त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । विमानस्थल सुरक्षा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार आज दिउँसो साढे ३ बजेदेखि उडान र अवतरणका लागि तयारी थालिएको छ । यसअघि नागरिक उड्डयन कार्यालयले बुधबार बिहान सूचना जारी गर्दै अर्को जानकारी नभएसम्म विमानस्थल बन्द रहने घोषणा गरेको थियो । काठमाडौं उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम परिस्थितिलाई कारण देखाउँदै सो निर्णय गरिएको हो ।  

दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन (फोटोफिचर)

काठमाडौं । जेनजी आन्दोलनकारीहरुले पाँच तारे होटल हिलटनमा आगजनी गरेका छन् । काठमाडौंको नक्सालस्थित होटल हिलटनमा न्दोलनकारीहरुले मंगलबार आगजनी गरेका हुन् ।  आन्दोलनकारीहरुले मंगलबार लगाएकाे आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि होटल हिलटनमा दनदनी आगो लागिरहेको विकासन्युजका संवाददाताले जानकारी दिए ।  नेपाली सेनाले सुरक्षा दिइरहेको उक्त होटलमा के कति क्षति भएकाे छ एकिन तथ्याङ्क आउन सकेको छैन ।   ८ अर्ब ३५ करोड रुपैयाँमा बनेको हिलटन २०८१ साउनबाट सञ्चालनमा आएको हो । उक्त होटलका मुख्य लगानीकर्ता शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल हुन् । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ ।   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबारदेखि बन्द गरिएको विमानस्थल कहिले खुल्ने भन्नेबारे स्पष्ट नभएको विमानस्थल कार्यालयले जनाएको छ । विषम परिस्थितिका कारण अनिश्चितकालीन रूपमा सञ्चालन रोकिएको कार्यालयले जानकारी दिएको हो । यस सम्बन्धमा जारी सूचनामा अर्को सूचना नआएसम्म विमानस्थल बन्द नै रहने उल्लेख गरिएको छ । विमानस्थल बन्द भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन् । यात्रुहरूलाई आवश्यक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ ।