विकासन्युज

कम्पनीले समयमै कागजात नबुझाए २० हजारसम्म जरिवाना तिर्नु पर्ने

काठमाडौं । ऐनअनुसार दर्ता पश्चात कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने विभिन्न विवरण लगयातका कागजातहरु निश्चित अबधिमा पेश नगरे  अब  २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भएकाे छ । १ करोड रुपैयाँ भन्दामाथि पुँजीको सीमा भएको कम्पनीले तोकिएको समयमा आवश्यक विवरण तथा कागजातहरु नबुझाए मासिक रुपमा जरिवाना बढ्दै जाने र एक वर्षको अबधिमा २० हजार रुपैयाँ पुग्ने रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी गंगाधर पौडेलले बताए । उनका अनुसार उक्त १ करोड भन्दामाथि पुँजीको सीमा भएको सार्वजनिक तथा निजी कम्पनीहरुको हकमा म्याद भुक्तान भएको पहिलो तीन महिनामा  ५ हजार जरिवाना लाग्नेछ । थप तीन महिनामा पनि नबुझाए ७ हजार, थप ६ महिनामा १० हजार र तत्पश्चात २० हजार रुपैयाँ जरिवाना लाग्ने छ । त्यस्तै पुँजीको सीमा २५ लाख रुपैयाँसम्म भएको कम्पनीको जरिवाना म्याद भुक्तान भएको पहिलो ३ महिनको अबधिमा १ हजार रुपैयाँ रहेको छ । थप ३ महिनमा जरिवाना बढेर १ हजार ५ सय, थप छ महिनामा २ हजार र तत्पश्चात ५ हजार पुग्ने रजिस्ट्रारको कार्यालयको भनाइ छ । २५ लाखभन्दामाथि  १ करोडसम्म पुँजी सीमा भएको कम्पनीको हकमा म्याद भुक्तान भएको पहिलो तीन महिनमा २ हजार रुपैयाँ दस्तुर लाग्नेछ । समयावधि बढ्दै गए क्रमशः थप तीन महिनाको अबधिमा ३ हजार, ६ महिनामा ५ हजार र त्यसपश्चात पनि आवश्यक विवरण तथा कागजात नबुझाए १० हजार रुपैयाँ जरिवाना लाग्ने रजिस्ट्रारको कार्यालयले बताएको छ । सूचना अधिकारी पौडेलको अनुसार दफा ८१ बमोजिम लाग्ने जरिवानाको बिवरण विभिन्न बुँदाहरुको हकमा चुक्ता पुँजीको आधारमा राखिएको छ । उनले नाफा वितरण नगर्ने कम्पनीको हकमा  १ करोड  रूपैयाँ चुक्ता पुँजी भएको पब्लिक कम्पनीको सरह जरिवाना लाग्ने बताए ।

स्थिर सरकारसँग आशावादी निजी क्षेत्र, दोहोरो करको त्रास कायमै

काठमाडौं । स्थिर सरकारको नारा लिएर निर्वाचन जितेको बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएसँगै निजी क्षेत्र उत्साहित भएको छ । उत्साहित निजी क्षेत्रको एउटा ज्वलन्त उदाहरण बिहिबार सेयर बजारमा पनि देखिएको थियो । निरन्तर ओरालो लागेको सेयर बजार बिहिबार ३६ अंकले बढेको थियो । सेयर बजार मात्रै होइन, निजी क्षेत्रका नेतृत्वकर्ताहरुले पनि स्थिर सरकारसँग आशा जागेको बताए । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले भने–‘स्थायी सरकार आएसँगै निजी क्षेत्र उत्साहित भएको छ, सरकारसँग सहकार्य गर्न आतुर छौं, मिलेर देशको आर्थिक विकास र समृद्धिको यात्रा तय गर्छाै ।’ सबै राजनीतिक दलहरुले निर्वाचनको घोषणा पत्रमा विकास र समृद्धिलाई मुल एजेण्डा बनाएकाले निजी क्षेत्रमा उत्साह थपिएको पनि उनले बताए । उनले नयाँ सरकार निजी क्षेत्र मैत्री हुने विश्वास पनि व्यक्त गरे । नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले पनि नयाँ सरकारसँग निजी क्षेत्र उत्साहित भएको प्रतिक्रिया दिए । ‘नयाँ सरकारसँग हामी धेरै उत्साहित भएका छौं, विकास र समृद्धिका कुरा गर्ने नेता प्रधानमन्त्री बन्नु भएको छ, हामी सहकार्य गरेर देश विकासमा लाग्छौं’, परिसंघ उपाध्यक्ष अग्रवालले भने । उनले नयाँ सरकारले पुराना कानुनहरुको संसोधनलाई उच्च प्राथमिकतामा राख्नुपर्नमा पनि जोड दिए । प्रदेश र स्थानीय सरकारका कारण दोहोरो करको त्रास भने उद्योगी व्यवासयीमा कायमै रहेको अग्रवालले बताए । ‘तीन तहको सरकार बनेको छ, दोहोरो करको मारमा परिन्छ की भन्ने त्रास हटेको छैन, नयाँ सरकारले बेलैमा स्पष्ट पारोस’, अग्रवालले भने । बिहिबार नै परिसंघ र चेम्बरले प्रेस विज्ञप्ति प्रकाशित गरेर नयाँ सरकारलाई स्वागत गरेका छन् । दुबै संस्थाले नयाँ सरकारको अगुवाईमा मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने र निजी क्षेत्रले सहयोग गर्ने बताएका छन् ।

