उम्मेदवारबीच पाँचतारे होटलमा भोट तानातान
काठमाडौं । ‘हामी कार्यसमिति सदस्यलाई रमाइलो भइरहेको छ । सबैतिरबाट तानातान भइरहेको छ । कुन पाँचतारे होटलमा बस्ने हो ? छानि-छानि पाँचतारे होटलमा बस्ने अफर छ । अहिले होटलमा बस्ने अफर छ । अब राति के-के अफर आउँछन्, हेराैँ,’ नेपाल उद्योग वाणिज्य महासंघका एक कार्यकारिणी सदस्यले विकासन्युजसँग भने । जेठ ८ गते शुक्रबार हुने नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चुनावी माहोल निकै तातेको छ । निर्वाचनअघि उम्मेदवारहरू आ-आफ्ना टिमसहित सक्रिय रूपमा मत मागिरहेका छन् भने शक्ति सन्तुलन विभिन्न समूहमा विभाजित भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि हेमराज ढकाल, सुरकृष्ण वैद्य, रामचन्द्र संघाई, भरतराज आचार्य र किशोर प्रधान आकांक्षी छन् । साथै, महासंघको कोषाध्यक्ष पदका लागि हालसम्म अम्बिका प्रसाद पौडेल, भक्तबहादुर हमाल र मनिषलाल प्रधान चुनावी मैदानमा छन् । चुनावी गतिविधि केवल औपचारिक प्रचारमा मात्र सीमित नभई विभिन्न होटल तथा रिसोर्टमा केन्द्रित भई रणनीतिक छलफलसमेत भइरहेको छ । केही उम्मेदवार गोदावरीस्थित वेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा, केही होलिडे इनमा र अन्य समूह बुढानीलकण्ठस्थित लेमोन ट्री होटलमा बसेर चुनावी गणित मिलाइरहेका छन् । महासंघ स्रोतका अनुसार वैद्य र प्रधानको टोली गोदावरी रिसोर्टमा, ढकाल र हमालको टिम होलिडे इनमा र पौडेलको टिम लेमोन ट्रीमा बसेर आन्तरिक चुनावी हिसाबकिताब गरिरहेका छन् । अध्यक्ष अञ्जन श्रेष्ठ समूह भने अन्तिम चरणमा विभाजित भएको छ । एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले वरिष्ठ उपाध्यक्षमा संघाई वा आचार्यलाई समर्थन गर्ने र कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेललाई अघि सारेपछि अञ्जनको टिम वैद्य र प्रधानलाई लिएर गोदावरी पुगेको हो । स्रोतहरूका अनुसार केही उम्मेदवारहरू अन्तिम चरणमा आपसी समझदारी वा गठबन्धनको प्रयासमा समेत छन् । ढकाल र आचार्यबीच सहकार्य हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ । जिल्लानगर, वस्तुगत र एशोसिएट समूहका मतहरूको हिसाबकिताबलाई लिएर उम्मेदवारहरू आ-आफ्नो पक्षमा मत सुनिश्चित गर्न सक्रिय छन् । यद्यपि, महासंघको चुनावमा अन्तिम क्षणसम्म पनि समीकरण बदलिन सक्ने भएकाले परिणामबारे निश्चित अनुमान गर्न कठिन मतदाताहरू बताउँछन् । विधान अनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान गर्नेछन् । समग्रमा महासंघको निर्वाचन केवल पदको प्रतिस्पर्धा नभई व्यावसायिक नेतृत्व र समूहगत प्रभावको शक्ति प्रदर्शनका रूपमा देखिएको छ, जसले अन्तिम परिणामलाई अझ रोचक बनाएको छ । ‘फोन आइरहेको छ । भोट माग्दा ठोस एजेन्डा राख्नुभएको छैन । तर, विगतमा आफूले महासंघमा रहेर गरेका काम र योगदानहरू सुनाएर फकाउँदै छन्’, एक सदस्यले भने, ‘महासंघमा रहेर यो-यो काम गरेको छु भनेर भोट मागिरहेका छन् । आफ्नो सांगठनिक यात्रादेखि लिएर योगदान देखाएर भोट मागिरहेका छन् ।’ उनको दाबीअनुसार हेमराज ढकालको वस्तुगतमा ९ भोट सुनिश्चित छन् । यस्तै, एशोसिएटमा ढकाल प्यानलबाट एक जना मात्रै जितेको भए पनि २ वटा भोट आउन सक्छन् । जिल्लानगरमा ४२ वटा भोट हुन्छन्, त्यसमा ढकालको करिब ८ वटा भोट स्पष्ट रहेको उनले दाबी गरे । प्रदेश अध्यक्ष ३ जना रहेका छन् । ‘ढकालजीको करिब २० वटा भोट स्पष्ट छ । बाँकी अब उहाँले साेरेर ल्याउनुपर्छ,’ उनले भने, ‘एशोसिएटमा पाण्डेको १८ वटा भोट स्पष्ट हो । सचिन ढकालले हेमराजलाई भोट हाल्छन्, तर कोषाध्यक्षमा अम्बिकालाई हाल्छन् ।’ जिल्लानगरमा वैद्य र प्रधान मिलेको स्पष्ट रूपमा बलियो रहेको उनले दाबी गरे । साथै, वस्तुगतबाट वैद्य र प्रधान पक्षसँग ८ वटा भोट पाउन सक्छन् । किनभने उनीहरू वस्तुगत उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेको टिमबाट निर्वाचित भएका हुन् । ‘चुनावी नतिजा हिजो जितेका आधारमा मात्रै गणना गरेर हुँदैन । किनभने वस्तुगतमा नरेशजीभन्दा शिवजी धेरै बलियो हुनुहुन्थ्यो । शिवजी जित्नेमा ढुक्क थिए । तर, उहाँले हार्नुभयो । त्यसकारण अहिले नै यस्तै हुन्छ भन्ने सकिँदैन,’ उनले भने । उनका अनुसार वैद्य र संघाई उठ्दा ढकाललाई फाइदा हुन सक्छ । तर, आचार्य पनि वरिष्ठ उपाध्यक्षमा उठे भने वैद्यले स्वतः जित्ने उनको दाबी छ । ‘भरत र हेमराजको भोट कमन हुन्छन् । वरिष्ठमा कम्तीमा ३ जना उठ्नुहुन्छ, यदि सहमति भएन भने त ४ जनाले उम्मेदवारी दिनुहुन्छ,’ उनले भने । भरतलाई दुई ठाउँबाट दबाब वरिष्ठ उपाध्यक्षका उम्मेदवार भरत आचार्यलाई संघाई र ढकाल पक्षबाट पछाडि हट्न दबाब आइरहेको स्रोतको दाबी छ । आचार्य निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल निकट मानिन्छन् । साथै, हेमराज ढकालले चन्द्र ढकालमार्फत भरत आचार्यलाई पछि हट्न दबाब दिइरहेको स्रोतको दाबी छ । साथै, एशोसिएट उपाध्यक्ष पाण्डेले आचार्य र संघाईमध्ये एक जनालाई समर्थन गर्नेछन् । तर, अबको महासंघ हाँक्न सक्ने अब्बल व्यक्ति भएकाले आचार्यलाई केही व्यक्तिले उक्साइरहेको पनि पाइन्छ । ‘प्रबलजंग पाण्डेको कोषाध्यक्षको उम्मेदवार अम्बिका पौडेल हो । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई वा भरत आचार्यमध्ये एक जनालाई सहयोग गर्नुहुन्छ । अन्तिम समयमा उहाँले आचार्य र संघाईलाई मिलाउनुहुन्छ । तर, अहिलेसम्म उहाँले यसलाई उसलाई गर भनेर केही भन्नुभएको छैन । चुनावअघि हामी सबै सेट भएर आउने अनि निर्णय गर्ने योजना थियो । अब उहाँहरूले मिलाउनु होला । उम्मेदवारबीच सहमति गर्नुहुन्छ,’ स्रोतले भन्यो ।
