दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे कोरोना सङ्क्रमितकाे सेवा गर्नेकाे मृत्यु भए परिवारलाई एक करोड दिने घोषणा

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा कामका शिलशिलामा मृत्यु हुने अधिकारीका परिवारलाई एक करोड रूपैयाँ राहतको घोषणा गरेको छ । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा बुधवार गरेका छन् । “यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ,” उनले भने । कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मान स्वरुप सो रकम दिइने उनले बताए । मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारे । “मलाई थाहा छ तपाईको सेवा अमुल्य छ, जे गरिरहनु भएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनु भएको छ, त्यस क्रममा केही गरी अनिष्ट भएमा सम्मान स्वरुप यो रकम उपलब्ध गराइने भएको हो,” उनले भने । आफ्नो जीवननै जोखिममा पारेर सेवामा खटिनुभएका सवैप्रति जति सम्मान व्यक्त गरेपनि कमी हुने उनको भनाइ छ । मुख्यमन्त्री केजरीवालले पाचँवटा सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग भिडियो बैठक समेत गरेका थिए । उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँच तारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिए । स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने पीपीई पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाए । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय ३७ पुगेको छ । तीमध्ये एक हजार ४ सय ६६ जना अझै पनि बिरामी अवस्थामा छन् भने १ सय ३३ जना सन्चो भएर घर फर्केका छन् । त्यसैगरी अन्य ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस/एएनआई

काेराेनाकाे प्रभावले एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

सिंगापुर । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही सुधार आएको थियो । बुधबार अपराह्न एसियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) मा १.६६ प्रतिशतले कमी आई कच्चा तेल प्रतिब्यारेल २०.१४ अमेरिकी डलरमा किनबेच भएको छ । बजार खुल्दा भने डब्लुटिआईको मूल्यमा केही वृद्धि भएको थियो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३.४२ प्रतिशतले कमी भई प्रतिब्यारेल २५.४५ अमेरिकी डलरमा किनबेच भएको छ । विश्व बजारमा तेलको माग घटे पनि साउदी अरेबिया र रसियाबीच तेल उत्पादनमा कटौती नगर्ने घोषणाले बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो । एएनजेड बैंकका एक विश्लेषकले पानीजहाजको ट्राकिङबाट साउदी अरेबियाले गत साता कच्चा तेलको बिक्री बढाएको देखिएको बताए । साउदी अरेबियाले प्रतिदिन ७० लाख ब्यारेलबाट करिब ९० लाख ब्यारेल तेल उत्पादन गरेको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल उत्पादनलाई घटाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै साउदी अरेबियाले विश्वमा तेल आपूर्ति बढाएर प्रभाव कायम राख्न चाहेको एक्सीकर्प ग्लोबल मार्केटका रणनीतिकार स्टिफेन इन्सले बताए । यस वर्षको शुरुदेखि मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ । रासस–एएफपी

अमेरिकाले दियाे ५ मिनेटमा काेराेना पत्ता लगाउने मेसिनलाई अनुमति, ट्रम्पले भने-धेरै नै विश्वासिलो छ

काठमाडौं । अमेरिकी हेल्थ केयर कम्पनी एबोट ल्याबरोटोरीले पाँच मिनेटमा कोरोना भाईरस पत्ता लगाउने मेसिन प्रयोग गर्न मान्यता पाएको छ । अमेरिकाका खाद्य तथा औषधी प्रशासन एफडिएले एबोटको मेसिनलाई मान्यता दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । राष्ट्रपति ट्रम्पले पनि सोमबार ह्वाईट हाउसको ब्रिफिङमा उक्त मेसिनलाई धेरै नै विश्वासिलो बताएका थिए । यस्तै, उनले एबीसी न्यूजसँगकाे एक अन्तर्वार्तामा एबटको अनुसन्धान र विकासका उपाध्यक्ष, डा. जोन फ्रेल्सले भनेका थिए, ‘उक्त यो हालको सबैभन्दा छिटो समयमा हेरचाह गर्न सक्ने परीक्षण मेसिन हुनेछ । यसले ५ मिनेटमा सकारात्मक नतिजा र १३ मिनेटमा नकरात्मक परिणाम दिन्छ ।’