सियोमा सफलता पाएका उद्यमी सञ्जयको कथा

काठमाडौं । १४ वर्षको कलिलो उमेरमा ननिदाएर मेसिन चलाउन नसिकेको भए, दिनरात नभनी काम नगरेको भए सञ्जय तामाङको जिन्दगी अहिले कसरी चलिरहन्थ्यो थाहा छैन । तर, उनको मिहिनेत र सीपले उनलाई उद्यमी बनाएको छ । जुन व्यवसायले उनलाई आर्थिक रूपमा सबल मात्र बनाएन आत्मसन्तुष्टि पनि दिएको छ ।  तीन वर्षदेखि काठमाडौंको बागबजारमा काजबटन व्यवसाय गरिरहेका सञ्जय कमिज, कोटमा काज बनाइदिने टाँसिदिने काम गर्छन् ।  तामाङले यो व्यवसाय सुरु गरेको करिब तीन वर्ष भयो । १० लाख लगानीमा एउटा कोठामा सुरु गरेको व्यवसायमा तीन वर्षमा फेरि ७ लाखको अर्को मेसिन थपेर अहिले तीनवटा मेसिनबाट काम गरिरहेका छन् । ‘कोठा त उही छ, ठूलो बनाउन सकिएको छैन तर, तीन वर्षमा लगानी उठेर पनि धेरै फाइदा भइसक्यो,’ उनी भन्छन्,‘ आजभोलि कोट पेन्ट लगाउनेको संख्या बढ्दो छ, सख्या बढेसँगै लुगा सिलाउनेको संख्या पनि बढ्दा काम राम्रै चलिरहेको छ ।’  नेपालमा कोट पेन्ट लगाउने चलन चलेको धेरै भएको छैन । राष्ट्रिय पोशाक नै दौरा-सुरुवाल भएर पनि होला अधिकांशले दौरा-सुरुवाल नै लगाउँथे । समय परिवर्तनसँगै नेपालमा पनि कोर्ट प्वाइन्ट लगाउने चलन बढ्दै गयो । संख्या बढेसँगै बजारमा माग पनि बढी भयो । पहिले जस्तो हातले मात्र काम गरेर हुने अवस्था रहेन । हातको सट्टा सबै काम मेसिनले गर्न थाल्यो । बजारको माग र आवश्यकताको बेला व्यवसाय सुरु गर्दा कमाइ पनि राम्रै भएको तामाङ बताउँछन् । एउटा काज बनाए र बटन टाँसिदिए बापत २० देखि २५ रुपैयाँ लाग्छ । उनी केही कमाइ भएन भन्ने दिन पनि दुई हजारदेखि तीन हजारसम्म कमाइ हुने दाबी गर्छन् । भन्छन्, ‘सिजनमा त राम्रै कमाइ हुन्छ महिनामा डेढ लाख, दुईलाख सम्म पनि पुग्छ, सिजन नभएपनि मासिक ६०/७० हजार कहीँ कतै जाँदैन ।’ सञ्जयको घर रसुवाको सदरमुकाम धुन्चे हो । सदरमुकाम नजिकै घर भए पनि न आर्थिक अवस्था राम्रो थियो, न खान-लाउन पुग्थ्यो । उनी सानै हुँदा काठमाडौं आए । घरको आर्थिक अवस्था पनि कमजोर हुँदा उनको बालापन राम्ररी बित्न पाएन । पढ्न स्कुल समेत जान पाएनन् । कहिलेकाँही साथीहरूसँग गए पनि ड्रेस कापी किताब हुँदैनथियो । उनको यस्तो अवस्था देखेपछि उनको स्कुलको एकजना शिक्षकले उनलाई काठमाडौं ल्याए ।  ‘तिमी मसँग काठमाडौं जाने हो भने घुमाइदिन्छु भन्दै सरले ल्याएर यहाँ पुगेको हुँ,’ विगतका दिन सम्झँदै तामाङ भन्छन्, ‘यहाँ ल्याएर त मलाई बालमन्दिर राखेर पढ्नुपर्छ भन्नुभयो, सरले मेरो घरको अवस्था देखेरै ल्याउनुभयो होला,’ ‘पारिवारिक तथा आर्थिक अवस्था राम्रो नभएर मैले लगाएको झुत्रेझात्रे कपडा देखेर सायद सरलाई दया लाग्यो होला, सरले काठमाडौं पुर्‍याउँदा म सानै थिएँ,’ उनले आफ्नो विगत सुनाए ।  बालमन्दिर पुर्‍याउँदा विसं २०४६ सालमा सञ्जय तामाङ  १२ वर्षका थिए । उनी शिक्षकसँगै काठमाडौं आए । काठमाडौं ल्याएर उनलाई बालमन्दिरमा बसेर पढ्न सल्लाह दिइयो । उनी पनि तयार भए । तर, गाउँको नजिकैको नाता पर्ने काकाले आफ्नो घरमा बस्न लगाए । उनको घर बालमन्दिर नजिकै थियो । उनी छिमेकी काकाको घरमा बसेर बालमन्दिर भर्ना भए । तर, उनले पढाइलाई निरन्तरता दिएनन् ।  गरिबहरूमाथि अवसर पाउँदा सम्पन्न व्यक्तिले मौका पाउँदा रहेछन् । शिक्षकले बालमन्दिरमा पढाइदिन राखेका तामाङलाई  आफ्नै घरमा राखेका काकाले पनि त्यही फाइदा उठाए । उनलाई दिउँसो स्कुल पढाउने र साँझ बिहान घरको काम गर्न लगाए । जबकि अनाथ, गरिब परिवारका बालबालिकालाई बालमन्दिरमा निःशुल्क पढ्न बस्न सुविधा थियो । सञ्जयलाई घरको काम गर्दै पढ्न मन लागेन । उनले पाँच कक्षा पास गरिसकेपछि पढाइ छोडे । पढाइ छाडेर काकाकै घरमा काम गर्दै बस्ने गर्न थाले ।  तामाङको दैनिकी यसैगरी चलिरहेको थियो । उनी १४ वर्ष पुगिसकेका थिए । उनलाई घरमा काम गरेको देख्दा काकाको घर नजिकैका छिमेकी राजु ठकुरीलाई थाहा थियो । उनी गार्मेन्टमा काम गर्थे । सञ्जयको उनीसँग बोलचाल भइरहन्थ्यो । एकदिन उनले  भने, ‘तिमी काम गर्ने हो ? एक ठाउँ काम भेटिएको छ ?’ तामाङले सहर्ष स्वीकार गरे । त्यसपछि उनले गार्मेन्टमा काम गर्न थाले । आफै कमाउन थालेपछि काकाको घर पनि छोडे ।  गार्मेन्टमा हेल्परको काम २०४८ तिर काठमाडौंको न्युरोडमा पसलैपिच्छे गार्मेन्ट उद्योगहरू थिए । व्यवसायी नेपाली थिएनन् । तर, कामदार सबै नेपाली थिए । लुगा सिलाउनेदेखि काज बटन लगाउनेसम्मको काम गार्मेन्टले दिइरहन्थ्यो । यही मौकामा सञ्जयले पनि गार्मेन्टमा काम सुरु गरे । उनको काम हुन्थ्यो सर्टको कुन ठाउँमा टाँके घर राख्दा हुन्छ भन्दै मार्किङ गर्नुपर्ने ।  काम पाएपछि उनले रातदिन मिहिनेत गरे । त्यो बेला काम गरेवापत मासिक ९ सय रुपैयाँ पाइन्थ्यो । तर उनले यति मिहिनेत गरेकी महिनाको दुई हजार थाप्न थाले । एक/दुई वर्ष काम गरिसकेपछि उनलाई मार्कर लगाएर बस्न मात्र रुचि भएन । उनलाई मेसिन चलाउने रहर लाग्यो । दिनभरि मार्किङ लगाउने काम गरेर राति कोही नहुँदा मेसिन चलाउन सिके ।  ‘दिउँसो सिक्ने समय पनि नहुने, अप्रेटरहरूले पनि नसिकाउने, राति सिक्न पाइन्छ भन्दै सुत्न नगइ सिकेको हुँ,’ तामाङ भन्छन्,‘ त्यो बेला अहिलेको जस्तो सीसी क्यामेरा पनि थिएन, राति अप्रेटरहरू सुत्न गइहाल्थे त्यो मौका छाप्दै  मेसिन चलाउन जानियो ।’  तामाङले मेसिन चलाउन थालिसकेपछि हेल्परबाट अप्रेटर बने । अप्रेटर बनेपछि उनको तलब पनि बढ्यो । २ हजारबाट ३५ हजार पुग्यो । कामको चापाचाप हुन थाल्यो । उनले ठेक्कामा काम गर्न थाले । विभिन्न कम्पनी अफिसको ठेक्का लिएर काम गर्थे । काम राम्रै चलिरहेको थियो ।  देशमा सशस्त्र युद्ध सुरु भयो । गार्मेन्ट साहुले कामदारको तलब बढाएनन् । त्यसपछि ट्रेड युनियनले आन्दोलन सुरु गरे । जनआन्दोलन र ट्रेड युनियनको आन्दोलनले न्युरोडका गार्मेन्ट धमाधम बन्द भए ।  