विदेशमा रहेका नेपालीले सर्वोत्तम पेन्ट्सको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ । वैशाख २१ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूेले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
माग पूरा गर्न सडकमा हड्ताल गर्नुपर्ने बाध्यतालाई अन्त्य गरेँ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा गरेका सम्पूर्ण वाचा पूरा गरेको बताएका छन् । महासंघको जिम्मेवारीबाट बिदा लिने क्रममा उनले निजी क्षेत्रको शिर उचो बनाउने गरी काम गरेको र चुनावी प्रतिबद्धताहरू कार्यान्वयनमा आएको दाबी गरे । निवर्तमान अध्यक्ष ढकालले महासंघ र आफ्नो जन्मवर्ष समेत एउटै हुनुलाई एक दुर्लभ र सुखद संयोगका रूपमा स्मरण गरे । उनले भने, ‘म जन्मेको वर्ष र महासंघ स्थापना भएको वर्ष एउटै परेको छ, यस्तो अवसर थोरैलाई मात्र प्राप्त हुन्छ।’ आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा निजी क्षेत्रका माग पूरा गराउन सडकमा ओर्लिनुपर्ने र हड्ताल गर्नुपर्ने बाध्यतालाई अन्त्य गरेको उनले उल्लेख गरे । ‘निजी क्षेत्रका मुद्दा सम्बोधनका लागि अब हड्ताल गर्नुपर्ने अवस्था छैन,’ ढकालले भने, ‘नवनिर्वाचित अध्यक्षले पनि महासंघको गरिमा र शिरलाई सधैँ उचो राख्न विशेष ध्यान दिनुपर्छ ।’ उनले आफू जिम्मेवारीबाट बाहिरिए पनि निजी क्षेत्रका मुद्दा र समस्या समाधानका लागि सदैव सहयोग गर्न तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे । महानिर्देशक अवस्थीको राजीनामा यसैबीच, महासंघका महानिर्देशक गोकर्ण अवस्थीले आफ्नो पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै दिएको उक्त राजीनामा निवर्तमान अध्यक्ष ढकालले स्वीकृत गरिसकेका छन् । महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको प्रमाणपत्र वितरण र सपथ ग्रहण कार्यक्रम भोलि बिहान १०ः ३० बजे टेकुस्थित महासंघको सचिवालयमा हुने तय भएको छ ।
यस्तो बन्यो टिम अञ्जन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बैशाख २२ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित टिमले विजयी प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन् । महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । उनीसँगै अन्य पदाधिकारीको पनि टुङ्गो लागेको छ । महासंघको एसोसिएट उपाधयक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । उनले १ हजार ७९ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रुपमा पनि कार्यरत छन् । प्रवलजंग पाण्डे । एसोसिएट तर्फ १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा सचिन ढकालले सर्वाधिक १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् । यसैगरी, हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार वेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशिल थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत, रामशरण भण्डारीले १ हजार ४३ मत, बाबु काजी कार्कीले १ हजार ६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९७४ मत, प्रियराज रेग्मीले ९५४ मत, इश्वरबहादुर जीसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै विजयी भएका छन् । एसोसिएटतर्फ प्रबल जंग पाण्डे र ज्योत्सना श्रेष्ठ समूहबीच प्रतिस्पर्धा भएको थियो । जसमा पाण्डे समूहबाट अधिकांश उम्मेदवार विजयी भएका छन् । यस्तै, महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । महासंघको निर्वाचन समितिका अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका हुन् । घिमिरेले ६० मत प्राप्त गरेका थिए । नरेशलाल श्रेष्ठ । वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि मंगलबार सम्पन्न निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने बाँकी ३ जनाबीच गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । निर्वाचन परिणामअनुसार अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राजकुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रधानले ६२ मत, भक्तबहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी छिन् । यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०–५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट २ जनाले गोलाप्रथाबाट जित्ने छन् । यस्तै, महासंघको जिल्लानगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । निर्वाचन परिणामअनुसार शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गर्दै विजयी भएका हुन् । शर्मा र श्रेष्ठ महासंघको स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूहका उम्मेदवार थिए । कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबाट जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार थिए । डालमियाले ५० र गैरेले ३० मत मात्रै ल्याए । जिल्ला–नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । यस्तै, गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएक छन् ।