पञ्चकन्या ग्रुपका ४ कम्पनीको आम्दानी ६.६८ अर्ब, ऋण ८.६६ अर्ब रुपैयाँ

काठमाडौं । पञ्चकन्या ग्रुपका विभिन्न ४ कम्पनीले एक वर्षमा साढे ६ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । ग्रुप अन्तर्गतका पञ्चकन्या स्टील प्रालि, पञ्चकन्या रोटोमोल्ड प्रालि, पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ६८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका हुन् । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४.२६ प्रतिशत अर्थात् ८३ करोड ४० लाख रुपैयाँ बढी हो । चार वटै कम्पनीले आव २०८०/८१ मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका थिए । यस्तै, आव २०७९/८० मा ७ अर्ब ८६ करोड रुपैयाँ, आव २०७८/७९ मा १० अर्ब १० करोड ९० लाख रुपैयाँ, र आव २०७७/७८ मा ८ अर्ब ६३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका थिए ।  यी चार वटै उद्योगको उत्पादन प्लान्ट भैरहवामा रहेको छ । साथै आयातमा आधारित रहेका यी उद्योगले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी स्वदेशमा तयारी सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।  पञ्चकन्या समूह ट्रेडिङ, उत्पादन, ऊर्जा तथा अटोमोबाइल लगायतका विविध क्षेत्रमा संलग्न छ । कम्पनीको नेतृत्व प्रेम बहादुर श्रेष्ठले गर्दै आएका छन् । उनी करिब पाँच दशकभन्दा बढी समयदेखि व्यापार तथा आयात–निर्यात क्षेत्रमा संलग्न अनुभवी व्यवसायी हुन् । त्यस्तै, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले पञ्चकन्या समूहअन्तर्गत कम्पनीहरू हेर्दै आएका छन् । कम्पनीसँग करिब ९० डिलर नेटवर्क र देशभर फैलिएका ७ डिपोहरू (बालकुमारी, ललितपुर, भैरहवा, पोखरा, धनगढी, नेपालगन्ज र बिर्तामोड) रहेका छन् ।  साथै ग्रुप अन्तर्गतका विभिन्न ४ कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ६६ करोड २२ लाख रुपैयाँ ऋण पनि लिएको छ ।  पञ्चकन्या स्टील सन् १९९५ मे ३१ मा स्थापना भएको पञ्चकन्या स्टील प्रालिले नेपालमा टीएमटी स्टील बार (डण्डी) उत्पादन गरिरहेको छ । यसको कुल जडित उत्पादन क्षमता वार्षिक १ लाख ५० हजार मेट्रिक टन रहेको छ । कम्पनीले निर्माण क्षेत्रका लागि आवश्यक उच्च गुणस्तरका स्टील उत्पादन गर्दै नेपाली बजारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै, आव २०८०/८१ मा ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ५ अर्ब ११ करोड रुपैयाँ, आव २०७८/७९ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँ र आव २०७४/७५ मा ५ अर्ब २२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पञ्चकन्या स्टीलले भारतबाट एमएस बिलेट आयात गर्ने भएकाले कच्चा पदार्थको मूल्य बजारमा आधारित हुन्छ । गत वर्ष कुल सञ्चालन आम्दानीको करिब ७३ प्रतिशत कच्चा पदार्थ लागतले ओगटेको जनाएको छ । यसले नाफा मार्जिनमा प्रत्यक्ष दबाब पारेको कम्पनीले जनाएको छ । साथै, आयात अमेरिकी डलरमा आधारित भएकाले विदेशी विनिमय दर उतारचढावको जोखिम पनि कम्पनीमा रहेको छ । सरकारले सडक, पुल, हवाईअड्डा तथा पूर्वाधार क्षेत्रमा निरन्तर लगानी गर्ने नीति लिएको कारण घरेलु स्टील उत्पादकहरूलाई दीर्घकालीन माग आधार प्राप्त हुने अपेक्षा कम्पनीको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६५ करोड ९२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ अल्पकालीन गरी कुल ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँ ऋण लिएको छ । पञ्चकन्या रोटोमोल्ड  सन् १९८९ मा स्थापना भएको पञ्चकन्या रोटोमोल्ड प्रालिले नेपालमा यूपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । पञ्चकन्या रोटोमोल्डको वार्षिक जडित उत्पादन क्षमता ६ हजार ५०० मेट्रिक टन रहेको छ । नेपालको पूर्वाधार, खानेपानी तथा निर्माण क्षेत्रमा आवश्यक पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको यो कम्पनी पञ्चकन्या समूहअन्तर्गतको स्थापित औद्योगिक कम्पनीका रूपमा परिचित छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै, आव २०८०/८१ मा ६६ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ७८ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ५ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा ८६ करोड १० लाख रुपैयाँ, आव २०७६/७७ मा ४५ करोड ६० लाख रुपैयाँ, आव २०७५/७६ मा ५३ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ४५ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको मुख्य कच्चा पदार्थ पोलिभिनिल क्लोराइड रेसिन पाउडर हो, जुन मुख्यतः थाइल्यान्डबाट आयात गरिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४० करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र ६९ करोड १२ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १० करोड १० लाख रुपैयाँ ऋण लिएको छ । पञ्चकन्या प्लास्ट  सन् २००३ मा स्थापना भएको पञ्चकन्या प्लास्ट प्रालिले नेपालमा पोलिप्रोपाइलिन र्याण्डम कोपोलिमर (पीपीआर) तथा क्लोरिनेटेड पोलिभिनिल क्लोराइड (सीपीभीसी) पाइप र फिटिङ्स उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक जडित उत्पादन क्षमता ५ हजार मेट्रिक टन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७९ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै, आव २०८०/८१ मा ६४ करोड रुपैयाँ, आव २०७९/८० मा ७३ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ९३ करोड ६० लाख रुपैयाँ, आव २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ, आव २०७६/७७ मा ८३ करोड ५० लाख रुपैयाँ, आव २०७५/७६ मा ९६ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ७४ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले थाइल्यान्ड तथा सिंगापुरबाट कच्चा पदार्थ आयात गर्छ, जुन कच्चा तेलमा आधारित उत्पादन हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य माग–आपूर्तिअनुसार परिवर्तन भइरहने भएकाले उत्पादन लागतमा उतारचढाव आउने जोखिम रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५६ करोड २१ लाख रुपैयाँ दीर्घकालीन र ६८ करोड २८ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब २४ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज सन् १९८२ मा स्थापना भएको पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालिले नेपालमा एचडीपीई पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक जडित उत्पादन क्षमता ९ हजार मेट्रिक टन रहेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ९८ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै, आव २०८०/८१ मा ८८ करोड २० लाख रुपैयाँ, आव २०७९/८० मा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब २९ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब २४ करोड २० लाख रुपैयाँ र आव २०७४/७५ मा ९७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४७ करोड ७८ लाख रुपैयाँ दीर्घकालीन र ६९ करोड ५२ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १७ करोड ३१ लाख रुपैयाँ ऋण लिएको छ ।