त्यहीबेला उनको जागिर पनि खोसियो । इराकको यात्रा तामाङले ६/७ वर्ष गार्मेन्टमा काम गरे । त्यो बेलासम्म उनी एक्ला थिएनन् । विवाह गरिसकेका थिए । छोरी पनि भइसकेकी थिइन् । जिम्मेवारी पनि थपिएको थियो । यही बेला जागिर खोसिँदा समस्या भयो । उनी विदेश जाने तयारीमा लागे । विदेशका लागि इराक रोजे । त्यहाँ उनको काम थियो वाइरिङ गर्ने ।  पाँच वर्ष त्यहीँ काम गरे । नेपाल र विदेशमा काम गर्दा अनुभव उनीसँग फरक छ । भन्छन्, ‘आफ्नो ठाउँ भनेको आफ्नै ठाउँ हो, दुःखी बिरामी हुँदा सकिँदैन भन्न पाइन्छ । तर, विदेशमा त्यस्तो हुँदैन ।  सञ्चो नहुँदा पनि काम गर्नै पर्छ ।’  विदेशमा तोकिएको तलब समयमै थाप्न पाइन्छ । पैसा पनि बच्छ । तर, नेपालमा न राम्रो तलब हुन्छ न पैसा बच्छ । विदेशमा दुःख गरे अनुसार पैसा पनि हुने उनी बताउँछन् । उनी पाँच वर्ष विदेश बसेर २०७१ सालमा स्वदेश फर्किए ।    होटलमा गरेको लगानी डुबेपछि... तामाङ नेपाल फर्किसक्दा पनि गार्मेन्टहरू बन्द नै थिए । उनलाई काठमाडौं यत्तिकै बस्न मन लागेन । अन्य जागिरको खोज्न न शैक्षिक योग्यता थियो न कुनै सीप । सीप भएका उद्योगहरू बन्द नै थिए । उनले अब आफ्नै व्यवसाय गर्ने योजना बनाए । यही सिलसिलामा उनको भेट एक जना होटल व्यवसायीसँग भयो । थोरै-थोरै लगानी गरेर पनि व्यवसाय गर्न सकिने भन्दै लगानी गरे आफू काममा सहयोग गरिदिने बतायो । उसकै कुरा विश्वास गरी उनले कालोपुलमा सञ्चालनमा रहेको होटल खरिद गर्ने योजना बनाए ।  ‘मलाई व्यवसाय कसरी गर्ने भन्ने खासै आइडिया थिएन, त्यो भाइले म सहयोग गर्छु भन्दै लगानी गर्न लगायो,’ तामाङ भन्छन्, ‘मलाई लगानीका लागि उक्सायो तर, उनी १५ दिनमा घरमा काम पर्‍यो भन्दै गएर त्यसपछि कता गए फर्केर आएनन् ।’  उनकै आशामा खोलेको होटल उनै फरार भएपछि चल्न सकेन लगानी डुब्यो । त्यसको केही समयपछि २०७२ सालमा भूकम्प आयो । भएको व्यवसाय पनि भताभुंग भयो । ‘भएको पैसा पनि सकियो, व्यवसाय पनि सकियो, थाहा नभएको व्यवसायमा लगानी गर्दा पाँच वर्ष बसेर विदेशबाट ल्याएको कमाइ यसैमा डुब्यो,’ तामाङले निराश हुँदै भने ।  व्यवसाय डुबेपछि उनी त्यत्तिकै घरमा बसे । पछि एक जना चिनेको दाईले हातमा सीप भएको मान्छे किन त्यत्तिकै घरमा बसेको काम गर भन्ने सल्लाह दिए । उनले आफ्नै पसलमा काम दिए । मासिक तलब २० हजार थियो । काम राम्रो चल्दै गएको थियो । तर, उनलाई अब आफैसँग भएको सीप प्रयोग गरेर आफै काम गर्न मन लाग्यो । त्यसपछि सुरु गरे काजबटन व्यवसाय । अब आफ्नै व्यवसाय अरूको काम गरिरहँदा तामाङलाई उनको छोरीले आफ्नै काम गर्न सल्लाह दिइन् । उनले पनि यसमा सहमति जनाए । पारिवारिक सल्लाहपछि २०७९ सालमा तामाङले सुरु गरे आफ्नै व्यवसाय । छोरीले पनि सहयोग गरिन् । श्रीमतीले पनि साथ दिइन् । परिवारको हौसलाले सुरु गरेको व्यवसाय सोंचेभन्दा राम्रो चलिरहेको छ ।  