एफएनसीसीआईको वस्तुगत सदस्यमा पशुपति देव पाण्डे निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फको कार्यकारिणी सदस्य पदमा पशुपति देव पाण्डे निर्वाचित भएका छन् । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्षसमेत रहेका पाण्डे दोस्रो कार्यकालका लागि महासंघको वस्तुगत सदस्यमा विजयी भएका हुन् । उनी नरेशलाल श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए । स्पष्ट वक्ता र सफल उद्यमीका रूपमा परिचित पाण्डे नेपालको तयारी पोशाक निर्यात, कृषि, पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा चिनिन्छन् । उनले नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षका रूपमा नेतृत्व गर्दै उद्योगले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि सरकारसँग निरन्तर समन्वय गर्दै आएको बताए । उनका अनुसार तयारी पोशाक उद्योगसहित वस्तुगत क्षेत्रले भोगिरहेका संरचनागत समस्या समाधानका लागि राज्य तहमा पहल गर्दै उद्योगमैत्री नीति निर्माणमा योगदान पुर्याउने उनको प्राथमिकता रहनेछ । पाण्डेले महासंघभित्रको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र प्रतिनिधित्व गर्दै उद्योग, व्यापार तथा सेवा क्षेत्रका चुनौती समाधानमा प्रभावकारी भूमिका खेल्ने बताए । उनले बदलिँदो विश्व व्यापार परिप्रेक्ष्य, आपूर्ति शृंखला परिवर्तन र प्रतिस्पर्धात्मक बजार संरचनालाई ध्यानमा राख्दै निजी क्षेत्रको सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे । पाण्डेले ‘मेड इन नेपाल’ ब्रान्ड प्रवर्द्धन, निर्यात विविधीकरण, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सरकार तथा महासंघसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल एफएनसीसीआईको सदस्यमा निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगत संघतर्फ केन्द्रीय कार्यकारिणी सदस्यमा सागर ढकाल विजयी भएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमा ढकालले ६८ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका हुन् । वस्तुगत समूहबाट उनी दोस्रो उच्च मत प्राप्त गर्ने उम्मेदवारसमेत हुन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका ढकालले वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । निर्वाचित भएसँगै उनले देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताए । उनका अनुसार वस्तुगत संघअन्तर्गत रहेका विभिन्न कानुनी तथा व्यवहारिक समस्याहरू समाधानका लागि महासंघमार्फत सरकारसँग समन्वय, बहस र नीतिगत पहल गरिनेछ । ढकालले नेपालको पुँज िबजारलाई सशक्त बनाउनेतर्फ पनि आफू केन्द्रित हुने बताए । उनका अनुसार हाल ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन आवश्यक छ। ‘नेपालको पुँजी बजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा पुगेको छ । अब यसलाई केवल बजारको सीमाभित्र राख्ने होइन, समग्र अर्थतन्त्रको प्रतिबिम्बका रूपमा विकास गर्नुपर्छ,’ उनले भने । ढकाल पूँजी बजारसँगै जलविद्युत्, होटल तथा पर्यटन, कृषि लगायतका क्षेत्रमा पनि सक्रिय रूपमा आबद्ध छन् ।
एफएनसीसीआईको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी, को हुन् उनी ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ६३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतले पराजित गरेका हुन् । घिमिरेले ६० मत प्राप्त गरेका छन् । श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबाट निर्वाचनमा होमिएका थिए । यस्तै, वस्तुगततर्फ कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, विदुर धमला, सागर ढकाल, रवीन पुरी, राजकुमार कार्की, पशुपतिदेव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानिराज घिमिरे, संघर्ष बिष्ट र होमप्रसाद घिमिरे निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले विजय हासिल गरेकी छिन् । यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट ३ जनाले गोलाप्रथाबाट जित्ने छन् । को हुन् श्रेष्ठ ? श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत निर्यात प्रवर्द्धन समितिका पूर्व सभापति हुन् । उनी विगत करिब तीन दशकदेखि नेपालको निर्यात क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यसअघि उनी वस्तुगततर्फ कार्यकारिणी सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित भएका थिए र दुवै पटक उच्च मत प्राप्त गरेका थिए । साथै, उनले अघिल्लो कार्यकालमा निर्यात प्रवर्द्धन समितिमा सह–सभापतिको रूपमा पनि काम गरेका छन् । श्रेष्ठ नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष समेत हुन् । उनले ऊनी फेल्टलगायत नेपाली मौलिक उत्पादनहरूको निर्यातमार्फत विदेशी मुद्रा आर्जनमा योगदान दिँदै आएका छन् । यसका अतिरिक्त, उनी नेपाल-जर्मन चेम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्का उपाध्यक्षसमेत हुन् । हस्पिटालिटी, जलविद्युत् लगायत विभिन्न क्षेत्रमा उनको एक दर्जनभन्दा बढी कम्पनीमा लगानी रहेको छ ।
