विकासन्युज

सिनर्जी पावरको नाफा ३ करोड ७४ लाख, ११ करोड ४६ लाख नोक्सानीमा, प्रतिफल पाउने लामो समय कुर्नुपर्ने

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको नाफा बढेको छ ।गत पुससम्म कम्पनीले ३ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सिनर्जीले २ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीले बिजुली बिक्री गरेर १३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा नाफा गरेपनि कम्पनीको संचित नोक्सान ११ करोड ४६ लाख रुपैयाँ छ । चालु आवको पहिलो त्रैमाशसम्म सिनर्जीको संचित नोक्सान ११ करोड ८१ लख रुपैयाँ थियो । कम्पनीको संचित नोक्सान बढी भएको र कर्जा तिर्न धेरै बाँकी रहेकाले लगानीकर्ताले अझै केही वर्ष प्रतिफल पाउने संभावना कम छ । समीक्षा अवधिमा कम्पनीले ४ करोड ३९ लाख रुपैयाँ ब्याजखर्च भएको छ । कम्पनीले १० मेगावाटको सिप्रिङखोला आयोजना बनाउन लिएको ऋण तिर्न ७६ करोड ५४ लाख रुपैयाँ छ । कम्पनीको सेयर पुँजी ७० करोड रुपैयाँ छ । निर्माणकालदेखि कम्पनीले समस्या भोग्दै आएकाले कर्जा तिर्न सकेको छैन् । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसाँ छ । प्रतिसेयर नेटवर्थ घटेर ८३ रुपैयाँ ६२ पैसामा झरेको छ । कम्पनीको सेयर मूल्य १६४ रुपैयाँ मात्र छ ।

नेपाल–भारत स्थिर मुद्रा सटही दर २५ बर्षदेखि स्थिर, सुरु भयो पुनरमूल्यांकनको बहस

काठमाडौं । अाउदाे फागुन १ गते भारतीय १रुपैयाँ बराबर नेपाली १ रुपैंयाँ ६० पैसा कायम गरिएको २५ औं बर्ष पुग्दैछ । २०४९ साल फागुन १ गतेदेखि भारतीय १ रुपैंयाँ बराबर नेपाली १ रुपैंयाँ ६० पैसा कायम गरिएको थियो । त्यसअघिसम्म भारतीय एक रुपैयाँ बराबर नेपाली एक रुपैंयाँ ६५ पैसा कायम थियो । २०४९ सालपछि नेपालले माओवादी द्धन्द्ध, राजाको प्रत्यक्ष शासन, लोकतान्त्रिक आन्दोलन, दुई वटा संबिधान सभा निर्वाचन, नयाँ संबिधान हुँदै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागतको चरण पार गरिसकेको छ । यसबीचमा भारतमा समेत आधा दर्जन सरकार गठन भैसकेका छन् । सो अवधीमा भारतको अर्थतन्त्र औषतले ७ प्रतिशतका दरले बढेको छ ।  नेपालको अर्थतन्त्र पनि औषतमा ४ प्रतिशतका दरले बढेको छ । तर पनि २५ बर्ष अघि कायम गरिएको भारतीय मुद्रासँगको सटही दर भने अझै यथावत नै छ । ‘नेपाली र भारतीय मुद्राको सटही दर अब पुनरावलोकन गरिनुपर्छ, २५ बर्षसम्म स्थिर दर राख्नु मुलुकको अर्थतन्त्रका लागि हितकर हुन्न’, अर्थविद केशव आचार्यले भने । उता, अर्थशास्त्री डा. पोषराज पाण्डेले पनि भारतीय मुद्रासँगको सटही दरलाई पुनरावलोकन गर्ने समय आएको स्वीकार गरे । ‘नेपालको सबै भन्दा ठुलो वैदेशिक व्यापारको साँझेदार मुलुक भारत हो, भारतीय मुद्रासँगको सहटी दर पुनरावलोकन गरेर फाइदा लिन सक्नुपर्छ’, डा. पाण्डेले भने । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले भारतीय मुद्रासँगको सटही दर पुनरावलोकन रणनीतिक महत्वको भएको बताए । ‘नेपालका लागि मुद्रा सटही दर रणनीतिक महत्वको हुन्छ, रणनीतिक लक्ष्य हासिल गर्नका लागि मात्रै यो अस्त्र प्रयोग गर्नु पर्छ’, थापाले भने । उनले पुर्वाधार विकास र उत्पादकत्व अभिवृद्धि गर्न नसकिए मुद्रा सटही दर मात्रै चलाएर उपलब्धि नहुने बताए । उनले २०२३ साल तिर मुद्रा सहटी दरलाई पुनर्मूल्यांकन गरेर भारतीय नोटलाई नेपालबाट विस्थापित गरेर नेपाली मुद्रा सञ्चालनमा ल्याएको स्मरण समेत गराए । उनले मुलुकको भुत्तानी सन्तुलन (ब्यालेन्स अफ पेमेन्ट) नकारात्मक अवस्थामा पुग्यो भने मात्रै मुद्रा सटही दरलाई चलाउनुपर्ने धारणा पनि राखे । थापाले अर्थतन्त्र सुधारका प्याकेज नल्याएसम्म बहकिएर मुद्रा सटही दरलाई चलाउन नहुने स्पष्ट पनि पारे । भारतीय मुद्रासँग नेपाली मुद्रालाई अवमूल्यन गराउनुपर्ने एकथरी तर्क अघि सारिएको छ भने अर्काथरीले नेपाली मुद्राको मुल्यांकनलाई बढाउनुपर्ने तर्क अघि सार्न थालेका छन् ।

