विकासन्युज

हप्तादिनमै रजिष्ट्रारको कार्यालयले बनायो दुई नियम, कम्पनीहरुले अनिवार्य लागू गर्नुपर्ने–होमेगाँई

काठमाडौं। हप्तादिनको अन्तरमा कम्पनी रजिष्ट्रारको कार्यालयले दुई ओटा नियम बनाएको छ । कार्यालयले आफ्नो कार्य तथा दिदै आएको सेवा सुबिधालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ती नियमहरु बनाएको हो । कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख गीता कुमारी होमेगाँईले कम्पनीको कामकाजलाई सहज र सुरक्षित बनाउन हप्दानिको अन्तरालमा कानुन अनुसार दुई ओटा नियम लागु गरेको बताइन् । उनका अनुसार कार्यालयमा पेश गर्ने कागजात नेपाली भाषमा अनुवाद गरी पेश गर्नु पर्ने र कम्पनी सचिव र अख्तियारवलाहरुले अनिवार्य परिचयपत्र ल्याउन पर्ने नियम राखिएको छ । उनका अनुसार यसअघि कम्पनीहरुले मनपरी ढङ्गले विभिन्न भाषामा कागजातहरु ल्याउने गरेका थिए । ‘विशेषगरी अङ्ग्रजी लगायतका आफुलाई पायक पर्ने चाइनिज भाषामा कागजातहरु ल्याउथे,’ उनले भनिन् ‘त्यसलाई नियन्त्रण गर्न कार्यालयमा पेश गर्ने आवश्यक काजजात अनिवार्य नेपालीमा हुन पर्ने नियम बनाएका हौं ।’ कम्पनीले माघ १४ गतेदेखि सो नियमलाई लागु गरिसकेको बताएको छ । कम्पनीहरुले कार्यालयमा कम्पनीको साधारण सभाको निर्णय पुस्तिका वा निर्णय उतार, सञ्चालन समितिको निर्णय, शेयर लागत, शेयर खरिद बिक्री सम्बन्धी कागजात लगायत नियमित कागजातरु अनिवार्य रुपमा नेपाली भाषामा पेश गर्नु पर्ने हुन्छ । त्यस्तै विभिन्न कम्पनीहरुबाट कार्यालयको लागि कामको सिलसिलामा आएका कम्पनी सचिव तथा आधिकारिक अख्तियारवालाहरुले अनिवार्य कम्पनीबाट जारी भएको आधिकारीक परिचयपत्र लगाउन पर्ने अर्को नियम रहेको रजिष्ट्रार कार्यालयका प्रमुख होमेगाँईले बताइन् । उनका अनुसार कम्पनीमा अनावश्यक मानिसहरु आउन सक्ने, कागजात तथा फाइलहरु हराउन सक्ने लगायत जोखिमलाई मध्यनजर गर्दै कम्पनी सचिव तथा अख्तियारवलाले आधिकारीक परिचयपत्र लागाउन पर्ने नियम राखिएको हो । जसबाट कार्यालयमा रहेको फाइलको सुरक्षा हुने, भिडभाड घट्ने लगायत कार्र्यमा सहयोग मिल्ने उनको बुझाइ छ । केही दिन अघिदेखि मात्रै उक्त नियम राजिस्ट्रारको कार्यालयमा लागु गरिएको हो ।

तीन लाख भूकम्प पीडितले दोश्रो किस्ता पाउने बाटो खुल्यो

काठमाडौं । तीन लाख भूकम्प पीडितलाई घर बनाउन दोश्रो किस्ता लिने बाटो खुलेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन लाख भूकम्प पीडितलाई दोश्रो किस्ता लिने बाटो खोलिदिएको हो । अब २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितहरुले चैत मसान्तसम्म दोश्रो किस्ताका लागि आवेदन दिन सक्नेछन् । यस अघि २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि नै दोश्रो किस्ताका लागि निवेदन नदिए त्यसपछि दोश्रो किस्ता नपाउने निर्णय निर्देशक समितिले नै गरेको थियो । २०७४ कात्तिक २९ गतेको सो निर्णयले ३ लाख भूकम्प पीडितले दोश्रो किस्ता नपाउने अवस्था बनेको थियो । बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्प पीडितका लागि पछिल्लो समय थप गरिएको एक लाख रुपैयाँको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको उल्लेख गर्दै बिश्व बैंकले ४० अर्ब रुपैयाँ दिने सहमति भएको जानकारी गराएका थिए । समितिका उपाध्यक्ष भीम रावलले भूकम्पपछिको पुनर्निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्ने कार्यले भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको रावलको धारणा थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनु पर्ने आवश्यकता लगायतका बिषयमा बैठकलाई जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत भूसालले निजी आवास पुनर्निर्माण लक्ष्यको करिब ५० प्रतिशत पुरा हुन लागेको बताएका थिए । योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट ४ खर्ब बढी रकम प्रतिबद्धतता आएकाले पुनर्निर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्न सकिने सुझाव दिएका थिए ।  

