बङ्गलादेशको चालु घाटा ३ अर्ब ३० करोड अमेरिकी डलर
काठमाडौं । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२÷०२३ मा बङ्गलादेशले करिब ३ अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन् । केन्द्रीय बैंकका एक अधिकारीले सिन्ह्वालाई बताएअनुसार तथ्याङ्कले आर्थिक वर्ष २०२२÷०२३ मा ३ अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ । अघिल्लो वर्ष उक्त घाटा ४ अर्ब ४० करोड ७५ लाख डलर रहेको थियो । यद्यपि रेमिटेन्सले बङ्गलादेशलाई चालू खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ । अधिकारीका अनुसार आर्थिक वर्ष २०२२÷२३ मा १०० भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब १ करोड बङ्गलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको अवधिमा दक्षिण एशियाली मुलुकको आयात भुक्तानी १५.७६ प्रतिशतले घटेर ६९ अर्ब ५० करोड डलर रहेको छ भने निर्यातबाट हुने आम्दानी ६.२८ प्रतिशतले वृद्धि भई ५२ अर्ब ३४ करोड डलर पुगेको छ । रासस
रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना
एजेन्सी । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना भएको छ । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गई दुर्घटना भएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले बताएको छ । चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो । रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो । स्थानीय समय अनुसार शनिबार २ बजेर ५७ मिनेटपछि लुना–२५ को सम्पर्क टुटेको थियो । हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्ष यानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् ।
चीनको कुन्मिङ व्यापार मेला सम्पन्न, ५६ अर्ब डलरको लगानी सम्झौता
काठमाडौं । सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ । कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना भएको पाँचदिने मेलामा ८५ देश, क्षेत्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका तीस हजारभन्दा बढी प्रदर्शकका साथै प्रतिनिधि र पाहुना सहभागी भएका थिए । सन् २०१३ मा राष्ट्रपति सी चिनफिङले विश्व विकासको विशाल परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) घोषणा हुँदा कुनमिङमा पहिलो चीन–दक्षिण एसिया एक्स्पो आयोजना भएको थियो । विगतका वर्षहरूमाभन्दा यो वर्ष मेलामा सहभागी देश, क्षेत्र र अन्तरराष्ट्रिय संस्थाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । दश वर्षपछि व्यापार, लगानी, पर्यटन सहयोग र सांस्कृतिक आदानप्रदानलाई एकीकृत गर्ने बृहत् व्यापार मेला चीन र दक्षिण एसियाली देशका साथै अन्य देशबीचको व्यापारिक आदानप्रदानका निम्ति उपलव्धिमूलक भएको मेला आयोजक युनान प्रान्तीय सरकारले जनाएको छ । बितेको एक दशकमा व्यापार मेलाले चीन र दक्षिण एसियाबीचको घनिष्ठ सम्बन्ध उजागर गर्नाका साथै चीन र दक्षिण एसियाली देशबीचको व्यापारको मात्रामा दोब्बरले बढोत्तरी मात्रभएको छैन अपितु चीन वर्षौंदेखि पाकिस्तान, बङ्गलादेश र माल्दिभ्सको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । रासस