होण्डाले ल्यायो पौने ६ लाखको ‘एक्स्स आर १९० एल’ बिगबाइक

काठमाडौं। नेपाली बजारमा होण्डा नेपालले नयाँ ‘एक्स्स आर १९० एल’ बाइक सार्बजनिक गरेको छ । कम्पनीले बाइक पारखीहरुको मागलाई ध्यानमा दिदै उक्त बाइक नेपली बजारमा भित्र्याएको हो । कम्पनीको अनुसार नेपालमा बढी माग भएको डर्ट बाइक ‘एक्स आर १५० एल’ को अर्को उत्पादन ‘एक्स्स आर १९० एल’ लाई होण्डा बिगबाइक वर्ग अन्तर्गत थपेको जनाएको हो । साथै आफ्नो प्रसिद्ध होण्डा एक्स एल १८५ को उत्तराधिकारीका रुपमा उक्त बाइकलाई ल्याएको कम्पनीको भनाइ छ । बाइकमा फ्यूल–इन्जेक्सन रहेको नेपालको पहिलो अफ–रोड मोटरसाइकल भएको कम्पनीले जानकारी दिएको छ । जसद्धारा बाइकले इन्जिनमा चाहिने मात्रामा मात्र इन्धनको आपूर्ति गर्छ । जसकारण चिसोमा पनि सजिलै स्टार्ट भई उत्कृष्ट माईलेज र पावर प्रदान गर्छ । बाइकमा ब्याक–अप किकस्टार्टका समेत उपलब्ध छ । बाइकको तौल १ सय २३ किलो छ । तौलको कारण चलाउन सहज हुनका साथै सुरुवाती पिक–अप पनि उत्कृष्ट रहने बताइएको छ । फ्यूल इण्डिकेटर, १२ लिटर फ्यूल ट्यांक, हाई ग्राउण्ड क्लेरेन्स, सबै उचाइका चालकहरुका लागि उपयुक्त सिट लगातय बाइकको विशेषताहरु छन् । सहज र सरल रुपममा मर्मत–संभार गर्न सकिने उक्त बाइकको सुरुवाती मूल्य रू. ५ लाख ७० हजार रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।

