मानव अंग प्रत्यारोपण केन्द्रले ४ सय बढी मिर्गौला प्रत्यारोपण गर्न सफल, विरामीको चापले गर्दा पालो कुर्नुपर्ने अवस्था
भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले ४ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ ।केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए। केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको हो । यसअघि डा श्रेष्ठ र प्रा.डा राकेश वर्माको टोलीले वीर अस्पतालमा ९९ मिर्गौला प्रत्यारोपण गरेको थियो । कार्यकारी निर्देशक डा श्रेष्ठले भने, “भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालन हुनुअघि वीर अस्पतालमा हाम्रै टोलीले ९९ वटा मिर्गौला प्रत्यारोपण गरेको थियो, भक्तपुरमा केन्द्र शुरु भएपछि यही टोलीले ४०४ वटा मिर्गौला प्रत्यारोपण गरेका छौँ, यो टोलीले अहिलेसम्म दुई अस्पतालमा गरेर ५०३ वटा मिर्गौला प्रत्यारोपण गरिसकेका छ ।” वीर अस्पतालमा चार वर्षमा ९९ मिर्गौला प्रत्यारोपण भएकामा भक्तपुरको केन्द्रमा चार वर्षमा ४०४ प्रत्यारोपण गर्न सफल भएको जानकारी दिँदै उनले भने , “केन्द्रमा भएको प्रत्यारोपणमा मिर्गौला दातातर्फ शतप्रतिशत र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता हासिल गरेका छौँ, यो विश्वकै उत्कृष्ट सफलता हो ।” केन्द्रले २०७४ वैशाखदेखि हालसम्म २५ हजार १०२ बिरामीलाई बहिरङ्ग सेवा, १ हजार ४४९ जना भर्ना, ५६४ जटिल तथा ८६२ सामान्य शल्यक्रिया, २५ हजार ३८६ को डायलोसिस गरेको छ भने १२८ जनाको मिर्गौला तथा एक जनाको कलेजो प्रत्यारोपण गरेको छ । केन्द्र स्थापनादेखि हालसम्म ६७ हजार ३२८ बिरामीलाई बहिरङ्ग सेवा, ५ हजार ४८९ जना भर्ना, १ हजार ५८८ जनाको जटिल तथा २ हजार ९४९ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालका नेफ्रोलोजी विभागका प्रमुख परामर्शदाता डा कल्पना श्रेष्ठले जानकारी दिए। केन्द्रले १ लाख १२ हजार २६१ को डायलोसिस, २ हजार ४२९ जनाको सिएपिडी, दुई जनाको कलेजो प्रत्यारोपण गर्नाका साथै २ लाख ८७ हजार ५४० को प्रयोगशाला जाँच, ९ हजार १८० को युएसजी, १ हजार ६०७ को इको, ३ हजार ३१८ को इसिजी, १ हजार ४६४ को इन्डोस्कोपी र ११ हजार ४८१ लाई एक्स–रे सेवा प्रदान गरेको जानकारी दिए। बिरामीको चाप मिर्गौला प्रत्यारोपणबाहेक युरोलोजी, ग्यास्ट्रो सर्जरी, कार्डियोथेरापी सर्जरीलगायत विभिन्न पत्थरीको शल्यक्रियासमेत सेवा शुरु गरिएपछि बिरामीको चाप निकै बढेको डा. वर्माले जानकारी दिए। श्यैया र भवनको अभावका कारण बिरामीले सेवा लिनका लागि कुर्नुपर्ने समस्या आएको छ । डा श्रेष्ठले मिर्गौैला प्रत्यारोपणका लागि अहिले ४०० बिरामीले पालो कुरेर पर्खिरहेको र त्यसभन्दा बढी डायलोसिसका बिरामीले पालो पर्खेर बसेको बताउनुभयो । सरकारले निःशुल्क डायलोसिस सेवा दिएपछि कतिपय बिरामीले मिर्गौला प्रत्यारोपण नगरी डायलोसिस गरेर मात्रै बसेकाले पनि डायलोसिसमा थप समस्या आएको बताइएको छ । डा श्रेष्ठले भन्नुभयो, “दैनिक १० जनाबाट शुरु भएको डायलोसिस अहिले दैनिक १५० जनासम्म पुग्ने गरेको छ, ३५ वटा मेशिनले काम गरेका छौँ, १२ मेशिन बिग्रिएको छ, ठाउँ अभावले श्यैया र मेशिन थप्न नपाउँदा कैयौँ बिरामी बेटिङमा बस्नुपरेको छ ।” छ वर्षदेखि मिर्गौला प्रत्यारोपण नगरी पुराना बिरामीले डायलोसिस मात्रै गर्दा नयाँ बिरामीलाई डायलोसिसलाई ठाउँ पाउन गाह्रो भएको उनको भनाइ थियो । प्रा.डा वर्माले केन्द्रमा अहिले सातामा कम्तीमा ३ देखि ८ वटासम्म मिर्गौला प्रत्यारोपण हुने गरेको बताउँदै ठाउँ र श्यैया भए दैनिक प्रत्यारोपण गर्न सकिने जानकारी दिए । रासस