काम अनुसार तामाङलाई तत्काल कर्मचारीको आवश्यक थियो । तर, श्रीमतीलाई पनि काम सिकाएपछि अहिले सहज भएको छ । श्रीमतीले अकाउन्टेन्टको कामदेखि मेसिन चलाउने काम समेत गर्छिन् । ‘आफू पढेलेखेको नहुँदा हिसाबमा कमजोर पनि थिएँ, अहिले जिम्मेवारी श्रीमतीलाई सुम्पिँदा धेरै सहज भएको छ,’ उनले अनुभव सुनाए ।  उनकी छोरी एउटा कम्पनीमा मार्केटिङको काम गर्छिन् भने छोरा कक्षा ११ मा अध्ययन गर्छन् । ‘मसँगैका पढेका साथीहरू कोही शिक्षक छन्, कोही अधिकृत छन्, तर, मलाई नपढेकोमा पछुतो छैन, उनीहरूले कमाउने तलबभन्दा बढी पैसा मैले पनि कमाइरहेको छु,’ उनले खुसी हुँदै भने । तामाङ सानै हुँदा उनकी आमाको मृत्यु भयो । बुवाले अर्को विवाह गरे । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । स्कुल जानुभन्दा घरको काममा बाल्यकाल बित्यो । समय पाउँदा उनी स्कुल गइहाल्थे । सँगैका साथीहरू स्कुल जाँदा उनी घाँस काट्न जान्थे ।  ‘किताबका पाना पढ्न नपाए पनि जिन्दगीका पाना राम्रैसँग पढेको छु,’ उनी भन्छन्, ‘मलाई पढाइभन्दा सीप आवश्यक जस्तो लाग्छ, पढाइ नचाहिने भन्ने होइन तर पढाइमात्र भएर हुँदैन रहेछ, म नपढेकोले त सीप भएर जिविका चालइरहेको छु भने पढेकाहरूलाई पनि सीप अनिवार्य छ ।’ 

पतञ्जलिलाई जग्गा दिएर पछुताएका छन् बनेपाका स्थानीय

काभ्रे । १५ वर्षअघि बनेपा नगरपालिका- १४ साविकको काभ्रेपलाञ्चोक जिल्लाको नासिकबासथान (साँगा) र महेन्द्रज्योति गाविस तथा चलाल गणेश स्थान (अहिलेको बनेपा नगरपालिका)मा पर्ने गाउँका अधिकांश घरधुरीले आफूले भोगचल गर्दै आएको जग्गा खुसीसाथ पतञ्जलिलाई बेचे ।  कोहीले उधारोमा बेचे त कोही बिचौलियाको फन्दामा परे । केही घरधुरीले अहिलेसम्म पनि आफ्नो जग्गाको रकम पाएका छैनन् । पाए पनि जग्गाको २५ प्रतिशत रकम मात्रै। यी मध्येका एक हुन् शुक्रराम तामाङ ।  शुक्ररामका बुवा रामकृष्णले जग्गा बेचेका हुन् । दोस्रो चरणको जग्गा बिक्री गर्दा रामकृष्णले पहिलो किस्तामा आफूले ७० हजार रोपनीका दरले बेचेको जग्गाको रकम माग्दा उल्टै कुटाइ खाए । शुक्ररामका अनुसार पूर्ववडाध्यक्ष रामहरि श्रेष्ठलगायतका व्यक्तिले रामकृष्णलाई जुत्ता फुकालेर कुटेका थिए ।  अहिले उक्त जग्गाको मूल्य करोडौं पर्छ । तर जसको जमिन थियो, उसले न पैसा पायो, न उनीहरूका सपना पूरा भए ।  शुक्रराम भन्छन्, ‘हामीले १४ रोपनीमा ३ लाख पायौं, त्यो पनि अपमानसँगै । आफ्नो जग्गाको पैसा माग्दा मेरा बुवाले जुत्ताले कुटाइ खानु पर्यो । अब न फिर्ता पाउने आश छ, न न्याय ।’ स्थानीय कमला खत्री भने जुन सपना देखाएर जग्गा खरिद गरिएको थियो त्यस्तो नभएकोमा दुःखी छिन् । भन्छिन्, ‘मेडिकल कलेज बनाउँछु, फुटबल खेल्ने ग्राउन्ड बनाउँछु भनेको थियो सुरुमा तर गर्न सकेनन् । हामीसँग जग्गा किनेर कता हाउजिङलाई बेचेको रे भनेको सुनेको हो । हामीलाई सपनामात्रै देखाइयो ।’ अर्का स्थानीय हरिप्रसाद तिल्मिसनाको पनि उस्तै गुनासो छ । पतञ्जलिले आफूहरूसँग जग्गा किनेर फटाइँ गरी फरार भएको उनको आरोप छ ।  ‘मैले पतञ्जलिका लागि ४ रोपनी ४ आना बेचेको हो । मैले मालपोतमा जग्गा पास गर्ने बेला पनि पतञ्जलिलाई नै भनेर पास गरेको हो । पछि पो पतञ्जलि योगपीठ नै आउने भनेर यहाँ गाईपालन, आयुर्वेदिक औषधालय, विद्यालय हुन्छ भन्या थियो । हरिद्वार जस्तै बनाइन्छ भने तर केही पनि हुन सकेन ।’ पतञ्जलिलाई रोपनीको ८० हजारका दरले २५ रोपनी बेचेकी अर्की स्थानीय अम्बिका राउत पनि अहिले पछुताइरहेकी छन् । विभिन्न सपना बाँडेर जग्गा खरिद गरेको पतञ्जलिले आफूहरूलाई धोका दिएको स्थानीयको आरोप छ ।  यस्तो छ घटनाको नालीबेली  २०६४ पुसमा कम्पनी रजिष्टार कार्यालयमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी दर्ता भयो । जुन नाफाभन्दा पनि सेवाका रूपमा दर्ता गरिएको कम्पनी थियो । त्यसपछि दर्ता भएको २ वर्षपछि २०६६ माघमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलिलाई स्वीकृति दियो । जबकि त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनिसकेको थियो । भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर जुन प्रयोजनका लागि त्यो सुविधामा खरिद गरेको जग्गा भने बिक्री गर्न पाइँदैन । २०६६ फागुनमा पतञ्जलिका नेपाल प्रमुख शालीग्राम सिंहले हदबन्दी छुटको जग्गा बेच्न पाऊँ भनी स्वीकृति माग्दै तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निवेदन दिए ।  त्यसपछि सोही वर्षको चैतमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार भन्दै मन्त्री श्रेष्ठले पतञ्जलिले हदबन्दी छुटको जग्गा बेच्न पाउने प्रस्तावसहित मन्त्रिपरिषद्मा फाइल  पुग्यो । फाइल पुगेको ३ दिनपछि अर्थात चैत ६ गते पतञ्जलिले हदबन्दी छुटको  जग्गा बेच्न पाउने मन्त्रिपरिषदबाट निर्णय भयो ।  चैत १७ गते मन्त्रिपरिषद्को सोही निर्णय गैरकानुनी भन्दै भूमिसुधार विभागका महानिर्देशक केशरबहादुर बानियाँले कार्यान्वयन गर्न नसकिने जवाफ दिई भूमिसुधार मन्त्रालयलाई पत्र पठाए । त्यसको भोलिपल्ट चैत १८ गते तत्कालीन प्रधानमन्त्री नेपालले पतञ्जलिले धुलिखेलमा ८८ रोपनी जग्गा किनेर त्यसमा बनाउन लागेको संरचनाको शिलान्यास गरे ।  चैत २६ गते हदबन्दी छुट जग्गा बिक्री गर्ने स्वीकृतिलाई चुनौती दिएको भन्दै मन्त्रिपरिषदले महानिर्देशक बानियाँलाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो । र त्यसको भोलिपल्टै बानियाँलाई हटाएर मन्त्रालयका सहसचिव जितबहादुर थापालाई विभागको महानिर्देशकको जिम्मेवारी दिइयो ।  जिम्मेवारी सम्हालेकै दिन थापाले हदबन्दी छुट जग्गा बिक्रीका लागि स्वीकृति दिन मालपोत कार्यालय, काभ्रेलाई पत्र पठाए । २०६७ असार ११ गते पतञ्जलिले काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई ३५३ रोपनी १५ आना जग्गा बिक्री गर्यो । त्यसको १४ वर्षपछि अर्थात २०८१ साउनदेखि चैतमा हदबन्दी छुट जग्गा किनबेच निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री नेपाललगायतसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लियो ।  