३१ अर्ब बढी घुस लिएको आरोपमा चीनका पूर्वअधिकारीलाई मृत्युदण्ड
काठमाडौं । पूर्वी चीनको एक अदालतले करिब ३० वर्षको अवधिमा २.२ अर्ब युआन (३१ अर्ब रुपैयाँ बढी) ने भन्दा बढी घुस लिएको आरोपमा एक पूर्व नगर अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् १९९३ देखि २०२३ सम्म याङ योलिनले नानजिङमा विभिन्न सरकारी पदमा कार्यरत रहँदा घुस लिएको, सरकारी सम्पत्ति हिनामिना गरेको, अधिकारको दुरुपयोग गरेको तथा अवैध रूपमा कमाएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको ठहर अदालतले गरेको छ । हालैका वर्षहरूमा उनको अवैध आम्दानी सबैभन्दा ठूलोमध्ये एक मानिएको छ । ६९ वर्षीय याङले आफ्नो पदको दुरुपयोग गर्दै अन्य व्यक्तिहरूलाई इन्जिनियरिङ ठेक्का, जग्गा हस्तान्तरण तथा वित्तीय सुविधा उपलब्ध गराउन सहयोग गरेबापत नगद र बहुमूल्य वस्तुहरू लिएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । याङमाथिको अनुसन्धान सी चिनफिङको नेतृत्वमा सञ्चालन भइरहेको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत गरिएको हो । उक्त अभियानले सेना, बैंकिङ क्षेत्रलगायत विभिन्न उच्च तहका सरकारी निकायहरूमा व्यापक कारबाही गरेको छ । छाङझाउको अदालतले सोमबार जारी गरेको निर्णयमा याङले गरेका अपराधहरू ‘अत्यन्त गम्भीर प्रकृतिका’ रहेको र त्यसबाट ‘राज्य तथा जनताको हितमा अत्यधिक क्षति पुगेको’ उल्लेख गरेको छ । राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि चीनमा पटक–पटक भ्रष्टाचारविरोधी अभियान सञ्चालन भएका छन् । आलोचकहरूले भने ती अभियानलाई राजनीतिक प्रतिद्वन्द्वी हटाउने माध्यमका रूपमा पनि प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् । आर्थिक तथा भ्रष्टाचारसम्बन्धी अपराधमा मृत्युदण्ड दिने घटना भने चीनमा विरलै हुने गर्छ । तर, एक अर्ब युआनभन्दा बढी रकम जोडिएका अत्यन्त ठूला भ्रष्टाचारका मुद्दामा कहिलेकाहीँ यस्तो सजाय सुनाइने गरेको छ । यसअघि लाइ सियाओमिनलाई १० वर्षको अवधिमा १.८ अर्ब युआन घुस लिएको अभियोगमा सन् २०२१ मा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो । त्यस्तै, ली जियानपिङलाई ३ अर्ब युआनभन्दा बढी रकम घुस लिएको अभियोगमा सन् २०२४ मा मृत्युदण्ड दिइएको थियो । धेरै अन्य भ्रष्टाचारका मुद्दामा भने अदालतहरूले कैद सजाय वा स्थगित मृत्युदण्ड सुनाउने गरेका छन्। यस्तो अवस्थामा निश्चित अवधि पूरा भएपछि मृत्युदण्डलाई आजीवन कारावासमा रूपान्तरण गरिन्छ । कतिपय मुद्दामा दोषी ठहर भएका व्यक्तिले अन्य अपराधीबारे जानकारी दिएमा अदालतले सजाय पनि घटाउने गरेको छ । याङले पनि अनुसन्धानमा सहयोग गरेको भए पनि उनको अपराध अत्यन्त गम्भीर भएकाले त्यो सहयोग सजाय कम गर्न पर्याप्त नभएको छाङझाउ अदालतले जनाएको छ ।
धम्की जारी रहिरहे अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता हुँदैन : इरानी विदेशमन्त्री
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इरानविरुद्ध धम्की जारी रहुन्जेल अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता सुरु नहुने चेतावनी दिएका छन् । अराघ्चीको यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए आफूले यो सम्पूर्ण अभियानलाई अन्तिम निष्कर्षसम्म पुर्याएरै छाड्ने चेतावनी दिएपछि आएको हो । अराघचीले मंगलबार (आज) भने, ‘अमेरिकासँग भएको समझदारी (एमओयू) को धारा १३ पूर्ण रूपमा स्पष्ट र निर्विवाद छ । जबसम्म इरानविरुद्ध धम्की जारी रहन्छ, अन्तिम सम्झौतामा पुग्नका लागि वार्ता सुरु हुने छैन । तपाईंहरूले हस्ताक्षर गर्नुभएको प्रतिबद्धतामा अडिग रहनुहोस् ।’ यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो अभिव्यक्तिमा इरानलाई चेतावनी दिँदै भनेका थिए, ‘या त सम्झौता हुन्छ, नभए हामी यो विषयलाई पूर्ण रूपमा टुंग्याउनेछौं ।’ अराघ्चीले आफ्नो अर्को वक्तव्यमा इरानका सर्वोच्च नेता अलि खामेनेईको अन्त्येष्टिको प्रसंग उल्लेख गर्दै भने, ‘लाखौं इरानीहरू राष्ट्रिय एकता र ऐक्यबद्धताका साथ आफ्ना नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्न एकत्रित भएका छन् । इरानी जनता र हाम्रो बहादुर सेना कुनै पनि प्रकारको धम्की वा जोखिमसँग डराउँदैन ।’