एफएनसीसीआई निर्वाचन अपटेड : १ बजेसम्म ७५६ मत खस्यो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ । महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि प्रज्ञा प्रतिष्ठान, कमलादीमा मतदान भइरहेको हो । निर्वाचन समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार एशोसिएटतर्फ कुल १८५२ मतदातामध्ये हालसम्म ६७० मत खसेको छ । त्यसैगरी, वस्तुगततर्फ कुल १२४ मतमध्ये हालसम्म ४६ मत खसेको छ भने जिल्ला नगरतर्फ कुल १२९ मतदातामध्ये हालसम्म ४० मत खसेको छ । कर्णाली प्रदेशबाट भने अहिलेसम्म कुनै पनि मत नखसेको निर्वाचन समितिले जनाएको छ। महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । उनीबाहेक अन्य विभिन्न पदाधिकारी र कार्यकारिणी सदस्य पदका लागि भने निर्वाचन भइरहेको हो । महासंघमा ४ उपाध्यक्षसहित कुल ७३ पदमा प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्ष पदमध्ये जिल्ला–नगरतर्फ २, एसोसिएटतर्फ १ र वस्तुगततर्फ १ जना चयन हुनेछन् । यस निर्वाचनमा २ हजारभन्दा बढी मतदाताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मतदाता संरचनाअनुसार एसोसिएटतर्फ १ हजार ८५०, जिल्ला–नगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रिय तर्फ ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा मुख्य दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ । स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूह र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको हो । श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्ष उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार छन् । त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।
एफएनसीसीआई सदस्यता विवाद टुंगियो : १८ वस्तुगत संघलाई सदस्यता, तर मतदान अधिकार छैन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि विवादमा रहेका १८ वटा वस्तुगत संघहरूको सदस्यता प्रकरणमा ‘बीचको बाटो’ अपनाउँदै निकास खोजेको छ । हिजो बुधबार रातिसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको करिब ८ घण्टा लामो बैठकले उच्च अदालत पाटनको मंसिर १६ गतेको आदेश अनुसार सदस्यता खारेज गर्दै नयाँ प्रक्रियाबाट सदस्यता दिने निर्णय गरेको हो । अब ती सबै संघलाई विधान अनुसार नयाँ प्रक्रिया पूरा गरेर सदस्यता दिइनेछ, तर यस पटक मतदानको अधिकार नदिने सहमति भएको छ । ती १८ संघले आगामी वैशाख २१ र २२ गते हुने साधारण सभामा पर्यवेक्षकका रूपमा मात्र सहभागिता जनाउन पाउनेछन्, मतदान अधिकार भने रहने छैन । नयाँ सदस्यहरूले आगामी दिनमा नवीकरण गर्दा महासंघको विधान अनुसार सबै मापदण्ड पूरा गर्नुपर्नेछ । बैठकमा सदस्यता दिने र नदिने पक्षबीच तीव्र मतभेद देखिएपछि अन्ततः वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले अघि सारेको प्रस्तावमा सहमति जुटेको हो । बैठक लगभग भाँडिने अवस्थामा पुगेपछि घिमिरेले राखेको मध्यमार्गी प्रस्तावले सहमतिको ढोका खोलेको केन्द्रीय सदस्य रविन पुरीले बताए । बुधबारको बैठकले दुवै पक्षलाई समेट्ने गरी सहमतिको ‘बीचको बाटो’ रोजेको हो । बैठकमा १८ मध्ये सात नयाँ सदस्यले उच्च अदालत पाटनमा दर्ता गरेको निवेदन र सर्वोच्च अदालतमा दर्ता गरेको रिट फिर्ता लिने सहमति भएको छ । नयाँ सदस्यहरूले पनि अब अदालत नगर्ने सहमति गरेका छन् । यससँगै निर्धारित मितिमै साधारण सभा हुने पक्का भएको छ । यस निर्णयले एकातिर यसअघि सदस्यता दिने निर्णयलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ मापदण्ड नपुगेको भन्दै विरोध गर्ने पक्षलाई पनि सम्बोधन गरेको छ । अर्थात् ‘सबैको जित हुने गरी’ निकास खोजिएको महासंघका केन्द्रीय सदस्यहरूको भनाइ छ । अब ती १८ संघले पूर्ण सदस्यता पाउनका लागि पुनः विधान अनुसार सबै प्रक्रिया पूरा गर्नुपर्नेछ । यस पटक मतदान अधिकार नपाए पनि आगामी दिनमा आवश्यक मापदण्ड पूरा गरेपछि मात्र पूर्ण अधिकारसहित सदस्यता प्राप्त हुने स्पष्ट गरिएको छ । महासंघको यो निर्णयले लामो समयदेखि जारी सदस्यता विवाद समाधान भएको छ । महासंघको सदस्यता विवाद अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनले सदस्यता विवाद टुंग्याएर मात्र साधारण सभा गर्न निर्देशन दिएपछि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा स्थगित भएको थियो । साथै, एउटा मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ । यसअघि सदस्यता सिफारिस समितिले मापदण्ड नपुगेको भन्दै ती १८ संघलाई सदस्यता दिन नसकिने रायसहितको प्रतिवेदन बुझाएको थियो ।
