अनुपम राठीको नेतृत्वमा मोरङ उद्योग व्यापार संघको नयाँ समिति गठन

विराटनगर । मोरङ उद्योग व्यापार संघको ३४औं कार्यसमितिको अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा सञ्जयकुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारदा, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल तथा प्रवक्तामा दिपेश सुवेदी चयन भएका छन् । साथै, बैठकमा संघको नियमबमोजिम सम्बद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओमप्रकाश शर्मा, संघका शाखाहरूतर्फबाट कृष्णप्रसाद रिजाल र अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको नियमबमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् । सोमबार, मोरङ व्यापार संघ (साविकको मोरङ व्यापार संघ) को ३४औं कार्यसमिति सदस्यहरूको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो । संघको विधानअनुसार वाणिज्यतर्फ आठजना र उद्योगतर्फ आठजना सदस्यका लागि निर्वाचन भएको थियो । त्यही संख्याको उमेदवारी दर्ता हुन गई सोही उमेदवाहरू संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएको संघले जनाएको छ । कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र सञ्जीव श्रेष्ठलाई आमन्त्रित सदस्यको रूपमा मनोनयन गरेको छ । साथै, संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मा मनोनीत भएका छन् ।

सीजी फुड्समा भएको घटनाप्रति नेपाल उद्योग परिसंघको ध्यानाकर्षण

काठमाडौं । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय रहेको परिसघंले जनाएको छ । देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघले माग गरेको छ । ‘हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं’, परिसंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपाली सिमेन्ट उद्योगमा तहल्का मच्चाएको होङ्सीको आम्दानीमा भारी गिरावट, ऋणको रेटिङ घट्यो

काठमाडौं । विदेशी लगानीको होङ्सी शिवम् सिमेन्टको आम्दानी १९ प्रतिशतले घटेकाे छ । आर्थिक मन्दीबीच सिमेन्टको आम्दानी सन् २०२३ उल्लेख्य दरमा घटेको हो । रेटिङ एजेन्सी इक्राका अनुसार होङ्सीले आर्थिक वर्ष २०२३/२४ को पहिलो ६ महिनामा ४ अर्ब ८६ करोड २० लाख आम्दानी गरेको छ ।आर्थिक वर्ष २०२२/२३ मा १३ अर्ब ८१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख, २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख र सन् २०२० मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँबराबर सञ्चालन आम्दानी गरेको थियो । कोइलाको भाउ बढ्नु र सिमेन्ट उद्योगमा व्यापक प्रतिस्पर्धा लगायत कारण कम्पनीको आम्दानीमा गिरावट आएको छ । यिनै सूचक हेरेर क्रेडिट रेटिङ एजेन्सी इक्राले होङ्सी शिवम सिमेन्टको दीर्घकालीन ऋण रेटिङ घटाएको छ । इक्राका अनुसार होङ्सी शिवम्को ६ अर्ब ५० करोडको दीर्घकालीन ऋणको रेटिङ घटाएर २ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा झारेको छ । इक्राले ‘नकारात्मक प्रभावहरू सहित हेरेर’ होङसीको ऋणको क्रेडिट रेटिङ घटाएको जानकारी दिएको छ । सन् २०१५ सेप्टेम्बरमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट प्रालिले क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको क्लिंकर उत्पादन क्षमता प्रतिवर्ष २० लाख टन र सिमेटन्ट उत्पान २३ लाख टन रहेको छ । होङ्सी शिवम्मा हङकङ रेड लायन सिमेन्ट नम्बर ३ लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम् होल्डिङ्स प्रालिको ३० प्रतिशत लगानी छ । नवलपरासीको बिनायी त्रिवेणी गाउँपालिकामा कारखाना रहेको होङ्सी शिवम्ले होङ्सी ब्रान्डमा ‘अर्डिनरी पोर्टल्यान्ड सिमेटन्ट’ (ओपीसी) र ‘पोर्टल्यान्ड पोजोलाना सिमेन्ट’ (पीपीसी) सिमेन्ट उत्पादन गर्दै आएको छ । एकताका होङ्सी सिमेन्टको प्रवेशले नेपाली सिमेन्ट उद्योगमा तहल्ताकै मच्चिएकाे थियो । कुनैबेला प्रतिबोरा १ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने सिमेन्टमा होङ्सी नेपालमा आएपछि ५/६सय रुपैयाँमा झरेको थियो । त्यसपछि अधिकांश नेपाली सिमेन्ट उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका थिए भने कतिपय अहिलेसम्म घाटामा नै सञ्चालन भइरहेका छन् । होङ्सीकै कारण अहिले नेपालमा सिमेन्टको मूल्ल बढ्नबाट रोकिएको छ । बजारमा ओपीसी सिमेन्ट ७ सयकाे हाराहारी र पीपीसी सिमेन्ट ६ सयकाे हाराहारीमा किन्न पाइन्छ । उपभोक्ताको लागि खुशीको विषय भएपनि एउटा होङ्सीकाे कारण दर्जनाैं उद्याेग संकटमा छन् ।