सुरु भयो महिला उद्यमी हस्तकला मेला
काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा शुक्रबारदेखि महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य बस्तु मेला २०७४ सुरु भएको छ । महिला उद्यमीहरुको हस्तकलालाई सम्बद्र्धन प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले काठमाडौंको त्रिदेवी मन्दिर परिसर, त्रिदेवीमार्ग, ठमेलमा मेलाको आयोजना गरिएको छ । मेला काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख हरिप्रभा खड्गीले उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला मुलुकको लागि मौलिक कला रहेको बताए । यस उद्योगलाई हरेक घर–घरमा, गाउँ–गाउँमा सानो पुँजीको माध्यमबाट धेरै महिलाहरुले सञ्चालन गरिरहेको उनको भनाइ छ । उनका अनुसार मेलाले हस्तकलाको विकास तथा प्रवद्र्धनको लागि महत्वपूर्ण सहयोग मिल्ने छ । त्यस्तै कार्यक्रममा नेपाल हस्तकला महासंघकी उपाध्यक्ष एवं उद्योग परिषद्की सभापति रत्नेश्वरी श्रेष्ठले मेलाबाट हस्तकला उद्योगमा संलग्न महिलाहरुको सीप, क्षमता र परिश्रमलाई बढावा दिने बताइन् । उनका अनुसार यसबाट महिला उद्यमीहरुलाई अगाडि बढ्न प्रोत्साहन मिल्नेछ । महासंघले विगत ४६ बर्षदेखि हस्तकलाका विविध क्षेत्र सम्बन्धमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आइरहेको जनाएको छ । मेलामा महिला उद्यमीहरुबाट उत्पादित हस्तकला बस्तु तथा प्राकृतिक रेसाजन्य वस्तुको करिब २० वटा स्टल राखिएको छ । मेला फागुन ६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
अधिकांश प्रसारण लाइन निर्माणमा समस्या, मारमा ऊर्जा उद्यमी
काठमाडौं । सरकारले विद्युत् प्रवाहलाई सहज बनाउने लक्ष्यका साथ देशभर नै प्रसारण लाइन निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखे पनि काम भने कछुवाको गतिमा अगाडि बढेका छन् । कतिपय स्थानमा त प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर गइरहेको छ भने कतिपय स्थानमा समयमा काम सम्पन्न नहुँदा नेपाल विद्युत् प्राधिकरणले हर्जना नै तिर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । प्राधिकरणका अनुसार देशभर हाल ४५ वटा साना ठूला प्रसारण लाइन निर्माणको चरणमा रहेका छन् । प्राधिकरणले पूर्व-पश्चिम राजमार्गको समानान्तर हुने गरी ४०० केभी क्षमताका प्रसारण लाइन निर्माणलाई महत्वाकांक्षी लक्ष्यका रुपमा राखेको छ । यस्तै उत्तर दक्षिण करिडोरका रुपमा समेत प्रसारण लाइन निर्माणका काम शुरु भएका छन् । अधिकांश आयोजना वन तथा जग्गा प्राप्तिको समस्यामा परेका छन् । प्राधिकरणका अधिकांश आयोजनाको साझा समस्याका रुपमा वन क्षेत्रको जग्गा प्रयोग, निजी जग्गा प्राप्तिमा रहेको मुआब्जाको समस्या र सरकारी जग्गा प्राप्तिमा हुने झन्झट नै रहेका छन् । समस्या समाधानका लागि हुने पहलसमेत सार्थक बन्न नसक्दा थप जटिलता थपिएको छ । प्राधिकरणले निर्माण गरिरहेको हेटौँडा-ढल्केबर, ढल्केबर-दुहवी प्रसारण लाइनको काम अलपत्र