एफएनसीसीआईको निर्वाचन वैशाख २१ र २२ गते हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औं वार्षिक साधारण सभा तथा निर्वाचन पुनः तय गरिएको छ । यसअघि चैत २९ र ३० गतेका लागि निर्धारित उक्त कार्यक्रम उच्च अदालत पाटनको अन्तरिम आदेशपछि स्थगित भएको थियो । चैत २७ गते बसेको महासंघको पदाधिकारी समितिको बैठकले साधारण सभा तथा निर्वाचन आगामी २०८३ वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको हो । यससँगै, महासंघले कार्यकारिणी समितिको बैठक भने वैशाख ९ गते बस्ने निर्णय गरेको जनाएको छ। उच्च अदालतको आदेशका कारण स्थगित भएको निर्वाचन प्रक्रिया पुनः तालिका अनुसार अगाडि बढाउने तयारी गरिएको महासंघले स्पष्ट पारेको छ ।
अदालतको आदेशपछि एफएनसीसीआईको निर्वाचन स्थगित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेसँगै चैत २९ गते र ३० गते तय भएको महासंघको ६०औं वार्षिक साधारण सभा तथा अधिवेशन स्थगित भएको हो । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनको संयुक्त इजलासका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालले अन्तरिम आदेश जारी गरेको हो । अदालतले यसअघि जारी भएको परमादेशअनुसार आवश्यक निर्णय नभएसम्म महासंघको साधारण सभा नगर्न/नगराउन आदेश दिएको हो । अदालतले २०८१ फागुन १६ गतेको परमादेश कार्यान्वयन नभएको अवस्थामा साधारण सभा सम्पन्न हुँदा निवेदकहरूलाई असर पर्ने देखिएको भन्दै उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशअनुसार अब सम्बन्धित विषयमा अन्तिम निर्णय नभएसम्म महासंघको साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने भएको छ ।
चुनावी घोषणापत्रमा यी विषय अनिवार्य राख्न एफएनसीसीआईको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी राजनैतिक दलहरूले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रका कुन-कुन विषय समेट्नुपर्छ भन्ने सम्बन्धमा सुझाव दिएको छ । महासंघले कुल गार्हस्थ उत्पादन (जीडीपा) मा करिब ८० प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्र राज्य निर्माणका लागि आवश्यक भएपनि परम्परागत रुपमै उपेक्षित रहँदै आएको उल्लेख गरेको छ । नेपालको राजनीतिमा ७५ वर्षमा एक दर्जन बढी निर्णायक र परिवर्तनकारी राजनीतिक आन्दोलन भएपनि सर्वसाधारणको जिविकामा समयानुकुल सुधार हुन नसकेको एफएनसीसीको धारणा छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न नपाउँदा पर्याप्त रोजगारी र स्वरोजगारीका अवसर सिर्जना हुन नसकेको र निराशै कायम रहेको अवस्थामा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउन आग्रह गरेको छ । महासंघका अनुसार भदौ २३ र २४ को आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ३६ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति र झण्डै ८० अर्ब रुपैयाँ बराबरको समग्र नोक्सानी बेहोर्नुपरेको थियो । आन्दोलनपछि निजी क्षेत्र झन् निरुत्साहित हुन पुगेको र पुँजी पलायनको जोखिम बढेको छ । यही संवेदनशीलतालाई मनन गरी राजनीतिक दलहरुले देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजश्व योगदानकर्ता एवं सम्पत्ति निर्माणकर्ता उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्वाध पेशा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी घोषणापत्र तयार पारी लागू गर्नु आवश्यक रहेको उल्लेख गरेको छ ।
एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह बुधबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले उपभोक्तालाई सहज, सुरक्षित र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नीतिगत सुधारका कामहरू अगाडि बढिरहेको जानकारी दिए । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले समारोहमा ग्यास उद्योगले सामना गर्दै आएका व्यवहारिक समस्या र चुनौतीहरूबारे स्पष्ट धारणा राखे । साथै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा संघको तर्फबाट निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको जानकारी दिए । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण वस्तुगत संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई निर्वाचनमा सक्रिय सहयोग गर्न हार्दिक अपिल गरे । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहेको स्पष्ट पारे । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज, नियमित र व्यवस्थित बनाउन निगम निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो । सो अवसरमा नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट एलपी ग्यास आयातलाई दीर्घकालीन, सुरक्षित र लागत प्रभावी बनाउने उपायका रूपमा पाइपलाइन विस्तार आवश्यक रहेकोमा जोड दिए । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगको संस्थागत सुदृढीकरण, आपूर्ति प्रणालीको सुधार तथा निजी क्षेत्रको जिम्मेवार भूमिकाका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
