बेलायतको संसद् अक्टोबर १४ सम्मलाई निलम्बित, महारानीको सम्बोधनलाई भने असर नपर्ने
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका छन् । निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उनले महारानी एलिजावेथसमक्ष पेश गरेको अधिकारीले जनाएका छन् । बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ ।निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानून पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ । “यो निलम्वन हामीले अक्टोबर १४ सम्मका लागि कायम गर्न लागेका छौँ”, जोहनसनले पत्रकारसँग भने । उनले ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गरे । निलम्वनका कारण प्रधानमन्त्री जोनसनको सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न संसद्मा हुने महारानीको सम्बोधनलाई भने असर नपर्ने जनाइएको छ । निलम्बनको प्रस्ताव विवादमा परेको छ । कतिपय सांसदहरुले यसको विपक्षमा आवाज उठाएका छन् । सामान्यतया संसद्को नयाँ सत्र शुरु हुनुअघि केही समयका लागि मात्र संसद् स्थगन हुने गरेकामा यसपटक फरक अवस्थामा संसद् निलम्वन गरिएको हो । रासस/एएफपी
भारतको चण्डीगढ विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीसँग शैक्षिक परामर्श गर्ने
काठमाडौं । भारतको चर्चित चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरी ४ दिने शैक्षिक परामर्श अभियान गर्ने भएको छ । विश्व विद्यालयको नेपालमा रहेको भर्ना केन्द्र काठमाडौंको एआईपी एडुसकेशनमा हुने अभियान आगामी अगस्त २७ देखि ३० गतेसम्म चल्नेछ । अभियान अन्तर्गत प्रत्येक दिन विहान १० बजे देखि साँझ ६ बजेसम्म विश्वविद्यालयले दिने छात्रवृत्ति, विद्यार्थी जीवन, रोजगारीको अवसर, पूर्व विद्यार्थी मञ्च लगायतका विषयमा जानकारी उपलब्ध गराइनेछ । अभियानमा विश्वविद्यालयका प्रतिनिधिसँग फेसबुकबाट प्रत्यक्ष सवालजवाफ, विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष परामर्श, तत्काल योग्यता परीक्षा र भर्ना तथा विश्वविद्यालयका नेपालमा रहेका पूर्व विद्यार्थीसँग संवादको अवसर पनि प्राप्त हुनेछ । चण्डीगढ विश्वविद्यालयमा ५ सय भन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । विश्वविद्यालयस्तरीय शिक्षा र असंख्य राजगारीका अवसरका लागि चण्डीगढ विश्वविद्यालय परिचित छ । भारतमा ख्याति कमाइरहेको यो विश्वविद्यालयमा विश्वका ४० देशका विद्यार्थी अध्ययन गर्छन् । विश्वविद्यालय १ सय एकर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गरेको छ ।
जर्मनमा २१ औँ गैरसरकारी संस्थाको सम्मेलन हुँदै
काठमाडौं । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल हुने सङ्घका अध्यक्ष रामप्रताप थापाले बताएका छन् । उक्त सम्मेलनमा नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले विशेष मन्तव्य दिनेछन् भने नेपालका लागि जर्मनीका महावाणिज्यदूत समेत रहेका अध्यक्ष थापा र गोटिङ्गेनका डा. वियाट्रिस क्लिरको पनि विशेष प्रस्तुति रहने सङ्घले आज जनाएको छ । सो अवसरमा नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसर तथा गैरसरकारी संस्थाको वर्तमान अवस्थाका बारेमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका जर्मनीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । रासस