विश्वकपबाट लुका मोड्रिकलाई बिदाइ

काठमाडौं । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उनीप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गरेका छन् । पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका मानिएको छ ।      खेलपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोबीच लामो आत्मीय संवाद भएको थियो । रियल म्याड्रिडमा छ सिजन सँगै बिताउँदै चार पटक च्याम्पियन्स लिग जितेका यी दुई महान् खेलाडी अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम चरणमा पुगेका मानिन्छन् ।      क्रोएसियाका प्रशिक्षक डालिचले मोड्रिकको बिदाइ यसरी हुनुपरेकोमा दुःख व्यक्त गर्दै उनले अन्तिम क्षणसम्म पनि आफ्नो नेतृत्व, चरित्र र उत्कृष्ट खेल प्रदर्शन कायम राखेको बताए । उनका अनुसार मोड्रिक सधैँ क्रोएसियाका प्रमुख खेलाडीमध्ये एक रहेका छन् ।      पोर्चुगलका प्रशिक्षक मार्टिनेजले मोड्रिकले लाखौँ बालबालिकालाई प्रेरणा दिएको उल्लेख गर्दै उहाँको खेल्ने शैली फुटबल इतिहासमा सधैँ सम्झिने खालको रहेको बताए । बल आफ्नो नियन्त्रणमा लिएपछि सही निर्णय गर्ने क्षमता, खेलको गति बुझ्ने शैली र खाली स्थान सिर्जना गर्ने कौशलका कारण मोड्रिक अझै पनि युवा खेलाडीजस्तै प्रभावशाली देखिएको उनको भनाइ थियो ।      सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता तथा २०२२ मा तेस्रो स्थानसम्म पुर्‍याउने यात्रामा मोड्रिकले निर्णायक भूमिका खेलेका थिए । हाल एसी मिलानबाट खेलिरहेका उनले गत महिना आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए । जुन २३ मा पानामामाथिको जितपछि टोलीका खेलाडीहरूले उनलाई सम्मानस्वरूप काँधमा उचालेर बिदाइको सङ्केत दिएका थिए ।      यता समूह चरणमा आलोचना खेपेका रोनाल्डोले पोर्चुगलको यस जितमा महत्त्वपूर्ण योगदान दिँदै दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । रासस

ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति

काठमाडौं । भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ । सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाममार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने नयाँ सुविधा विश्वभर ल्याउने घोषणा गरेको थियो । गोपनीयता बढाउने उद्देश्यले ल्याउन लागिएको यो सुविधा भारतमा भने ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने सरकारको चिन्ता छ । इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटालाई पठाएको पत्रमा नयाँ सुविधाका कारण अनलाइन ठगी, फिसिङ, डिजिटल गिरफ्तारीजस्ता ठगी र नक्कली परिचय प्रयोगका घटना बढ्न सक्ने उल्लेख गरिएको छ । सरकारी अधिकारीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले प्राविधिक ज्ञान कम भएका प्रयोगकर्तालाई नक्कली प्रयोगकर्ता नाममार्फत ठगिन सक्ने जोखिम बढी रहने जनाएको छ । भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार हो । भारतमा ५० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । पछिल्ला वर्षहरूमा देशमा साइबर ठगी तीव्र रूपमा बढ्दै गएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा भारतीय नागरिकले साइबर ठगीका कारण करिब तीन अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोरेका छन् । यो सन् २०२१ को तुलनामा करिब ४० गुणा बढी हो । मेटाले भने उक्त सुविधा भारतमा अझै सुरु नभएको स्पष्ट पारेको छ । कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व र प्रमाणित खाताका प्रयोगकर्ता नाम पहिले नै सुरक्षित राखिएको छ, जसले नक्कली परिचय प्रयोगको जोखिम कम गर्नेछ । साथै, प्रयोगकर्ता नाम प्रयोग गरे पनि ह्वाट्सएप चलाउन फोन नम्बर अनिवार्य रहने र ठगी रोक्न बहुस्तरीय सुरक्षा संयन्त्र समावेश गरिएको कम्पनीले जनाएको छ । यसैबीच, मेटाले गत महिना भारतीय फिनटेक उद्यमी कुणाल शाहलाई ह्वाट्सएपको नयाँ प्रमुख नियुक्त गरेको थियो । चीनको टेन्सेन्ट स्वामित्वको वीच्याटमा भने प्रयोगकर्ता नामको सुविधा पहिलेदेखि नै उपलब्ध छ । रासस

ट्रम्पविरुद्ध युरोप एकजुट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ । ट्रम्पको दबाबले मेलोनीलाई अलग पार्ने सट्टा युरोपेली नेताहरूलाई उनको पक्षमा उभिन प्रेरित गरेको विश्लेषकहरूले बताएका छन् । यससँगै रक्षा, सुरक्षा, व्यापार र विदेश नीतिमा युरोपेली एकता झन् बलियो बन्दै गएको आकलन गरिएको छ ।      ट्रम्पले इटालीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै मेलोनीले आफ्नो ध्यान आकर्षित गर्न खोजेको आरोप लगाएपछि युरोपेली नेताहरूले उनीप्रति समर्थन जनाएका हुन् । विगतमा मेलोनीको दक्षिणपन्थी राजनीतिक पृष्ठभूमिका कारण दूरी कायम राख्ने केही युरोपेली देशसमेत अहिले उनीसँग सहकार्य बढाउने पक्षमा देखिएका छन् । विश्लेषकहरूका अनुसार युक्रेन र इरानका युद्ध, चीनसँग बढ्दो व्यापार असन्तुलन तथा रुसबाट उत्पन्न सुरक्षा चुनौतीका कारण युरोपेली देशहरू साझा रणनीति बनाउन बाध्य भएका छन् । जर्मन मार्सल फन्डकी उपाध्यक्ष सुधा डेभिड–विल्पका अनुसार युरोपले अहिले अमेरिका र चीनबीच आफ्नो प्रभाव जोगाउन सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छ । यही एकताको परीक्षा आगामी साता टर्कीमा हुने नाटो शिखर सम्मेलनमा हुने अपेक्षा गरिएको छ ।      ट्रम्पसँगको विवादपछि मेलोनीको युरोपेली नेताहरूसँगको सम्बन्ध उल्लेखनीय रूपमा नजिकिएको छ । मार्चमा उनले संसद्को स्वीकृतिबिना सिसिलीस्थित सैन्य अड्डा प्रयोग गर्न अमेरिकी बमवर्षकलाई अनुमति नदिने निर्णय गरेका थिए । यसअघि विदेश नीतिसम्बन्धी महत्त्वपूर्ण छलफलबाट प्रायः बाहिर राखिने मेलोनी हाल जर्मनी, फ्रान्स, बेलायत र पोल्यान्डका नेताहरूसँग नियमित समन्वयमा देखिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको द्विपक्षीय शिखर बैठकले पनि यही परिवर्तनलाई सङ्केत गरेको छ ।      युरोपका राष्ट्रवादी दलहरूले पनि ट्रम्पप्रतिको आफ्नो धारणा परिवर्तन गर्न थालेका छन् । फ्रान्सका दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले अमेरिकी नीतिलाई विदेशी हस्तक्षेपको संज्ञा दिँदै ट्रम्पलाई अस्थिर नेतृत्वकर्ता भनेका छन् । जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले पनि इरानविरुद्धको अमेरिकी सैन्य अभियानको आलोचना गरेको छ । विश्लेषकहरूका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै यी दलहरूले अन्तर्राष्ट्रिय मुद्दाभन्दा घरेलु राजनीतिमा बढी केन्द्रित हुने रणनीति अपनाइरहेका छन् ।      ट्रम्पको प्रभाव युरोपेली सङ्घ (इयु) भन्दा बाहिर पनि देखिएको छ । ग्रिनल्यान्ड कब्जा गर्ने उनको चेतावनीपछि डेनमार्क र ग्रिनल्यान्डमा विरोध प्रदर्शन भएका थिए भने अल्बानियामा ट्रम्प परिवारसँग जोडिएको एक विलासी परियोजना राजनीतिक विवादको विषय बनेको छ । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि ट्रम्पसँगको निकट सम्बन्धका कारण राजनीतिक दबाब बेहोर्नुपरेको विश्लेषण सार्वजनिक भएको छ ।      यद्यपि आप्रवासन र सुरक्षाजस्ता केही विषयमा मेलोनी र ट्रम्पको धारणा मिल्ने गरे पनि युक्रेन युद्धमा मेलोनीको अडान युरोपेली साझेदारसँग नजिक रहेको छ । उनले किएभलाई निरन्तर समर्थन गर्दै आउनुभएको छ र यसले युरोपसँगको सम्बन्ध थप बलियो बनाएको छ । ट्रम्पसँगको सार्वजनिक विवादपछि मेलोनीले उनीसँगको सम्बन्धले आफ्नो लोकप्रियतामा कुनै लाभ नपुगेको प्रतिक्रिया पनि दिएका थिए ।      हालैको प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार इटालीका ८३ प्रतिशत नागरिकले ट्रम्पको विदेश नीतिमाथि विश्वास नगरेको बताएका छन् । इरान, व्यापारिक कर र आप्रवासन नीतिमा ट्रम्पको भूमिकाप्रति पनि समर्थन न्यून देखिएको छ । सन् २०२७ सम्म हुने राष्ट्रिय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पसँगको सम्बन्ध र इरान युद्धको असर मेलोनीका लागि राजनीतिक चुनौती बन्न सक्ने विश्लेषकहरूको भनाइ छ । रोमको ल्युइस विश्वविद्यालयका राजनीतिक विश्लेषक लोरेन्जो क्यास्टेलानीका अनुसार अन्ततः इन्धनजस्ता दैनिक उपभोगका वस्तुको मूल्यवृद्धिको असर मतदाताले आफ्नै सरकारसँग जोड्ने भएकाले त्यसको राजनीतिक मूल्य मेलोनीले नै चुकाउनुपर्ने अवस्था आउन सक्छ । रासस