जोसिलो र जीवन्त महासंघ बनाउँछु, निजी क्षेत्रको मनोबल गिर्न दिन्नँ : नवनिर्वाचित अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै महासंघको गरिमालाई उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा महासंघलाई थप प्रभावकारी र जुझारु बनाउने संकल्प गरे। आफ्नो बाल्यकालको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘विसं २०३६/३७ सालतिर पोखरा उद्योग वाणिज्य संघको रजत जयन्तीमा ठूलो बुवासँग गएको थिएँ । त्यतिबेला मनमा परेको छाप र परिवारबाट महासंघका बारेमा बुझ्ने अवसर पाएका कारण नै आज यो नेतृत्व गर्ने स्थानसम्म आइपुगेको हुँ ।’ वर्तमान आर्थिक अवस्थाप्रति चासो व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योगी व्यवसायीहरूको मनोबल खस्किएका कारण लगानी प्रवाह हुन नसकेको तर्फ ध्यानाकर्षण गराए । उनले आगामी तीन वर्षभित्र सरकार र निजी क्षेत्रबीचको सम्बन्धको परिभाषा र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने, नेपालमा निजी लगानी अभिवृद्धि गर्ने र महासंघलाई जिल्ला, वस्तुगत र क्षेत्रगत आधारमा वर्गीकरण गरी थप सुदृढ बनाउने योजना अघि सारेका छन् । अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका लागि ‘जोसिलो महासंघ, जीवन्त महासंघ’ को नारा अघि सारेका छन् । उनले आगामी तीन वर्षभित्र पूरा गर्ने गरी ६ स्तम्भ र ६० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । ६ स्तम्भ र ६० बुँदे प्रतिबद्धता

