एशियन फर्मास्युटिकल्सको आम्दानी सवा २ अर्ब नाघ्यो, मर्जरपछि बैंकको ऋण बढ्यो

काठमाडौं । विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको एशियन फर्मास्युटिकल्स प्रालिले एक वर्षमै सवा दुई अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब २६ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १२.१९ प्रतिशत अर्थात् २४ करोड ६० लाख रुपैयाँले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीले २ अर्ब १ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९७ मा स्थापना भएको एशियन फर्मास्युटिकल्सले दुई दशकभन्दा बढी समयदेखि औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यस अवधिमा कम्पनीले सुदृढ आपूर्ति शृंखला, व्यापक वितरण सञ्जाल तथा अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोली विकास गरेको जनाएको छ । कम्पनीले एन्टिबायोटिक, जठरान्त्र प्रणालीसम्बन्धी औषधि (एसिड स्राव नियन्त्रण), हाडजोर्नी तथा युरिक एसिडसम्बन्धी औषधि, पेनकिलर तथा एन्टी–इन्फ्लेमेटरी, दम, एलर्जी तथा विभिन्न प्रकारका भिटामिन उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएको छ । विगत वर्षहरूमा कम्पनीको आम्दानी निरन्तर बढ्दो क्रममा देखिएको छ । सन् २०२३ मा १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६७ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले जनाएको छ । लामो सञ्चालन अनुभव, स्थिर आम्दानी वृद्धि र सुधारिँदो वित्तीय सूचकहरूले कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गरिएको छ । साथै, कम्पनीको सञ्चालन मुनाफा मार्जिन (ओपीएम) करिब १५ देखि १६ प्रतिशतको दायरामा स्थिर रहेको जनाएको छ । उत्पादन विविधताका हिसाबले पनि कम्पनी बलियो देखिएको छ । एशियन फर्मास्युटिकल्सले जठरान्त्र प्रणालीसम्बन्धी, मानसिक रोगसम्बन्धी, एन्टिबायोटिक, अर्थोपेडिक तथा भेटेरिनरी औषधिसहित विभिन्न उपचारात्मक क्षेत्र समेट्ने उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन अवधिमा ६ वटा विभिन्न डिभिजनमार्फत औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । विशेषगरी जठरान्त्र र मानसिक रोगसम्बन्धी औषधीमा कम्पनीको राम्रो बजार उपस्थिति रहेको र यसले भविष्यमा पनि आम्दानीको दिगोपनालाई समर्थन गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीको दर्ता कार्यालय तथा उत्पादन इकाइ रूपन्देहीको खुनसा–९ मा अवस्थित छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुतानन्द खनाल रहेका छन् भने कार्यकारी निर्देशकका रूपमा शंकर घिमिरे कार्यरत छन् । सेयर स्वामित्व संरचनामा खगिसरा घिमिरे कम्पनीकी सबैभन्दा ठूलो सेयरधनी हुन्, जसको करिब १०.३ प्रतिशत हिस्सा रहेको छ । बाँकी सेयर २१ जना अन्य सेयरधनीको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ । स्थापनाकालदेखि नै गुणस्तरीय औषधि उत्पादनमा जोड दिँदै आएको एशियन फर्मास्युटिकल्सले स्वदेशी औषधि उद्योगलाई सबल बनाउँदै आयात प्रतिस्थापनमा योगदान पुर्‍याउँदै आएको छ । यद्यपि पछिल्ला वर्षहरूमा बढ्दो प्रतिस्पर्धा, आयात तथा नियामक जोखिमले कम्पनीको वित्तीय संवेदनशीलतालाई असर पार्न सक्ने देखिएको छ । सन् २०२४ मा कम्पनीले अत्यधिक ऋण बोकेको सहायक तथा भगिनी संस्था युनिभर्सल फर्मुलेसन्स प्रालिलाई गाभेपछि कम्पनीको बैंक ऋण उल्लेख्य रूपमा बढेको छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । जबकि मर्जरअघि कम्पनीको ऋण १ अर्ब ५० करोड ८२ लाख रुपैयाँ मात्रै थियो । कम्पनीका अनुसार हाल १ अर्ब ७ करोड रुपैयाँ दीर्घकालीन र ७९ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अधिग्रहण गरिएको प्लान्टमा थप पुँजीगत खर्च योजना अघि बढाइएकाले आगामी दिनमा ऋणस्तर अझै बढ्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार घरेलु औषधी उद्योग अत्यन्त प्रतिस्पर्धी र खण्डित रहेको छ । हाल नेपालमा ५० भन्दा बढी सक्रिय औषधी उत्पादक कम्पनीहरू सञ्चालनमा रहेका छन् । पछिल्ला वर्षहरूमा अनुसन्धान तथा विकास सुविधासहित नयाँ क्षमता विस्तारमा समेत लगानी बढ्दै गएकाले प्रतिस्पर्धा थप तीव्र हुने, मूल्यमा दबाब बढ्ने र उद्योगको समग्र मुनाफा मार्जिनमा असर पर्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । यससँगै औषधी उत्पादनमा कम आयात अवरोध (लो ड्युटी प्रोटेक्सन) रहेकाले सस्ता आयातित औषधीसँग घरेलु उत्पादकहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ, जसले दीर्घकालीन विस्तार क्षमता र नाफामा चुनौती थप्ने देखिएको छ । कच्चा पदार्थका लागि आयातमा निर्भरता पनि एशियन फर्मास्युटिकल्सका लागि अर्को चुनौतीको विषय बनेको छ । कम्पनी सक्रिय औषधी तत्व (एपीआई), एक्सिपिएन्ट, प्याकिङ सामग्रीलगायत सबै कच्चा पदार्थ आयातमा निर्भर छ, जसले आपूर्ति शृंखला अवरुद्ध हुने जोखिम र विदेशी मुद्रा उतारचढावको असर कम्पनीले वहन गर्नुपर्ने अवस्था सिर्जना गर्छ ।

