चन्द्र ढकालका छोरा सचिन ढकालसहित अब्बल र बलियो बन्यो ज्योत्सना समूह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा एसोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको टिम बलियो बन्न पुगेको छ । प्रोक्सी वारमा चल्दै आएको महासंघको एसोसिएट्सतर्फको निर्वाचनमा उपाध्यक्षका उम्मेदवार ज्योत्सना समूहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालको प्रवेशसँगै समूह थप बलियो र सशक्त बन्न पुगेको हो । महासंघको निर्वाचनमा एसोसिएट्सतर्फ चन्द्र ढकालको वर्चस्व रहँदै आएको छ । आफू एसोसिएट्स उपाध्यक्ष हुँदा निर्वाचनअघि नै प्रोक्सी भोटको आधारमा सर्वसम्मत भएका चन्द्र ढकालका छोरा सचिन ढकाल ज्योत्सना श्रेष्ठ समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा चुनाव उठेसँगै चुनावी माहोल थप तातेको छ । उनको समूह थप सशक्त बनेको महासंघसम्बद्ध जानकारहरू बताउँछन् । ढकाल वरिष्ठ उपाध्यक्ष हुँदा पनि उनले सबैभन्दा बढी एसोसिएट्सतर्फकै मत पाएका थिए । आफूले सबै क्षेत्रलाई समावेश गरी टिम निर्माण गरेको र पूरा टिमको जित सुनिश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताइन् । अहिले पनि महासंघको एसोसिएट्सतर्फकै उपाध्यक्ष रहेकी श्रेष्ठले हालको कार्यकालमा व्यवसायीमैत्री नीति निर्माण तथा समूहगत सौदाबाजी जस्ता विषयमा आफूले धेरै काम गरेको र अझै नीतिगत पैरवी तथा व्यवसायीमैत्री वातावरण निर्माणका लागि काम गर्न बाँकी रहेकाले आफू पुनः सोही पदमा दोहोरिएको जानकारी दिइन् ।  ‘हामीले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी एसोसिएट्सतर्फको सदस्य पदमा उम्मेदवारहरू छनोट गरेका छौँ,’ उनले भनिन्, ‘तसर्थ हाम्रो समूहलाई मतदान गरी जिताउन सम्पूर्ण मतदातामा हार्दिक अनुरोध गर्दछु ।’ उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्धु बस्नेत (अजित), ई. विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, शोभा ज्ञवाली, सन्दीप अग्रवाल (माखरिया) चुनावी मैदानमा छन् ।    

नीतिगत अस्थिरता अन्त्य गर्न निजी क्षेत्रको माग, सहकार्यमा राजनीतिक दल सहमत

ललितपुर । हालै सम्पन्न निर्वाचनपछि नयाँ संसद र सरकार गठन भएको परिस्थितिमा आर्थिक विकास, लगानीमैत्री वातावरण र रोजगारी सृजना लगायत विषयमा केन्द्रित रहेर निजी क्षेत्र र प्रतिनिधिसभाका सदस्यहरूबीच ललितपुरमा नीति संवाद आयोजना गरिएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सन्दर्भमा आयोजित नीति संवादमा प्रतिनिधिसभाका सदस्य र निजी क्षेत्रका प्रतिनिधिहरूले आपसी सहकार्य गरी आर्थिक विकास, समृद्धि र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत स्थायित्वमा जोड दिएका छन् । सो क्रममा प्रतिनिधिसभाका सदस्यहरूले मुलुकको समृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको योगदानको चर्चा गर्दै यस क्षेत्रको समस्या र भोगिरहेको चुनौती सम्वोधनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश पराजुलीले निजी क्षेत्रसँग सहकार्यका लागि आफूहरू प्रतिवद्ध रहेको बताए । कानून निर्माण र नीतिगत व्यवस्थाका लागि संसद र यसका समितिबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरिने उनको भनाइ थियो । आफूहरू आम जनताको व्यापक समर्थनसहित सरकारमा पुगेको चर्चा गर्दै सांसद पराजुलीले युवा पुस्ताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक भएको बताए ।  नेपाली कंग्रेसका सांसद नरेन्द्रराज केरुङले देशको अर्थतन्त्रलाई सबल तुल्याउन निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । निजी क्षेत्रको पूँजीलाई मुलुकको विकासमा सदुपयोगका लागि प्रोत्साहित गर्नुपर्ने बताए । नीतिगत स्थायित्वलाई सरकारले ध्यान दिनुपर्ने र प्रतिपक्षी दलको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता उनले जनाए ।  नेकपा एमालेका सांसद गुरु बरालले समग्र उद्यमी व्यवसायीको समस्या समाधानका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बताए । सरकारले निजी क्षेत्रलाई त्रसित गर्नुको साटो जवाफदेही व्यवहार गर्नुपर्ने उनको भनाइ थियो ।  संवाद कार्यक्रमका बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गत निर्वाचनमा सबैजसो दलले आफ्नो घोषणापत्रमा निजी क्षेत्रको विषयलाई प्राथमिकता दिएकोमा आभार प्रकट गरे । निजी क्षेत्र बोझिलो कर र नीतिगत अस्थिरताबाट पीडित भइरहेको भन्दै त्यसलाई अन्त्य गर्न संसदको तर्फबाट भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरे । जेनजी आन्दोलनपछि मुलुकमा भएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आफूहरू सरकार र संसदसँग सहकार्यका लागि तयार रहेको बताए । निजी क्षेत्र र व्यवसायबाट हुने नाफालाई गलत दृष्टिकोणबाट हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।  संवाद कार्यक्रमका आयोजक एवम् महासंघका कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरेले नयाँ सरकार र निजी क्षेत्र मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताए । महासंघका स्थल यातायात तथा पारवहन समितिका सभापति समेत रहनुभएका घिमिरेले करको दर भन्दा पनि दायरा बढाउनुपर्ने आग्रह गरे । निजी क्षेत्रले सुशासन र लगानीमैत्री ऐन कानून चाहेको भन्दै उनले सरकार र संसदबाट सहयोगको खाँचो रहेको बताए ।  नीति संवाद कार्यक्रममा रास्वपाका मनिष झा, विदूषी राना, नितिमा कार्की, शुलभ खरेल, सुनिल खड्का, प्रकाशचन्द्र परियार लगायत सांसद सहभागी भएका थिए । त्यस्तै, महासंघ अन्तर्गतका वस्तुगत संघका ५० भन्दा बढी प्रतिनिधिहरूले आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा महिला उद्यमी एवम नेपाल कृषि मेसिनरी संघकी उपाध्यक्ष सुनिता नेमाफुकीले नीति संवाद आयोजना गर्नुको औचित्य र महत्वबारे चर्चा गरेका थिए ।      