एआई चिपको मागसँगै सामसुङको नाफा १९ गुणाले बढ्ने
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अप्रिल–जुन अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन (५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणाले बढी हो । विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसुङका अनुसार यस अवधिमा राजस्व पनि उल्लेखनीय रूपमा बढेर एक हजार ७१० खर्ब वोन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले बढी हो । कम्पनीले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ । एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्याएको छ । यही कारण सामसुङले यसअघि कामदारसँग बोनससम्बन्धी सहमति गरेपछि सम्भावित ठूलो हडतालसमेत टार्न सफल भएको थियो । सेजोङ विश्वविद्यालयका व्यवसाय प्रशासनका प्राध्यापक किम डे–जोङले सामसुङको अनुमानित नाफालाई कम्पनीकै इतिहासको सबैभन्दा ठूलो त्रैमासिक परिचालन मुनाफा भएको बताए । उनका अनुसार कम्पनीले यस्तो प्रदर्शन निरन्तर कायम राख्न सके विश्वकै अग्रणी उत्पादन कम्पनीका रूपमा अझ बलियो स्थान बनाउन सक्छ । तर उनले एआईसँग सम्बन्धित मेमोरी चिपको उच्च माग कति समयसम्म कायम रहन्छ भन्ने विषय नै आगामी चुनौती रहने उल्लेख गरे । उनका अनुसार अर्को वर्षसम्म माग सुरक्षित देखिए पनि त्यसपछिको अवस्था निश्चित छैन । सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि मङ्गलबार बिहानको कारोबारमा सामसुङको सेयर मूल्य करिब सात प्रतिशतले घटेको थियो । सियोलको कोस्पी सूचकाङ्कमा आएको समग्र गिरावटले पनि यसको प्रभाव पारेको विश्लेषण गरिएको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले बजार विश्लेषण उद्धृत गर्दै सामसुङको प्रारम्भिक नाफा अनुमान विश्लेषकहरूको औसत प्रक्षेपणभन्दा छ दशमलव दुई प्रतिशतले बढी रहेको जनाएको छ । सामसुङ र घरेलु प्रतिस्पर्धी एसके हाइनिक्सले दक्षिणपश्चिमी दक्षिण कोरियामा करिब आठ हजार खर्ब वोन बराबरको सार्वजनिक–निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन् । प्राध्यापक किमका अनुसार उक्त परियोजना सम्पन्न भएपछि पनि सामसुङले हालको आयको स्तर कायम राख्न सक्छ वा सक्दैन भन्ने विषय भने अझै अनिश्चित छ । केही विश्लेषकले एआई पूर्वाधारमा हुने सम्भावित लगानी सुस्ताइलाई अहिलेको मेमोरी चिप बुमका लागि प्रमुख जोखिमका रूपमा औँल्याएका छन् । तर काउन्टरपोइन्ट रिसर्चका विश्लेषक एमएस ह्वाङले उत्पादकको आपूर्ति क्षमता र ग्राहकको मागबीचको अन्तर अझै उल्लेखनीय रूपमा कायम रहेकाले व्यापक मन्दीको निष्कर्ष निकाल्न हतार हुने बताए । उनका अनुसार केही प्रतिस्पर्धी कम्पनीका डाटा सेन्टर परियोजना ढिलो हुन सक्छन्, तर त्यसलाई समग्र एआई पूर्वाधार लगानी घटेको संकेतका रूपमा लिन मिल्दैन । एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन् । यसले ती उपकरणको मूल्यसमेत बढाउन थालेको विश्लेषण गरिएको छ । दक्षिण कोरियामा सेमिकन्डक्टर उद्योगबाट बढेको कर आम्दानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ । राष्ट्रपतिका प्रमुख सचिव काङ् हुन–सिकले कर राजस्वबाट प्राप्त अतिरिक्त आम्दानी एआई तथा सेमिकन्डक्टर उद्योगका ठूला परियोजनामा लगानी गरिने र त्यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने बताएका छन् । यसैबीच एसके हाइनिक्ससँग सम्बन्धित ज्याकेट यस वर्ष सामाजिक सञ्जालमा धन र सफलताको प्रतीकका रूपमा भाइरल बनेको थियो । विभिन्न व्यङ्ग्यात्मक सामग्रीमा त्यसलाई विलासी जीवनशैली र राम्रो वैवाहिक सम्भावनाको ‘सुनौलो टिकट’ का रूपमा चित्रण गरिएको थियो । योन्हापका अनुसार वैवाहिक मिलान संस्था सुनुले तयार पारेको ‘वाञ्छनीयता सूचकाङ्क’ मा सामसुङ र एसके हाइनिक्सका कर्मचारीको आकर्षण डाक्टर र वकिलसरह पुगेको देखिएको छ । रासस