८१ करोडको कारोबार, ८० लाख सरकारलाई कर
दीपक चन्द काठमाडौं । झापाको मेचीनगर-१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शि सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले पारिवारिक कठिनाइबाट सुरु गरेको सानो प्रयासलाई आज ठूलो उद्योगमा रूपान्तरण गरेका छन् । वि.सं २०५० तिर उनका बुबा घनश्याम चिमोरियाले गाउँघरमा सङ्कलन भएको दूध साइकलबाट भारतको सिलिगुडी बजार पुर्याउने काम गर्थे । त्यसबेला नेपालमा दूधको बजार सीमित थियो, जसका कारण उत्पादन भएको दूध भारतीय बजारमा बेच्नुपर्ने बाध्यता थियो । केही वर्षपछि योगेन्द्रका दाजु पनि यस व्यवसायमा जोडिए । विस्तारै गाउँका अन्य व्यक्तिहरूलाई समेत जोड्दै दूध सङ्कलनको दायरा बढ्दै गयो । त्यसबेला दैनिक करिब १ हजार ५०० लिटर दूध साइकलबाटै सिलिगुडी पुर्याइन्थ्यो, जुन आफैँमा चुनौतीपूर्ण काम भएको चिमोरियाको भनाइ छ । ‘समयसँगै दूधको माग बढ्दै गयो र सङ्कलन पनि विस्तार हुँदै गयो । त्यसपछि पिकअप भ्यान खरिद गरेर दूध ढुवानी गर्न थाल्यौँ । भारतीय दूतावासको अनुमति लिएर २०६० सालदेखि व्यवस्थित रूपमा ढुवानी सुरु गरियो । त्यसपछि व्यवसायलाई थप गति दिन सफल भएका हौँ,’ उनले भने । चिमोरियाले वि.सं २०६१ तिर सिलिगुडीस्थित हिमुल डेरीमा दूध बिक्री गर्न थालेपछि डेरी उद्योगको सम्भावना नजिकबाट बुझेको बताए । यही अनुभवले आफूलाई नेपालमै डेरी उद्योग स्थापना गर्ने सोचतर्फ प्रेरित गरेको उनले सुनाए । त्यही सोचले वि.सं २०६३ मा चिमोरिया परिवारले घरेलु तथा साना उद्योगमा दर्ता गरेर औपचारिक रूपमा डेरी व्यवसाय सुरु गर्याे । नेपालमै डेरी उत्पादनको बजार छ भन्ने कुरा वि.सं २०६३ को तीज मेलामा देखिएको उच्च मागले पुष्टि गरेको व्यवसायी चिमोरियाको बुझाइ छ । उक्त मेलामा दूध र दहीको अत्यधिक माग भएपछि पूर्ण रूपमा डेरी व्यवसायमा लाग्ने निर्णय गर्न सहज भएको उनको भनाइ छ । वि.सं २०६५ तिर बिर्तामोडमा सञ्चालनमा रहेको पञ्चामृत डेरी १२ लाख रुपैयाँमा खरिद गरेपछि चिमोरियाले आफ्नो व्यवसायलाई थप विस्तार गरे । त्यसपछि बिस्तारै उद्योगको संरचना, प्रविधि र बजार विस्तार गर्दै ‘ऋतिका डेरी उद्योग’ ले आजको रूप लिएको हो । हाल ऋतिका डेरी उद्योगमा झापा र इलामका ३२ वटा सङ्कलन केन्द्रबाट दैनिक ३१ हजार लिटरभन्दा बढी दूध सङ्कलन हुने गरेको छ । यहाँका ६ सयभन्दा बढी किसान तथा सहकारीमार्फत दूध उद्योगमा आउने गरेको र यसले ग्रामीण अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा सघाएको चिमोरिया बताउँछन् । उद्योगले १२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमध्ये ८४ जना सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । यसबाहेक ढुवानी, बिक्री वितरण र अन्य सहायक क्षेत्रमा सयौँले अप्रत्यक्ष रोजगारी पाएका छन् । सञ्चालक चिमोरियाका अनुसार गत आर्थिक वर्षमा उद्योगले ८१ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो भने विभिन्न कर शीर्षक अन्तर्गत करिब ८० लाख रुपैयाँ सरकारलाई कर बुझाएको छ । यस उद्योगमा सङ्कलित दूधबाट दैनिक करिब १३ हजार लिटर प्याकेट दूध, ५ हजार लिटर दही, २ हजार लिटर पनिर, १ हजार लिटर बराबरका मिठाई तथा आइसक्रिम, ५ हजार लिटरबाट छुर्पी उत्पादन गरिन्छ । बाँकी दूध बदाम ड्रिङ्क उद्योगलाई आपूर्ति गरिन्छ भने अतिरिक्त दूध पाउडरका रूपमा प्रशोधन