६ हजार ३८ मिटर उचाइको चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि खुला

काठमाडौं । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहणका लागि खुला गरेको छ । दामोदर हिमशृङखला अन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ ६ हजार ३८ मिटर रहेको छ । सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । यस्तै, चामे, सिपाङ, हुम्डे, मनाङ लेडर हुँदै आधार शिवरसम्म पुग्न सकिनेछ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ । डिस्याङ गाउँपालिका-५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको हिमालचुली पर्वतारोहणका लागि खुला गरिएको छ । चुलु सुदूरपूर्वको नामले परिचित सो हिमालको आरोहणमा प्रायः गरेर ‘अन्नपूर्ण सर्किट ट्रेकसँग जोडिन्छ । चुलु पूर्व हिमाल मनाङ उपत्यकाभन्दा माथि रहेको छ । जहाँ अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौथो, गङ्गापूर्ण, हिमनदी, धवलागिरि, तिलिचो र मनास्लुको मनमोहक दृश्यहरूसमेत हेर्न सकिन्छ । नेपाल पर्वतारोहण सङ्घले सो हिमाल आरोहणका लागि व्यवस्थापन गर्दै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही भदौ १२ गते रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको जनाएको छ । आरोहीहरूका अनुसार चुलु सुदूरपूर्व चुचुरोलाई नेपालका अन्य चुचुराका तुलनामा सजिलो मानिन्छ ।

दशैं–तिहार नजिकिँदा पनि सुनसान छ रामेछाप विमानस्थल

मन्थली । कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो । काठमाडौंमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ । त्यसबेला काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बढी व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत सोलुको लुक्ला पुर्याउने गरिन्छ । दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा चल्ने विभिन्न एयरलाइन्सले जिल्ला जिल्लामा जान अग्रिम बुकिङ खुला गरे पनि रामेछापका नागरिकहरूका लागि भने हवाइजहाजबट यात्र गर्न कुनै एयरलाइन्सहरूले अग्रिम बुकिङ खुला गरेका छैनन् । पर्यटकको सिजनमा मात्र विमानस्थल चल्ने भएकाले विमानस्थल वरपरका रहेका होटल तथा पसलहरू पनि यतिखेर सुनसान छन् । जिल्लामा विमानस्थल हुँदाहुँदै पनि रामेछापका नागरिकहरूले यसको सुविधा नपाउनु दुःखको कुरा भएको स्थानीयको भनाइ छ । रामेछापका नागरिकहरूलाई पनि हवाई सुविधा दिलाउने पहल राजनीतिक दल र प्रदेश तथा सङ्घीय सांसदले गर्नुपर्ने स्थानीय वीरेन्द्र श्रेष्ठले बताए । उनले भने, 'यहाँका मानिसहरू सडकमार्गमार्फत काठमाडौं जाँदा बिपी राजमर्गको १२५ किमि पार गर्नुपर्छ भने पुष्पलाल मार्गको तामाकोशी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर दूरी पार गर्नुपर्दछ ।' गत वर्ष असोजको १२ गते आएको बाढीले पुष्पलाल मार्ग र बिपी राजमार्गको धेरै ठाउँका सडकमा क्षति पुगेकाले यी दुवै मार्ग जोखिमयुक्त छ । जिल्लामा सुविधा सम्मन्न एम्बुलेन्स नभइरहको अवस्था र मन्थलीबाट काठमाडौंका लागि भएका दुईवटा सडक मार्गहरू पनि भरपर्दा नभएकाले जटिल प्रकृतिका बिरामीहरू काठमाडौँ पठाउन निक्कै समस्या हुने गरेको श्रेष्ठको भनाइ छ । नजिकिँदै गरेको दशैँ तिहारजस्ता पर्वका लागि हिजोआज सहरबाट गाउँ आउनेहरूको सङ्ख्या बढ्दै जान लागेको छ । जोखिमपूर्ण सडकमार्गका कारण चाडपर्वमा घर आउनेलाई यात्रा सहज नभएको मन्थली–१ का नारायणदास श्रेष्ठ बताउँछन् । जिल्लामा हवाई सेवाला निरन्तर गरी पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ मन्थली नगरले पटकपटक पहल गरेको भए पनि त्यसको टुङ्गो नलागेको मन्थली नगरपालिकामा नगर पालिकाका प्रमुख लव श्रेष्ठ बताउँछन् । उनले भने, 'रामेछाप विमानस्थलमा नियमित उडानका लागि पहल गर्न जिल्लाका सङ्घीय सांसदसहित आफूहरू पर्यटन मत्रीलाई ध्यानाकर्षणपत्र बुझाउन पर्यटन मन्त्रालय गएको र मन्त्रीले सकारात्मक आश्वासन पनि दिएको तर त्यसको कुनै सुनुवाइ अहिलेसम्म नहुँदा नागरिकले निर्वाचित प्रतिनिधिलाई विश्वास गर्न छाडेका छन् ।' रामेछापमा लामो सङ्घर्षपछि मात्र एयरपोर्ट कालोपत्रे गर्न सफल भएको, आफ्नो निरन्तर प्रयासले गत वर्ष असोजमा गएको बाढीका कारण मन्थलीबाट काठमाडाैं जाने दुवैतर्फको बाटो अवरुद्ध हुँदा आफूले निक्कै प्रयास गरेर केही समय हवाई सेवा सुरु भए पनि हाल बन्द भइको पूर्वराज्यमन्त्री एवं सङ्घीय सांसद पूर्णबहादुर तामाङले बताए । उनले भने, 'यहाँको विमानस्थलबाट रामेछापका नागरिक आउजाउ गर्नसक्ने गरी जहाज सञ्चालनका लागि विशेष पहल भइरहेको छ, सकभर दशैँअघिदेखि नै नियमित उडान गराउन म लागिपरेको छु । विशेष पहल गर्ने तयारी छ ।' सोलुको लुक्लासम्मका लागि सीता, तारा र समिट एयरका एयरलाइन्सले यस एयपोर्टबाट पर्यटक ओसार्ने सिजनका बेला ६० देखि ६५ वटासम्म उडान भर्ने गरेका छन् । ती एयसलाइन्सका जहाजमार्फत आलोपालो प्रणालीद्वारा जिल्लाका नागरिक र बिरामीहरूलाई पनि सेवा दिने गरी आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने मन्थली न पा–२ का स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताए । रासस

