चिलिमे हाइड्रोपावरको नाफा घट्यो, ६ महिनामा ५२ करोड ४६ लाख मात्र
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको ६ महिनामा नाफा घटेको छ । गत पुससम्म चिलिमेले ५२ करोड ४६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५४ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा साढे २ करोड रुपैयाँ नाफा घटेको छ । नेपाल विद्युत् प्राधिकरणले थप उत्पादन भएको बिजुली खरिद नगर्दा आम्दानी ३.३७ प्रतिशतले कमी आएपछि नाफा बढ्न नसकेको कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्तै ब्याज तथा अन्य आम्दानी ४६ प्रतिशतले बढेको कम्पनीले जानकारी दिएको छ । समीक्षा अवधिमा चिलिमेले बिजुली बिक्रीबाट ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा छ । संचित कोष ४ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ वचत रहेको छ ।
सोलारको पीपीए नहुदा अपी पावर कम्पनीको २ अर्ब २७ करोडको हकप्रद सेयर रोकियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सौर्यऊर्जा खरिदबिक्री सम्झौता (पीपीए) नगरेपछि अपी पावर कम्पनी लिमिटेडको २ सय प्रतिशत हकप्रद सेयर निष्कासन रोकिएको छ । नियामक नेपाल धितोपत्र बोर्डले सोलार पीपीए भएपछि मात्र हकप्रद निष्कासन गर्न दिने भनेपछि रोकिएको हो । गत पुसमा सम्पन्न अपीको साधारणसभाले सौर्यऊर्जा र जलविद्युत आयोजनामा लगानी गर्न २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पारित गरेको थियो । अपीले विभिन्न स्थानमा १८ मेगावाट सोलार प्लाण्ट स्थापना गरी बिजुली उत्पादन गर्ने तयारी थालेको छ । कुल हकप्रद मध्ये कम्पनीले १ अर्ब २६ करोड ८० लाख रुपैयाँ विभिन्न सौर्यऊर्जा आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । यस्तै १ अर्ब भने जलविद्युत आयोजनामा लगानी गर्ने अपीको तयारी छ । सोलार पीपीए नहुदा हकप्रद निष्कासन गर्न नपाएको अपीका सञ्चालक सतिश न्यौपाने बताउछन् । सौर्यऊर्जाको पीपीए नभएसम्म बोर्डले हकप्रदका लागि स्वीकृति नदिने भनेको उनले जानकारी दिए । प्राधिकरणले पीपीए गर्न नमानेको उनको भनाई छ । विद्युत प्राधिकरणले प्रतियुनिट अधिकतम् ९ रुपैयाँ ६१ पैसामा सोलार आयोजनासंग बिजुली किन्ने भन्दै निजी कम्पनीबीच प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धाबाट सोलार आयोजनाले प्रतियुनिट ८ रुपैयाँ ४५ पैसासम्म पीपीए दर पेश गरेका थिए । ऊर्जा मन्त्रालयले सोलार सम्बन्धित नयाँ कार्यविधी ल्याइ प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर हुने भनेपछि प्राधिकरणले पीपीए गरेको छैन् । यता भारतमा सोलारको मूल्य घटेको भन्दै पीपीए गर्न अटेर गरेको छ । त्यसबेला २१ कम्पनीले ६३ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने प्रस्ताव प्राधिकरणमा गरेका थिए । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले यसअघि २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना पनि निर्माणको तयारी थालेको छ । अपीको नाफा घट्यो चालु आर्थिक वर्षको ६ महिनामा अपि पावरको नाफा घटेको छ । गत पुससम्म कम्पनीले ३ करोड १३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाा नाफा गरेको छ । यो वर्षको ६ महिनामा अपीको नाफा ३२ लाख रुपैयाँ घटेको छ । अपीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिकक वित्तीय विवरणमा नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको जानकारी दिएको छ । ईपीएस घटेर ५ रुपैयाँ ९७ पैसामा झरेकोे छ । गत आवको सोही अवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ५८ पैसा थियो । गत पुससम्म अपीले बिजुली बिक्रीबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । ६ महिनामा अपीको आम्दानी ७५ लाख रुपैयाँ घटेको छ । कम्पनीको संचित कोषमा १२ करोड १४ लाख रुपैयाँ छ ।
बिजी मलमा विन्टर मेगा सेल सुरु, ५० प्रतिशतसम्म छुट
