सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न सम्बद्ध सबैमा पुनः ध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा/चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ । विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख गरेको छ । त्यसका लागि व्यापारिक सङ्घ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी सङ्घ, सङ्गठन र उपभोक्ताको उत्तिकै महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ ।  उपभोक्ता वर्गले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु खरिद गर्न हुन विभागले स्मरण गराएको छ । उपभोक्ताहरूको कुनै गुनासो भए विभागको टोलफ्री नम्बर ११३७ मा जानकारी गराउन समेत अनुरोध गरेको छ । 

मुक्तिनाथ कृषि कम्पनीको ८.४२ प्रतिशत लाभांश घोषणा, ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीको हाल कायम र प्रस्तावित बोनस सेयर वितरण पश्चात हुने जम्मा चुक्ता पुँजी ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  लाभांश र हकप्रद सेयर प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।  लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनार्थ कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाएर लाभांश प्राप्त गर्न सक्नेछन् । 

कैलाली उद्योग वाणिज्य संघको नेतृत्व पुष्कर ओझालाई, रोचक प्रतिस्पर्धामा ६१ मतको जित

काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदमा पुष्कर ओझा विजयी भएका छन् । कुल १ हजार ९४० मत खसेकोमा ओझाले ९५० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतको झिनो अन्तरले पराजित गरे । स्वाँरले ८८९ मत ल्याए ।  चुनावको प्रारम्भदेखि नै ओझा र स्वाँरबीच कडा टक्कर चलेको थियो ।  अन्तिमसम्म पनि अग्रता परिवर्तन भइरहेकै अवस्थामा ओझाले निर्णायक मत ल्याउँदै अध्यक्ष पद प्राप्त गरेका हुन् । यो निर्वाचनमा दुवै उम्मेदवार आफ्ना-आफ्ना प्यानलसहित चुनावी मैदानमा होमिएका थिए। निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिका निभाएका ओझाको नेतृत्वमा प्रस्तुत प्यानलका अधिकांश सदस्यहरू विजयी भएका छन् । यस जितसँगै ओझाले आगामी कार्यकालमा कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । संघभित्र आर्थिक, व्यापारिक र नीतिगत सुधारका अपेक्षा बढिरहेका बेला नयाँ नेतृत्वबाट सदस्यहरू आशावादी छन् । ओझा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्षसमेत हुन् ।