एफएनसीसीआई र एमएनबीसीबीच व्यापारिक सम्बन्ध विस्तारबारे छलफल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र मलेसिया-नेपाल व्यापार परिषद् (एमएनबीसी) बीच नेपाल-मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको छ । महासंघ सचिवालय टेकु काठमाडौंमा बिहिबार भएको छलफलमा दुवै पक्षबीच नेपाल-मलेसिया द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन, पर्यटन विस्तार, निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रको विकासमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो । सो अवसरमा महासंघका पदाधिकारीहरूले नेपाल र मलेसियाबीच सहकार्य विस्तार गर्न सकिने सम्भावना र अवसरबारे जानकारी गराएका थिए । सो अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालले बिमस्टेक र सार्क जस्ता क्षेत्रीय संगठनहरूमार्फत क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै मलेसियासँगको व्यापार घाटा कम गर्न नेपालले निर्यात वृद्धि र मलेसियाबाट थप लगानी भित्र्याउन चाहेको बताए । उनले नेपाललाई एसियाली राष्ट्रहरूको आर्थिक समूह आसियानसँग जोड्न मलेसियाली निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत सुधारहरू गरिरहेको जानकारी गराए । 'नेपाल सरकारले हालै आठवटा लगानीसम्बन्धी ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको छ । द्विपक्षीय लगानी सम्झौताका लागि मन्त्रिपरिषद्ले ढाँचा स्वीकृत गरेको छ । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनु भयो । यो अवस्थामा नेपालमा लगानी गर्न र सोको लागि सहजिकरण गर्न महासंघ तयार छ,' उनले भने। महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र मलेशिया बचि पर्यटन, कृषि, स्वास्थ्य,शिक्षा, मानव स्रोत र सूचना प्रविधिमा सहकार्यको सम्भावना रहको बताइन् । यस्तै महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल सरकारले लगानीसम्बन्धी विभिन्न ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै मलेसियन व्यवसायीहरूलाई नेपालमा लगानी तथा व्यापार विस्तारका लागि सहयोग गर्न महासंघ सधैं तयार रहेको बताए । कार्यक्रममा मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) का अध्यक्ष डाटो प्रदीप कुमार कुकरेजाको नेतृत्वमा आएको मलेसियन प्रतिनिधिमण्डल सहभागी भएको थियो। सो अवसरमा एमएनबीसीका अध्यक्ष डा.कुकरेजाले नेपाल र मलेशिया बीच लगानी तथा व्यापारको पर्याप्त सम्भावना रहेको बताए । 'म नेपाल र मलेशियाबीच व्यापार तथा लगानीका थुप्रै सम्भावनाबारे अवगत छु । मलेशियाले पछिल्लो समय पूर्वाधार विकास, सूचना प्रविधि र पर्यटन लगायतका क्षेत्रमा क्षेत्रमा थुप्रै प्रगति गरेको छ । यस विषयमा नेपालसँग सहकार्य हुन सक्छ । यहाँको सरकार र व्यवसायीहरूले चाहेमा आवश्यक सहजिकरणका लागि एमएनबीसी तयार छ,' डा.कुकरेजाले भने ।
एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हट्यो, अब दुई वर्ष मात्रै कार्यकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को विधान संशोधन भएको छ । मंगलबार बसेको विशेष साधारणसभाले विधान संशोधन गर्दै अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार अब वरिष्ठ उपाध्यक्षका लागि पनि चुनाव हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने स्वतः अध्यक्ष बन्न पाउनेछन् । उनीपछि भन प्रत्यक्ष चुनाव हुनेछ । तर, निर्वाचित भएर आएको कार्यसमितिले नै वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ । अध्यक्षको कार्यकाल पनि २ वर्षको लागि हुने व्यवस्था गरेको छ । संशोधित विधानअनुसार महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । पशुपति मुर्राका अध्यक्ष रहेको बेला अर्थात् २०७३ सालमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरेको थियो । त्यही विधानअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन् । त्यसपछिका अध्यक्ष शेखर गोल्छा र हालका चन्द्रप्रसाद ढकाल पनि वरिष्ठ उपाध्यक्ष बनेर स्वतः अध्यक्ष बनेका हुन् । महासंघको चुनाव खर्चिलो भएको भन्दै आलोचना भएपछि त्यतिखेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । तर, अहिले सो व्यवस्था हटेको हो । यी हुने संशोधित ५ व्यवस्था १. कार्यकाल २ वर्षको हुनेछ । वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षेकार्यकाल लागूहुनेछ । २. महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ तर कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुनेछ । ३. वरिष्ठ उपाध्याक्ष अन्जन श्रेष्ठ अध्यक्ष भएपछि वाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ । ४. एकजना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्ष चयन कार्यकारिणी समितिले गर्नेछ । ५. जिल्ला/नगर तर्फ २ जना उपाध्यक्ष रहनेछ । ६. विधान मन्त्रिपरिषदवाट स्विकृती भएलगतै लागू हुनेछ ।
