निजी क्षेत्रलाई मर्यादितका साथ व्यवसाय गर्ने वातावरण बनाइदिन महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित रुपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश आर्यालसँग गृह मन्त्रालयमा भेट गरि सो आग्रह गरेको हो । उनले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिए । निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकोमा सरकारले सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । साथै कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुर्ननिर्माणका लागि तयार रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य संघहरु मार्फत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीहरूलाई जानकारी गराउन पनि आग्रह गरे । आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्ति माथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूमाथि कारबाही गर्न पनि मन्त्री अर्याल समक्ष आग्रह गरे । मुलुकको राजश्वमा योगदान दिनुका साथै रोजगारी दिइरहेको निजी क्षेत्रलाई मर्यादित रुपमा काम गर्न सक्ने वातावरण सिर्जनाका लागि सरकारले सकारात्मक सन्देश प्रवाह पनि गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।भेटमा गृहमन्त्री अर्यालले आम नागरिक तथा व्यवसायीहरूको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताए । महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आन्दोलनका क्रममा निजी क्षेत्रका सयौं व्यवसाय स्थापना प्रभावित भएको, तोडफोड र आगजनीका कारण ठूलो आर्थिक क्षति भएको वताउँदै सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरे । उनीहरुले दोषिमाथी कारबाही नगरिए दण्डहिनताको अवस्था सिर्जना हुने तर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराए । महासंघले घटनामा भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।
सागर डिष्टिलरीको आईपीओ खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरुले असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरूको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । बुधवार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो माग गरेका हुन् । उनले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भीर क्षति पुर्याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराए । उनले भने, ‘आगामी दिनमा जुन सुरक्षा दिने कुरा छ, यो एकदमै महत्त्वपूर्ण छ । जबसम्म सुरक्षाको इन्स्योरेन्स हुँदैन तबसम्म लगानीको सम्भावना छैन । अहिले भएको आगजनी तथा तोडफोडको निष्पक्ष ढंगले छानविन गरेर कारबाही गर्नुपर्छ । २०४६ यताका सबै प्रकारका आन्दोलनमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’ महासंघले उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । अध्यक्ष ढकालले निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।