काठमाडौं। गोगंबु स्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । उक्त सेलको अवसरमा मलमा सपिङ गर्ने ग्राहकहरुले विभिन्न वस्तुको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । भ्यालेण्टाइन डेको अवसर पारेर ग्राहलाई विभिन्न आकर्षक अफरहरु समेत राखिएको बताइएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन सेल आयोजना गरिएको मेलाका संयोजक हिरामणि तिमल्सिनाले बताए । जाडो मौसम तथा भ्यालेण्टाइन डेलाई लक्षित गरी फेब्रुवरी ९ देखि सुरु भएको मेला फेबु्रवरी २४ सम्म सञ्चालन हुने उनको भनाइ छ । मलको अनुसार सेलको अवधिमा ग्राहकहरुले दैनिक रुपमा विभिन्न उपहारहरु जित्न सक्ने छन् । हरेक सामानको खरिदमा ५० प्रतिशतसम्मको छुट दिइनेछ । मलमा घरायसी, विद्युतीय सामग्री, मोबाइल, लत्ता–कपडा, जुत्ताचप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्यका सामग्री लगायत उपलब्ध हुनेछ । मेलामा विभिन्न सामानको खरिदमा ग्राहकहरुले दैनिक रुपमा सिनेमाको टिकट, लन्च कुपन, शपिङ्ग भौचर, स्मार्टफोन लगायत जित्ने अवसर समेत रहेको संयोजक तिमल्सिनाकोे भनाइ छ । साथै सेलको अबधिमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समेत राखिएको बताइएको छ ।
एनआईबीएल र एस क्यापिटल गाभिए, आईतबारदेखि संयुक्त कारोबार
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड गाभिएर एकिकृत कारोबार सुरु गरेका छन् । दुबै कम्पनी गाभिएर एनआईबीएल एस क्यापिटल लिमिटेडको रुपमा आइतबादेखि संयुक्त कारोबार गर्ने भएका हुन् । गत कात्तिक २३ गते दुई संस्थाबीच भएको सहमतीपत्र बमोजिम दुवै कम्पनील गत मंसिर २९ गते विशेष साधारण सभाको गरी गाभ्ने प्रस्ताव पारित गरेका थिए । यो मर्जर पश्चात एनआईबीएल एस कम्पनीको चुक्ता पूंजी २७ करोड रुपैयाँ पुग्ने छ । हालसम्मकै सवैभन्दा बढी चुक्ता पूंजी भएको धितोपत्र व्यवसायी एनआईबीएल भएको छ । एनआईबीएलका १ लाख ४२ हजार भन्दा बढी हितग्राहीखाता, ४ वटा शाखाकार्यालय, थप ३ वटा खुल्ने क्रममा र ३८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब १० लाख शेयरधनलाई सेवा दिने छ ।एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गरेपछि सहायक संस्था एनआईबीएलले एसलाई पनि गाभेको हो ।
दोस्रो पुस्ताको राडार सञ्चालन पछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ । अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जनाएको छ । यही माघ १८ गतेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो । एयर ट्राफिक कन्ट्रोलर सीताराम भण्डारीका अनुसार दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ । उनले भने , “एयर स्ट्रेस क्यापासिटी बढेको छ । एयर ट्राफिक म्यानेजमेन्टमा समेत थप सहजता आएको छ । विगतमा भन्दा सेवा पनि स्तरीय र प्रभावकारी देखिएको छ ।” सबैभन्दा महत्वपूर्ण उपलब्धिका रुपमा निगरानी क्षमतामा समेत बढोत्तरी भएकाले नेपालको आकाश थप सुरिक्षत भएको प्राधिकरणको भनाइ छ । विगतमा रेडियो तरंगमार्फत सम्पर्क स्थापित गरिन्थ्यो भने हाल श्रव्य तथा दृश्य नै उपलब्ध हुने भएकाले जहाजको उडान अवस्थाका बारेमा सहजै जानकारी लिन सकिन्छ । हवाई सेवा सुरक्षित र भरपर्दो भएको जानकारी दिनुहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले प्रविधिको प्रयोग थप उचाइमा पुगेको बताए। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्यासमेत क्रमशः अन्त्य हुँदै गएको छ । भट्टेडाँडाको ८ हजार २०० फिट अर्थात् २ हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको नियमित अनुगमन तथा परीक्षणसमेत भइरहेको छ । विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने हाल सञ्चालनमा रहेको राडारबाट श्रव्य दृश्यसहितको जानकारी लिने गरिएको छ । उक्त राडारको लागत १ अर्ब रुपैयाँ छ । राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिएको छ । “राडारको कामको सूक्ष्म अनुगमन नियमितरुपमा भइरहेको छ । यसको प्रभावकारिताका बारेमा विश्लेषण पनि भइरहेको छ । हवाई उडानमा केही सहजता थपिएको छ,” प्रवक्ता ठाकुरले भने। नयाँ राडारबाट काठमाडौदेखि ४५० किलोमिटरको दूरीमा रहेको जहाजको अवस्थाबारे जानकारी लिन सकिएको छ । विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने भएपछि सहजता उत्पन्न भएको हो । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ । नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भू–भाग समेटिएको र उडान थप सुरक्षित हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको बताए। “नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ,” उनले भने। नेपालको पूर्वका सबै भू–भाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाइएकाले पनि थप सुरक्षित र व्यवस्थित महसुस भएको प्राधिकरणको भनाइ छ । पुरानो राडारले करिब ११० किमी ९६० एरोनटिकल माइल परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किमी ९२५० एरोनटिकल माइल०सम्मको जहाजको सम्पूर्ण जानकारी पाउन थालिएको छ । निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि हाल जडित राडारलाई विस्तार गर्ने योजना अगाडि सारिएको छ । उक्त विमानस्थलमै नयाँ राडार जडान गरेर देशको सबै उडान क्षेत्र समेट्ने तयारी पनि सँगसँगै भइरहेको छ । आगामी डेढ वर्षभित्र उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ । रासस
एफपीओ आउने भएपछि नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार
काठमाडौँ । धितोपत्र बजारमा यस साता १ अर्ब ५५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार रकम गत साताको भन्दा १३.३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता सेयर १ अर्ब ३६ करोड ८८ लाख ९१ हजारमा रुपैयाँमा खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९.४८ अंकले घटेर अन्तिम दिन १ हजार ३९१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.९४ अंकले घटेर २९४ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको १६ करोड ४७ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता सेयर कारोबार भएको हो । बैंकले पौने २ अर्ब रुपैयाँको थप निष्कासन (एफपीओ) ल्याउने भएपछि सेयर कारोबार बढेको हो । बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ बोनस शेयर, आइएसडिसी लघुवित्तको २३ लाख कित्ता हकप्रद र छिमेक लघुवित्त वित्तीय संस्थाको १६ लाख ५९ हजार २९३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यस्तै आइसिएफसी फाइनान्स कम्पनीको ८ लाख ३ हजार ८८५ कित्ता, सोल्टी होटलको ८६ लाख ८८ हजार २४४ कित्ता र स्वदेशी लघुवित्त संस्थाको एक लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको स्टकले जनाएको छ । रासस
रसुवाका सांसद मोहन आचार्यले सडक खन्न १ करोड ७० लाखका स्काभेटर र डोजर दिए
काठमाडौं । निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धताअनुसार रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नै लगानीमा जिल्लाको सडक निर्माण कार्यलाई अगाडी बढाएका छन् । समृद्ध रसुवा निर्माणको मुद्धा लिएर निर्वाचनमा गएका सांसद आचार्यले सडक सञ्जालले नछोएका गाउँटोलमा बाटो पुर्याउन व्यक्तिगत लगानीमा १ करोड ७० लाख रुपैयाँका स्काभेटर र डोजर उपलव्ध गराएर सडक पुर्याउने कार्यको शुरुवात गरेका हुन । रसुवाको सबै ठाउँमा बाटो नपुग्दासम्म आफुले उपलव्ध गराएको स्काभेटर र डोजरले निःशुल्क सेवा प्रदान गर्ने सांसद आचार्यले बताए । बाटो नभएर गाउँघरमा अहिले पूननिर्माण कार्य गर्दा ढुवानीलागत बढी रहेकाले कम गर्ने उदेश्यले पनि बाटो निर्माण कार्यलाई प्राथमिताका साथ अगाडी बढाईएको आचार्यले जानकारी िदए । रसुवाको कालीकास्थान गाउँपालीकाको लामाटोलमा शनिबार आयोजित एक कार्यक्रममा सांसद आचार्यले स्थानिय गाउँपालीकाको अधिनमा रहने गरी स्काभेटर र डोजर हस्तान्तरण गरे।जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ ,पार्व्तिकुण्ड गाउँपालिकाको हाकु,सानो हाकु,नेसिङ लगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन । कार्यक्रममा रसुवाका प्रदेश सासंद प्रेम तामाङले आफ्नो व्यक्तिगत लगानीमा जिल्लाको विकास गर्न अगाडी सर्ने सासंद आचार्यका कारण संमृद्ध रसुवा निर्माण अभियानले छिटै सार्थकता पाउने बताए ।यसका अतिरिक्त भुकम्पबाट विस्थापित खाल्टेका विस्थापितहरुलाई एकिकृत बस्ती निर्माण गरेर पार्व्तिकुण्ड गाउँपालिकाको तिरमापूनस्थापित गर्न सासंद आचार्य लागी परेका छन् । यसका लागी पूननिर्माण प्रधिकरणबाट प्राविधिक लागत स्टिमेट तयार सम्पन्नभै रकम निकासा हुनेक्रममा छ । रसुवाको दुर्गम भेगका नागरिककालागी नियमितरुपमा स्वास्थ्य सेवा पुर्याउने हाललाई हप्ताको एक दिन पार्वतीकुण्ड गाउँपालिकाको गोल्जुङबाट यो सेवा शुरु गरिएको छ ।
चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्रीले गरे उद्घाटन, ३० मेगावाट बिजुली थपियो
काठमाडौं । सरकारी लगानीबाट निर्माण भएको चमेलिया जलविद्युत आयोजनाबाट औपचारिक रुपमा बिजुली उत्पादन सुरु भएको छ । दार्चुला जिल्लामा रहेकाले ३० मेगावाट क्षमताको चमेलिया आयोजनाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । दुई युनिटको सफल परीक्षण भएपछि शनिबारदेखि व्यावसायिक उत्पादन शुरु गरेको हो । शैल्यशिखर नगरपालिका १ बलाँचमा निर्माण भएको आयोजनाबाट गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिसकेको छ । यस्तै दोस्रो युनिटबाट एकसाता अघि मात्र १५ मेगावाट विद्युत् उत्पादन शुरु गरेको हो । अर्धजलासययुक्त आयोजना चमेलियाबाट साँझ दैनिक ६ घण्टा पुर्ण रुपमा बिजुली उत्पादन गर्छ । सन् २००८ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । ८ अर्ब ३४ करोड रूपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको चमेलिया सम्पन्न गर्दा १५ अर्ब रूपैयाँ खर्च भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजनाको प्रति मेगावाट लागत ५० करोड रुपैयाँ पुगेको छ । निर्माण भएका मध्ये चमेलिया सबैभन्दा महंगो आयोजना हो । विद्युतगृह तर्फको जग्गा खरिद, सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलका लागि ७ अर्ब ८४ करोडर परामर्श सेवा तर्फ करिव ६० करोड रुपैयाँ गरी ८ अर्ब ४४ करोड खर्च भएको आयोजनाले जनाएको छ । निर्माणको क्रममा देखिएका कठिन भौगर्भिक समस्याहरुलाई प्राविधिक जटिलताको रुपमा लिई तत्काल समाधान गरिनुको सट्टा शंकाको दृष्टिकोणले मात्र हेर्दा सिर्जित समस्याले करिव १८ महिना निर्माणाधिन आयोजना पूर्णरुपले बन्द हुन पुग्यो । जसले गर्दा आयोजनाको लागत र समयमा केहि वृद्धि हुन गएको हो । आयोजना १३१ किलोमिटर लम्बाईको बलाँच–अत्तरिया प्रसारणलाइन निर्माणमा २ अर्ब ५४ करोड, १३२/३३ केभी तथा ३३/११ केभी. सवस्टेशन निर्माण र ३३/११ केभी प्रसारणलाईन निर्माणमा १९ करोड ४८ लाख, सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा ५ करोड रुपैयाँ खर्च भएको छ । यस्तै मूल्य समायोजना, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा ३ अर्ब रुपैयाँ गरी करिव ६ अर्ब १८ करोड ४८ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ । आयोजनाले तयार पारेका प्रसारणलाईन लगायत भौतिक संरचनाको उपयोग गरी अपि हाइड्रोपावर कम्पनी लिमिटेडको ८.५ मेगावाटको आयोजना संचालनमा आइसकेको छ । यस्तै माथिल्लो चमेलिया ८५ मेगावाट, मध्यचमेलिया १६ मेगावाट र कलिंगागाड ६५ मेगावाट, छत्तिगाड २५ मेगावाट आयोजनाको निर्माण शुरु हुने क्रममा छन् । यो वर्ष चमेलियालगात निजी क्षेत्रबाट गरी १३८ मेगावाट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । यो वर्षदेखि बिजुलीको जडित क्षमता १ हजार मेगावाट नाघने छ ।