इरानसँग व्यापारका लागि जाेडिए ६ युरोपेली राष्ट्र
पेरिस । फ्रान्स, बेलायत र जर्मनीले इरानसँग वस्तु–विनिमयका आधारमा व्यापार गर्न छ वटा नयाँ युरोपेली राष्ट्रहरुले देखाएको तत्परतालाई शनिबार स्वागत गरेका छन् । हाल फ्रान्स, बेलायत र जर्मनीले इरानसँगको व्यापारका लागि वस्तु–विनियम प्रणाली स्थापना गरेका छन् । इरान विरुद्ध अमेरिकी आर्थिक प्रतिबन्ध रहेका कारण युरोपेली राष्ट्रहरुले अमेरिकी डलरको सट्टा वस्तु–विनिमयका आधारमा सीमित व्यापार गर्न चाहेका छन् । इन्स्टेक्स नाम दिइएको यस नयाँ व्यापार प्रणालीमा सहभागी हुन बेल्जियम, डेनमार्क, फिनल्याण्ड, नेदरल्याण्ड्स, नर्वे र स्वीडेनका सरकारहरुले सहमति जनाएका छन् । पेरिसस्थित मुख्यालय रहेको इन्स्टेक्सले इरानले आफ्नो तेल युरोपेली मुलुकलाई बेच्न सक्ने र त्यसको बदलामा युरोपेली मुलुकबाट सामान वा सेवाहरु खरिद गर्न सक्नेगरी क्लियरिङ एजेन्टको रुपमा कार्य गर्दछ । हालसम्म यस प्रणालीमार्फत कारोबार हुन थालेको छैन । इरानसँग सन् २०१५ मा भएको बहुपक्षीय आणविक अप्रसार सन्धिबाट संयुक्तराज्य अमेरिका सन् २०१८ मा एकपक्षीय रुपमा हटेको थियो । इरानले सम्झौता बमोजिमका शर्तहरु पालना नगरेको आरोप लगाउँदै अमेरिकी ट्रम्प प्रशासनले इरान विरुद्ध कठोर आर्थिक प्रतिबन्धहरु लगाएको छ । फ्रान्स, जर्मनी र बेलायतका तर्फबाट जारी पछिल्लो संयुक्त विज्ञप्तिमा इन्स्टेक्समा नयाँ छ वटा युरोपेली राष्ट्रहरु जोडिएकामा स्वागत गर्दै यसबाट इरानसँग युरोपेली मुलुकको व्यापारलाई सहजीकरण गर्न तथा इरानी आणविक कार्यक्रमलाई स्थगित राख्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । वक्तव्यमा इरानले पनि विगतको आणविक अप्रसार सन्धी बमोजिमका शर्तहरु पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ । उक्त सन्धीबाट अलग्गिएको अमेरिकाले आफू विरुद्ध आर्थिक नाकाबन्दी लगाएको भन्दै इरानले आणविक प्रशोधनका कार्यहरुलाई अघि बढाउने धम्की दिइरहेको छ । रासस
१४० जना अवैध आप्रवासी लिबियाबाट फिर्ता
त्रिपोली । युरोप प्रवेश गर्न खोज्ने तर लिबियामा पक्राउ परेका १४० जना विदेशी आप्रवासीलाई लिबियाले उनीहरुकै देश फर्काएको छ । आप्रवासन केन्द्र लिबियाका अनुसार यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरबाट फिर्ता गरिएका हुन् । केन्द्रले स्वदेश फर्काइएका ती व्यक्तिहरुमा अफ्रिकी मुलुकहरु चाड र सुडानका नागरिक रहेका छन् । केन्द्रले जारी गरेको पछिल्लो विज्ञप्तिमा अफ्रिकी मुलुकहरु चाड र सुडानका सरकारसँगको सहकार्यमा उनीहरुलाई फिर्ता गरिएको उल्लेख छ । अधिकांश अफ्रिकी मूलका व्यक्तिहरु युरोप प्रवेश गर्न लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् । तर लिबियामा बढेको असुरक्षा र अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन सन् २०११ मा पतन भएसँगै लिबियामा अझ असुरक्षा बढेको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार हाल ६ लाखभन्दा बढी अवैध आप्रवासी लिबियामा रहेका छन् । उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको पनि संगठनले जनाएको छ । समुद्रबाट उद्धार गरिएका वा लिबियाली सुरक्षाकर्मीले पक्राउ गरेका हजारौं आप्रवासीलाई निकै भिडभाडयुक्त अस्थायी आश्रयस्थलमा राखिएको पनि संगठनले जनाएको छ । असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु बन्द गर्न आग्रह गरेपनि लिबिया सरकारले यी शिविरहरु बन्द गर्न अस्वीकार गरिरहेको छ । रासस
ब्राजिलका एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएको बिषयमा अनविज्ञ
रियो दी जेनेरियो । ब्राजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एचआईभी एड्ससम्वन्धी जनचेतनामुलक कार्यक्रम चलाउने क्रममा यस्तो तथ्य फेला परेको जनाएको छ । मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामुलक विषेश अभियान सुरु गर्न लागेको छ । देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ । मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ । एचआईभी पोजेटिभ भएकाहरुलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ । उनीहरुले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ । “प्रारम्भिक चरणमै उपचार तथा निदानको प्रक्रिया सुरु गर्नु निकै महत्वपूर्ण हुन्छ,” एक चिकित्सकले भने । ब्राजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरुको संख्यामा १३।६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२।८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन् । रासस/सिन्ह्वा