कफीखेतीप्रति किसानको बढ्यो आकर्षण, गत वर्ष डेढ करोडको कफी उत्पादन
चौतारा । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा एक करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको थियो । उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनवीच’ कफी प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १० दशमलव तीन मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमा नै खपत हुने गरेको जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले जानकारी दिइन् । कफीखेतीबाट जिल्लाका किसानले वार्षिक ६० हजारदेखि एक लाख २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका थापा बताउँछिन् । कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानी गर्न सकिन्छ । कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्नसमेत सघाउ पुर्याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी संघ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर, पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेती विस्तार गरिएको छ । यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारो लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको उनी बताउँछिन् । कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०–३२ जनाले रोजगारी पनि पाएको संघले जनाएको छ । परम्परागत खेती गर्दै आएका किसान अहिले कफीखेतीमा आकर्षित भएका छन् । एकपटक रोपेपछि ४० वर्षसम्म उत्पादन दिने भएकाले पनि किसानले कफीखेती रोजेका हुन् । पछिल्लो समय जिल्लामा किसानलाई बगैँच सुधार, आम्दानीमा बढावा हुने उपाय, रोग लागेका त्यसको समाधानबारे जानकारी दिन थालिएपछि कफीखेतीमा किसानको झुकाव बढेको हो । अरनिको कृषि तथा पशुपालन फार्मले किसानलाई व्यावसायिक बनाउन सहजीकरण गरिरहेको छ । फार्मले किसानलाई बिरुवा उपलब्ध गराउनेदेखि कफी खरिद गरिदिने गरेको फार्मका व्यवस्थापक दीपेन्द्र घलेले जानकारी दिए । फार्ममा छ हजार बोटको बगैँचा पनि छ । आफैँले निर्माण गरेको नर्सरीबाट बिरुवा उत्पादन गर्ने गरेको उनी बताउँछन् । उनले स्थानीय तहदेखि विभिन्न संस्थासँगको समन्वयमा किसानलाई कफीखेतीबारे तालिम, अन्तर्क्रिया गरेर क्षमता अभिवृद्धि गर्ने गरेको सुनाए । कफीखेतीमा किसान लागेपछि गाउँको बाँझो जमिन सदुपयोग भएको छ । कफीखेतीमार्फत अर्थतन्त्रमा नगन्यमात्रामा भए पनि टेवा दिन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफी विकास कार्यालयले पनि किसानलाई प्राविधिक सहयोग गर्न थालेको छ । उक्त कार्यालयका कृषि प्राविधिक एकराज सञ्जेलले गाउँका किसानलाई कफीखेतीको उपयोगिताबारे जानकारी दिने गरेको बताए । उनले कफीका लागि सिन्धुपाल्चोकको जलवायु र माटो उपयुक्त भएको बताए । सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, कोरियालगायत देशमा निर्यात हुँदै आएको कृषि ज्ञान कार्यालयले जनाएको छ । रासस
विदेशी लगानी रहेको होङ्सी सिमेन्टको उत्पादन बन्द
काठमाडौं । होङ्सी सिमेन्टको उत्पादन बन्द भएको छ । बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेर विद्युत आपूर्ति बन्द हुँदा उद्योगको सिमेन्ट उत्पादन पनि बन्द भएको हो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका-५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको जानकारी दिएको छ । होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रूपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रुपमा ७/८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणाअनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।
बुधबारदेखि घरेलु उद्यमी मेला र दशैं महोत्सव आयोजना हुँदै
काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । यसअघि असोज १३ गते आइतबार तय भएको मेला प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्को कारणले गर्दा १६ गते बुधबारबाट गर्न लागिएको आयोजक पक्षले जनाएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको हो । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहने उनले बताए । लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उनले जानकारी दिए ।