सरकार निजी क्षेत्रको मनोबल बढाउन सक्रिय : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् । सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र विमामा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी सन्दर्भमा मूल्य खारेज गरी भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागू गरिएपछि बजारमा पारदर्शी कारोबारले प्रोत्साहन पाउनेछ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले सरकारको उक्त कदमको प्रशंसा गरे । निजी क्षेत्रको माग बमोजिम जडित नयाँ डेटाबेस प्रक्रियाको उपयोग गर्न तीनै संस्थाले सदस्य एवं उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालद्वारा उद्घाटन भएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो जसले कारोबार मूल्य पहिचान गर्न सहयोग पुग्छ । भेटका क्रममा सकारात्मक परिवर्तनका लागि युवाहरूको आन्दोलनका क्रममा भएको घुसपैठले अर्थतन्त्रमा ८१ र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएको र यसले उद्यमी व्यवसायी निरुत्साहित भएको उनीहरूले बताए । यस्ता घुसपैठ, लुटपाट तथा आगजनीमा संलग्नमाथि कारवाही हुन नसके निजी क्षेत्र थप निरुत्साहित हुने हुँदा तत्काल कानुनी कारवाही गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए । निजी क्षेत्र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गर्ने कार्यमा निरन्तर क्रियाशील रहने बताउँदै अध्यक्षहरूले सरकारले पनि उद्यमी व्यवसायीले निर्वाध रूपमा काम गर्न पाउने वातावरण बनाउनु पर्ने बताए । सरकारले निजी क्षेत्रका माग सम्भव भएसम्म तत्काल सम्बोधन गरिरहेको हुँदा निजी क्षेत्रले पनि इमान्दारितापूर्वक व्यवसायिक आचारसंहिता अनुरूप व्यवसाय गर्न अध्यक्षहरूले उद्यमी व्यवसायीलाई आग्रह गरे । वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर पनि भएको उल्लेख गर्दै उनीहरूले लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन आयोजना गरी सबै सरोकारवालालाई आश्वस्त पार्नु पर्नेमा जोड दिए । उनीहरूले निर्वाचनले नै खुला बजार र लोकतान्त्रिक व्यवस्था बलियो हुने हुँदा समयमै निर्वाचन गर्न सहयोग र सहकार्य गर्न निजी क्षेत्र तयार रहेको जानकारी दिए  ।

अनधिकृत भण्डारण नगरौं, बजारमा सामानको अभाव हुन नदिऔँ: महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव हुन नदिन महासंघले आग्रह गरेको हो । २ दिनदेखि निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै २ दिन निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तो समयमा अनधिकृत भण्डारण पनि नगर्न महासंघले आग्रह गरेको छ ।  अविरल वर्षाका कारण राजमार्गहरु अवरुद्ध भएका छन भने आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस्तो समयमा उच्च सतर्कताका साथ पेशा व्यवसाय गर्न हुन र आवश्यक सतर्कता अपनाउन महासंघले आग्रह गरेको हो । ‘यस घडीमा सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न र नगराउन महासंघ सम्पूर्ण सदस्यहरूमा हार्दिक अपील पनि गर्दछ । यसैगरी जोखिम न्यूनीकरण, उद्धार एवं राहतमा पनि सक्दो योगदान पु¥याउन हुन पनि आग्रह गर्दछ,’ महासंघले जारी गरेको अपिलमा भनिएको छ ।  