एफएनसीसीआई र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको समारोहमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता रह्यो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रामनाथ अधिकारीले मुलुकको अतिनै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताए । सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१र२०९१ मनाउन लागेको जानकारी गराउदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराए । महासंघ कृषि उद्यम केन्द्रकोद्वारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरूले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरूको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए । महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरूकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताए । युएसएआइडीको सहयोगमा सीवाइएमएमवाइटीद्धारा सञ्चालित नेपाल सेड एण्ड फटीलाइजर प्रोजेक्टले लघु, साना तथा मझौला उद्यमहरूलाई सहयोग कार्यक्रम सञ्चालनका लागि एफएनसीसीआइ र एसीइसँग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे । एनएसएफ परियोजनाले नेपालको कृषि रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरुलाई गर्ने प्रवद्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याइरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्दै यस्तोमा सीआइएमएमवाइटीले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व वृद्धिकाागि कार्य गर्ने गरी एनएसएएफ परियोजना सञ्चालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरू निरन्तर सञ्चालित हुनपर्ने बताए । नीजि क्षेत्रको प्रतिनीधको रुपमा आवश्यक पर्ने सहयोगका लागि सदैव तत्पर रहको बताउँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री वातावरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आवश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गरे । कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा नीजि उद्यमीहरु व्यवसायिक वातावरणको अपेक्षा गर्दछन् । त्यसकालागि सबै पक्ष मिलेर काम गर्न अनुरोध सहित कार्यशालाले यसै दिशातीर निश्कर्ष निकाल्न सफल हुने विश्वास लिँदै निमन्त्रणालाई स्विकार गरी यस उदघाटन सत्रमा सहभागि लिन सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दै उद्घाटन सत्रको समापन गरे । कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डिबी बस्नेतले एईसीले गरेको कामहरुको बारेमा उल्लेख गरे । २०४८ सालमा नेपाल उद्योग वाणिज्य महासँघको कृषिसँग सम्बन्धित एकाईको रुपमा स्थापना भएको कृषि उद्यम केन्द्र स्थापनामा नेपालस्थित अमेरिकन सहयोग नियोग यूएसएआडीको ठूलो भूमिका रहेको बताए ।
एफएनसीसीआईले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगको आह्वान गर्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगका लागि आह्वान गर्ने भएको छ । महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको हो । महासंघको वार्षिक साधारणसभा चैत २८ गते हुँदैछ । सभाको उद्घाटन कार्यक्रम बिहान ८ः३० डाकिएको छ। सभामा मुख्य राजनीतिक दलका प्रतिनिधिहरुलाई डाकिएको महासंघले जनाएको छ । महासंघको सभामा मुख्य वक्ताका रुपमा भारत उद्योग परिसंघका अध्यक्ष सञ्जीव पुरी रहेछन् । पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरुको टोली सभामा सहभागी हुनेछन् ।
एफएनसीसीआईले १० अर्बको कम्पनी खोल्दै, देशभरका व्यवसायीको लगानी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा कम्पनी खोल्ने विषयको जानकारी दिए । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए । कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए । राजनीतिक दलहरुको आर्थिक बिषयमा एकै एजेण्डा हुन नसक्दा समन्यव र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको चैत्र अन्तिम साता आयोजना हुने बार्षिक साधारणसभामा सबै दलहरुको एक्यवद्धता खोजिने जानकारी पनि गराए । महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोशेढुंगा भएको जानकारी पनि उनले गराए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तिय क्षेत्रमा सुधार भएको बताए । ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’
