केन्द्रीय बैंकको एकै इशारामा शीर्ष धनीहरूले गुमाए ७५ बिलियन डलर, कसलाई धेरै घाटा ?
काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक (फेड)ले नीतिगत ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेको छ । साथै अर्को वर्ष दुईपटक मात्र कटौती गर्ने संकेत दिएको छ । यसअघि सेप्टेम्बरमा अर्को वर्ष चार पटक ब्याजदर घटाउन सकिने बताएको थियो । फेडले ब्याजदरमा कटाैती गर्ने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । डाउ जोन्स इन्डस्ट्रियल औसत १ हजार १२३ अंकले घटेको छ । यो परिसूचकमा लगातार दशौं गिरावट आएको छ । सन् १९७४ पछि यति लामो अवधिसम्म सूचकांक घटेको यो पहिलो पटक हो । एस एन्ड पी फाइभ हन्ड्रेड ३ प्रतिशत र नासडक कम्पोजिट सूचकांक ३.६ प्रतिशतले घट्यो । यसले अमेरिकाका शीर्ष धनीहरूको नेटवर्थमा लगभग ७५ बिलियनको गिरावट ल्याएको छ । एलन मस्क बुधबार अमेरिकी सेयर बजारमा आएको गिरावटका कारण एलन मस्कले सबैभन्दा धेरै घाटा बेहोरेका छन् । टेस्ला, स्पेसएक्स र एक्स लगायतका धेरै कम्पनीहरू सञ्चालन गर्ने मस्कको कुल सम्पत्ति एकै झट्कामा २८.४ बिलियन डलरले झरेर ४५८ बिलियन डलर पुगेको छ । टेस्लाको सेयर ८.२८ प्रतिशतले घटेको छ । विश्वकै धनी व्यक्ति मस्कको यस कम्पनीमा करिब २३ प्रतिशत सेयर रहेको छ । जेफ बेजोस अमेजनका सह-संस्थापक जेफ बेजोसको कुल सम्पत्ति बुधबार ९.७२ बिलियन डलरले घटेको छ । अमेजनको सेयर ४.६० प्रतिशतले घटेर बन्द भयो । बेजोसको कुल सम्पत्ति अहिले २४० अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ६३.२ बिलियन डलरले बढेको छ । मार्क जुकरबर्ग विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्गको कुल सम्पत्ति ७ अर्ब ६९ करोड डलरले घटेको छ । उनी २११ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८३.२ बिलियनले बढेको छ । ल्यारी एलिसन सफ्टवेयर कम्पनी ओरेकल कर्पोरेशनका सह-संस्थापक ल्यारी एलिसनलाई बुधबार ५.५३ अर्ब डलरको झटका लागेको छ । अहिले उनको कुल सम्पत्ति १८८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ६४.९ बिलियन डलरले बढेको छ । ल्यारी पेज ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गुगलका संस्थापक ल्यारी पेजको नेटवर्थ बुधबार ५.५३ बिलियन डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले १६८ अर्ब डलर पुगेको छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा छैटौं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ४१.९ बिलियन डलरले बढेको छ । बिल गेट्स माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको २.६२ बिलियन डलरको गिरावट आएको छ । उनी विश्वका धनी व्यक्तिको सूचीमा सातौं नम्बरमा छन् । अहिले उनको कुल सम्पत्ति १६२ अर्ब डलर छ । यो वर्ष उनको सम्पत्ति २१.५ अर्ब डलरले बढेको छ । बुधबार कम्पनीको सेयर ३.७६ प्रतिशतले घटेको छ । सर्गेई ब्रिन सेयर बजारमा आएको गिरावटका कारण गुगलका सहसंस्थापक सर्गेई ब्रिनको कुल सम्पत्ति ५.१५ अर्ब डलरले घटेको छ । अहिले उनको कुल सम्पत्ति १५८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा आठौं नम्बरमा छन् । यो वर्ष उनको सम्पत्ति ३८.३ अर्ब डलरले बढेको छ । बुधबार गुगलको मूल कम्पनी अल्फाबेटको सेयर ३.५४ प्रतिशतले घटेको छ । स्टिभ बाल्मर माइक्रोसफ्टका पूर्व सीईओ र कम्पनीका प्रारम्भिक कर्मचारीहरूमध्ये एक स्टिभ बाल्मरले बुधबार ५.