व्यापार वातावरण थप राम्रो हुने : राष्ट्रपति सी

बेइजिङ । चीनको राष्ट्रपति सी चिन फिङले व्यापार वातावरण राम्रो बनाउन सरकार प्रयासरत रहेको बताएको छ । चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जन काँग्रेसमा पेश गरिएको सरकारी कार्य प्रतिवेदनबारे आफ्नो धारणा राख्दै उनले भने, “बजारको मुख्य पक्षको जीवन्त शक्तिलाई प्रोत्साहित गरिँदै व्यापार वातावरणलाई सुधार गरिनु सरकारका १० वटा मुख्य कार्यभारहरू मध्येको एक रहेको छ ।” व्यापार वातावरण अझ राम्रो बनाउन सरकार तथा पार्टी लागिपरेको तर सबैभन्दा राम्रो अवस्था भने भईनसकेको राष्ट्रपति सीले बताए । विश्वमा सबभन्दा ठूलो विकासोन्मुख मुलुक चीनमा व्यापार वातावरण तथा अन्तर्राष्ट्रियस्तरको व्यापार वातावरण बीच ठूलो अन्तर रहिरहेकोले यस अन्तरलाई साँघुरो पार्न चीनले सुधारलाई गहन पार्दै खुलापनलाई विस्तार गर्दै जाने उनको भनाई छ । राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्र, उच्च र नयाँ प्रविधि उद्योग क्षेत्रको समर्थन गर्न चीन सरकारले स्वतन्त्र व्यापार परिक्षात्मक क्षेत्रलाई अझ ठूलो नवीन अधिकार दिने योजना गरेको छ । ती योजनाहरूबाट विदेशी लगानी लगायत बजारमा थप जीवन्त शक्ति र नवीन क्षमता प्रोत्साहन गरिने छ र चीन र विश्व अर्थको मिलनलाई अझ घनिष्ट पारिने छ। लगानीको लागि चीन अझै आकर्षक गन्तव्य हुँदै जानेछ, राष्ट्रपति सीले भने । रासस/सिन्ह्वा

पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाको राजीनामा, किन भए अलोकप्रिय ?

लिमा । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन् । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ । प्रधानमन्त्री सेजार यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए । मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ । रासस/सिन्ह्वा

फ्रान्सको व्यापार घाटा बढ्दो, विमानजन्य सामाग्रीको निर्यातमा कमी

पेरिस, फ्रान्स । फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा चार अर्ब दुई करोड यूरो (चार अर्ब ७१ करोड अमेरिकी डलर( ले बढेको यहाँको राजस्व विभागले बताएको छ । जनवरी महिनामा देखिएको थप व्यापार घाटासँगै फ्रान्सको व्यापार घाटा १६.७ प्रतिशत पुगेको छ । यो समयमा विदेशमा गरिने निर्यातमा करिब एक प्रतिशतले कमी आउँदा ४२ अर्ब पाँच करोड यूरो बराबरको घाटा भएको छ । निर्यातमा आएको कमीका लागि प्रशोधित पेट्रोलियम पदार्थ, गाडीजन्य सामग्रीको उत्पादन साथै गरगहना निर्यातमा आएको कमी जिम्मेवार रहेको केन्द्रीय भन्सार सेवा विभागले जनाएको छ । फ्रान्सको विमानजन्य सामाग्रीको निर्यातमा पनि यस बर्ष कमी आएको बताइएको छ । भन्सारको तथ्याङ्क अनुसार फ्रान्सले गत बर्षको डिसेम्बरमा ४३ विमानको विक्रीबाट तीन अर्ब ३० करोड यूरो बराबर आम्दानी गरेकोमा जनवरीमा जम्मा २२ वटा विमानको विक्री भएको र यसबाट दुई अर्ब १० करोड यूरो आम्दानी गरेको देखिएको छ ।