यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो, उडान अवरुद्ध

काठमाडौं । यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । धावनमार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’तर्फ लैजाने प्रयास भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । त्यस कार्यमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारीलगायत खटिएको उनले बताए । महाप्रबन्धक क्षेत्रीका अनुसार यतिको विमान धावनमार्गमा चिप्लिएपछि विमानस्थबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ । रासस

फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने, प्रदुषण हटाउने परियोजनामा खर्च

पेरिस । फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर)सम्म कर लिने घोषणा गरेको छ । फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नले यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिने बताए । आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजना अन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १.५ युरो तथा युरोपबाहिर उडान भर्ने बिजनेस श्रेणीका यात्रुमाथि सबैभन्दा बढी कर लिइनेछ, मन्त्री बोर्नले उल्लेख गरे । रासस/एएफपी

यात्रुको डाटा चोरेका अभियोगमा ब्रिटिस एअरवेजलाई २२ करोड ९० लाख डलर जरिवाना

लण्डन । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमान कम्पनीको मातृ समूह इन्टरनेशनल एअरलाइन्स ग्रुप(आएजी) ले सोमबार जनाएको छ । कम्प्युटरका घुस पैठ (ह्याकर)हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो । आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ ।” आइएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर हो । रासस/एएफपी