तीन वर्षमा भारतबाट हराए १३ लाख १३ हजार महिला बालबालिका
एजेन्सी । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएका मुलुकमध्ये चीन र भारत पर्छन् । यी मुलुक मानिसको संख्यामा मात्रै अगाडि नभएर महिला तथा बालबालिका हराउनेमा पनि अगाडि छन् । विश्वभरीमा जति संख्यामा महिला तथा बालबालिका हराइरहेका छन् त्यसको ९० प्रतिशत चीन र भारतबाट नै हराउने गरेका छन् । हालै भारतको गृह मन्त्रालय र महिला एवं बाल विकास मन्त्रालयले हराएका बालिका, महिला र बालबालिकाको विषयमा प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनअनुसार पछिल्लो तीन वर्षमा १३ लाख १३ हजार महिला तथा बालिका हराएका छन् । जसमध्ये १८ वर्ष माथि उमेरका १० लाख ६० हजार र सो भन्दा कम उमेरका दुई लाख ५० हजार महिला तथा बालिका हराएका छन् । भारतमा सबैभन्दा धेरै महिला मध्य प्रदेशबाट हराएका छन् भने बालबालिका तस्करीमा राजस्थानको जयपुर अगाडि रहेको छ । त्यस्तै, बालबालिका तस्करीका धेरै घट्ना भारतको युपीमा हुने गरेको छ । दिल्ली, बिहार र आन्ध्र प्रदेश पनि बालबालिका तस्करीको मामिलामा अगाडि रहेको देखिन्छ । संयुक्त राष्ट्र जनसंख्या कोषको २०२० को रिपोर्टअनुसार पछिल्लो ५० वर्षमा विश्वभरीबाट १४ करोड २६ लाख महिला हराएका थिए । जसमध्ये चार करोड ५८ लाख महिला भारतबाट हराएका थिए । एजेन्सीको सहयोगमा ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।
उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो
एजेन्सी । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । ‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो’, नयाँ दिल्लीबाट रासससित कुरा गर्दै उनले भने । घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले भने । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ । उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।