२.३० खर्ब डलरको सम्पत्ति फ्रिज गरेको भन्दै इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा

काठमाडौं । युक्रेनमाथिको आक्रमणपछि युरोपेली सङ्घ (इयु) ले फ्रिज गरेको करिब २ खर्ब ३० अर्ब डलर बराबरको रुसी सम्पत्तिका विषयमा रुसको केन्द्रीय बैंकले युरोपेली अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनिश्चितकालका लागि सम्पत्ति रोकेको निर्णय गैरकानुनी भएको दाबी गर्दै मस्कोले लक्जमबर्गस्थित युरोपेली सङ्घको जनरल कोर्टमा मुद्दा दायर गरेको हो । इयुका सदस्य राष्ट्रहरूले सन् २०२२ मा युद्ध सुरु भएपछि पहिलोपटक रुसी सम्पत्ति फ्रिज गरेका थिए । गत वर्ष ब्लकले करिब दुई खर्ब युरो बराबरको कोषमाथि आफ्नो नियन्त्रणको कानूनी आधार थप कडा बनाएको थियो । उक्त रकमलाई युक्रेनलाई उपलब्ध गराइने ठूलो ऋण कार्यक्रमसँग जोड्ने प्रयास गरिएको थियो । नयाँ व्यवस्थाअनुसार रुसले आक्रमण रोक्दै युक्रेनलाई क्षतिपूर्ति नदिएसम्म ती सम्पत्ति फ्रिज नै रहनेछन् । यसअघि प्रत्येक ६ महिनामा इयुका २७ सदस्य राष्ट्रको सर्वसम्मत निर्णयबाट मात्रै फ्रिज अवधि थप गर्नुपर्ने व्यवस्था थियो । हङ्गेरी र स्लोभाकियाजस्ता मस्कोप्रति तुलनात्मक रूपमा सहानुभूतिशील देशहरूले यस प्रक्रियालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने सम्भावना रहेको भन्दै कानूनी संरचना परिवर्तन गरिएको थियो । रुसको केन्द्रीय बैंकले नयाँ नियमले आधारभूत अधिकारहरूको उल्लङ्घन गरेको दाबी गरेको छ । ‘इयु नियमनले न्यायमा पहुँचको आधारभूत र अपरिहार्य अधिकार, सम्पत्तिको अलङ्घनीयता तथा राज्य र तिनका केन्द्रीय बैंकहरूको सार्वभौम प्रतिरक्षाको सिद्धान्तको उल्लङ्घन गरेको छ,’ बैंकले विज्ञप्तिमार्फत जनाएको छ । इयु अदालतका अनुसार मुद्दा फेब्रुअरी २७ मा दर्ता गरिएको हो । यसैबीच, मस्कोले बेल्जियमस्थित युरोक्लियर डिपोजिटरीविरुद्ध पनि रुसी अदालतमा छुट्टै मुद्दा दायर गरेको छ । युरोक्लियर डिपोजिटरले फ्रिज गरिएका सम्पत्तिको ठूलो हिस्सा व्यवस्थापन गर्दै आएको छ । इयुका प्रवक्ता बालाज्स उज्वारीले उक्त कदमलाई युक्रेनका लागि इयुको समर्थनसम्बन्धी रूसी कानूनी चुनौतीहरूको बढ्दो शृङ्खलाको एक हिस्सा भएको बताए । ‘हामी यस नियमनको वैधानिकता र इयु कानूनसँग यसको अनुकूलताबारे पूर्ण रूपमा विश्वस्त छौँ,’ उनले स्पष्ट पारे । 

मध्यपूर्व युद्ध चर्कियो, अमेरिका र इजरायल विरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी

काठमाडौं । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि सुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरूमा आक्रमण जारी राख्दै अमेरिका र इजरायल विरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छ भने विभिन्न देशहरूमा विस्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेको छ । मङ्गलबार तेहरानमा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले जनाएका छन्, यद्यपि के लक्ष्य थियो भन्ने तत्काल स्पष्ट भएको छैन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्समक्ष युद्ध रोक्न पहल गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले परिषद्ले चाहेमा तत्काल कदम चाल्न सक्ने बताए ।  यसैबीच, इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलविरुद्ध थप कडा आक्रमण गर्ने चेतावनी दिएको छ । प्रवक्ता अली मोहम्मद नैनीले राज्य टेलिभिजनमार्फत ‘शत्रुले निरन्तर दण्डात्मक कारबाही भोग्नुपर्ने’ र ‘नरकको ढोका झन् खुल्दै जाने’ चेतावनी दिए ।  इजरायलले दक्षिण लेबनानमा रणनीतिक स्थानहरू नियन्त्रणमा लिन सेना अघि बढाएको छ । लेबनानी सैन्य स्रोतका अनुसार कफर किला र खियाम क्षेत्रतर्फ इजरायली सेना अघि बढेको छ । इजरायली प्रवक्ता एफी डेफ्रिनले आफ्ना बासिन्दा र सम्भावित खतराबीच ‘बफर जोन’ बनाउने उद्देश्य रहेको बताए । खाडी क्षेत्रमा पनि तनाव चुलिएको छ । बहराइनको मनामा र कतारको दोहामा विस्फोट सुनिएको छ । ओमान, युएई र इराकमा ड्रोन आक्रमण भएका छन् । युएईको फुजैराहस्थित तेल क्षेत्रमा ड्रोनको भग्नावशेष खसेर आगलागी भएको छ भने ओमानको बन्दरगाहमा इन्धन ट्याङ्कीमा क्षति पुगेको जनाइएको छ, यद्यपि मानवीय क्षति नभएको बताइएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार भई आगलागी भएको र साउदी विदेश मन्त्रालयले उक्त घटनाको निन्दा गरेको छ । तेहरानले आफ्नो प्रमुख आणविक स्थल नातान्जमा क्षति पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले उपग्रह तस्वीरका आधारमा भूमिगत संरचनामा क्षति देखिएको जनाएको छ, तर रेडियोलोजिकल असर नहुने बताएको छ । यस युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा अवरुद्ध भएपछि ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ८५.१२ डलर पुगेको छ । यो जुलाई २०२४ पछिको उच्च स्तर हो । ऊर्जा र अमेरिकी डलरमा लगानी बढेपछि सुन चार प्रतिशतभन्दा बढी घटेर ५,०७५ डलर प्रति औँस र चाँदी १२ प्रतिशतभन्दा बढी घटेर ७८ डलर प्रति औँसमा झरेको छ । इरान रेड क्रिसेन्टका अनुसार युद्ध सुरु भएयता ७८० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । लेबनानमा कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरले बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भन्दै अमेरिका–बेलायत सम्बन्ध ‘पहिले जस्तो नरहेको’ टिप्पणी गरे । यसबीच फ्रान्सले संयुक्त अरब इमिरेट्समा आफ्ना राफेल लडाकू जेट तैनाथ गरेको छ । चीनले सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न र होर्मुज जलडमरूमध्यको सुरक्षा कायम राख्न आग्रह गरेको छ । युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषण गरिएको छ ।

तेल पूर्वाधारमा ताकेर खाडी क्षेत्रमा इरानी प्रहार

काठमाडौं । अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गरेपछि तेल तथा ग्यास आपूर्तिमा नयाँ अनिश्चितता देखिएको छ । मङ्गलबार कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) मा भएका आक्रमणले उत्पादन र भण्डारण संरचनामा असर पारेका छन् भने अन्तर्राष्ट्रिय बजारमा मूल्यसमेत उकालो लागेको छ । कतारको राज्य सञ्चालित कतार एनर्जीले इरानी आक्रमणका कारण आफ्ना २ ग्यास प्रशोधन प्लान्ट प्रभावित भएको जनाएको छ । कम्पनीका अनुसार ड्रोन हमलापछि युरिया, पोलिमर, मेथनोल र एल्युमिनियमजस्ता पदार्थहरूको केही डाउनस्ट्रीम उत्पादन रोकिएको छ । यस घोषणासँगै लन्डन मेटल एक्सचेन्जमा आल्युमिनियमको मूल्य तत्काल करिब २ प्रतिशतले बढेको छ । विश्वकै प्रमुख तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातकमध्ये एक मानिने कतारले सोमबार नै आफ्ना २ साइटमा ड्रोन प्रहार भएपछि एलएनजी उत्पादन अस्थायी रूपमा स्थगित गरेको थियो । उत्पादन रोकिएपछि युरोपेली बजारमा मूल्य तीव्र रूपमा बढेको जनाइएको छ । यसैबीच ओमानमा पनि ऊर्जा संरचनामाथि आक्रमण भएको छ । आधिकारिक समाचार एजेन्सीका अनुसार मङ्गलबार धेरै ड्रोनले देशको पूर्वी तटमा रहेको डुकम बन्दरगाहलाई निशाना बनाएका थिए । सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा मानवीय क्षति नभएको र भएको क्षति नियन्त्रणमा लिइएको उल्लेख छ । युद्ध सुरु हुनुअघि इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको ओमानका लागि यो तीन दिन यताको दोस्रो आक्रमण हो । आइतबार पनि सोही बन्दरगाहमा २ ड्रोन प्रहार हुँदा एक कामदार घाइते भएका थिए । एउटा ड्रोन कामदार आवासमा खसेको र अर्कोको भग्नावशेष इन्धन ट्याङ्की नजिकै परेको जनाइएको छ । मङ्गलबार ओमानले थप २ ड्रोन खसालेको र अर्को सलालाह बन्दरगाह नजिकै दुर्घटनाग्रस्त भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संयुक्त अरब इमिरेट्समा भने रोकिने क्रममा खसालिएको ड्रोनको भग्नावशेष फुजैराहस्थित तेल भण्डारण तथा व्यापारिक क्षेत्रमा खसेर आगलागी भएको अधिकारीहरूले जनाएका छन् । फुजैराह मिडिया कार्यालयले कुनै मानवीय क्षति नभएको, आगो नियन्त्रणमा लिइएको र सामान्य सञ्चालन पुनः सुरु भएको जानकारी दिएको छ । युएईले युद्ध सुरु भएयता आफूलाई ८०० भन्दा बढी ड्रोन र करिब २०० मिसाइलले लक्षित गरेको दाबी गरेको छ । इरानले सोमबारदेखि साउदी अरेबिया, युएई र कतारजस्ता अमेरिकी सहयोगी देशहरूका पूर्वाधारलाई पनि लक्ष्य बनाउने सङ्केत दिएको थियो । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले मङ्गलबार इरानी क्षेप्यास्त्रले दोहा विमानस्थललाई निशाना बनाएको तर त्यसलाई सेनाले खसालेको बताए । अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले ऊर्जा आपूर्तिमा देखिएको अवरोधले धातु तथा ऊर्जा मूल्यमा थप दबाब सिर्जना गर्ने बताएका छन् । आइएनजी बैंकका विश्लेषकहरूले आल्युमिनियम उत्पादन निलम्बनले बजारमा जोखिम बढाउने उल्लेख गर्दै खाडी क्षेत्रमा विश्व उत्पादनको करिब आठ प्रतिशत हिस्सा केन्द्रित रहेको र आपूर्ति हर्मुज जलडमरूमध्य हुँदै समुद्री मार्गमा निर्भर रहेको बताएका छन् । यसै सन्दर्भमा इरानको रिभोल्युसनरी गाड्र्सका एक जनरलले सोमबार हर्मुज जलडमरूमध्य हुँदै आवागमन गर्न खोज्ने कुनै पनि जहाज जलाइदिने चेतावनी दिएका छन् । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यो मार्गमा अस्थिरता बढेमा अन्तर्राष्ट्रिय बजारमा थप उथलपुथल आउने आकलन गरिएको छ ।