नेपालमा लगानी गरि आर्थिक फाईदा लिन अमेरिकी लगानीकर्ताहरुलाई आग्रह

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले नेपालमा लगानी गरि आर्थिक फाईदा लिन अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । हाल अमेरिकाको भ्रमणमा रहेका मुख्यमन्त्री गुरुङले अमेरिकाको वाशिङटन राज्यका गर्भनर जे इन्सुली संगको दुई पक्षीय भेटका क्रममा सो आग्रह गरेका हुन्। दुई पक्षिय भेटमा मुख्यमन्त्री गुरुङले भौगोलिक रुपमा नेपाल विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतकोबीचमा रहेकाले नेपालमा लगानी गरि प्रचूर आर्थिक फाईदा लिन आग्रह गरेका छन् । नेपालमा खास गरि पूर्वाधार निर्माण जलविधूत, कृषि, स्वच्छ ऊर्जा, पर्यटन, जडिवुटी र वनस्पति जस्ता क्षेत्रमा लगानीको प्रचूर संम्भावना रहेकाले नेपाल भ्रमण गरि ती सम्भावनाहरुलाई लगानीमा परिणत गर्न मुख्यमन्त्री गुरुङले अनुरोध गरेका छन्। प्रतिउत्तरमा वासिङटन राज्यका गर्भनर जे इन्सुलीले नेपाल भ्रमण गर्ने  तीव्र ईच्छा रहेको र नेपालका हिमालहरुको संरक्षणका लागी विभिन्न फोरमहरुमा आफुले कुरा उठाउने गरेको बताए। सो अवसरमा वाशिङटन राज्यका लागि एशिया प्यासिफिक अमेरिकी मामिलाका कमिसनर मोहन गुरुङले नेपाल र अमेरिकाको वाशिङटन राज्यबीच व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको बताएका छन्। नेपाल र अमेरिकाको वाशिङटन राज्यबीच व्यापार विस्तारका लागि सन् २०२० सम्ममा संयुक्त व्यापार संरचना निर्माण गर्ने उघ्देश्यका साथ काम भै रहेको उनले बताए।  

चीनमा सञ्जाल जोड्दै हिमालय एयरलाइन्सः हरेक बुधबार काठमाडौंबाट चाङ्साका लागि उडान भर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंदेखि चीनको चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ । चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनु अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् । गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो । हिमालय एअरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ । आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ । चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा लिने गरेको छ जुन विगतका केही वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही वर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ । । अब यात्रुहरुका लागि नेपाल चीनबीच दुईवटा थप नयाँ प्रवेशद्वार हुनेछ । हालसम्म घोषणा गरिएका रुटहरु हिमालय एयरलाइन्सको सञ्जाल विस्तार गर्ने भविष्यका धेरै सम्भावनहरु मध्येको एक हो जसले नयाँ रुट तथा स्पष्ट बार्षिक उडान तालिकाहरु उपलब्ध गराएको छ ।” काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउनेछ ।

हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

सिन्हा । राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शनहरु जारी रहेका छन् । जसका कारण यहाँ खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ । राजनीतिक अस्थिरताका कारण यहाँ महिना दिन भन्दा लामो समयदेखि सरकारका विरुद्धमा प्रदर्शनहरु जारी रहेका छन् । यसका कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । यही विरोध प्रदर्शनका कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालयहरु पनि बन्द नै रहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ । महिनौ लामो आन्दोलनका कारण यहाँको अवस्था अस्तव्यस्त भएको, दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकिरहेको अवस्थामा देशको अवस्था नाजुक बन्दै गएकोले यहाँका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने उनले बताए । उनले हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका र आगामी समयमा यो समस्या अझ थपिँदै जाने बताएका छन् । प्राप्त समाचारअनुसार अहिले पनि यहाँका ठूलो संख्याका नागरिक खाद्यान्न अभावको समस्यामा परेका छन् । संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको इन्टिग्रेटेड फेज क्लासिफिकेसन (आइपिसी) प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको छ । उक्त प्रतिवेदनमा हाल करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् । जसका कारण यहाँ खाद्यान्नको समस्या आगामी केही दिनमै संकटपूर्ण रुपमा बढ्ने देखिएको छ । उक्त प्रतिवेदनले विश्वव्यापी रुपमा खाद्यान्नको समस्या के कस्तो छ र त्यसका कारणहरु के हुन् भनी पत्ता लगाउने प्रणाली बमोजिम तयार पारिएको हो । सो प्रतिवेदनले हाइटीमा खाद्यान्न अभावको समस्या एकपछि अर्को गरी बढ्दै गएकोले यसको समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव दिएको छ । आगामी मार्च महिनासम्ममा यहाँ कम्तीमा पनि ४० लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नसक्ने उक्त प्रतिवेदनले औल्याएको छ । यसैकारण संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण अवस्था भएकोले यसका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएको छ । यहाँको संकटको समाधानका लागि केही न केही उपाय अवलम्बन गर्न पनि विश्व खाद्य कार्यक्रमले सबैसँग आग्रह गरिरहेको छ । रासस