‘बिचुटेन डेटा वर्ल्ड’ दुई महिनामै सञ्चालनमा आउने, लगानी साढे २ अर्ब

काठमाडौं । नेपाललाई सूचना प्रविधिको क्षेत्रमा विश्व मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ नेपाली लगानीमा अत्याधुनिक डेटा सेन्टर परियोजना बिचुटेन डेटा वर्ल्ड सञ्चालनमा आउने भएको छ ।  नेपालमा बढ्दो डिजिटल माग र कृत्रिम बाैद्धिकता (एआई) को भविष्यलाई मध्यनजर गर्दै साढे २ अर्ब रुपैयाँको प्रारम्भिक लगानीमा यो परियोजना सुरु गरिएको हो । नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको बिचुटेन डेटा वर्ल्ड अन्तर्राष्ट्रिय स्तरको ‘टियर ४ प्रमाणीकरण प्राप्त गर्ने देशकै पहिलो अत्याधुनिक डेटा सेन्टर हुनेछ । यसको सबैभन्दा ठुलो विशेषता भनेको यसले प्रदान गर्ने ९९.९९ प्रतिशत अपटाइम हो । जसको अर्थ यहाँ राखिएका डिजिटल तथ्याङ्क र सेवाहरू वर्षभरि नै बिना कुनै अवरोध निरन्तर सञ्चालनमा रहनेछन् । उच्च स्तरको सुरक्षा र ब्याकअप प्रणाली हुने भएकाले जस्तोसुकै कठिन प्राविधिक समस्या वा मर्मत सम्भारको समयमा पनि सेवा बन्द नहुने जनाइएकाे छ । विशेषगरी एआई कार्यभार र ठूला डिजिटल डाटाहरू व्यवस्थापनका लागि यो पूर्वाधार खडा हुने कम्पनीको भनाइ छ । किन राखियो बिचुटेन नाम ? परियोजनाको नाम बिचुटेन भगवान विष्णुको जापानी नामबाट जुराइएको हो । कम्पनीका अनुसार जसरी भगवान विष्णुलाई सृष्टिको रक्षक र संरक्षक मानिन्छ, त्यसैगरी यो डेटा सेन्टरले नेपालको महत्त्वपूर्ण डेटालाई सुरक्षित र संरक्षित राख्ने, डेटा सार्वभौमिकताको रक्षा गर्ने कम्पनीका अध्यक्ष नवीन अग्रवालले जानकारी दिए ।  उनका अनुसार कम्पनीले काठमाडौंको चोभार र वीरगञ्ज गरी दुईवटा स्थानमा डेटा सेन्टर निर्माण गरिरहेको छ । चोभारको सेन्टर मुख्य केन्द्रको रूपमा रहनेछ भने वीरगन्जको सेन्टरलाई डिजास्टर रिकभरी साइटका रूपमा प्रयोग गरिनेछ । २४० किलोवाट क्षमताबाट सुरु भइ सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ ।  चोभारमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र आगामी जुलाईसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘स्वदेशी जनशक्ति र हरित ऊर्जाको प्रयोग यो परियोजनाले नेपालको दक्ष जनशक्तिलाई स्वदेशमै अवसर प्रदान गर्ने लक्ष्य हामीले राखेको छौं । नेपालका इन्जिनियर र प्राविधिकहरूलाई विदेश पलायन हुनबाट रोक्न यसले ठूलो मद्दत पुर्‍याउनेछ । साथै नेपालको सस्तो र स्वच्छ जलविद्युत लाई उपयोग गर्दै यसलाई वातावरणमैत्री र किफायती बनाइनेछ ।’ अन्तर्राष्ट्रिय साझेदारी र भविष्यको सोच बिचुटेनले एआई प्रविधिलाई नेपालको कुना–कुनासम्म पुर्‍याउन भिभिडीएन र गुगल क्लाउडजस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको उनको भनाइ छ ।  यसले नेपालको शिक्षा, स्वास्थ्य अर्थात् अस्पतालको रिपोर्ट डिजिटलाइज गर्ने, कृषि र सरकारी सेवाहरूमा आमूल परिवर्तन ल्याउने अपेक्षा रहेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०३० सम्ममा आफ्नो क्षमता ५ मेगावाटसम्म पुर्‍याउने दीर्घकालीन योजना अघि सारेको छ । ‘यो केवल एउटा भवन मात्र होइन, यो डिजिटल नेपालको एउटा बलियो जग हो,’ बिचुटेनका अध्यक्ष अग्रवालले भने ।  यस परियोजनाको सफल कार्यान्वयनसँगै नेपाल दक्षिण एसियाकै एक प्रमुख डेटा सेन्टर हब बन्ने र डिजिटल अर्थतन्त्रमा ठूलो योगदान पुग्ने कम्पनीको भनाइ छ ।  बिचुटेन डाटा भोल्ट प्रालि नेपाली निजी कम्पनी हो । यसले डिजिटल पूर्वाधार निर्माणको काम गरिरहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।   यसमा उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयल संलग्न रहेका छन् । 

महासंघको कोषाध्यक्षमा अम्बिका पौडेलको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को कोषाध्यक्षमा अम्बिका पौडेलले दाबी गरेका छन् । एसोसिएट तर्फबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका पौडेलले कोषाध्यक्षमा दाबी रहने बताएका हुन् ।  उनले कार्यसमिति सदस्यहरुसँग आफ्नो कोषाध्यक्षमा दाबी रहने बताउँदै सहयोगको अपिल गरेका हुन् ।   एसोसिएटतर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा पौडेलले १ हजार १९३ मत प्राप्त गर्दै विजयी भएका थिए । पौडेल तेस्रो पटक महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनी महासंघको कर तथा राजस्व समिति सभापतिको भूमिकामा थिए । पौडेल पुँजी बजारका लगानीकर्ताहरूको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष हुन् । उनी बैंक तथा वित्तीय संस्था, जलविद्युत्, निर्माण कम्पनी, पर्यटन तथा उत्पादनमूलक उद्योग क्षेत्रमा समेत सक्रिय रूपमा आबद्ध छन् । पौडेलले सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै व्यावसायिक हकहितका विषयमा बुलन्द आवाज उठाउने बताएका छन् । सम्पूर्ण व्यावसायिक समुदायको आवाजलाई सम्मान गर्दै साझा लक्ष्य हासिल गर्न एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।