विकासन्युज

गुँरास लाईफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी

काठमाडौं । गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारीका क्रममा निधन भएका काभ्रेपलाञ्चोकको खानीखोलाका सुमन तामाङ्ग थिङ्गका पिता सन्तवीर तामाङ्ग थिङ्गको चेक उनको अर्को छोरा धनबहादुर थिङ्गलाई १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले आइतबार एक कार्यक्रम मार्फत उक्त बीमा दावी भूक्तानी धनबहादुर थिङ्गलाई हस्तान्तरण गरेका हुन् । तामाङ्गले यस कम्पनीमा म्यादी जीवन बीमा गराएका थिए ।

३७८ ठूला ग्राहकको लाइन काटियाे, ९० लाख ६४ हजार बराबरको महसुल तिर्न बाँकी

काठमाडौं । ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले रु ९० लाख ६४ हजार बराबरको महसुल तिर्न बाँकी छ । लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा विद्युत् चोरी भइरहेको पाएपछि चोरी नियन्त्रण अभियानलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको प्राधिकरणले पछिल्ला दिनमा लामाटार, लाँकुरी भञ्ज्याङ र च्यासल क्षेत्रमा हुकिङ हटाउन अभियानलाई तीव्र पारेको छ । प्रमुख यादवका अनुसार स्थानीय सुरक्षाकर्मी, जनप्रतिनिधि र नागरिक समाजका अगुवाको सहयोगमा दैनिक तीन दर्जनभन्दा बढी हुकिङ हटाउने र चोरीका उपकरण जफत गर्न थालिएको छ । प्राधिकरणले हुकिङ सामग्रीसहित स्थानीयवासीलाई पक्राउ गर्दै कारबाहीको प्रक्रिया शुरु गरेको छ । एक सातामा मात्रै रु छ लाख ५० हजार बराबरको जरिवाना रकमसमेत उठेको छ । चोरी नियन्त्रण अभियानलाई आक्रामक रुपमा सञ्चालन गरिएपछि एकै ग्राहकले रु एक लाख ५० हजारसम्म तिर्न थालेका छन् । प्राधिकरणले मिटर नभएका ग्राहकलाई निवेदन दिएको सात दिनभित्र मिटर उपलब्ध गराउन थालेको छ । महानगर, नगरपालिका र गाउँपालिकाका वडा कार्यालयमा नै विद्युत् मिटर उपलब्ध गराउन शुरु गरिएको प्रमुख यादवले बताए । अटेर गर्नेलाई भने कारबाही गर्ने र कुनै पनि दबाबलाई स्वीकार नगर्ने रणनीतिका साथ प्राधिकरण चोरी नियन्त्रण अभियानमा लागेको जनाइएको छ । प्राधिकरणका अनुसार ललितपुरमा मात्रै रु ५० करोड बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ । रासस