छ । चिनियाँ ठेकेदारसँगको सम्झौता तोडेपछि उक्त आयोजनाको काम अगाडि बढ्न सकेको छैन । कूल ४०० केभी क्षमताको उक्त प्रसारण लाइन प्राधिकरणका लागि विद्युत् आपूर्तिको ‘सुपर हाइवे’का रुपमा रहेको छ । यस्तै भरतपुर-बर्दघाट प्रसारण लाइनको अवस्था पनि उस्तै रहेको छ । यस्तै रसुवागढी, साञ्जेनजस्ता आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण हुने चिमिले हबदेखि त्रिशूली हबसम्मको प्रसारण लाइनको काम पनि सोचेअनुसार अगाडि बढ्न सकेको छैन । लामो समयदेखि अवरुद्ध रहेको त्रिशूली-काठमाडौं मातातीर्थ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम भने लामो समयको विवादपछि बल्ल शुरु भएको छ । सो आयोजनाका प्रमुख पणिन्द्रराज जोशीका अनुसार प्रसारण लाइन निर्माणले गति लिएको छ । सो प्रसारण लाइनको अभावमा माथिल्लो त्रिशूली थ्री ‘ए’ले उत्पादन गर्ने विद्युत् खेर जाने हो कि भन्ने आशंका बढेर गएको थियो । प्रसारण लाइनकै अभावमा काबेली करिडोरमा निर्माण भइरहेका करिब पाँच आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्थामा पुगेको छ । सो करिडोरमा काबेली ‘बी’ २५ मेगावाट, तल्लो हेवा खोला २२ मेगावाट, इवा खोला १० मेगावाट सम्पन्न हुने चरणमा पुगेका छन् । तर काबेली करिडोर प्रसारण लाइन निर्माणको काम भने कछुवाको गतिमा रहेको छ । काबेली ‘बी’ आयोजनाका प्रमुख रमेशप्रसाद न्यौपाने आशातीत रुपमा प्रसारण लाइन निर्माणले गति लिन नसक्दा आफूहरुलाई समस्या आइलागेको बताउँछन् । झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्मको कूल ९० किलोमिटर लामो प्रसारण लाइनमध्ये पहिलोखण्ड गोदक–दमक सञ्चालनमा आए पनि अरु खण्डमा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या यथावत् छ । यस्तै प्राधिकरणले निर्माण गरिरहेको सोलु करिडोर प्रसारण लाइनको कामसमेत अगाडि बढ्न सकेको छैन । यो प्रसारण लाइनमा निर्माणाधीन २१५ मेगावाट क्षमताका पाँच आयोजना निर्माणमा छन् । त्यसमा ५ दशमलव २ मेगावाट क्षमताको जुनबेसी, १८ मेगावाट क्षमताको माथिल्लो सोलु, २३ दशमलव ५ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु र ८६ मेगावाटको सोलु-दूधकोशी आयोजना निर्माण भइरहेको छ । तर प्रसारण लाइन निर्माणमा समेत आशातीत सफलता हासिल हुन सकेको छैन । अधिकांश प्रसारण लाइन निर्माणमा ठेकेदारको बदमासी रहेको ऊर्जा प्रवद्र्धकको गुनासो छन् । प्राधिकरणको फितलो अनुगमन तथा ठेकेदारलाई काम लगाउन नसक्नु समस्याको मूल जड रहेको आरोप उद्यमीको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाईं वन क्षेत्रको जग्गा प्रयोग, ठेकेदारको लापरबाही तथा सम्बन्धित आयोजना प्रमुखले ध्यान दिन नसक्दा प्रसारण लाइन निर्माणको काममा जटिलता थपिएको बताउँछन् । प्राधिकरणले भने प्रसारण लाइन निर्माणलाई गति दिइएको र एकाध स्थानमा समस्या भए पनि अन्य स्थानको काम भने भइरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी प्रसारण लाइन निर्माणको काम प्राधिकरणको प्रमुख प्राथमिकताको विषय भएकाले समस्या आएको स्थानमा सहजीकरण गर्ने, सम्झाउने गरिएको बताउँछन् । विद्युत् विकास विभागले हालसम्म ९२ वटा साना तथा ठूला प्रसारण लाइन निर्माणका लागि अनुमति दिएको छ । रासस
