त्रिभुवन विमानस्थल आज १२ बजेसम्म बन्द, यात्रुको पैसा फिर्ता हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिक तर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौ: वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराए । सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूमाथि भएको दुःखद घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यसैबिच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ, मन्त्री लगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।रासस
हिमालय एयरलाइन्सको विमान पोखरा ‘डाइभर्ट’
काठमाडौं । तिब्बतको ल्हासाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विषम परिस्थितिलगायत प्राविधिक कारणले काठमाडौं आएको हिमालयको विमान ‘डाइभर्ट’ भई पोखरा अवतरण भएको हो । उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गको विभिन्न स्थानमा देखिएको धुवाँजस्ता कारणले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकाले विमान पोखरा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानमा चिनियाँ नागरिक रहेको जनाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तिब्बतको ल्हासाबाट काठमाडौं आएको उक्त विमान सिमरामाथिको आकाशमा लामो समय होल्ड भएपछि पोखरा विमानस्थलमा डाइभर्ट गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित वरपरका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य सुरक्षा परिस्थिति प्रतिकूल बन्दै गएपछि विमानस्थल बन्द गर्न लागिएको हो । अधिकारीका अनुसार हाल आकासमा रहेका जहाजलाई मात्रै अवतरण गर्न दिइनेछ भने नयाँ उडानहरू स्थगित हुनेछन् । यसबीच विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । अब मुख्य गेट समेत बन्द गरेर विमानस्थलभित्रका अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।