विद्युत प्राधिकरणले ४८७ जनाको बिजुली लाइन काट्यो

राजविराज । नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको जानकारी दिए । त्यस्तै, साउनदेखि हालसम्म जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत उपकरणसहित ४४२ जनामाथि कार्वाहीसमेत गरेको उनले बताए । तीमध्ये २६३ जनालाई र १६९ वटा उपकरणमाथि कार्वाही गरेको उनले भने । साथै, विद्युत् चोरी नियन्त्रण गर्ने अभियानका क्रममा पानी तान्ने मोटर, टेलिभिजन, पंखा, फ्रिज, हिटर लगायतका उपकरणसमेत बरामद गरेको बिद्युत् प्राधिकरणले जनाएको छ । यस्तै, विद्युत् हुकिङ नियन्त्रणका क्रममा पक्राउ परेका व्यक्तिबाट १३ लाख २५ हजार ५ सय ७३ राजश्वसमेत असुली गरिएको छ । त्यस्तै, बाँकी बक्यौता रहेका ग्राहकबाट रु ८२ लाख ६५ हजारसमेत राजश्व असुली गर्न सफल भएको प्रमुख साहले जनाकारी दिए । यसैबीच, सप्तरी जिल्लामा विद्युत् हुकिङ बढेको जनगुनासो पाएपछि अहिले पनि जिल्लाको विभिन्न ठाउँमा विद्युतचोरी नियन्त्रण जारी राखेको प्राविधिक प्रमुख साहले बताए। रासस

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३१ जनालाई भर्ना खुलायो

काठमाडौं । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनले खुला तथा समावेशी गरी १३१ जना कर्मचरीको लागि भर्ना खुलाएको छ । लोक सेवा आयोगबाट सहमति प्रदान भए बमोजिम अस्पताल अन्तर्गत अधिकृतस्तर र सहायकस्तरका विभिन्न पदहरुमा खुला परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विभिन्न योग्यता पुगेका उमेदवारले अवेदनको लागि दर्ता गर्न सक्ने जनाएको छ । अस्पतालका अनुसार अस्पतालको वेबसाइटबाट डाउनलोड गरी एफोर साइजको फोटोकपी पेपरमा प्रिन्ट गरी सम्पूर्ण विवरण भरी फागुन २५ गतेसम्म र दोब्बर दस्तुर २०७४ चैत २ गतेसम्म आवेदन अस्पताल प्रशासनमा दर्ता गराउनु हुन आवेदकलाई अनुरोध गरिएको छ । अस्पतालले रजिष्ट्रार, वरिष्ठ ल्याब टेक्नोलोजिष्ट, वरिष्ठ रेडियोलोजिकल टेक्नोलोजिष्ट, टेक्नोलोजिष्ट, पब्लिक हेल्थ अधिकृत, जुनियर असिष्टेण्ट, सुपरभाइजर सब ओभरसियर लगायतका पदका लागि अस्पतालले कर्मचारी मागेको हो । आवेदनको लागि १८ वर्ष उमेर पूरा नभएकोदेखि अस्पताल सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हदले नछेकिने बताइएको छ । लिखित र अन्तर्वार्ता दुवै किसिमको परिक्षा हुनेछ । उम्मेदवार स्वयंमले दरखास्तका साथमा हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लगायत विभिन्न कागजातहरुका प्रतिलिपि प्रमाणित गरी संलग्न गर्न पर्ने अस्पतालको भनाइ छ । त्यस्तै समावेशीतर्फ दरखास्त दिने उम्मेदवारहरुले आवश्यकता वमोजिमका कागजातहरु अनिवार्य रुपमा दरखास्त साथ संगलग्न गरी पेश गर्न पर्ने छ ।  

