७ कम्पनीको ३ अर्ब ४५ करोडको हकप्रद सेयर आउदै, सबैभन्दा बढी अपी पावरकाे (सूचिसहित)
काठमाडौं । जलविद्युत, उत्पादनमुलक, वित्त र बीमा गरी ७ कम्पनीले पुँजी बढाउने हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । ती कम्पनीले ३ अर्ब ४५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ४५ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । कसको कति यहाँ क्लिक गर्नुस सबैभन्दा धेरै हकप्रद निष्कासन गर्नेमा अपी पावर कम्पनी लिमिटेड रहेको छ । अपीले जलविद्युत आयोजनामा लगानी गर्नका लागि २०० प्रतिशत अर्थात २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको छ । यस्तै श्रीराम सुगर मिल्स लिमिटेडले पनि पुँजी बढाउन ३०० प्रतिशत अर्थात ८९ करोड ३ लाख ९४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेका अन्य कम्पनीमा वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी सबै कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर निष्कासन हुने छ । वित्त तथा बीमाले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।
अमेरिकाबाट फर्किए माधव नेपाल
काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अमेरिका भ्रमणबाट फर्किएका छन् । नेपाल इन्टरनेशनल सम्मेलनमा सहभागी हुन नेता नेपाल भदौ १४ गते अमेरिका गएका थिए । भदौ १५ देखि १७ गतेसम्म अमेरिकामा आयोजना गरिएको सम्मेलनमा नेता नेपालले प्रमुख अतिथीका रुपमा सम्बोधन गरेका थिए । उनले अमेरिका भ्रमणका क्रममा नेपाली सम्बद्ध एक दर्जन भन्दा बढी कार्यक्रमहरुमा सहभागीता जनाएका थिए ।
आइएमई जनरल इन्स्योरेन्सले धादिङ्का पशुपन्छी तथा बालिनालीको बीमा गराउने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र धादिङ्को नीलकण्ठ नगरपालिकाबीच सोही स्थानका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नीलकण्ठ नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् । सोही अवसरमा नगरपालिकाका मेयर भिमप्रसाद ढूंगानाले सोही स्थानका सम्पूर्ण कृषकहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषकको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससंग संझौता गरेको बताएका छन् । साथै, उनले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरेका छन् । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले सोही स्थानका नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
३९ वटा बीमा कम्पनीको नाफा ७ अर्ब ८१ करोड, कसको कति(सूचिसहित)
काठमाडौं । ३९ वटा बीमा कम्पनीहरुले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड नाफा कमाउन सफल भएका छन् । २० वटा निर्जिवन बीमा कम्पनी, १८ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड ४४ लाख ४४ हजार रुपैंयाँ नाफा कमाएका हुन् । आव २०७४/७५ को अपरिस्कृत वित्तिय विवरण अनुसार २१ वटा निर्जिवन बीमा कम्पनीहरुले ५ अर्ब ३९ करोड १९ लाख ४८ हजार नाफा कमाएका छन् । त्यस्तै, १८ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब ४२ करोड २४ लाख ९६ हजार नाफा आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुको यो नाफा एक्चुरी गर्नु अघिको हो । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब ४० करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । ३ वटा नयाँ निर्जिवन बीमा कम्पनीहरुले ६ करोड ४० लाख नाफा कमाएका छन् । नयाँ ९ वटा जीवन बीमा कम्पनीहरुले ७३ करोड ४३ लाख ८२ हजार नाफा कमाउन सफल भएका छन् । पुराना ९ वटा जीवन बीमा कम्पनीहरुको नाफा भने १ अर्ब ६८ करोड ८१ लख १४ हजार रुपैंयाँ रहेको छ ।
एक सातादेखि सेयर बजारमा हरियाली, लगानीकर्तामा ल्यायो उत्साह, बुधबार २४ अंकले बढ्याे