विद्युत्भार कटौतीको अन्त्यपछि औद्योगिक क्षमता बढ्यो

काठमाडौं । विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आव २०७२/७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको पाइएको हो । आव २०७२/७३ मा औद्योगिक क्षमता ४८ दशमलव २ प्रतिशत रहेकामा आव २०७३/७४ मा ५७ दशमलव ३ प्रतिशतमा पुगेको बैंकले जनाएको छ । समीक्षा अवधिमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगमा पस्मिना उद्योग रहेको छ । सो उद्योगले ९८ दशमलव ५ प्रतिशत क्षमता उपयोग गरेको छ । यस्तै बियर उद्योग ८२ दशमलव १ प्रतिशत, चाउचाउ उद्योग ७९ दशमलव १ प्रतिशत र प्रशोधित चिया उत्पादन गर्ने उद्योग ७८ दशमलव ६ प्रतिशत क्षमता उपयोग गरेका छन् । गत वर्ष यी उद्योगको क्षमता उपयोग क्रमशः ८८ प्रतिशत, ६२ दशमलव ८ प्रतिशत, ८३ दशमलव ३ प्रतिशत र ६५ दशमलव ५ प्रतिशत रहेको थियो । बैंकका अनुसार सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगमा चामल उद्योग २८ दशमलव ८ प्रतिशत, चिनी उद्योग ३१ दशमलव २ प्रतिशत र इँटा उत्पादन गर्ने उद्योग ३५ दशमलव ७ प्रतिशत रहेका छन् । ऊर्जा आपूर्तिमा सुधार भएको, बन्द हडताललगायतका आपूर्तिजन्य अवरोधमा कमी आएको, पुनःनिर्माण कार्यका कारण निर्माणजन्य सामग्रीको मागमा वृद्धि भएको तथा औद्योगिक श्रम सम्बन्धमा सुधार आएको बैंकले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाका अनुसार सहज ऊर्जाको उपभोग नै औद्योगिक क्षमता बढ्नुको खास कारणका रुपमा पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोगका लागि २४सै घण्टा विद्युत् उपलब्ध गराए पनि औद्योगिक करिडोरमा भने गत वर्ष दैनिक चार घण्टा र यस वर्ष दैनिक तीन घण्टामात्रै विद्युत्भार कटौती गर्दै आएको छ । महासंघका अध्यक्ष राणा उद्योगले २४सै घण्टा विद्युत् पाउने हो भने औद्योगिक क्षमता वार्षिक रुपमा १५ प्रतिशतभन्दा बढी पुग्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले केही दिन पहिले आयोजना गरेको कार्यक्रममा राणाले औद्योगिक क्षमता वृद्धिको प्रमुख आधार ऊर्जा नै भएकाले थप सहजीकरण हुनुपर्ने बताएका थिए। समीक्षा अवधिमा वनस्पति घ्यू तथा तेल समूहको उत्पादन ३९ दशमलव २, समग्र पेय पदार्थको उत्पादन २७ दशमलव २ र लत्ताकपडा समूहको (धागो, सिन्थेटिक कपडा र पस्मिनाको औसत) उत्पादन २८ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अन्न तथा पशुदाना समूहको उत्पादन १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अन्य खाद्य पदार्थ समूहअन्तर्गत बिस्कुट, चाउचाउ र प्रशोधित चियाको उत्पादनमा वृद्धि भएको छ भने चिनी र चकलेटको उत्पादनमा कमी आउँदा अन्य खाद्य पदार्थ समूहको समग्र उत्पादनमा १५ दशमलव ३ प्रतिशतले ह्रास आएको छ । क्षेत्रगत रुपमा काठमाडौँ क्षेत्रमा मुख्यतया प्रशोधित दूध, हल्का पेय पदार्थ, पस्मिना, चाउचाउ, रंग, औषधि, जुत्ता आदिको उत्पादन हुने गरेको छ । विराटनगर क्षेत्रमा वनस्पति घ्यू, तेल, चिनी, चाउचाउ, चिया, जुटका सामान, प्लास्टिकका सामान, फलामको छड तथा पत्ती, धातुका उपकरण, सिमेन्ट आदिको उत्पादन प्रमुख रहेका छन् । यस्तै जनकपुर क्षेत्रमा चिनी, मदिरा, कागज, इँटा, सिमेन्ट आदिको उत्पादन बढी छ भने वीरगञ्ज क्षेत्रमा मुख्य रुपमा वनस्पति घ्यूउ, तेल, प्रशोधित दूध, पशुदाना, चिनी, हल्का पेय पदार्थ, चुरोट, छाला, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला र औषधि उत्पादन हुने गरेको छ । यस्तै पोखरा क्षेत्रमा बिस्कुट, चाउचाउ, रबरजन्य वस्तु आदिको उत्पादन हुन्छ भने सिद्धार्थनगर क्षेत्रमा गहुँको पिठो, पेय पदार्थ, औषधि र सिमेन्ट उत्पादन हुने गरेको छ । वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा २१ प्रतिशतले कर्जा प्रवाह वृद्धि गरेका छन् । केन्द्रीय बैंकका अनुसार औद्योगिक क्षेत्रमा रु छ खर्ब ३७ अर्ब १८ करोड लगानी पुगेको छ । अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाले कूल औद्योगिक कर्जा लगानीमा काठमाडौं ५८ दशमलव ९, विराटनगर ११ दशमलव ४, वीरगञ्ज ९ दशमलव २, पोखरा ६ दशमलव ७, सिद्धार्थनगर ६ दशमलव ४, नेपालगञ्ज ३ दशमलव ४, धनगढी २ दशमलव २ प्रतिशत र जनकपुर क्षेत्रमा कूल १ दशमलव ८ प्रतिशत लगानी बढाएका छन् । ठूला बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय काठमाडाँैमा नै रहेका र कर्जा लगानीसम्बन्धी अख्तियारी रहिरहने भएकाले पनि कूल कर्जा लगानी बढी काठमाडौँमा नै देखिएको हो । पुनःनिर्माण प्राधिकरणबाट भूकम्पपीडितलाई दोस्रो तथा तेस्रो किस्ताको रकम वितरणमा ल्याएको तीव्रता, भत्किएका सरकारी संरचनाको पुनःनिर्मार्णले गति लिएको तथा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा पूर्वाधार क्षेत्रमा निर्माणजन्य सामग्री इँटा, सिमेन्ट र फलामे छड बढी आवश्यक पर्ने भएकाले ती उत्पादन बढ्ने देखिएको बैंकको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरण उद्योगलाई बढीभन्दा बढी विद्युत् उपलब्ध गराउन प्रयासरत रहेको बताउँछन् । उद्योगमा एक युनिट विद्युत् बराबर रु १०० बराबरको औद्योगिक क्षमता बढ्न जान्छ । सहज विद्युत् आपूर्तिपछि सिमेन्ट तथा छड उद्योगको क्षमतामा समेत उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारी स्वामित्वको हेटौँडा र उदयपुर सिमेन्ट उद्योग धेरै वर्षपछि नाफामा गएको छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सबै उद्योगलाई २४सै घण्टा विद्युत् उपलब्ध गराइने जानकारी दिए । रासस

