अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ –अमेरिकी राष्ट्रपति
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले शनिबार जानकारी दिए । पछिल्लो विवरणमा अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाखभन्दा बढी रहेको छ । ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताए । स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा आठ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो । राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गरेका छन् । यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ । कार्यदलकी सदस्य डा म्यारी इ.बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताए । उनले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि जानकारी दिए । अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ । रासस /एएनआई
कोरोना अपडेटः विश्वभर ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी
जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार व्यक्ति हाल उपचारारत छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ । हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीसङक्रमित रहेका छन् । कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी सङक्रमित छन् । कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् । जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण १ हजार ४४४ जना, फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ३१३ जना नेदरल्यान्ड्समा १ हजार ६५१ जना र बेल्जियममा १ हजार २८३ जनाको मृत्यु मृत्यु भइसकेको छ । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ४५२ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १८३ व्यक्तिको मृत्यु भएको छ । (रासस–एएफपी)
अष्ट्रेलियाका प्रधानमन्त्रीले भनेः विदेशी नागरिक स्वदेश फर्कनुहोस्’
काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थी र घुम्न आएका मानिसहरुले स्वदेश फर्कने समय आएको बताएका छन् । कोरोनाले संसारभर तहल्का मच्चाइरहेको बेला अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस्तो भनेका हुन् । यो महामारीकाे बेला आफ्नाे खर्चहरु धान्न नसक्नेहरुलाई मोरिसले देश फर्कन भनेका हुन् । शुक्रबारको राष्ट्रिय क्याबिनेटसँगको भेटपछि मोरिसनले यस्तो भनेका हुन् । अष्ट्रेलियाले पहिला आफ्नो नागरिकलाई ध्यानमा राखेर उनीहरुलाई सक्दो आर्थिक सहयोगमा केन्द्रित हुने बताएका छन् । यद्यपी, डाक्टर, नर्स मह्त्वपूर्ण सिप भएका अन्तर्राष्ट्रिय नागरिकहरु भने बस्न सक्ने उनकाे भनाइ छ । अष्ट्रेलियामा ५ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन् । उनीहरु धेरै जसोले महामारीको क्रममा आफ्नो जागिर गुमाइसकेका छन्।