काठमाडौं । साताको शुरुवातदेखि सेयर बजार उकालो लाग्ने क्रममा रहेको छ । तीन दिन लगातार बढेको बजार साताको दोश्रो अन्तिम दिन पनि नेप्से २३.८९ अंकले उकालो लागेर १२३४ अंकमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशतले बढेकाे हाे । बैंक तथा वित्तीय कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा सुधारात्मक संकेत देखिएको लगानीकर्ताले बताएका छन् । त्यस्तै, बजारमा सेयरको मूल्य सस्तिदै गएपछि केही दिनदेखि लगानीकर्ताहरु बाणिज्य बैंकको सेयरप्रति आकर्षित भएका हुन् । लगानीकर्ता अाकर्षित भएपछि वाणिज्य बैंककाे काराेबार रकम र सेयर मूल्यमा सुधार अाएकाे छ । बुधबारको बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । कुल १६७ कम्पनीको कारोबार भएको बजारमा ७० करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी कुमारी बैंकको एकैदिन ४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ रहेको छ । उत्पादनमूलक र ट्रेडिङ बाहेक कारोबारमा आएका बाँकी समूहहरु उकालो लागेका छन् । सबैभन्दा बढी निर्जिवन बीमाको समूह १६२ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा ९५, माइक्रोफाइनान्स ४२, हाइड्रोपावर ३९ र डेभलपमेन्ट बैंक समूहको सूचक ३० अंकले उकालो लागेका छन् । बजारमा दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य ९.७५ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र कुमारी बैंकका लगानीकर्ताले क्रमशः ८.४७ र ८.३३ प्रतिशत कमाएका छन् ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा सीआईबीको छापा, २ उप-रजिस्ट्रार पक्राउ
काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले छापा मारेको छ । शंकर इलेक्ट्रोनिक्स प्रालीको सेयर ट्रान्सफर प्रकरणमा अनियमितता भएको आरोपमा सीआईबीले २ जना उप-रजिष्ट्रारलाई पक्राउ गरेको पुष्टि गरेको हो । आइतबार छापा मारेर उप-रजिष्ट्रारद्धय धर्मराज रोकाया र गंगाधर पौडेललाई पक्राउ गरेको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले पुष्टि गरे । उनले यो प्रकरणमा अन्य केहि कर्मचारी तथा व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी भैरहेको जानकारी दिए । रजिष्ट्रार कार्यालय श्रोतका अनुसार शंकर इलेक्ट्रोनिक्स कम्पनीको २५ लाख रूपैयाँकाे सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआईबीले छापा मारेर पक्राउ गरेको हो । हङकङमा रहेका सेयरधनीलाई पत्तै नदिई नक्कली कागजपत्र निर्माण गरी सेयर ट्रान्सफर गरेपछि सीआईबीले छापा मारेको हो । २ जना उप-रजिष्ट्रार पक्राउ परेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा खैलाबैला मच्चिएको छ । रजिष्ट्रारका भुवन हरी अर्यालले २ जना उप-रजिष्ट्रार कार्यालय नआएको स्वीकार गरे । तर सीआईबीले छापा मारेको बारेमा भने उनले केहि बताउन चाहेनन् । उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् । उप-रजिष्ट्रारद्धय रोकाय र पौडेलको कार्यकक्षमा ३ दिनदेखि ताला लागेको छ । १० करोड मुल्याङकन सम्मकोे फाइल हेर्ने उप-रजिष्ट्रार नहुँदा सेवाग्राही भने समस्यामा परेका छन् ।
एशियन लाईफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई साढे २० लाख रुपैयाँ भुक्तानी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीवापत धादिङ्को बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ । बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएकोले निजको नजिकको हकवाला निजको बुवा कमप्रसाद उपाध्यायलाई दुुर्घटना लाभ सहितको सो रकमको चेक मुक्तिनाथ विकास बैंकको कायम मुकायम सहायक महाप्रबन्धक लोकराज जोशीले हस्तान्तरण गरेका हुन् । जोशीले भदौ १९ गते मुक्तिनाथ विकास बैंकको धादिङ्ग शाखा कार्यालयमा आयोजित एक कार्यक्रममा मृतकका परिवारलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । धादिङ्गको त्रिपुरा सुन्दरी गा.पा. निवासी बीमित गकुल उपाध्यायको २०७५ जेठ ३ मा सडक दुर्घटनामा परी असामयीक निधन भएको थियो । मिति २०७४ पुस २६ मा १५ वर्ष अवधीका लागी १० लाख रुपैयाँ बीमाङ्कको दुर्घटना लाभसहितको एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गराएकोमा स्वर्गीय उपाध्यायले यस कम्पनीलाई बीमा शुल्क वापत जम्मा ६६ हजार ८८६ रुपैयाँ भुक्तानी गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुखमा घिमिरेको नाम सिफारिश
काठमाडौं । संवैधानिक परिषद्को बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए । आयोगका आयुक्तका रुपमा घिमिरे २०७१ चैत १९ गते नियुक्त भएका थिए । बुधबारको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख महरा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना थिए । रासस