सन्तपुरको मुसहर बस्ती बनाउन पुर्व सांसदको एक लाख सहयोग

काठमाडौं । पुर्व सासंद रामकुमार भट्टराईले सन्तपुरमा निर्माण भैरहेको मुसहर बस्तीका लागि एक लाख एक हजार एक सय एक रुपैंयाँ सहयोग गरेका छन् । नमुना बस्ती निर्माण अभियन्ता सिताराम कट्टेल(धुर्मुस)लाई पुर्व सांसद भट्टराईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले गरिबीको निरपेक्ष रेखामुनी रहेका मुसहरहरुका लागि घर बनाउने पवित्र कर्ममा सहयोग गर्न पाउँदा खुसी लागेको पनि बताए । ‘म आफैं गरिबी उन्मुलनका लागि राजनीतिक आन्दोलनमा लागेको मान्छे हु, समाजिक अभियन्ताले सुरु गरेको काममा सहयोग गर्नु आफ्नो कर्तव्य ठान्छु’, नेकपा(एमाले)का नेता समेत रहेका पुर्व सांसद भट्टराईले भने । उनले गत मंसिरमा चन्द्रपुर बिस्फोटनमा घाइते भएकी सरिता राई र जैविक राईको फलोअप उपचारका लागि १० हजार नगद दिएर चितवन समेत पाठएका छन् । बिस्फोटनमा परी  खुट्टा गुमाएकी सरिता राईको परिवारका लागि घर बनाइदिने अभियानमा आफु जुटेको पनि भट्टराईले बताए । ‘सरिताको परिवारका लागि घर र हात गुमाएका जैविक र उनका भाईलाई निःशुल्क शिक्षा दिलाउने अभियानमा जुटेको छु’, भट्टराईले भने । उनै भट्टराईले जमानी बसेर सरिता र जैविकलाई चितवन मेडिकल कलेजबाट डिस्चार्ज गराएका थिए । उनले क्यान्टिन र खाना वापतको ५० हजार रुपैंयाँ भने आफैंले तिरिदिएका थिए ।

