आन्तरिक ऋणको भारमा क्यानडा, विश्वव्यापी ऋणको २. ३ प्रतिशत

काठमाडौं । क्यानाडाको आन्तरिक ऋण देशको जीडीपीको १०३ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्,  जुन विश्वमा सबैभन्दा धेरै हो । आन्तरिक ऋणको अर्थ परिवारका सदस्यहरूमाथि रहेको कुल ऋण हो । यसमा उपभोक्ता ऋण र घरधनी ऋण पनि समावेश छ । यदि विश्वव्यापी ऋणको प्रतिशतको रूपमा हेर्दा क्यानडाको ऋण २.३ प्रतिशत हो । एक सर्वेक्षणअनुसार १३ प्रतिशत क्यानडालीहरूले क्यानडा अमेरिकाको हिस्सा बन्नु पर्ने बताएका थिए । प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यकालमा देशको अर्थतन्त्र ओरालो लागेको हो । हालै प्रधानमन्त्रीसँगको मतभेदका कारण देशका अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले राजीनामा दिएकी छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने धम्की दिइसकेका छन् । उनले क्यानडालाई आफ्नो देशको ५१ औं प्रान्त बनाउने ठट्टा गरेका थिए । फ्रिल्याण्डको राजीनामा पछि ट्रुडो आफ्नो सरकार बचाउन संघर्ष गरिरहेका छन् । भर्खरै सरकारले दुई महिना सेल्स ट्याक्स होलिडे दिएको थियो । फ्रिल्याण्डले यसको विरोध गर्दै यसलाई महँगो राजनीतिक खेल भनिन् । उनले ट्रम्पले २५ प्रतिशत कर लगाउने घोषणा गरेको र यस्तो अवस्थामा देशले त्यस्ता बेकार खर्चबाट जोगिन आवश्यक रहेको बताइन् । राजीनामा पत्रमा उनले देशले ठूलो चुनौती सामना गरिरहेको बताएकी छिन् । फ्रिल्याण्डले बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको बेला राजीनामा दिएकी हुन् । उनको बिदाइले पार्टीभित्र ट्रुडोको राजीनामाको मागलाई तीब्र बनाएको छ । यता क्यानाडाको विपक्षी कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले क्यानडामा सबै कुरा नियन्त्रण बाहिर गएको र देश यसरी देश चल्न नसक्ने बताउँछन् । यदि ट्रम्पले २५ प्रतिशत ट्यारिफ लागू गरेमा यसले क्यानडाको अर्थतन्त्रमा नराम्रो असर पर्ने विज्ञहरू संकेत गरेका छन् । सन् २०२२ मा क्यानडाले अमेरिकालाई ४२७ बिलियन डलर निर्यात गरेको थियो । क्यानाडाको निर्यातको ७५ प्रतिशत अमेरिकाले ओगटेको छ ।