६ महिनामा राजेश मेटलको आम्दानी २.२० अर्ब, बैंकमा ऋण ६.२६ अर्ब रुपैयाँ

काठमाडौं । राजेश मेटल क्राफ्ट्स लिमिटेडले ६ महिनामा २ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा २ अर्ब २० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।  कम्पनीले अघिल्ला वर्षहरूमा भने उतारचढावपूर्ण आम्दानी देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आव २०८०/८१ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ र आव २०७८/७९ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार प्रतिस्पर्धात्मक दबावका कारण बिक्री मूल्य घट्नु, कच्चा पदार्थको लागतमा उतार-चढाव आउनु तथा उत्पादन बिक्री मिश्रणमा परिवर्तन हुनु नाफामा असर पार्ने प्रमुख कारण हुन् । उच्च मार्जिन दिने पानाको हिस्सा २०२४ मा ४७ प्रतिशतबाट घटेर २०२५ मा ३७ प्रतिशतमा झरेको छ भने कम मार्जिन दिने पाइपको हिस्सा ३१ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेको छ । सन् १९९३ मा श्रवण के. अग्रवालद्वारा स्थापना गरिएको यो कम्पनी पारिवारिक स्वामित्वमा सञ्चालन हुँदै आएको छ । हाल कम्पनीमा ६ जना सम्बन्धित व्यक्ति र ४ वटा सम्बद्ध संस्थाबीच सेयर स्वामित्व वितरण गरिएको छ । राजेश मेटल क्राफ्ट्स एक इस्पात उत्पादक कम्पनी हो, जसले स्टील पाइप, जस्ती (ग्याल्भेनाइज्ड) तथा रंगीन (कलर कोटेड) पाना लगायतका उत्पादनहरू उत्पादन गर्दै आएको छ । कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा हट रोल्ड कुइल भारतबाट आयात गरी आफ्नै कोल्ड रोलिङ मिलमार्फत प्रशोधन गरेर विभिन्न इस्पातजन्य वस्तु उत्पादन गर्छ । तरलताको हिसाबले कम्पनीको अवस्था मध्यम रूपमा सन्तोषजनक देखिएको छ । २०२६ जनवरीसम्म करिब ९० करोड ५० लाख रुपैयाँ (२९ प्रतिशत) अप्रयुक्त ऋण सीमा रहेको छ, जुन २०२५ जुलाईमा करिब २९ करोड ६० लाख रुपैयाँ (१२ प्रतिशत) मात्र थियो । यद्यपि, नाफा मार्जिनमा निरन्तर गिरावट देखिएको छ । २०२४ मा ६.८ प्रतिशत रहेको मार्जिन २०२५ मा घटेर ४.४ प्रतिशतमा पुगेको छ भने २०२६ को पहिलो आधामा अझै घटेर ३.५ प्रतिशतमा सीमित भएको छ । उत्पादन मिश्रणमा आएको परिवर्तन, लागत वृद्धि, प्रतिस्पर्धा र निर्माण क्षेत्रको सुस्तता आएको कम्पनीले जनाएकाे छ । कम्पनीले हाल विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।