सन नेपाल लाइफको ६० करोडको आईपीओ पारित, अध्यक्षमा अनुज क्याल निर्वाचित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित पारित भएको छ । संचालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न कम्पनीको प्रथम बार्षिक सााधारण सभाले पारित गरेको हो । सभाले पारित गरे बमोझिम इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँका दरले ६० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । साथै, कम्पनीको नयाँ संचालक समितिमा संस्थापक समूहका शेयरधनीको तर्फबाट ४ जनाः अनुज क्याल, नारायण रुंगटा, किरण के.सी., सशांक अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । साथै, संचालकहरु मध्येबाट अध्यक्षमा अनुज क्याल निर्वाचित भएका छन् । कम्पनीले आर्थिक वर्ष ०७४/०७५ को पुस मसान्तसम्मको अवधिमा १४ वटा शाखा कार्यालय संचालन गरेको छ । सो अवधिसम्म कम्पनीले १० करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरी ८ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
भारतले नेपालका लागि पेट्रोलियमको भाउ घटाउदा आयल निगमले घटाएन किन ?
काठमाडौं । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ घटाएको सूची पठाए पनि नेपाल आयल निगम लिमिटेड (एनओसी) ले मूल्य नघटाउने भएको छ । आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सुचि नेपाल आयल निगमलाई पठाउने गरेको छ । यो पटक आईओसीले पेट्रोलियमको भाउ घटेको मूल्य सुचि पठाए पनि एनओसीले नघटाउने भएको हो । भारतमा बढ्दा नेपालमा पनि बढ्ने र त्यहाँ घट्दा यहाँ पनि घट्ने स्वचालित मूल्य प्रणाली विपरित निगमले मूल्य समायोजन नगर्ने भएको हो । निगमले करोडौ रुपैयाँ अझै संचित नोक्सान भएको जिकिर गर्दै मूल्य नघटाउने बताएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेको निगमले भारतबाट भाउ बढेको मूल्य सूचि आउने वित्तिकै यहाँ पनि मूल्य बढाउने गरेको छ । अन्तराष्ट्रिय बजारमा निरन्तर भाउमा कमी आएपछि भारतमा पनि पेट्रोलियमको मूल्य घटेको छ । १० दिनदेखि भारतमा लगातार पेट्रोलियम पदार्थको भाउमा गिरावट आइरहेको फाइनान्सियल एक्सप्रेसले अनलाईन संस्करणमा उल्लेख गरेको छ । शुक्रबार ब्रेन्ट क्रुड आयलको मूल्य घटेर प्रतिव्यारेल ६४.३३ डलरमा झरेको छ । अघिल्लो महिना प्रतिव्यारेल ७१ डलर थियो । भारतमा पेट्रेलमा ८९ पैसा र डिजेलमा १ रुपैयाँ भारु भाउ घटेको छ । पेट्रोलियम पदार्थमा केही महिनादेखि निगम घाटामा गएको भन्दै मूल्य यथावत राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए । भारतबाट केही मात्रामा पेट्रोल र डिजेलको मूल्य घटेर आएको गोइतले स्वीकारे । केही महिनादेखिको घाटा अझैसम्म कायम रहेकोले निगमले मूल्य नघटाएको उनको तर्क छ । उनले गएको १५ दिनको अबधिमा निगमलाई १४ करोड ९२ लाख रुपैयाँ घाटा भएकोमा अहिले पेट्रोल र डिजेलको मूल्य घटेर आएकोले आगामी १५ दिनको अबधिमा ७ करोड १५ लाख रुपैयाँ मात्रै घटा हुने बताए । ‘गएको पाक्षिकको तुलनामा आगमी पक्षिकमा पेट्रोलियम पदार्थबाट हुने घाटा घट्नेछ,’ उनले भने । गोइतकाअनुसार गएको पाक्षिकमा प्रतिलिटर डिजलबाट निगमलाई ३ रुपैयाँ ७३ पैसा घाटा भएकोमा अब १ रुपैयाँ ७६ पैसामा झरेको छ । यस्तै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८६ पैसा नाफा छ । जबकी गएको पाक्षिक उक्त पेट्रोलमा २ रुपैयाँ १ पैसा मात्रै नाफा थियो । मट्टीतेलमा प्रतिलिटर १५.