खर्च घटाउँदै टाटा समूह, अब त्रैमासिकको सट्टा हरेक महिना अनुगमन

काठमाडौं । टाटा सन्सको सबैभन्दा ठूलो सेयरहोल्डर टाटा ट्रस्टले सञ्चालन खर्चलाई कम गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टाटा ट्रस्टले राम्रोसँग व्यवस्थापन गर्न र आफ्नो कोषको अन-ग्राउन्ड प्रभावलाई बढाउन परियोजना अनुगमन प्रक्रियालाई कडा बनाएको हो । अहिले त्रैमासिकको सट्टा मासिक रूपमा समीक्षा भइरहेको स्रोतको भनाइ छ । टाटा सन्स टाटा समूहको होल्डिङ कम्पनी हो । टाटा समूह भारतको सबैभन्दा ठूलो औद्योगिक घराना हो । महँगो मूल्य संरचनाका कारण ट्रष्टीहरूले केही महिनाअघि आन्तरिक लेखापरीक्षण गरेको स्रोतले जनाएको छ । यसमा धेरै विसंगति भएको खुल्न आएको छ । यसका लागि ट्रस्टीहरूले अनुगमन प्रणालीलाई कडा बनाएका हुन् । साथै ट्रष्टको लेखापरीक्षण प्रणालीलाई सुदृढ गरिएको छ र अब यसले सिधै प्रमुख कार्यकारीलाई रिपोर्ट गर्नेछ । कार्यकारी समिति र बोर्ड अफ ट्रस्टीहरू अद्यावधिक गर्ने जिम्मेवारी प्रमुख कार्यकारीको हो । अधिकारीहरूका अनुसार स्वर्गीय रतन टाटाको नेतृत्वमा गठित कार्यकारी समितिले लागतको नजिकबाट अनुगमन गरिरहेको छ र त्यसलाई जारी राख्नेछ । मेनपावर लागत निर्णय प्रक्रियालाई व्यापक बनाउन ट्रस्टहरूको प्रबन्धन एक व्यक्तिको सट्टा सामूहिक रूपमा गरिएको हो । हालका चार ट्रस्टीहरू नोएल टाटा, मेहली मिस्त्री, वेणु श्रीनिवासन र विजय सिंह हुन् । टाटा सन्सको इक्विटी पुँजीको झन्डै ६६ प्रतिशत परोपकारी ट्रस्टहरूको नियन्त्रणमा छ । यी ट्रस्टहरूले टाटा सन्सबाट लाभांश प्राप्त गरेर आफ्नो कोष जुटाउँछन् । पछिल्ला वर्षहरूमा, टाटा ट्रस्टले धेरै डाइरेक्ट इम्प्लिमेण्टेशन (डीआई) परियोजनामा संलग्न हुँदा यसको मेनपावर लागत बढेको छ । यी परियोजनाहरू ठेकेदारमार्फत ट्रस्टको दानको हिस्साको रूपमा लागू गरिएका थिए । ट्रस्टहरूले कर सम्बन्धी उद्देश्यका लागि डीआई परियोजनाहरूमा आफ्नो कोषको सानो हिस्सा खर्च गर्नु आवश्यक छ । यद्यपि टाटा ट्रस्टले यसबारे कुनै टिप्पणी गरेको छैन । छानबिनको दायरमा परिचालित लागत टाटा ट्रस्टले परम्परागत रूपमा शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र अन्य क्षेत्रमा अनुदान दिने गरेको छ । यद्यपि, परिचालन लागतहरू छानबिनको दायरामा आएका छन् । टाटा ट्रस्टले अक्टोबर ११ मा समूहलाई नियन्त्रण गर्ने परोपकारी संस्थाहरूको नेतृत्व गर्न नोएल टाटालाई अध्यक्षको रूपमा नियुक्त गरेको थियो । उनी पहिले नै दुई मुख्य निकाय, सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टको ट्रस्टी थिए ।