उक्त बयान लिएको एक वर्षपछि गत जेठ २२ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा  दायर भएको छ।  अख्तियारको आरोपपत्र अनुसार पतञ्जलिले नेपालले माघ, २०६६ अघि नै काभ्रेका तीन गाविसमा ५ सय ५७ रोपनी जग्गा खरिद गरिसकेको थियो । कतिपय विवरणमा भने ५ सय ५५ रोपनी भन्ने उल्लेख छ । पतञ्जलिले निवेदनमा काभ्रेलगायत देशभरका एक दर्जनजति जिल्लामा २ हजारदेखि २५ सय रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि एक वर्ष लाग्ने भनेको थियो । २०२१ सालमा भूमिसम्बन्धी ऐन जग्गाको हदबन्दीको अवधारणा कार्यान्वयनमा आएको हो । त्यो व्यवस्था अनुसार भित्री मधेश र तराईमा ११ विगाहा, काठमाडौं उपत्यकामा ३० रोपनी र उपत्यका बाहेकका पहाडी क्षेत्रमा ७५ रोपनी जग्गा मात्रै राख्न पाइन्छ । सीमित परिवारले असीमित जग्गा कब्जा गरेर नागरिकहरू भूमिहिन हुन नपरोस् भन्ने अवधारणा कार्यान्वयन गर्न यस्तो व्यवस्था गरिएको हो । जडीबुटी कारखाना र आयुर्वेद अनुसन्धान केन्द्र खोल्ने भनेको पतञ्जलिलाई ७५ रोपनी जग्गाले मात्रै पुग्ने थिएन । त्यसैले उसले ‘हदबन्दी छुट’को जग्गा राख्न पाउन आवेदन दिएको हो । तर, पतञ्जलिका सञ्चालकले त्यसक्रममा बदमासी गरेको र सरकारबाट अनुमति पाउनुअघि नै हदबन्दीभन्दा बढीको जग्गा किनेर राखेको अख्तियारको आरोप हो। २०६२ सालमा नै सरकारले ‘हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने कार्यनीति २०६२’ जारी गरेको थियो ।  त्यतिबेलाको कार्यविधिअनुसार ठूलो प्रकृतिको उद्योगलाई पनि ४ सय रोपनी जग्गा मात्रै छुट दिन पाइने व्यवस्था थियो । तर पतञ्जलिले मागेको ७०० रोपनीको छुट दिन नसकिने भनी मालपोत कार्यालय, काभ्रेले भूमिसुधार विभागमा पत्र पठायो । फाइल तहगत हुँदै मन्त्रिपरिषदमा पुग्यो । जग्गा राख्ने सुविधा पाउनासाथ जग्गा बेच्ने प्रयास थालेका शालीग्राम सिंहले बैशाख, २०६७ मा कम्पनीको प्रबन्धपत्र परिमार्जन गरी जग्गा खरिद र बिक्री गर्न पाउने व्यवस्था थपेका थिए । सरकारले पतञ्जलिलाई जग्गा बेच्दा प्राप्त हुने सबै रकम अर्को ठाउँमा जग्गा किन्न प्रयोग हुनुपर्ने शर्त तोकेको थियो । विवरणअनुसार जग्गा बेचेर ४ करोड २२ लाख रुपैयाँ पाएको पतञ्जलिले एक करोड ७ लाख रुपैयाँ मात्रै अन्यत्र जग्गा खरिद गर्न खर्चेको थियो । पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएसँगै उनको सांसद पदसमेत निलम्बन भइसकेको छ । यो प्रकरणले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । ओली सरकारले नेपालमाथि प्रतिशोध साँधेको सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।  पतञ्जलिलाई जग्गा बेच्दा बिचौलियाको फन्दामा परे रामकृष्ण, पैसा माग्दा उल्टै कुटिए