वीरगञ्जमा सोल्टी होटलले ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने

काठमाडौं । नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड  रिसोर्ट्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यावसायिक सहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ होटल ‘सोल्टी वेस्टेण्ड  रिसोर्ट्स, वीरगञ्ज’ सञ्चालन गर्ने भएको छ।  होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल्स एण्ड  रिसोर्ट्सका उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिलकुमार खेतानले औपचारिक हस्ताक्षर गरे । चापागाईंले वीरगञ्जमा वेस्टेण्ड ब्राण्डको प्रवेशले आधुनिक आतिथ्यता, आत्मीय सेवा र स्थानीय सांस्कृतिक अनुभवलाई संयोजन गरी अतिथिलाई अद्वितीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । यो होटल हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेर सोल्टीको सुप्रसिद्ध वेस्टेण्ड ब्राण्ड अन्तर्गत डिसेम्बर २०२५ बाट सञ्चालनमा आउन लागेको हो । वीरगञ्ज महानगरपालिका–१४, गण्डक बाहुअरीमा अवस्थित यो होटल राष्ट्रिय राजमार्गसँगै जोडिएको छ र भारतसँगको अन्तर्राष्ट्रिय सीमा नाकाको नजिक भएकाले रणनीतिक दृष्टिले निकै महत्त्वपूर्ण गन्तव्य मानिएको छ ।  स्वदेशी र विदेशी दुवै पाहुनाका लागि यो क्षेत्र आकर्षक पर्यटन तथा व्यावसायिक केन्द्रको रूपमा चिनिन्छ । होटलमा आधुनिक शैलीमा डिजाइन गरिएका कोठा, विभिन्न भोजन तथा व्यञ्जनका विकल्पहरू, फिटनेस क्लब, स्वीमिङ पुल, स्पाका साथै क्यासिनो भवन लगायतका सुविधा रहनेछन् ।  समकालीन सुविधा, गुणस्तरीय सेवा र सोल्टी ब्राण्डको विशिष्ट पहिचानमार्फत यो होटल व्यवसायिक पाहुना, अवकाश मनाउन आउने परिवारदेखि आधुनिक यात्रुहरू सबैका लागि रोजाइको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।