४७ बिलियन डलर गुमाए । उनको कुल सम्पत्ति अहिले १५२ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा नवौं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति २०.९ बिलियन डलरले बढेको छ । वारेन बफेट प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेटको कुल सम्पत्ति बिहीबार २.७६ बिलियन डलरले घटेको छ । उनी १४० अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १० औं स्थानमा छन् । बफेटको कुल सम्पत्ति यस वर्ष २०.३ बिलियन डलरले बढेको छ। माइकल डेल डेल कर्पोरेशनका संस्थापक माइकल डेलको नेटवर्थ बुधबार ५.८३ अर्ब डलरले घटेको छ । उनी १२२ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ४३.१ अर्ब डलरले बढेको छ । बुधवार डेलको सेयर ४.७४ प्रतिशतले घटेको छ ।
भारतमा २ करोड बढी क्रिप्टो प्रयोगकर्ता, साना सहरमा पनि बढ्दै क्रेज
काठमाडौं । पछिल्लो समय क्रिप्टोकरेन्सीको मूल्य बढेसँगै यसको क्रेज भारतका साना सहरमा पनि बढ्दै गइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोइनस्विच रिपोर्टले बोटाड, जालन्धर, लुधियाना, पटना, कांचीपुरम र देहरादून जस्ता सहरहरूमा क्रिप्टो व्यापार तीव्र गतिमा बढिरहेको देखाउँछ । ३५ वर्षभन्दा कम उमेरका युवा लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियो विविधिकरण गर्न क्रिप्टोमा रुचि देखाउँदै छन् । भारतमा अहिले २ करोडभन्दा बढी क्रिप्टो प्रयोगकर्ता छन् । तिनीहरूमध्ये धेरैजसो (१८-३५ वर्ष) बजारमा सक्रिय छन् । बिटकोइनको मूल्य एक लाख डलर पुग्दा मीम कोइन्सको लोकप्रियता पनि बढेको छ । यो भारतको कुल क्रिप्टो लगानीको १३ प्रतिशत हो । डगकोइन, पेपे र बोन्क जस्ता मीम कोइन्समा लगानीकर्ताहरूको धेरै चासो छ । शिबा इनु सबैभन्दा धेरै ट्रेड गरिएको मीम कोइन हो, जबकि पेपेले २०२४ मा १३०० प्रतिशतको लाभसँग उत्कृष्ट प्रदर्शन गरेको छ । कोइनस्विचका उपाध्यक्ष बालाजी श्रीहरी भन्छन्, ‘२००४ ग्लोबल क्रिप्टो इकोसिस्टमको लागि ठूलो वर्ष हुन गइरहेको छ । हामीले भारतभर क्रिप्टो लगानीमा वृद्धि देखेका छाैं । पहिले ठूला सहरमा मात्र सीमित रहेको अहिले साना सहरमा तीव्र गतिमा फैलिरहेको छ । भारतीय लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियो विविधिकरण गरिरहेका छन् ।’ क्रिप्टो संसारमा युवा हावी युवाहरू क्रिप्टो संसारमा हावी हुँदै गएका छन् । भारतमा ७५ प्रतिशत क्रिप्टो लगानीकर्ताहरू ३५ वर्षभन्दा कम उमेरका छन् । २६-३५ वर्ष उमेर समूहले कुल बजारको ४२ प्रतिशत ओगटेका छन्, जबकि १८-२५ वर्षकाहरूले ३० प्रतिशत । ३६ वर्षभन्दा माथिका व्यक्तिहरूको सहभागिता पनि बढेको छ, जुन २८ प्रतिशत हो । दिल्ली-एनसीआर क्रिप्टो अपनाउनेमा अगाडि छ, लगानी बेंगलुरुको भन्दा दोब्बर छ। मुम्बई, हैदराबाद र पुणे तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । जयपुर छैटौं स्थानमा रहेको छ । पहिलो पटक कोलकाता र गुजरातको सानो सहर बोटाड शीर्ष १० को सूचीमा ९ औं र १० औं स्थानमा परेको छ । क्रिप्टोकरेन्सीमा लगानी गर्ने अधिकांश युवा छन् । यसले नयाँ पुस्ता डिजिटल मुद्राप्रति कत्तिको उत्सुक छ भन्ने देखाउँछ । क्रिप्टोमा साना सहरहरूको बढ्दो चासोले देखाउँछ कि क्रिप्टो ठूला सहरहरूमा मात्र सीमित छैन, तर भारतभर फैलिएको छ । मीम सिक्काको लोकप्रियता रोचक छ । यसले लगानीकर्ताहरू नयाँ र अद्वितीय विकल्पहरू खोजिरहेकाे देखाउँछ । तर, लगानीकर्ताले सावधानी अपनाउनुपर्छ र पूर्ण जानकारी लिएर मात्र लगानी गर्नुपर्छ । क्रिप्टो बजारमा उतारचढावहरू छन् । यस्तो अवस्थामा जोखिम लिनु बुद्धिमानी कदम होइन ।
