पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई अदालतले दियाे मृत्युदण्ड आदेश

इस्लामावात । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी समाचारपत्र द डनले जनाएको छ। पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको यो पाकिस्तानको पहिलो घटना हो। तीन जना न्यायाधीशहरूको इजलासले पूर्वसैनिक शासक मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाको पूर्णपाठ ४८ घन्टाभित्र आउने बताएको छ। जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्। एजेन्सी

ब्राजिलद्वारा ब्याजदर कटौती, अहिलेसम्मकै न्युन

रियो दि जेनेरियो । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । समितिले बुधबार ब्याजदर परिवर्तनको घोषणा गरेको हो । सन् २०१८ को मेदेखि सन् २०१९ को जुनसम्ममा ब्राजिलको ब्याजदर स्थिर थियो । सन् २०१९ मा ब्याज परिवर्तन गरिएको यो चौँथोपटक हो । ब्याजदरसम्बन्धी पछिल्लो निर्णयसँगै ब्याजदरमा दुई अङ्कको कमी आएको छ । पछिल्लो आर्थिक तथ्याङ्कले ब्राजिलको अर्थतन्त्रमा वृद्धि भएको सङ्केत गरेको कोपोमले जनाएको छ । बैंकका अधिकारीहरूले ब्राजिलको अर्थतन्त्रमा क्रमिक सुधारको रफ्तार रहने विश्वास गरेका छन् । कोपोमले सन् २०१९ का लागि ब्राजिलको मुद्रास्फिति दर चार प्रतिशत र सन् २०२० का लागि ३.५ प्रतिशत रहने जनाएको छ । मौद्रिक समितिको सन् २०१९ को अन्तिम बैठकले ब्याजदरसम्बन्धी नयाँ निर्णय गरेको हो । समितिको अर्को बैठक सन् २०२० फेब्रुअरी ४ र ५ गते गर्ने तय भएको छ । रासस

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु

ढाका । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुइँ तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीलाई भने, “एक व्यक्तिको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो र ३३ जना कामदार गम्भीर रूपमा घाइते भएका थिए । तीमध्ये सात जनाको ढाका मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।”उनले उक्त कारखाना अवैध रूपमा सञ्चालन भएको पाइएको जानकारी दिँदै आगो नियन्त्रणमा ल्याउन अग्नि नियन्त्रकहरुलाई तीन घण्टा लागेको बताए । चिकित्सक समन्तलाल सेनले २४ जना कामदारको अवस्था अझै पनि गम्भीर रहेको जानकारी दिएका छन् । अधिकांशको मुखबाट विशाक्त धुवाँ शरीरभित्र पसेको र आधाभन्दा बढी शरीर आगोले जलेकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए । बंगलादेशमा विशेष गरी सुख्खा हिउँदको मौसममा सुरक्षा संहिताहरुको कार्यान्वयनमा बेवास्ता गरिने भएका कारण कारखानामा आगो लाग्ने काम सामान्य झैं हुने गरेको छ । यसै वर्षको फेब्रुअरीमा ढाकाको पुरानो ऐतिहासिक मुगल भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए । सन् २०१२ को नोभेम्बरमा एउटा गार्मेन्ट कारखानामा आगो लाग्दा कम्तिमा १११ जनाको मृत्यु भएको थियो । यस घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक विभत्स कारखाना आगलागीका रुपमा लिइने गरिन्छ । रासस