बुटवल पावरको एफपीओमा आधा मात्रै आवेदन, बजारमा पैसा भएन की कम्पनीमा आकर्षण ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) आधा मात्रै बिक्री भएको छ । पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबारसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको २२ लाख ९५ हजार ४०९ कित्ता  एफपीओ खरिदका लागि मात्रै आवेदन परेको हो । अझै ९० करोड रुपैयाँको एफपीओ बिक्रि हुन बाँकी नै छ । कम्पनीले छिटोमा शुक्रबार नै निष्काशन बन्द हुने बताएको थियो । तर सो अवधीमा न्युन मात्रामा आवेदन नपरेपछि आइतबारसम्म थपिएको थियो । आइतबारसम्ममा पनि कम्पनीको एफपीओ करिब आधा मात्रै खरिद भएपछि कम्पनी प्रति लगानी कर्ताको आकर्षण घटेको प्रष्टै भएको हो । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । १० कित्ता मात्र पाउने अनुमानका आधारमा लगानीकर्ताले कम भर्दा एफपीओ बिक्री कम देखिएको बीपीसी वित्त विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । “७० हजार भन्दा बढी लगानीकर्ताले एफपीओका लागि आवेदन दिएका छन्” उनले भने “सबैल कम पर्छ भनेर थोरै माग गरेका कारण निर्धारित समयमा एफपीओ कम गएको हो ।” १० कित्ता मात्र पाउने धितोपत्र बोर्डको नीतिले गर्दा खरिदका लागि कम रकमको आवेदन हाल्दा यस्तो भएको उनको तर्क छ । एफपीओ निष्कासन छिटोमा शुक्रबारसम्म बन्द हुने भने पनि आइतबार एक दिन थप भएको लगानीकर्ताले जानकारी नपाएको उनको भनाई छ । आइतबार १८ करोड रुपैयाँ बराबरको एफपीओ मात्र खरिदका लागि आवेदन परेको श्रेष्ठले जानकारी दिए । समय भएकाले यो साताभित्र एफपीओ बिक्री हुने उनले विश्वास व्यक्त गरे । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । सोमबार बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५८ रुपैयाँमा झरेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको हाे । आइतबार प्रतिकित्ता ५८० मा झरेको छ । एकै दिन बीपीसीका लगानीकर्ताले २२ रुपैयाँ गुमाएका छन् । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो ।  दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।

आइएमई जनरल इन्स्योरेन्सको ३ नयाँ शाखा सञ्चालनमा, थप १४ शाखा खोल्ने तयारी

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई शाखा कार्यालयहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्को विराटचोकमा संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालक योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्य ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । यस तीन शाखा सहित २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४० स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले निकट भविष्यमा नै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै जाने बताएका छन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्तवादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक बिदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने जानकारी दिएका छन् । साथै, कम्पनीले दोश्रो त्रैमासिकसम्म ४३ कारोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको उनले बताए ।

सोमबारको बजार निरन्तर ओरालो, परिसूचक दोहोरो अंकले घट्दा सबैसमूह राताम्मे

काठमाडौं । सोमबारको सेयर बजार शुरुदेखि नै अन्तिमसम्म निरन्तर ओरालो लागेको छ । १४१० अंकदेखि कारोबार शुरु भएको बजार कारोबार बन्द हुँदा दोहोरो अंकले ओरालो लागेर १४०० अंकमा अडेको छ । सम्रगमा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०.४६ अंकले ओरालो लागेको छ । सो दिन परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ४६ करोडको कारोबार भएको बजारमा सोमबार भने जम्मा ३० करोडको सेयर किनबेच भएको छ । बजारमा कुल १५४ कम्पनीको ९ लाख १५ हजार कित्ता सेयर बिक्री भएका छन् । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ८४ अंकले झरेको छ । त्यस्तै, हाइड्रोपावर ३०, माइक्रोफाइनान्स १७ र विकास बैंक १४ अंकले ओरालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।

प्रोस्टाइल हेयर तेलले चलचित्र ‘कृ’सँग सहकार्य गर्ने

काठमाडौं । डाबर नेपालले उत्पादन गर्दै आएको प्रोस्टाइल हेयर तेलले चलचित्र ‘कृ’सँग सहकार्य गर्ने भएको छ । अनमोल केसी र अतिथी बुढाथोकी अभिनित चलचित्रमा मुख्य पाटनरसिप प्रोस्टाइलले गर्ने भएको हो । चलचित्र माघ २६ देखि नेपाली सिनेमा घरमा आउने भएको छ । कार्यक्रममा डाबर नेपालका मार्केटिङ्ग म्यानेजर उपेन्द्र प्रधानले चलचित्र ‘कृ’सँग सहकार्य गर्न पाउँदा खुशि लागेको बताउँदै चलचित्रलाई बक्स अफिस रेर्कडको लागि शुभकामना दिए । चलचित्र निर्देशक सुरेन्द्र पौडेलले प्रोस्टाइलले चलचित्र ‘कृ’ र अनमोल केसीलाई रोज्नु राम्रो रहेको र चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताए । कार्यक्रममा ‘अनमोल फ्यान अफ द मन्थ’ १० जनालाई पुरस्कृत समेत गरेको थियो ।