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।      मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले जनाएको छ ।      खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयका प्रमुख निराजन मगरका अनुसार उपभोक्ताको पटकपटकको गुनासोपछि टोलीले उक्त उद्योगमा अनुगमन गर्दा मादण्डविपरीत पानी उत्पादन गरिरहेको पाइएकाले तत्काल सिल गरिएको छ ।      यसभन्दाअघि उक्त उद्योगमा मादण्डविपरीत काम गरेको पाइएकाले सामान्य दण्ड जरिवाना गरिएको तर पटकपटक निर्देशन दिँदा अटेरी गरेर उपभोक्ताको स्वास्थ्यमा हानि हुने काम गरेको पाइएका कारण यसपटक भने उद्योगलाई सिल गरिएको खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेले पटकपटक सचेत गराउँदा पनि अटेरी गरेर मादण्डविपरीत काम गरेका कारण अहिले बाध्य भएर उद्योग सिल गरिएको पाण्डेले बताए ।      यस्तै, सो मिनरल उद्योगबाट उत्पादन गरेर बजार क्षेत्रमा विस्तार गरिएका ‘मिनरल वाटर’ सबै बिक्रीमा रोक लगाइएको प्रशासनले बताएको छ ।   

एसईई उत्तीर्ण १०० विद्यार्थीलाई एनसेलले छात्रवृत्ति दिने

काठमाडौं । शिक्षा र युवा सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै एनसेल अन्तर्गतको एनसेल फाउन्डेसनले यस वर्ष पनि देशभरका एसईई उत्तीर्ण विद्यार्थीका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा गरेको छ । प्रोजेक्ट शिक्षा सँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत १०० जना विद्यार्थीले कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिनेछ । आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई प्राथमिकता दिइने यस योजनाले देशका दूरदराजका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । छात्रवृत्तिसँगै छनोट भएका विद्यार्थीले १२ महिनासम्म निःशुल्क डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि प्राप्त गर्नेछन् । यसले उनीहरूलाई अध्ययन, सूचना र अवसरसँग निरन्तर जोडिरहन सहयोग पुग्ने विश्वास गरिएको छ । शिक्षा देशको भविष्य निर्माण गर्ने आधार भएको भन्दै एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा दिगोपन निर्देशक विशाखा लक्ष्मी खड्काले भौगोलिक अवस्था र आर्थिक कठिनाइका कारण कुनै पनि युवाको सपना अधुरो रहन नहुने बताइन् ।  उनका अनुसार पारदर्शी छनोट प्रक्रियामार्फत अवसरको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुर्‍याइनेछ । यसैबीच, हन्ड्रेड ग्रुप द्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको यो कार्यक्रमले नेपालभरका हजारौं विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गर्दै आएको छ । गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत ५० जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए । उनीहरू हाल विभिन्न शैक्षिक संस्थामा अध्ययनरत छन् ।