स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए । उनले भने, ‘जिल्ला जिल्लाका व्यावसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुदैन ।’ अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’ उनले यो डेढ वर्षको अवधिमा लगानी प्रवद्र्धनका लागि देश भित्र र बाहिर आफुहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफुहरूकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराए । नीजि क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफुहरू निरन्तर लागिरहेको जानकारी गराए ।
घरेलु तथा साना उद्योहरू अर्थतन्त्रको खम्बा
काठमाडौं । देशको अर्थतन्त्रलाई आत्मनिभर बनाउन घरेलु तथा साना उद्योगहरूको ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरूले यस्ता उद्योगहरूको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरूको प्रवद्र्धन गर्नुपर्ने बताइन् । स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवद्र्धन गर्नुपर्छ, साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरूको उपभोगमा वृद्धि गरी बेरोजगारीलाई कमी ल्याउनेछ,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यमी बन्ने यात्रामा लागेका उद्यमीहरूले कसरी गुणस्तरीय उत्पादन गर्ने, कसरी कजारीकरण गर्ने, कसरी ब्राण्डिङ गर्ने विषयमा अनुभव आदान प्रदान गर्न विभिन्न माध्यमको आवश्यकता छ ।’ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएकोले यस्ता उद्योगहरूको प्रवद्र्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । काठमाडौं महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिंदै बाँकी १७ वटा वडामा पनि छिट्टै शुरु गरिने उनले बताए । लघु, घरेलु तथा साना उद्योगीहरूको प्रवद्र्धनका लागि सरोकारवालासँग छलफल र सहकार्यबाट अगाडि बढ्ने उनको भनाइ छ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेर बहादुर बीसीले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासमा राज्यले नीतिगत रुपमा धेरै कुराको व्यवस्था गरेपनि व्यवहारीक रुपमा कार्यान्वयन हुन नसकेको बताए । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरूको ठूलो भूमिका हुने भएपनि यसका लागि धेरै काम हुन नसकेको उनको भनाइ छ । ‘नेपाली रैथाने उत्पादनलाई नेपालीहरूले प्रयोग गर्ने गरी आन्तरिक बजारमा स्थापित हुन सक्दैनन् तबसम्म हाम्रो अर्थतन्त्र पनि दिगो हुन सक्दैन,’ उनले भने । काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समिक्षा निरौलाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन र बजारीकरणमा सघाउन प्रदर्शनी गर्नु परेको बताए । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय सभागृह परिसरमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ को समापन गरिएको छ । १० दिनसम्म सञ्चालन रहेको प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतका वस्तु राखिएका थिए । यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता राखिएका थिए ।
नेपाल उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण
काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत दुई सय घर परिवारका लागि राहत सामाग्री प्रदान गरे । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्कालाई उपलब्ध गराए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघ पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझासहित प्रशासन कार्यालयका उच्च कर्मचारीहरु सहभागि थिए ।