७९ पैसा नाफा रहेको प्रवक्ता गोईतले जानकारी दिएका छन् । तर एलपीजी ग्याँसमा प्रतिसिलिण्डर अहिले निगमलाई २०२ रुपैयाँ २५ पैसा घाटा भइरहेको उनले बताए । अहिलेसम्म भारतबाट पेट्रोल र डिजेलको मूल्य मात्रै पठाएकोले एलपीजी ग्याँस लगायको पेट्रोलियम पदार्थको मूल्य भने थपघट हुन सक्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा भने इरानमा पेट्रोलियम पदार्थको उत्पादन बढाउने भएपछि पेट्रोलियम पदार्थको मूल्य गिरावट आइरहेको छ । जसको प्रत्यक्ष प्रभाव भारतको पेट्रोलियम पदार्थको मूल्य घट्नेक्रम जारी रहेको देखिएको छ ।
आइएमई जनरल इन्स्योरेन्स अब सुर्खेतमा पनि, थप १२ शाखा खोल्ने तयारी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप १ शाखा कार्यालय सुर्खेतमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराएका छन् । साथै, उनले स्थानिय उद्योगी व्यापारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यवसाय तथा सम्पत्तिको बीमा गराएर बीमा सेवा लिन आग्रह गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न आग्रह गरेका छन् । आज उद्घाटन भएको शाखा सहित कम्पनीले २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा नै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान कम्पनीले जनाएको छ ।
नेपालको पहिलो खेल जिम्बावेसँग, प्रतियोगितामा नेपाल समूह ‘बी’ मा
काठमाडौं । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ । डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूहचरणमा सबै टिमले एकअर्कासँग एक/एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्सचरण खेल्नेछन् । सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । यसैबीच यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् । समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् । रासस
३९ कम्पनीको करिब १० अर्बको बोनस सेयर सूचिकृत, कसले दियो सबैभन्दा बढीे ?
काठमाडौं । चालू आर्थिक बर्ष शुरु भएयता धितोपत्र बजारमा बोनसबाट मात्रै करिब १० अर्ब रुपैयाँ बराबरको सेयर थपिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ६ महिनाको अवधिमा करिब १० करोड ७६ लाख कित्ता बराबरको बोनस सेयर सूचिकृत भएको हो । बोर्डका अनुसार ०७४ साउन एक गतेदेखि ०७४ माघ १९ गतेसम्ममा ३९ कम्पनीको सो मात्राको बोनस सेयर सूचिकृत भएको छ । उक्त ६ महिनाको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा, होटल र अन्य गरी कुल ९ अर्ब ९८ करोड ७५ लाख ९० हजार ३५० रुपैयाँ बराबरको बोनस सूचिकृत भएको हो । सो मध्ये राष्ट्रिय बीमा संस्थानले सबैभन्दा बढी बोनस सेयर दिएको छ । यस इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ११४.२७ प्रतिशत बोनस वितरण गरेको हो । त्यस्तै, सबैभन्दा कम नेपाल इन्स्योरेन्स कम्पनी र बरुण हाइड्रोपावरले ५/५ प्रतिशत बोनस सेयर वितरण गरेका छन् । बोनस सूचिकृत गर्ने मध्ये अन्य बाँकी ३६ कम्पनीको विवरण हेर्नलाई यसमा क्लिक गर्नुहोस् । नेपाल राष्ट्र बैंकले पूँजीवृद्धि योजना सार्वजनिक गरेपश्चात नेप्सेमा सूचिकृत कम्पनीहरुले बोनस सेयर वितरणलाई प्राथमिकता दिँदै आएका हुन् ।