एफएनसीसीआई र बीभीएमडब्ल्यूबीच समझदारी, महिलाद्वारा सञ्चालित उद्योगलाई सहयोग पुग्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले जर्मन कम्पनीहरूले नेपालमा लगानी गर्ने वा नेपाली व्यवसायसँग सहकार्य गर्ने सम्भावना खोज्न बीभीएमडब्ल्यू जर्मनीसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फेब्रुअरी ७ मा भएको उक्त समझदारी पत्रमा एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीभीएमडब्लुका कार्यकारी अध्यक्ष क्रिस्टोफ अहलहसले हस्ताक्षर गरेका हुन् । एमओयू हस्ताक्षर समारोह नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जको उपस्थितिमा काठमाडौंस्थित जर्मनीको राजदूतावासमा भएको थियो । अध्यक्ष ढकालले नेपालले युरोपमा निर्यातमा भन्सारमुक्त पहुँच गुमाउने भएकाले नेपाल विकासोन्मुख मुलुकमा परिणत भएपछि सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा पर्ने बताए । उनले विशेषगरी महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले साना तथा मझौला उद्योगको प्रवर्द्धन र विकासका लागि एफएनसीसीआई र बीभीएमडब्ल्यूले सहकार्य गर्नुपर्ने बताए । एमओयूको प्रमुख उद्देश्य एफएनसीसीआई र बीभीएमडब्ल्यूबीचको सहकार्य अभिवृद्धि गर्नु र लगानी प्रवर्द्धनमा सहकार्य गर्न व्यावहारिक रूपरेखा स्थापना गर्नु हो। एमओयूले आपसी सहयोग मार्फत संस्थागत सम्बन्ध सुदृढ गर्ने र क्षमता अभिवृद्धि गर्ने बारे पनि कुरा गर्छ । एमओयू अनुसार एफएनसीसीआई र बीभीएमडब्ल्यू दुबैले लगानी नीति, नियम, विनियम, कार्यविधि, प्रोत्साहन र अवसरका बारेमा जानकारीको नियमित आदानप्रदान गर्नेछन् । नेपाल र जर्मनीसँग सम्बन्धित तथ्याङ्क र तथ्याङ्कहरू दुवै संस्थाको पहुँचमा पुग्ने गरी सामान्य अपडेटको आदानप्रदान पनि हुनेछ । एमओयू अनुसार दुवै संस्थाले व्यापार प्रतिनिधिमण्डल वा लगानी मिशनको आदानप्रदानका लागि प्रोत्साहन र सहयोग उपलब्ध गराउन पहल गर्नेछन् । एफएनसीसीआई र बीभीएमडब्ल्यू ले लगानी र उद्यमशीलता सम्बन्धी संयुक्त कार्यक्रम आयोजना गर्न एक अर्कालाई सहयोग गर्न पनि सहमति जनाएका छन् ।
फागुनमा राष्ट्रिय महिला उद्यमी सम्मेलन गर्दै एफएनसीसीआई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले राष्ट्रिय महिला उद्यमी सम्मेलन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना गर्ने तय गरेको हो । कम्पनीका अनुसार सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २५० देखि ३०० जना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहनेछ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अघुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एवं सहकार्यमा आयोजना गर्न लागिएको हो । यो सम्मेलन महासंघले पहिलो पटक आयोजना गर्न लागेको हो । नेपालमा महिलाहरूले देशको अर्थतन्त्रमा लामो समय देखि सक्रिय रूपमा भाग लिरहेकाछन्, तर महिला उद्यमीहरुको योगदान को प्रायः कम मूल्याङ्कन गरिएको छ । श्रमशक्तिमा महिला सहभागिता १ प्रतिशतले मात्रै बढ़न गएमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतले वृद्धि गर्न सकिन्छ । महिला उद्यमीहरू को सशक्तिकरणले रोजगारी सृजना गर्दछ, वित्त पहुँचमा सुधार देखिनेछ र नवप्रवर्तन बढ्ने छ । महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका साथै महिला सशक्तिकरणम सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वितिय पहुंच, बजार पहुंच, पर्यटनका सम्भावना र चुनौति, युवा महिलांस्टार्टअपका लागि गरिएका पहुल साथै भएका व्यवस्था लगायतका विषयमा विषय विज्ञहरुसँग छुट्टा छुट्टै (प्यानल डिस्कसन) छलफल गरिनेछ । दुई दिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा बुझाइनेछ ।
सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै एफएनसीसीआई
फाइल फोटो काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमबार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले यस्तो जानकारी दिएको हो । महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागेको बताए । उक्त मेलाको लागि ५० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताउँदै उनले मेलामा करिब ३ सय स्टलहरु रहने बताए । उनले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गरे । साथै, मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको बताउँदै अध्यक्ष ढकालले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए । मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इन्डोनेसिया, मलेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । मेलामा भारत चेम्बर अफ कमर्स र नेपालको नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेदसम्बन्धी उत्पादनको प्रदर्शनी एवं प्रवचन कार्यक्रमसमेत हुनेछ । मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो हस्तकला उत्पादनहरु, एनटीआईएस प्रोडक्ट, कमोडिटी पेभिलियन रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्यसमेत राखिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्धन तथा लगानीबारे छलफल हुनेछ । मेलाको स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ । मेलामा जेष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । त्यस्तै उपाध्यक्ष सुरकृष्ण वैद्यले एउटा छुट्टै ब्रान्ड बनाउन सफल मेला निजी क्षेत्रका लागि बलियो प्ल्याटफर्म भएको बताए । उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघको छुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने बताए ।
