सरकार र निजी क्षेत्रको संयुक्त पहल, आपूर्ति सहज बनाउने तयारी तीव्र

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै मुलुकमा सहज आपूर्ति सुनिश्चित गर्न निजी क्षेत्रका छाता संगठनहरूसँग विशेष छलफल गरेको छ । सो छलफलमा मन्त्रालयका अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), महिला उद्यमी महासंघ नेपाल (एफडब्ल्यूईएएन) र नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) का प्रतिनिधिहरू, कर पदाधिकारी एवं अन्य सरोकारवालाको सहभागिता रहेको थियो । बैठकले हालैको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै आन्दोलनका क्रममा सरकारी र निजी संरचनामा भएको क्षतिको विवरण तयार गर्न, औद्योगिक वातावरण सुधार गर्न तथा लगानीकर्ताको मनोबल उकास्ने विषयमा गम्भीर छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परिस्थिति क्रमशः सहज बन्दै गएको छ । अन्तर्राष्ट्रिय व्यापारका सीमा नाकामा भन्सार कार्यालय सञ्चालन भइसकेको र मालसामानको ढुवानी र वितरण सहज भइरहेको छ । चाडपर्वलाई लक्षित गर्दै साधन आपूर्ति तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर १५३ सहुलियत मूल्य पसल आजैदेखि सञ्चालनमा ल्याइएको छ । बजारमा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति भएको मन्त्रालयको दाबी छ । मन्त्रालयले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र व्यवसायीहरूलाई अत्यधिक वस्तु सञ्चयन नगर्न र आपूर्ति व्यवस्थामा अवरोध पुर्‍याउने काम नगर्न आग्रह गरेको छ ।  साथै बजार अनुगमनलाई कडा पार्दै उपभोक्ता अधिकार हनन हुने कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं । सोमबारबाट काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।  अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ गरिने गरिएपनि यसपटक औपचारिक कार्यक्रम बिनै शुरु गरिएको हो । त्यस्ता पसलहरुमा नागरिकले ५–१० रुपैयाँ छुट पाउन सक्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीले खाद्य व्यवस्था कार्यालयबाट चामल, मसलाजन्य सामाग्रीहरु, केराउ, दाल, तेलहरु विक्रिमा राखिएको बताइन् । उनकाअनुसार चामल, गहु दाल, केराउमा प्रतिकेजी ५ रुपैँया छुट दिइएको छ भने चिनीमा ५ रुपैयाँले छुट दिइएको छ । यस्तै, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरुमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिइएको छ भने तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छुट दिएको छ । खाद्यले सिमि, फापर, मार्सि, बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ ।   खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख राजवंशीले भनिन्–‘खाद्य व्यवस्था कार्यालयबाट विभिन्न ५१ आइटमहरु हामीले राखेका छौं ।  खाद्यवस्तुहरुमा चामल, मसलाजन्य सामाग्रीहरु पनि हामीले राखेका छौं । चामल गहुँ दाल, केराउमा प्रतिकेजी ५ रुपैँया छुट दिइएको छ । चिनीमा ५ रुपैयाँले छुट दिएका छौं । चिउरा, आटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरुमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिएका छौं । तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छूट दिएका छौं । त्यसैगरी सिमि, फापर, मार्सि, बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएका छौं ।’ उनले प्रतिकेजी १० रुपैयाँ छुट दिने निर्णय भएपनि यसपटक खसी बोका आउने/नआउने निश्चित नरहेको जानकारी दिइन् । आन्दोलनको प्रभावका कारण खसीबोका ल्याउन नसकिएको उनको भनाइ छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले समेत सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याएको छ । साल्टले सहुलियत दिएर आयो नुन २४ रुपैयाँमा विक्री गरेको छ भने २ केजीको चिनीलाई १९० रुपैयाँमा सहुलियतपसलहरुमार्फत विक्री गरेको छ । भान्साघर चामल, एसटीसी सोना मनसुली चामललगायतमा समेत छुट दिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।  साल्ट ट्रेडिङका अनुसार  यस वर्ष देशभर तीन दर्जन स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।  काठमाडौँ उपत्यकामा भने कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा पसल खुलाइएका छन् ।  उपत्यकाबाहिर झापाको विर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर र पर्साको वीरगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।

निष्काशन बन्द गरिएको श्रीनगर एग्रीटेकको आईपीओ भर्न २ दिन समय थपियो

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने समय २ दिन थपेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई भदौ २५ गते निष्काशन बन्द गरेको थियो । तर, देशमा उत्पन्न विषम परिस्थितिले गर्दा दरखास्तमा बाधा पुगेको र उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रहलाई ध्यानमा राख्दै भदौ ३० गते र ३१ गते आवेदन दिने अवधि थप गरेको कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।  उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।