निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट बाहिरिँदै

योकोहामा, जापान । विश्व प्रसिद्ध जापानी कम्पनी निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट छिट्टै हट्ने उक्त कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रसिद्ध कार कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनमाथि आर्थिक अनियमितता गरेको आरोप लागेपछि कम्पनीको नेतृत्वमा रहेका साइकावालाई पनि कम्पनीको पदबाट हटेर कम्पनीलाई सहयोग गर्न अनुरोध गरेको हो । “सञ्चालक समितिको बैठकमा भएको व्यापक छलफलपछि समितिले साइकावालाई कार्यकारी प्रमुखबाट हट्न अनुरोध गरेको र प्रस्तावलाई उहाँले स्वीकार गर्नुभएको छ,” निस्सानको सञ्चालक समितिका अध्यक्ष यासुसी किमुराले पत्रकारहरूलाई बताए । रासस/एएफपी

नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहायता

काठमाडौं । प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्त रूपमा रु ११ अर्ब ४० करोड अनुदान सहायता उपलव्ध गराउने भएका छन् । युरोपेली सङ्घ, बेलायत, नर्वे र स्विट्जरल्याण्डले व्यावहारिक, दिगो, समावेशी र उत्तरदायी प्रान्तीय एवं स्थानीय शासन व्यवस्था सुनिश्चित गर्न चार वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराएका हुन् । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि बेलायतको सहयोग नियोग (डिएफआइडी)का स्थायी सचिव म्याथ्यु जन रे क्रफ्ट, नेपालका लागि नर्वे र स्विटजरल्याण्डका राजदूतद्वय लासा बियोन जोहानेस्सेन र एलिजाबेथ फ कपेलर ओस्वाल्ड र अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा युरोपेली सङ्घले निकट भविष्यमा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ । त्यस अवसरमा स्थायी सचिव क्रफ्टले २०३ वर्ष पुरानो बेलायत–नेपाल सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्न आफूहरू क्रियाशील रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भए यता सङ्घीयता कार्यान्वयनका निम्ति भएका नीतिगत एवं संरचनागत सुधारको प्रशंसा गर्दै उनले सङ्घीयतासम्बन्धी सबै विषय शीघ्र टुङ्गिने विश्वास व्यक्त गरेका छन् । राजदूत जोहानेस्सेनले नेपाली जनताका विकासका आकाङ्क्षा पूरा गर्न तथा उनीहरूको जीवनस्तर उकास्न नर्वेले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राजदूत ओस्वाल्डले स्थानीय र प्रदेश तहका सरकारलाई सशक्त एवम् प्रभावकारी बनाउन आफ्नो देशले सहायता रकम उपलब्ध गराएको बताउँदै संविधान जारी भएपछि प्रगतिको पथमा अग्रसर भएको नेपाललाई सघाउनु आफूहरूको दायित्व भएको बताए । सहसचिव नेपालले सङ्घीयताको अभ्यासलाई क्रमशः सुदृढ तुल्याउँदै अघि बढेको नेपालको सामाजिक–आर्थिक विकासका निम्ति विकासका साझेदारबाट निरन्तर प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् । रासस

अब निगमको ओसाका उडान सातामा दुई दिनमात्रै

काठमाडौं । यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो । ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् । पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिएका छन् । उनका अनुसार दसैँ, तिहार र त्यसपछिको समयमा हालको उडान सङ्ख्या बढाएर चार पुर्याइनेछ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको सङ्ख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाडौँदेखि चीनको साङ्घाई हुदैँ ओसाका उडाउने गरेको थियो । निगमको ध्यानाकर्षण नेपाल वायुसेवा निगमले आफ्नो संस्था र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष खरेल हाल अस्वस्थ्य भएकाले चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहेको स्पष्ट पारेको छ । चिकित्सकका अनुसार अध्यक्ष खरेललाई मौसमी भाइरल र टाइफाइडबाट सङ्क्रमित भएकाले कम्तीमा पाँच दिन आराम गर्नुपर्नेछ । कार्यकारी अध्यक्ष विश्राममा रहेको प्रशङ्गलाई अतिरञ्जित समाचारको रुपमा आएकोमा सोको खण्डन गर्दै निगमले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस