होर्मुज सङ्कटले विश्व बजारमा हलचल, युद्ध ४ हप्तासम्म लम्बिन सक्ने

काठमाडौं । इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्ने बित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे । ईस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको हमलापछि ब्रेन्ट क्रुड सुरुवाती कारोबारमा झन्डै १४ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडियेट करिब १२ प्रतिशतले उक्लिएको थियो । विश्व समुद्री तेल आपूर्तिको करिब २० प्रतिशत बग्ने होर्मुज जलडमरूमध्ये प्रभावकारी रूपमा अवरुद्ध भएको, केही जहाजमा आक्रमण भएको र बीमा लागत आकासिएको खबरले आपूर्ति अवरोधको डर झन् बढाएको हो । पछि केही लाभ घटे पनि कच्चा तेल नौ प्रतिशतभन्दा बढी माथि नै रह्यो भने युरोपेली ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढ्यो । टोकियो, हङकङ, सिङ्गापुर, मुम्बई, बैङ्कक, वेलिङ्गटन र ताइपेईका सेयर बजारहरू राताम्मे देखिए । लन्डन झन्डै एक प्रतिशत घट्दा फ्रान्कफर्ट र पेरिसमा दुई प्रतिशतभन्दा बढी गिरावट आयो । साङ्घाई भने सामान्य सुधारमा रह्यो र सिड्नी स्थिरजस्तै देखियो । अमेरिकी मुद्रा प्रारम्भमा कमजोर बने पनि पछि सुरक्षित लगानीतर्फको आकर्षणका कारण डलर र सुन दुवै बढेका छन्, जसमा सुन झन्डै दुई प्रतिशतले उक्लिएको छ । क्षेत्रीय उडान रद्द हुन थालेपछि एयरलाइन्स कम्पनीहरूको सेयरमा तीव्र गिरावट आयो । हङकङको क्याथे प्यासिफिक चार प्रतिशत, सिड्नीमा सूचीकृत क्वान्टास ५.४ प्रतिशत, सिङ्गापुर एयरलाइन्स ४.८ प्रतिशतले घटे । जापानका एएनए र जेएएल पनि ५ प्रतिशतभन्दा बढी ओरालो लागे । यसको विपरीत ऊर्जा कम्पनीहरू भने उक्लिए । अस्ट्रेलियाका वुडसाइड एनर्जी र सान्तोस ६ प्रतिशतभन्दा बढीले बढे, पेट्रोचाइना करिब ४ प्रतिशत माथि पुग्यो र जापानको इन्पेक्सले पनि उल्लेख्य वृद्धि गर्‍यो । इरानले औपचारिक रूपमा जलडमरूमध्य बन्द नगरे पनि रिभोलुसनरी गाड्र्सले जहाजलाई सावधानी अपनाउन चेतावनी दिएको छ । ओमान र युएईको तट नजिक २ जहाज ठोक्किएको र एउटा तेल ट्याङ्करमा प्रहार भई डुबेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख ढुवानी कम्पनीहरूले आफ्ना जहाजहरूको मार्ग परिवर्तन गरिसकेको पुष्टि गरेका छन् । विश्लेषक अमेना बक्रका अनुसार अवस्था लम्बिए कच्चा तेलको मूल्य ९० डलर नाघ्न सक्छ र रणनीतिक भण्डारले पनि पूरै कमी धान्न नसक्ने जोखिम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गर्दै युद्ध ४ हप्तासम्म लम्बिन सक्ने बताए । तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेका छन् । इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा पनि आक्रमण भएको खबरले द्वन्द्व थप फैलिन सक्ने चिन्ता बढाएको छ । स्याक्सो मार्केटका चारु चनानाका अनुसार ऊर्जा मूल्य उच्च रहिरहे मुद्रास्फीति फेरि चर्किन सक्छ र अमेरिकी फेडरल रिजर्भलाई ब्याजदर कटौतीमा सतर्क बनाउनेछ । क्लेप्लरकी विश्लेषक मिसेल ब्रोहार्डले उच्च तेल मूल्यलाई ट्रम्प प्रशासनको ‘एचकिलिस हिल’ को संज्ञा दिँदै अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा मूल्यवृद्धिले राजनीतिक दबाब बढाउन सक्ने बताए । कतार विश्वको प्रमुख तरलीकृत प्राकृतिक ग्यास निर्यातकर्ता भएकाले ग्यास मूल्य वृद्धिले विश्व अर्थतन्त्रमा थप असर पार्ने आकलन गरिएको छ । पेरिसस्थित आइइएसइजी स्कुल अफ म्यानेजमेन्टका अर्थशास्त्री एरिक डोरका अनुसार तनाव छोटो अवधिमा सीमित रहे ठूलो असर नपर्न सक्छ, तर लामो समय कायम रहेमा बढ्दो ऊर्जा र ढुवानी लागतले विश्व आर्थिक वृद्धिमा मन्दीको छायाँ पार्न सक्छ ।

भारत-क्यानडा व्यापार ५० अर्ब डलर लक्ष्य

काठमाडौं । भारत र क्यानडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।  राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले व्यापार र लगानीका सबै सम्भावनाहरू खुला गर्ने प्राथमिकता तय गरिएको बताए । उनका अनुसार व्यापक आर्थिक साझेदारी सम्झौतालाई निकट भविष्यमा अन्तिम रूप दिने निर्णय भएको छ । उक्त सम्झौताले दुवै देशमा नयाँ लगानी र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्री मोदीले क्यानडाली पेन्सन कोषहरूले भारतमा करिब १ खर्ब डलर लगानी गरेको उल्लेख गर्दै यसलाई भारतको आर्थिक विकासप्रति क्यानडाको भरोसाको सङ्केत रहेको बताए । दुवै देशका प्रधानमन्त्रीहरूले व्यापारिक समुदायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको र त्यसबाट आर्थिक सहकार्यको स्पष्ट मार्गचित्र तयार हुने बताइएको छ । प्रधानमन्त्री कार्नीको यो भारतको पहिलो आधिकारिक भ्रमण हो । उनी २७ फेब्रुअरीमा भारत आइपुगेका थिए । मुम्बई भ्रमणपछि राष्ट्रिय राजधानीमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको हो । हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तामा व्यापार, लगानी र रणनीतिक सहकार्यलाई सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको बताइएको छ । दुवै नेताको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षरसमेत भएका छन् । प्रधानमन्त्री मोदीले गत वर्ष क्यानडामा सम्पन्न जी-७ शिखर सम्मेलनका क्रममा भएको भेटलाई स्मरण गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा र विश्वास थपिएको उल्लेख गरे । भारत र क्यानडाले लोकतान्त्रिक मूल्यमान्यता, विविधता र मानव कल्याणप्रतिको साझा दृष्टिकोणमा आधारित सहकार्य अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । विदेशमन्त्री एस जय शङ्करले पनि क्यानडाका प्रधानमन्त्रीसँग भेट गरी अग्रगामी साझेदारी निर्माणप्रति प्रतिबद्धता व्यक्त गरे । हालको भ्रमणलाई भारत–क्यानाडा सम्बन्ध सामान्यीकरण र रणनीतिक-आर्थिक सहकार्य विस्तारतर्फको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । प्रधानमन्त्री कार्नी आजै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।  

खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी

काठमाडौं । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताएका छन् ।  ‘इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने ।  चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन ।’ इरानमाथि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएको थियो । प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको छ ।  इरानले छिमेकी मुलुकबारे पछिल्लो युद्धको धारणा स्पस्ट गर्दै आफ्नो शत्रुता खाडी मुलुकहरू नभएको बताएपनि शनिबार अमेरिका र इजरायलले अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।