गरिन्छ । चिमोरियाका अनुसार उद्योगको मुख्य बजार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाहरू हुन् । केही उत्पादन पहाडी जिल्लामा पनि पुग्ने गरेका छन् । यहाँ उत्पादन भएको घीउ र छुर्पी भने काठमाडौं हुँदै अमेरिका र युरोपसम्म पुग्ने गरेका छन्, यद्यपि उद्योगले प्रत्यक्ष निर्यात नगरी व्यापारीमार्फत विदेश पठाउने गरेको चिमोरियाले जानकारी दिए । उनले डेरी उद्योगसँगै गाई फार्म पनि सञ्चालन गर्दै आउनुभएको छ । यो फार्म केवल दूध उत्पादनका लागि नभई किसानलाई उन्नत गाईपालनतर्फ आकर्षित गर्ने उद्देश्यले स्थापना गरिएको हो । चिमोरियाले साना स्तरका किसानलाई आधुनिक तरिकाले गाईपालन गर्न सिकाउने, समस्या समाधान गर्ने र उत्पादन वृद्धि गराउने लक्ष्यसहित गाई फार्म सञ्चालन गरिएको बताए । ‘भारतको गुजरात मोडेलबाट प्रेरित भएर साना फार्ममार्फत उत्पादन बढाउने रणनीति अपनाइएको छ । यसअनुसार साना किसानले सुरुमा ५ लिटर दूध उत्पादन गर्ने क्षमताबाट सुरु गरेर क्रमशः १० लिटर र २० लिटर उत्पादनसम्म पुग्ने लक्ष्यसहित यो मोडेलमा काम गरिरहेका छौँ । यसले किसानको आम्दानी बढाउने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा छ,’ उनले भने । डेरी उद्योग सञ्चालनका क्रममा चिमोरियाले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ । सुरुमा दक्ष जनशक्ति अभाव र ‘लोडसेडिङ’ प्रमुख समस्या थिए । हाल ती समस्या केही हदसम्म समाधान भए पनि अन्य चुनौती थपिएका छन् । ‘उत्पादन लागत उच्च हुनु, निर्यातका लागि नीतिगत जटिलता हुनु र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था मुख्य समस्या हुन् । विशेषगरी नेपालमा आयात हुने डेरी उत्पादनमा भन्सार शुल्क कम भए पनि नेपाली उत्पादन निर्यात गर्दा झन्झटिलो प्रक्रिया भोग्नुपरेको छ,’ चिमोरियाले गुनासो गर्दै भने । उनका अनुसार नेपाली छुर्पीको अन्तरराष्ट्रिय बजारमा अत्यधिक माग छ, विशेषगरी युरोप र अमेरिकामा । निर्यात प्रक्रियामा रहेका नीतिगत अवरोधका कारण भने यसको पूर्ण लाभ लिन सकिएको छैन । यसर्थ सरकारले छुर्पी निर्यातलाई सहज बनाउने नीति ल्याउनुपर्ने र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्नुपर्ने चिमोरियाका माग छ । उहाँले डेरी व्यवसायलाई मासु उत्पादनसँग जोडेर अघि बढाउन सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराए । नेपाल र चीनबीच भैँसी तथा राँगाको मासु निर्यातसम्बन्धी सम्झौताले यस क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने चिमोरियाको भनाइ छ । ‘मासु उत्पादनसँगै दूध उत्पादन पनि हुने भएकाले यी दुई व्यवसायलाई सँगसँगै अघि बढाउन सके थप रोजगारी सिर्जना र आम्दानी वृद्धि हुनसक्छ । यस विषयमा सरकारले काम गर्नुपर्छ,’ उनले भने । योगेन्द्र चिमोरियाको यो कथा केवल एक सफल उद्योगीको कथा मात्र होइन, ग्रामीण नेपालमा सम्भावनाहरू कसरी पहिचान र उपयोग गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो । साइकलबाट दूध बोकेर बजार पु¥याउने अवस्थाबाट सुरु भएको यात्रा आज हजारौँ लिटर दूध प्रशोधन गर्ने उद्योगमा परिणत हुनु आफैँमा उल्लेखनीय उपलब्धि हो । उहाँको प्रयासले किसान, श्रमिक र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाएको छ । यदि यस्ता उद्यमलाई राज्यले उचित नीति, सहुलियत र प्रोत्साहन दिन सके, नेपालमा डेरी क्षेत्रले अझ ठूलो आर्थिक योगदान दिन सक्ने चिमोरियाको सङ्घर्षले देखाउँछ । रासस
महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औं स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नसके संस्थागत एकताको आधार हुने बताए । उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे । अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पनि बढाउनु पर्नेमा जोड दिए । ‘यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको छ । तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसंगै परिमाण पनि बढाउन आवश्यक छ,’ उनले भने । अध्यक्ष ढकालले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । साथै उनले स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय गरी उत्पादनदेखि बजारसम्मको श्रृंखलालाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे । साथै उनले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासका लागि ललितपुर उद्योग संघले निर्वाह गरेको भूमिकाको प्रशंसनीय रहको बताए । अध्यक्ष ढकालले देशमा औद्योगिक वातावरण निर्माणका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट कम गर्नु आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिन्दै त्यका लागि निजी क्षेत्रको एउटै आवाज हुनु पर्ने धारणा राखे । अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिँदै उनले यसले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गरे । संशोधित विधानले जिल्ला नगर तथा महिला उद्यमीहरूको प्रतिनिधित्व बढ्ने बताए ।
प्रहरी वृत्त नयाँ बानेश्वरलाई सर्वोत्तम र जगदम्बा सिमेन्टले गरे विभिन्न सामग्री हस्तान्तरण
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा भर्खरै निर्माण भएको नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई विभिन्न अत्यावश्यक कार्यालय सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेका छन् । कम्पनीका निर्देशकद्वय टीकाराम न्यौपाने तथा दिवस न्यौपानेले संयुक्त रूपमा प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलाई ती सामग्रीहरू हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीहरूमा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका उपकरणहरू रहेका छन् । समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न र दैनिक प्रशासनिक कार्यलाई थप सहज बनाउन यी सामग्रीहरू प्रदान गरिएको कम्पनीले जनाएको छ । यस सहयोगले प्रहरी कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास दुवै कम्पनीले लिएका छन् । सर्वोत्तम र जगदम्बा सिमेन्टले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन् र आगामी दिनहरूमा पनि यस्ता सकारात्मक पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राविधिक रूपमा सबल सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो उद्योग हो, जसले ४३ र ५३ ग्रेडका ओपिसी र पिपिसी सिमेन्टहरू नेपालभर बिक्री गर्नुका साथै भारतमा समेत निर्यात गर्दै आएको छ । त्यस्तै, सन् २००१ मा स्थापित जगदम्बा सिमेन्टले पनि विश्वस्तरीय प्रविधि र उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरी ग्राहकहरूको माग र सन्तुष्टि पूरा गर्दै नेपालको सिमेन्ट बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।