मलेसियाद्वारा विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणालीलाई निरन्तरता
काठमाडौं । मलेसियाले नेपालसहित आप्रवासी श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्ने भन्दै एक दशकदेखि कार्यान्वयनमा ल्याइएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमस)लाई निरन्तरता दिइएको जनाएको छ । मलेसियाको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै गत कार्तिक १६ गते (१ नोभेम्बर)देखि नै एफडब्लूसीएमएसलाई नवीकरण गरेको जनाएको हो । मलेसियाले यो प्रणालीअनुसार श्रमिकको भर्ना प्रक्रियालाई अगाडि बढाउन सूचना जारी गरेको हो । मलेसियाले विदेशी श्रमिकका लागि छुट्टाइएको कोटाभन्दा बढी श्रमिक भित्रिएपछि गत असार १ गतेदेखि नयाँ विदेशी श्रमिकको भिसा जारी गर्न बन्द छ । गत असोजमा मात्रै प्लान्टेसन (पाम आयल), गार्मेन्ट, गरगहना र नाई क्षेत्रमा विदेशी श्रमिक लैजाने निर्णय गरेको हो । यो क्षेत्रमा नेपालीहरू निकै कम जाने गरेका छन् । प्लान्टेसन क्षेत्रमा न्यून सख्यामा नयाँ श्रमिकको भर्ना प्रक्रिया अगाडि बढेको हो । रोजगारदाताले कलिङ भिसा (भीडीआर) र श्रमिकको अस्थायी भिसाका लागि यो प्रणाली प्रयोग गर्नुपर्छ । कलिङ भिसा भएपछि मात्रै रोजगारदाताले काम गर्न पाउने अस्थायी भिसाको लागि आवेदन दिन पाइन्छ । स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका श्रमिकको कलिङ भिसा जारी हुन्छ । मलेसिया जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण (बायोमेडिकल) सुनिश्चित गर्न एफडब्लूसीएमएसमा २०७२ देखि नेपालको तर्फबाट ३६ वटा स्वास्थ्य परीक्षण संस्था जोडिएको छ । एफडब्लूसीएमएसको छनोट मापदण्डमा नपरेका स्वस्थ्य संस्थाले एकाधिकार भएको भन्दै ३२ साउन २०७२मा सर्वोच्च अदालतमा परेको रिटलाई २०७९ मा न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले खारेज गरिदिएका थियो । २०७५ मा नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताअनुसार श्रमिकको भर्ना प्रक्रियामा प्रयोग हुने मलेसियाको प्रणाली प्रयोग गरेबापत लाग्ने सबै शुल्क रोजगारदाताले नै बेहोर्नुपर्छ । रोजगारदाताले नेपालमा श्रमिकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य परीक्षण संस्थालाई तिरेको ६५ सय रुपैयाँ शुल्क पहिलो महिनामा सोधभर्ना गर्नुपर्ने उल्लेख छ । नेपालका लागि मलेसियन कार्यवाहक राजदूत मोहम्मद फिर्दोस आजामले आफ्नो देशमा रोजगारीका लागि आउने नेपाली श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न नेपालसँग गरिएको साझेदारी उपलब्धिमूलक भएको बताए । श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न भन्दै गन्तव्य देशहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरू छनोट गर्दै आएका छन् । जसमा मलेसियाद्वारा ३६, साउदी, बहराइन, ओमान र कुवेतद्वारा १९ (गाम्का), र कतारद्वारा एक, कोरियाद्वारा चारवटालाई मान्यता दिएको छ । वैदेशिक रोजगारीमा जाने र गएका नेपालीको स्वास्थ्य परीक्षणका विषयमा अध्ययन गरी सुझाव दिन स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा विज्ञ सम्मिलित ३० सदस्यीय उच्चस्तरीय टोलीले सूचीकृत सबै स्वास्थ्य संस्थाहरूलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डमा लैजान सुझाव दिइएको छ ।