ईयूलाई ट्रम्पले दिए धम्की, अमेरिकाबाट तेल र ग्यास खरिद नगरे ट्यारिफ लगाउने

काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो देशको भलाइका लागि अन्य देशलाई दबाब दिन थालेका छन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले धम्कीको भाषा प्रयोग गर्न थालेका हुन् । उनले युरोपेली संघ (ईयू) लाई धम्की दिँदै अमेरिकाबाट तेल र ग्यास खरिद गरेर अमेरिकासँगको व्यापार घाटा कम गर्न लगाएका छन् । यदि युरोपेली संघले त्यसो गरेन भने ट्यारिफ अर्थात् उच्च कर लगाइनेछ । अमेरिकी तथ्याङ्कअनुसार सन् २०२२ मा अमेरिका र ईयूबीचको व्यापार घाटा १३१.३ अर्ब डलर थियो । युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले सीएनबीसीलाई जवाफ दिँदै भनेका छन्, ‘युरोपियन युनियन र अमेरिकाको अर्थतन्त्र निकै गहिरो छ । यसमा व्यापार र लगानी सन्तुलित छ । हामी ट्रम्पसँग हाम्रो पहिलेदेखि नै बलियो सम्बन्धलाई कसरी अझ बलियो बनाउन सक्छौं भनेर छलफल गर्न तत्पर छौं । यसमा ऊर्जा क्षेत्रमा हाम्रा साझा चासोहरूबारे छलफल पनि समावेश छ ।’ ईयूले रुससँगको सम्बन्ध तोड्ने ! इकोनोमिक टाइम्सका अनुसार गिलले ईयूले रुसी ऊर्जा आयात अन्त्य गर्ने बताएका छन् । उनले आपूर्ति स्रोत विविधिकरण गर्न ईयूको प्रतिबद्धता पनि उल्लेख गरे । एक वरिष्ठ ईयू कूटनीतिज्ञले सीएनबीसीलाई उनले ट्रम्पको भनाइको अपेक्षा गरेको बताएका छन् । उनले अमेरिकी आयात बढाउन ऊर्जालाई उत्तम विकल्प मानेका थिए । के हो युरोपेली संघ ? युरोपेली संघ अर्थात ईयू २७ युरोपेली देशहरूको राजनीतिक र आर्थिक गठबन्धन हो । अधिकांश देशले यूरो मुद्रामा व्यापार गर्दै आइरहेका छन् । यो दोस्रो विश्वयुद्धपछि गठन भएको थियो । यसमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन, स्वीडेन आदि देशहरू समावेश छन् । ईयूले आफ्नो निर्यातको करिब पाँचौं भाग अमेरिकामा पठाउँछ । अमेरिका ईयू निर्यातको सबैभन्दा ठूलो उपभोक्ता हो । तेलमा किन ध्यान ? विश्व तेल उत्पादनमा अमेरिका अग्रणी छ । सन् २०२३ मा विश्वभरको आपूर्तिको २२ प्रतिशत अमेरिकाबाट भएको थियो । ईआईएले २०२४ मा रेकर्डको रूपमा कच्चा तेल उत्पादनको भविष्यवाणी गरेको छ । ईयूले पहिले अमेरिकी ऊर्जा खरिद बढाउने योजनाहरू संकेत गरेको छ । ट्रम्पको धम्कीले शुक्रबार बिहान युरोपेली बजारमा गिरावट आएको थियो । धम्कीको प्रभाव ? यदि ईयूले ट्रम्पको भनाइलाई स्वीकार गरेन भने त्यसमा कर लगाइनेछ । यसको सीधा अर्थ हो कि ईयू देशका कम्पनीहरूले अमेरिकामा चीजहरू बेच्न थप कर तिर्नुपर्नेछ । यदि यस्तो भयो भने यी चीजहरू अमेरिकामा महँगो बिक्री हुनेछ, जसले तिनीहरूको बिक्रीलाई असर गर्नेछ । ट्यारिफको धम्की राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पले ट्यारिफ लगाउने धम्की दिँदै आएका छन् । उनले सुरुमा चीन, क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने धम्की दिएका थिए । उनले ब्रिक्स राष्ट्रहरूलाई समेत ट्यारिफ लगाउने चेतावनी दिएका थिए । उनले यी देशहरूले डलरको विकल्पमा आफ्नै मुद्रा ल्याएमा शतप्रतिशत कर लगाउने चेतावनी दिएका हुन् । जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्दैछन् । विशेषज्ञले दिइसके चेतावनी विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले यस प्रकारको कर लगाउने चेतावनी दिइसकेका छन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ । विज्ञहरूका अनुसार भन्सार बढाएर अमेरिकामा यी वस्तुहरू महँगो मूल्यमा बिक्री हुने भएकाले त्यसको असर आम मानिसलाई पनि पर्नेछ । (एजेन्सीको सहयोगमा)