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा पछिल्लोपटक औद्योगिक क्षेत्रमा थप दुईवटा उद्योग सञ्चालनमा आएको छ ।   यही माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गरी नयाँ धातुहरू उत्पादन गर्ने नयाँ उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । यस्ता प्रकृतिको उद्योग सम्भवतः नेपालमै पहिलोपटक सञ्चालनमा आएको उनले बताए । त्यसैगरी, गत कात्तिकबाट राधाकृष्ण सेनथेटिक प्रालिले पूर्ण रूपमा प्लाष्टिकको बोरा उत्पादन गर्न सुरु गरिसकेको छ । सूचना अधिकारी नेपालका अनुसार लामो समयदेखि बन्द रहेका उद्योगमध्ये नेपाल ब्रोरीले नयाँ व्यवस्थापनसहित केही दिनभित्रै सञ्चालनको तयारीमा छ भने त्रिपुरा इन्डस्ट्रिजले नयाँ उद्योगका रूपमा टोबाको उद्योग सञ्चालन गर्न लागेको छ । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगमध्ये पछिल्लो केही महिनादेखि लगानीको अभाव देखाउँदै रोटो प्रिन्टिङ उद्योग (प्लास्टिकमा प्रिन्ट गर्ने) र नोबोल प्याकेजिङले उत्पादन बन्द गरेको सूचना अधिकारी नेपालले बताए । औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।   कुल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् । यस्तै, औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायत कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए ।  कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल ५९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ छन् ।   

राजनीतिक दललाई आर्थिक सुधारमा ध्यान दिन मोरङ उद्योग व्यापार संघको अनुरोध

काठमाडौं । मोरङ उद्योग व्यापार संघले आगामी आम निर्वाचन २०८२ का लागि दर्ता भएका राजनीतिक दलहरूलाई आफ्नो–आफ्नो घोषणा–पत्रमा संघले तयार पारेको १५ बुँदे आर्थिक सुधार एजेन्डा समावेश गर्न आग्रह गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा संघले मुलुकको अर्थतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि हासिल गर्न यी एजेन्डाहरू आवश्यक रहेको उल्लेख गर्दै सबै दलहरूलाई अपील गरेको हो । संघका अनुसार हाल नेपालमा नीति अस्थिरता, खुला सीमा नाकाबाट हुने अवैध कारोबार, उच्च सरकारी खर्च, कमजोर प्रशासनिक प्रणाली तथा उद्योगमैत्री नीतिको अभावजस्ता समस्याका कारण अर्थतन्त्र गम्भीर दबाबमा परेको छ । यी समस्याको समाधान नगरेसम्म देशको आर्थिक पुनरुत्थान सम्भव नरहेको संघको ठहर छ । यही अवस्थालाई मध्यनजर गर्दै संघले हालसम्म दर्ता भएका करिब १३६ राजनीतिक दललाई आफ्नो घोषणा–पत्रमा आर्थिक सुधारसम्बन्धी एजेन्डा अनिवार्य रूपमा समावेश गर्न आग्रह गरेको हो । संघले प्रस्तुत गरेको १५ बुँदे एजेन्डामा कृषि उत्पादकत्व वृद्धि, सहुलियत दरमा मल, बीउविजन र आधुनिक औजारको उपलब्धता, पाँच वर्षभित्र वार्षिक एक करोड पर्यटक भित्र्याउने नीति, सीमावर्ती क्षेत्रमा शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठान सञ्चालन, अवैध कारोबार नियन्त्रण, स्वदेशी उद्योगको संरक्षण तथा प्रवर्द्धन, नियमित विद्युत आपूर्ति र विद्युत उत्पादन विस्तारजस्ता विषय समेटिएका छन् । यसैगरी निर्यात प्रवर्द्धनका लागि समुद्री बन्दरगाहसम्मको पहुँच सहज बनाउने, निर्यात अनुदान दिने, औद्योगिक कोरिडर विकास गर्ने, ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी स्थल निर्माण गर्ने, उद्योग व्यवसायको सुरक्षाका लागि कडा नीति लागू गर्ने लगायतका प्रस्ताव पनि एजेन्डामा समावेश छन् । एजेन्डामा करदाता व्यवसायीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, कर्मचारी सरुवा र नियुक्तिमा मेरिट प्रणाली लागू गर्ने, विकास निर्माणका काम समयमै सम्पन्न गर्ने, डिजिटल गभर्नेन्समार्फत सरकारी खर्च घटाउने तथा श्रम ऐनलाई उद्योगमैत्री बनाउने विषय पनि समेटिएका छन् । संघले यी आर्थिक सुधार एजेन्डा कार्यान्वयनमा ल्याएमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र राजस्व संकलनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ । साथै, सरकार र राजनीतिक दलहरूसँग सहकार्य गर्दै देशको आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत संघले जनाएको छ ।