भिजिट भिसामा विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । विकसित प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास लिइएको छ । विभागले प्रणालीमा दर्ता हुने प्रक्रिया र ‘म्यानुअल’ पनि आफ्नो वेबसाइटमा राखेको छ । यससम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । उक्त प्रणालीको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरिसकिएको विभागले जनाएको छ । विभागका अनुसार यस प्रणालीलाई पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य लागू गर्न लागिएको छ । दोस्रो चरणमा आगामी मङ्सिर १ गतेदेखि सबै तारेहोटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्जमा लागू गरिनेछ । विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन अनुरोध गरेको छ । नयाँ प्रणाली लागू गर्नेबारे विभागले हालै होटल सङ्घ नेपाललगायत सरोकारवालासँग छलफल गरेको थियो । सङ्घका अनुसार विगत लामो समयदेखि यो प्रणालीबारे छलफल भए पनि लागू हुनसकेको थिएन । नयाँ प्रणालीका विषयमा छिट्टै आधिकारिक धारणा ल्याइने सङ्घले जनाएको छ ।

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन, सगरमाथाबाट ५५ करोड हुँदा अन्य हिमालबाट कति ?

फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट  ६३ करोड ८२ लाख ९४ हजार ९७९ रुपैयाँ सङ्कलन भएको जनाएको छ ।  ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् । सो आरोहणबाट १ करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ ।   सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट १ करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ । विश्वको अग्लो सगरमाथा हिमालमा ३०२  र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए । यसबाट ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व सङ्कलन भएको छ।  यस याममा २३ हिमाल तथा पिकको सफल आरोहण गरिएको थियो । जसमा छ सय ७८ पुरुष र एक सय ९१ महिला गरी आठ सय ६९ नेपाली तथा विदेशीले नेपालका हिमाल तथा पिकको सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ । यसबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० सबैभन्दा अग्ला हिउँ चुचुरा यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ ।  नवौं चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ । अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण–१ सम्म आठवटा नेपालमा छन् । हिमालका चुचुरा सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ नेपालमा छन् । यी सबै आठ हजार मिटरभन्दा अग्ला छन्, तर ती हिमाल अहिले हिमरेखा सर्दै जाने क्रम बढेसँगै हिमलहरू नाङ्गिँदै जाने क्रम बढ्दै गएको छ । हिमरेखा सर्दै हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको तथ्य विभिन्न अध्ययन र स्थानीय अनुभवले पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), वातावरण वैज्ञानिक र स्थानीय समुदायको अनुभवबाट प्राप्त तथ्याङ्कले नेपालको हिमाली भूगोल परिवर्तनको चपेटामा परेको देखाउँछ । इसिमोडले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदन स्टेटस अफ ग्लेसियर्स इन द हिन्दू कुश हिमालयन रिजनअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ ।  सोही अवधिमा सो क्षेत्रमा रहेका हिमतालको सङख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । पन्ध्र वर्षअघि २७ वटा हिमताल रहेकामा अहिले ४९ पुगेका छन् । यसबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रको भौगोलिक स्वरूप र पर्यावरणीय संरचनामा कति ठूलो प्रभाव पारेको छ भन्ने बुझ्न सकिन्छ । जलवायु परिवर्तनको प्रभावलाई मापन गर्ने अर्को महत्त्वपूर्ण अध्ययन इसिमोडको हिमालयन वाटर सिक्युरिटी (२०२२) प्रतिवेदनले पनि नेपालमा प्रतिदशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले वृद्धि भएको देखाएको छ ।  यस तापक्रम वृद्धिले हिमनदी पग्लने दरलाई अझ तीव्र बनाएको, हिमरेखामाथि सर्ने प्रक्रिया छिटो भएको र हिमाली क्षेत्रका बासिन्दाको जीवन, खेतीपाती, पशुपालन तथा खानेपानी स्रोतहरूमा सीधा असर परेको देखिएको छ । तत्काल जलवायु अनुकूलन तथा दीर्घकालीन रणनीतिहरू अपनाइएन भने हिमनदीहरूको ह्रास अझ तीव्र हुने र यो समग्र जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा दीर्घकालीन सङ्कटको कारक बन्न सक्ने विभिन्न प्रतिवेदनहरूले देखाएको छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र पोखरा स्थित हिमालयन फ्रन्ट होटेलबीच बैंकका ग्राहकहरूले होटेलका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले छुटको सुविधा प्राप्त गर्न सक्नेछन् । यस कदमले ग्राहकहरूलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ उन्मुख गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । यस सम्झौताबारे थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।