हजारको पुँजी ४० लाख पुग्यो, शिखर सुजमा मजदुरी गर्ने मङ्ग्रान्ती बने उद्यमी

दीपक चन्द काठमाडौं । ‘व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो,’ आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ती गाउँपालिका-१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भने । श्रीमानको स्वरमा स्वर मिलाउँदै श्रीमती तारा तोलाङीले भनिन्, ‘त्यही सपना पछ्याउँदै जाँदा आज हामीले सानो लगानीबाट सुरु गरेको व्यापारलाई उद्योगकै रूपमा विकास गर्न सफल हुँदैछौँ ।’ मङ्ग्रान्ती दम्पतीले ‘आशिष सुज सेन्टर’ स्थापना गरेका थिए । करिब १५ वर्षअघि काठमाडौंस्थित शिखर सुज लगायत विभिन्न कम्पनीमा मजदुरी गर्दै जीविका चलाइरहेका कमल आफ्नै उद्यम गर्ने सपनासहित गाउँ फर्कने सोच बनाए । दिनभरि अर्काको काम गर्दा पनि परिवार धान्न गाह्रो भएपछि उनलाई आफ्नै व्यापार गर्नुपर्छ भन्ने लागेको थियो । त्यसैले विसं २०६९ तिर मङ्ग्रान्तीले जुत्ता तथा चप्पल बनाउने तालिम लिएको स्मरण गरे । सीप प्राप्त गरेपछि उनले झापाको बुद्धशान्ति फर्केर परिवार र आफन्तसँग सानो ऋण जुटाइ घरकै एउटा कोठामा जुत्ता उत्पादन सुरु गरे ।  ‘सुरुआतमा केही हजार लगानी गरेर घरकै सटरमा आफ्नै उत्पादन बिक्री थाले । प्रारम्भिक चरणमा गाउँघरमा हातले टाँसेका जुत्ता बेच्न कठिन भए पनि गुणस्तर र डिजाइनमा ध्यान दिन थालेपछि क्रमशः बजार बिस्तार हुँदै गयो,’  मङ्ग्रान्तीले भने, ‘श्रीमतीलाई पनि जुत्ता बनाउने सीप सिकाए । उनले उद्योगको उत्पादनसँगै पसल व्यवस्थापनमा साथ दिएपछि निकै सहज भयो ।’ उद्योग स्थापनाको केही वर्षपछि ऋण उठाएर खरिद गरिएको पहिलो सिलाई मेसिनले व्यवसायलाई नयाँ मोड दियो । हाल उनको उद्योगमा विद्यार्थीका लागि जुत्ता, कामकाजी महिलाका लागि सहज चप्पलदेखि युवाका लागि आकर्षक जुत्ता उत्पादन भइरहेको छ । ‘हाल पालिकाभर हाम्रो काम र पसलको चर्चा हुन्छ । उद्योगमार्फत दैनिक ३० देखि ४० जोडी विभिन्न आकार-प्रकारका जुत्ता तथा चप्पल उत्पादन गरिरहेका छौँ । चार जना स्थानीयलाई रोजगारीसमेत दिइरहेका छौँ,’ मङ्ग्रान्तीले सुनाए । उनीहरूले आफ्नै पसलमार्फत बिक्री गर्नुका साथै मागअनुसार जिल्ला बाहिर पनि जुत्ता चप्पल आपूर्ति गर्दै आएका छन् । केही हजार लगानी गरेर हाल उनले आफ्नो व्यापार पुँजी करिब ४० लाख बनाए । उद्योगमा ४ जनाले रोजगारी पाइरहेका छन् । हिजोका दिनमा अर्काको काम गर्दा जीविका चलाउन समेत समस्या भोगेको यस परिवारले यही उद्योगको आम्दानीले निकै सहज भएको छ । ‘परिवारको जीवनस्तरमा सुधार हुनुका साथै सन्तानको शिक्षामा लगानी गर्न सहज भएको छ । लगानी बिस्तार गर्दै हाल करिब ४० लाख रुपैयाँसम्मको पुँजी पुगाएका छौँ,’ श्रीमती ताराले भनिन्, ‘पहिले भाडाको घरमा बसेर महिनाको खर्च टार्न हम्मेहम्मे पर्थ्यो । अहिले आफ्नै घर छ, उद्योग छ र अरूलाई रोजगार दिन सक्ने अवस्थामा छौँ ।’ श्रीमान्–श्रीमतीबीचको सहकार्य नै सफलताको मूल मन्त्र भएको उनीहरुको बुझाइ छ । उनीहरू मध्ये कमलले उत्पादन व्यवस्थापनमा र ताराले डिजाइन र बिक्री-वितरणमा ध्यान दिइरहेका छन् । थोरै पुँजीबाट सुरु गरेको व्यवसायबाट सफलता हासिल भइरहे पनि विदेशी जुत्ता आपूर्तिका कारण केही समस्या भइरहेको मङ्ग्रान्तीले गुनासो गरे । सरकारले स्थानीय उद्योगलाई थप प्रोत्साहन दिए सहज हुने उनको भनाइ छ । ‘यदि सरकारको स्पष्ट सहयोग र कर छुट मिल्यो भने हामी जस्ता साना उद्यमीले अझ ठूलो योगदान दिन सक्छौँ,’ मङ्ग्रान्तीले भने, ‘कर तिर्ने बेलामा विभिन्न निकायमा धाउनुपर्ने बाध्यताले समय र स्रोत दुवै खर्च हुने गरेको छ । एकीकृत प्रणाली भए त सहज हुन्थ्यो नि ।’ मङ्ग्रान्ती दम्पतीको योजना उद्योगलाई थप बिस्तार गर्दै झापामै ठूलो ‘फुटवेयर हब’ बनाउने छ । जसले आफ्नो र स्थानीय युवालाई रोजगारी दिएर जीवनस्तर सुधार्ने सपना छ । त्यसका लागि योजना र केही रणनीति बनाएर काम गर्ने मङ्ग्रान्तीले बताए ।