चालु आर्थिक वर्षमा तनहुँमा ६ सय ४७ उद्योग दर्ता
फाइल फोटो दमौली । चालु आर्थिक वर्षमा तनहुँमा ६ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ ३ सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा ६ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् । २ सय ७८ उद्योग खारेज चालु आवमा जिल्लामा २ सय ७८ उद्योग खारेज भएका छन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो । कार्यालयमा गत आवमा २ सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ । चालु आवमा कार्यालयले ४० लाख ४९ हजार १ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ । वाणिज्यतर्फ १९ लाख ८५ हजार १ सय ७५ र उद्योगतर्फ २० लाख ६३ हजार ९ सय ५० राजस्व संकलन भएको छ । उद्योगतर्फका ८ सय ४० र वाणिज्यतर्फ ७ सय ४१ गरी १ हजार ५ सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् । चट्याङपीडितलाई सहयोग यसैबीच, देवघाट गाउँपालिका-४ रातेपानीमा चट्याङले घर जलेका तुलबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा र त्रिपाल प्रदान गरेको छ । चट्याङबाट घरका आठजना सदस्यमध्ये तीनजना सामान्य घाइते भएका थिए । यो दैवी विपत्तिमा करिब २ लाख बराबरको क्षति भएको बताइएको छ ।
आर्थिक सुधारका लागि महासंघले पहल गरेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । यसमा सरकारको नेतृत्व र बिकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा बताएका छन् । भेटमा महासंघका अध्यक्ष ढकालले नेपाल प्राकृतिक स्रोतसाधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको पनि बताए । यद्यपि, यी फाइदाहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक बृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए । ढकालले नवप्रवर्तन, उद्यमशीलता बिकास र दिगो आर्थिक बृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसंगको सहकार्य आवश्यक रहेको बताए । यसैबीच, होल्टम्यानले आइएफसी सधैं निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आइएफसी निरन्तर सहयोग र सहकार्य गर्ने बताए । होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको बताए । गत वर्ष आइएफसी र महासंघले संयुक्त रुपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
आर्थिक मन्दीले ९१ साना उद्योग बन्द
पर्वत । कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् । आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले बताए । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको सङ्ख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ वटा उद्योग खारेज भएका थिएभने दुई सय ७४ वटा व्यवसाय दर्ता भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । यसैबीच, उक्त कार्यालयले उद्योगको दिगोपनाका लागि २३ उद्योगीलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष ५६ वटा योजना रहेकामा १९ वटा योजना सम्पन्न भएको र बाँकी योजना कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख नेपालीले बताए । रासस