सोही क्रममा गिद्ध र गुँडको सङ्ख्या एकिन गएिको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरूलाल डगौराले बताए । उनका अनुसार गणनाको उद्देश्य गिद्धको आधारभूत ‘डाटाबेस’ निर्माण गर्नु, राष्ट्रिय गिद्ध डाटाबेसलाई व्यवस्थित गर्नु र संरक्षणका लागि तथ्याङ्कीय आधार तयार गर्नु रहेको थियो । गणनामा ४८ स्वयंसेवक सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिएका थिए । 'टोलीले अवलोकन गरिएको स्थलको जिपीएस स्थानसमेत अभिलेख राखेको छ', उनले भने, 'गिद्धबाहेक अन्य चराचुरुङ्गी र स्तनधारी जनावरको पनि विवरण सङ्कलन गरिएको छ ।' यस वर्षको गणनामा सुदूरपश्चिम प्रदेशमा जम्मा पाँच सय ७३ गिद्ध भेटिएका छन् । चराविज्ञ डगौराका अनुसार गणनाका क्रममा सानो खैरो गिद्ध नौ, डङ्गर गिद्ध चार सय ४२, सुन गिद्ध १४, गोव्रे गिद्ध नौ, हिमाली गिद्ध ९४ र हाडफोर गिद्ध पाँचवटा देखापरेका छन् । लामो ठुँडे गिद्ध, राजगिद्ध र सानो खैरो गिद्ध हिउँदमा मात्र देखापर्ने भएकाले गणनमा समावेश गरिएको छैन । कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बाजुरा र दार्चुलामा गणना गरिएको थियो । सबभन्दा बढी कञ्चनपुर र कम दार्चुलामा भेटिएका छन् । गिद्ध आफैँ सिकार नगर्ने तर मरेका जनावरको सिनो खाने चराका रूपमा चिनिन्छ । गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ । गिद्धले वातावरणलाई दुर्गन्धित र प्रदूषित हुनबाट जोगाउनुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्सजस्ता रोग फैलिनबाट नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने उनी बताउँछन् । संरक्षणकर्मीका अनुसार गिद्ध वातावरणीय चक्रको अभिन्न हिस्सा हुन् । खाद्य शृङ्खलामा सन्तुलन कायम राख्न गिद्धको उपस्थिति अपरिहार्य हुन्छ । यदि गिद्ध नहुने हो भने वातावरणीय प्रदूषणमात्र होइन, महामारीको जोखिम पनि बढ्ने खतरा रहन्छ । गिद्ध सङ्ख्या बढ्नु उत्साहजनक भए पनि संरक्षणकर्मीहरूले अझै पनि गिद्ध संवेदनशील अवस्थामा रहेको बताएका छन् । पशु उपचारमा प्रयोग हुने केही रासायनिक औषधि, गुँड नष्ट हुने गतिविधि, बासस्थान अतिक्रमण र वातावरणीय असन्तुलन गिद्ध संरक्षणका लागि प्रमुख चुनौतीका रूपमा रहेको चरा संरक्षणकर्मी सुवन चौधरी बताउँछन् । 'विशेषगरी डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगले गिद्ध मृत्युदर बढाउने गरेको छ', उनले भने, 'यसका विकल्पलाई प्रोत्साहन गर्ने, पशुपालकलाई सचेत गर्ने र स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने आवश्यकता देखिन्छ, समुदायमा गिद्धसम्बन्धी चेतना फैलाउने कार्यमा सक्रिय भएर लागेका पनि छौँ ।' गिद्धको बढ्दो सङ्ख्या सकारात्मक सङ्केत भए पनि दीर्घकालीन संरक्षण रणनीति अपरिहार्य छ । गुँड संरक्षण, औषधि नियन्त्रण, बासस्थान व्यवस्थापन र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेमात्र गिद्धको दीर्घकालीन रूपमा अस्तित्व सुनिश्चित गर्न सकिन्छ ।