मोटरबाटो बिनानै गाडी खरिदको बोलपत्र, स्थानीय बासिन्दा आक्रोशित

हुम्ला । सिमीकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । गाउँपालिकाले गाडी खरिदका लागि ४३ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको पाइएको छ । बिना पूर्वाधार गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरेको हो । राष्ट्रिय सडक सञ्जालले समेत नजोडिएको एकमात्र जिल्ला हुम्ला हो । छिमेकी राष्ट्र चीनसँगको नाकाको हिल्सा-सीमकोट सडकखण्डले समेत जोड्न बाँकी रहेको छ । स्थानीय सरकारको गठनपश्चात् पनि स्थानीय सरकारले विकास बजेटलाई जनप्रतिनिधि तथा कर्मचारीलाई भ्रमण तथा दैनिक भत्तामा खर्च गरी चरम दुरुपयोग गरिरहेको पाइन्छ । यस गाउँपालिकाले पनि स्थानीय पदाधिकारी र कर्मचारीलाई ज्याकेट खरिद गरी वितरण गरेको पाइएको छ । स्थानीय बजारमा रु दुई हजार ५०० मा पाइने ज्याकेटलाई रु पाँच हजारमा खरिद गरी ४६ जना प्रतिनिधि र ३० जना कर्मचारी गरी जम्मा ७६ जनालाई वितरण गरेको छ । ज्याकेट खरिदमा रु तीन लाख ८० हजार गाउँपालिकाको खर्च भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार अत्यन्त चिसोका कारण गाउँ कार्यपालिकाले निर्णय गरेर नै ज्याकेट खरिद गरी वितरण गरिएको जानकारी दिए। रासस

नापतौल कार्यालयद्धारा १० उद्योगलाई पत्राचार, तीन दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले ललितपुरका १० उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ । कार्यालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई यही पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन दिनभित्र उपस्थित हुन पत्र काटेको हो । कार्यालयले शुक्रबार नेपलिज हेण्डिक्राफ्ट, केबी पेट, विजु प्लास्टिक उद्योग प्राली, बैकुण्ठ कलात्मक काष्ठ उद्योग, स्ट्रक्चर नेपाल प्राली, ताम्राकार युटेन्सिल उद्योग, सुपर क्वालिटी प्लास्टिक उद्योग, पूर्ण उड कार्भिङ्ग, विरा फर्निचर र उड कार्भिङ्ग उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले तौलने यन्त्र नियमित गराउन जानकारी गराएकोमा एक महिनासम्म पनि नियमित गराउने कार्य नगराएपछि उपस्थित हुन पत्र काटिएको जानकारी दिए । पत्रमा उपस्थित नहुनुको कारणसहित खुलाउन समेत अनुरोध गरिएको छ । रासस

कैलाश विकास बैंक रुपन्देहीको भैरहवामा, थप तीन शाखा संचालन गर्ने तयारी

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा आफ्नो ४३ औँ शाखा स्थापना गरी माघ २६ गते(आज)देखि कारोबारको शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ संस्थाका संचालक समितिका अध्यक्ष्य नारायणप्रसाद पौडेलले एक समारोहका बिच गरेका छन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४३ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, मोरङ्ग जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको विरगंजमा गरी थप तीन शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हालसम्म १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न, १५ अर्ब रूपैयाँ लागत

दार्चुला । सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ । शैल्यशिखर नगरपालिका-१ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छभने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो । सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । आठ अर्ब ३४ करोड रूपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रूपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजना निर्माणमा ढिलाइ हुँदा सरकारले करिब १६ अर्ब रूपैयाँ गुमाउन पुगेको छ । प्रधानमन्त्रीबाट आयोजनाको उद्घाटन हुने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आयोजनास्थल बलाच आउनु हुने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन थाल्ने उनले बताए । रासस

उन्नति माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत पुस २१ गतेदेखि २५ गतेसम्म निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कुल दुई लाख ४६ हजार ८९४ जनामध्ये १५ हजार १५ जना सर्वसाधारणले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । उक्त सर्वसाधारणलाई गोलाप्रथाबाट १० कित्ताका दरले जम्मा एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ । कुल आवेदक मध्ये २ लाख ४४ हजार ४२७ जनाको आवेदन बाँडफाँड भएको थियो । त्यसमा २ हजार ४६७ आवेदन रद्द भएको छ भने दुई लाख २९ हजार ४१२ जनाको हात खाली भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । हाल यस संस्थाको चुक्ता पुँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । सो मात्राको आईपीओ पश्चात कम्पनीको पुँजी साँढे ५ करोड रुपैयाँ नाघ्ने छ ।

७ वटा जीवन बीमा कम्पनीको प्रीमियम १५ अर्ब, ४८ प्रतिशत हिस्सा नेपाल लाइफको(सूचीसहित)

काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको प्रीमियम करिब १५ अर्ब पुगेको छ । चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ७ वटा जीवन बीमा कम्पनीहरुले १४ अर्ब ९८ करोड ३६ लाख प्रीमियम संकलन गरेका हुन् । ती कम्पनीहरुले बीमा समितिमा बुझाएको प्रारम्भिक विवरण अनुसार ३७ लाख ४७ हजार ८ सय १७ जना बिमितहरुबाट सो प्रिमियम संकलन गरिएको हो । हालसम्म नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, मेटलाइफ, एसियन लाईफ, सुर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तको वित्तिय विवरण बीमा समितिलाई बुझाएका छन् । पुस मसान्त अवधीमा संकलित कुल प्रीमियममा ४८.२२ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नै ओगटेको देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्त अवधीमा १० लाख ८० हजार २ सय ६६ बिमितबाट ७ अर्ब २२ करोड ५१ लाख रुपैंयाँ बराबरको प्रीमियम संकलन गरेको हो । त्यस्तै, नेशनल लाइफले २ अर्ब ६० करोड प्रीमियम संकलन गरेको छ भने प्राइम लाइफ, एसियन लाइफ र मेट लाइफले एक अर्ब भन्दा बढि प्रीमियम संकलन गर्न सफल भएका छन् । पुस मसान्त अवधीमा सबै भन्दा थोरै प्रीमियम गुराँस लाइफले संकलन गरेको छ । गुराँसले जम्मा ५९ करोड ८३ लाख प्रीमियम संकलन गरेको हो ।