देशभर पुँजी बजार सम्बन्धी सचेतना फैलाउँदै सेबोन र एफएनसीसीआई
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच देशभर पुँजी बजार सम्बन्धि सचेतना फैलाउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धमा बिहीबार एफएनसीसीआईको केन्द्रिय कार्यालयमा आयोजित ‘शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता’ नामक एक कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमाल र एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सेबोनले महासंघको सहकार्यमा देशभर सेयर बजारसङ्ग सम्बन्धि सचेतना फैलाउने र शिक्षा प्रदान गर्ने छ । त्यस्तै, विश्व लगानिकर्ता सप्ताह २०२३ को अवसर पारेर सो कार्यक्रम गर्न लागेको सेबोनले जनाएको छ । सेबोन र महासंघको संयुक्त रुपमा यो कार्यक्रम पहिलोपटक भएको बताउँदै महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरज कृष्ण वैद्यले देशभरिका दुर दराजका मान्छेले पनि सेयर बजारमा लगानी गर्ने वातावरण होस् भन्ने हेतुले यो कार्यक्रम गर्न लागिएको बताए । साथै, सेयर कारोबार गर्दा जोखिम र लगानीकर्ताको रकम नडुबोस् भन्ने उद्देश्यले यो सचेतना कार्यक्रमको शुरुवात गरिएको उनको भनाई छ । त्यस्तै, महासंघको वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले सेबोन र महासंघबीचको सहकार्यले पुँजी बजारमा तरङ्ग ल्याउने बताएका छन् ।
ग्रामिण क्षेत्रको विकासमा जोडिदै एफएनसीसीआई, ढोरपाटनमा कार्यकारिणी बैठक शुरु
काठमाडौं । ग्रामिण क्षेत्रको विकासमा जोडिने लक्ष्यसहित नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यकारिणी समितिको बैठक ढोरपाटनमा राखेको छ । आज र भोलि हुने उक्त बैठकमा देशको वर्तमान आर्थिक अवस्था, उद्योगी व्यवसायीले भोग्नु परेको समस्या र महासंघले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल केन्द्रीत हुनेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले संस्थागत सदस्यहरुमा अपनत्वको भावना विकास गर्नुका साथै स्थानीय तहमा लगानी वृद्धि गर्न देशका ठूला व्यवसायीलाई जोड्ने लक्ष्यसहित महासंघको बैठकहरु देशको ग्रामिण क्षेत्रसम्म पुर्याउने लागिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । बाग्लुङको पुरानो र पर्यटकीयय नगर ढोरपाटनको पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले तेस्रो कार्यकारीणीको बैठक ढोरपाटनमा राखिएको उनले बताए । यस्ता बैठकहरु देशका अन्य क्षेत्रमा पनि पालैपालो गर्ने सोचमा आफू रहेको उनले बताए । बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघ बागलुङको आतिथ्यतामा बसेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका ७० जनाको कार्यसमिति सदस्यसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले बताए । महासंघको बैंठकलाई ढोरपाटन नगरपालिकाले निकै महत्वका साथ लिएको र कार्यक्रमलाई सफल बनाउन सम्पूणर् हिसावले सहयोग गरिरहेको नगरपालिकाका उप प्रमुख धनबहादुर कायतले बताए । यस बैठकसँगै ढोरपाटनको प्रचार हुने, अरु संघ संस्थाको बैठक पनि यस पर्यटकीय नगरीमा बस्ने, पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने, निजी क्षेत्रको लगानी थपिने आशा नगरपालिकाले गरेको उनले बताए । बैठकका आउने पाहुँनाहरुको खाना तथा आवासका लागि ढोरपाटन उपत्यकामै व्यवस्थापन मिलाइएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत महासंघको केन्द्रीय कार्यकारिणी बैंठक राख्नको लागि सहयोग गरेको छ । एक पटक देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनको पर्यटन प्रर्बद्धनमा सहयोग पुर्याउने अपेक्षा राखिएको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष कँडेलले बताए । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक लगानी भित्राउन यो बैठकले सहयोग पुर्याउने विश्वास महासंघले पनि लिएको छ । उद्योगी व्यवसायी ढोरपाटन पुग्दा पर्यटकीय क्षेत्रको विकास, लगानीको वातावरण बनाउन, कृषि उपजको बजारीकरणमा कोशे ढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । ढोरपाटन आलुको राम्रो उत्पादन छ भने स्याउको प्रचुर संभावना रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित कार्यसमिति सदस्यले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गर्ने कार्ययोजना रहेको छ । ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिर समेत दर्शन गर्ने कार्यक्रम रहेको छ । ढोरपाटन सिकार आरक्ष, ढोरपाटन उपत्यका, स्याउ बगैचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालय लगायत ढोरपाटनमा पर्यटकलाई लोभ्याउने अनेकौ स्थानहरु रहेकोमा तिनीहरुको प्रचार प्रसार हुँने गरी बैठकको आयोजना गरिएको छ ।