आउदो ३ वर्षमा नाफा ३०० प्रतिशत बढ्ने एशियन लाइफ इन्स्योरेन्सको प्रक्षेपण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउदो ३ वर्षमा नाफा ३ सय प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ । ०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आउदो आर्थिक  वर्ष ०७६/०७७ मा नाफा झण्डै ३ सय प्रतिशत बढाएर २६ करोड ६२ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा एशियनले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ वर्षमा कम्पनीले नाफा झण्डै १६ करोड रुपैयाँ बढाउने प्रक्षेपण गरेको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको सूचनामा एसियनले चालु आर्थिक वर्षमा नाफा बढाएर १४ करोड ११ लाख, आगामी वर्ष २१ करोड रुपैयाँ नाफा हुने उल्लेख गरेको छ । यस्तै ३ वर्षमा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६९ पैसा पुग्ने प्रक्षेपण गरेको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २५ पैसा थियो । चालु आर्थिक वर्षमा घटेर ७ रुपैयाँ ७९ पैसा र आगामी आवमा ११ रुपैयाँ ५९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षपछि कम्पनीको कुल आम्दानी बढेर ३९ करोड २२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीले १६ करोड २९ लाख, चालु आवमा २२ करोड ३७ लाख र आगामी आवमा बढेर ३० करोड ८५ लाख रुपैयाँ पुग्ने एसियनले जनाएको छ । यस्तै ३ वर्षमा एशियनले जीवन बीमा शुल्क संकलन दोब्बर बनाएर ४ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुर्याउने भएको छ । चालु आवमा २ अर्ब ८७ करोड १० लाख र आगामी वर्ष ३ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । समीक्षा अवधिमा जगेडा कोषमा रहने रकम १४ करोड २४ लाख रुपैयाँ हुनेछ । एशियनले फागुन १३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द चैत १८ गते हुनेछ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ ।  

ओलीलाई मोदीको बधाई, भारत भ्रमणको निम्तो

भक्तपुर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिए । टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताएका थिए। भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताउनु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए । राजदूत पुरी मध्यराति बालकोटमा त्यसैगरी, भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिएका छन् । राजदूत पुरीले भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ । ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्दै शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास, सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने उल्लेख गरिएको छ । त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न भारत तयार रहेको पत्रमा उल्लेख रहेको प्रेस संयोजक अधिकारीले बताए । बिहीबार राति नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् । ओली निवासमा बधाई दिनेको ओइरो त्यसैगरी प्रधानमन्त्री ओली निवास बालकोटमा बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । बिहीबार रातिदेखि नै भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रहरीका उच्च पदस्थ अधिकारीहरु, शुभचिन्तक, नेता, कार्यकर्ता, सांसद लगायतको भीड लागेको छ । आज बिहान पनि ओली निवास बालकोटमा प्रधानमन्त्री ओलीलाई बधाई दिनेको ओइरो लागेको छ । रासस

ओम डेभलपमेन्ट बैंकको साधारणसभा फागुन २५ मा, ३७ करोड ८१ लाखको बोनस सेयर वितरण प्रस्ताव पारित गर्ने

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको ११ औं साधारणसभा फागुन २५ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले संस्थापक सेयरधनी र साधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने भएको छ । सभाले बैठक भक्ता बढाउने र कार्यकारी सञ्चालक र कार्यकारी प्रमुखको कार्यकाल कायम गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सेञ्चुरी बैंकको साधारणसभा फागुन ३० मा, १० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको सातौ वार्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट नगद र बोनसगरी सेरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । बैकले ५ प्रतिशत अर्थात ३८ करोड ३९ लाख रुपैयाँ नगद र सोही रकम बराबरको बोनस सेयर दिने प्रस्ताव पारित हुने जानकारी दिएको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ८ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । यस्तै पुँजीगत रुपमा ठुलो बैंक बनाउन स्वदेशी तथा विदेशी संस्थालाई गाभ्ने वा रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौताका लागि सभाले सञ्चालक समितिलाई पुर्ण अधिकार दिने प्रस्ताव पनि पारित हुने छ ।