गैरकानूनी सम्पत्तिमा भावी प्रधानमन्त्री ओलीको मोह

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीले नेपाल चेम्बर्स अफ कमर्सका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा सम्पत्ति सुद्धिकरणलाई मान्यता दिनुपर्छ भन्ने दिएको अभिव्यत्तिले व्यापक चर्चा बटुल्यो । सबैभन्दा ठूलो पार्टी नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले गलत प्रक्रियाबाट आर्जन गरिएको कालो धन नेपालको उद्योग व्यवसायमा लगानी गर्ने दिनुपर्ने धारणा राखेका छन् । संसारभर अपराध मानिएको र नेपालमा पनि कानुनले निषेध गरेको कालोधन खुलाउने पक्षमा ओलीले दिएको अभिव्यक्तिले गलत क्रियाकलापबाट पैसा आर्जन गर्नेका लागि केही आशा भने पक्कै जगाएको छ । यसका साथै वैध काम गरेर धन आर्जन गर्नेलाई उनको अभिव्यक्तिले पक्कै निराशा बनाएको हुनुपर्छ । प्रधानमन्त्री हुने तयारीमा रहेको व्यक्तिले कानून विपरित यस्तो अभिव्यक्ति दिएपछि एमाले निकट अर्थशास्त्री र वुद्धिजिवी यसको विरुद्धमा लागेका छन् । अमेरिकामा सेप्टेम्बर ११ को आतंकवादी हमलापछि सम्पत्ति सुद्धिकरणको कुरा उठेको हो । कालोधन प्रयोग आतंकवादमा भएको ठहर गर्दै विश्वमा सम्पत्ति सुद्धिकरणको कुरा उठेको थियो । नेपाललगायत विश्वका अधिकाँश मुलुकले कानून बनाएर सम्पत्ति सुद्धिकरणलाई वर्जित गरेका छन् । यसबाट नेपाल पनि अछुतो रहने संभावना थिएन् । नेपालमा सम्पत्ति सुद्धिकरण निवारण ऐन व्यवस्थापिका संसदबाट पारित हुन ढिलाइ हुदा विदेशमा खाता खोल्न वर्जित गरिएको थियो । नेपालले कानून पारित नगर्दा सम्म विश्व समुदायलाई कालोसूचिमा राख्ने तयारी गरेको थियो । संसदबाट सम्पत्ति शुद्धिकरण कानून पारित गरेपछि मात्र नेपाल कालोसूचिबाट हटेको हो । ओलीले दिएको अभिव्यक्ति त्यसै आएको हैन जस्तो देखिन्छ । किनभने कुनै एक व्यवसायीक प्रतिष्ठानको लगानीको विषयमा सञ्चारमाध्यममा चर्चा भएका बेला एकाएक ओलीको कालोधनलाई वैधता दिनुपर्ने आशय आएको छ । कालोधन बजारमा आउँदा अर्थतन्त्रमा खासै नकारात्मक असर नपर्न पनि सक्छ । बढीभन्दा बढी लगानीका लागि घरमा रहेका धन बैंकिङ प्रणालीमा ल्याउनु राम्रो कुरा हो । जसले अर्थतन्त्रलाई अझ गतिशिल बनाइ दिन्छ । यद्यपी कानूनअनुसार लुकाएको कालो धनलाई प्रश्रय दिनु गम्भीर अपराध हो । अवैधरूपमा भ्रष्टाचार, तस्करी, ठगी र विभिन्न अपराध गरेर लुकाएको धनलाई पनि वैध बनाउने मौका दिने ओलीको आशय हो भने मुलुकलाई ठुलो दुर्घटनामा निम्त्याउन सक्छ । मुलुकको अर्थतन्त्रमात्र हैन विधिको शासनलाई समाप्त पार्न सक्छ र यसले समानान्तर रुपमा अनौपचारिक रुपमा कालो अर्थतन्त्रलाई लैजान सक्छ । यसअघि सरकारले असल नियत राखेर वा बदनियतपूर्वक लुकेको धन बाहिर ल्याउन दिने अभ्यास गरेको थियो । सरकारले कालोधनलाई वैध बनाइ सकेको छ । केही समयअघि पनि व्यवसायीले एक पटकलाई दिनुपर्ने माग गरेका थिए । विश्वमा अपराध मानिएको र नेपालले पनि कानुन बनाएर प्रतिबद्धता जनाएको सम्पत्ति शुद्धीकरण नियन्त्रणका प्रावधानविपरीत भावी प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिनु देशका लागि हितकर छैन् । यसबाट ओलीप्रति अन्तर्रा्ष्ट्रिय समुदायको धारणा नकारात्मक बन्न सक्छ । कालोधनलाई राज्यले प्रश्रय दिँदा त्यसको सन्देश त गलत जान्छ । यस्तै देशको अर्थतन्त्रमा दूरगामी नकारात्मक प्रभाव पर्नसक्छ । ओलीले भनेको बाटोमा मुलुक गएर कालोधनलाई खुला गर्यो भने नेपाल विश्व समुदायको कालो सूचिमा पर्न गई अन्तराष्ट्रिय वित्तीय कारोबार बन्द हुने अवस्थामा पुग्नेछ । त्यसपछि नेपालले धेरै समस्या व्योहर्नुपर्ने अवस्था आउने छ । त्यसैले भावी प्रधानमन्त्रीले गैरकानूनी अभिव्यक्ति दिने शोभनिय हुदैन् ।  

कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख ?

काठमाडौं । संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटौँडामा सम्पन्न भइसकेको छ । संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची बनाएका छन् । प्रदेशसभाका बैठक व्यवस्थापिका–संसद्को बैठक झैँ संसदीय विधि र प्रक्रियाअनुसार नै चलाइएको छ । नेपालको केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित बनाउने र अधिकार सम्पन्न प्रदेशसभा गठन गर्ने लक्ष्यका साथ गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनले राजनीतिक दलका आकार र प्रकारसमेत स्पष्ट पारिसकेको छ । नेपालको राजनीतिक इतिहासमा आजको दिन महत्वपूर्ण रह्यो । प्रदेशसभा सचिवालयका अनुसार आज प्रदेश नं २, ५, ६ र ७ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक बस्यो । सबै प्रदेशसभाको बैठकले सभामुख चयनको कार्यसूची तय गरेको छ । यही माघ १८ गतेको बैठकले प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरिएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेश १ माघ २९ गते, प्रदेश २ आगामी फागुन २, प्रदेश ४ मा आगामी फागुन ३ (सम्भावित), प्रदेश ५ आगामी फागुन २ गते, प्रदेश ६ मा माघ २९ र प्रदेश ७ माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ । प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलकाबीचमा समेत छलफल प्रारम्भ भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा भएको सहमतिअनुसार प्रदेश नं १, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश नं ४ र ५ मा भने माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने सहमति भएको छ । प्रदेश नं १ को सभामुखमा एमाले र उपसभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति यसअघि नै भएको छ । एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी छन् । सोही पार्टीका अर्का नेता शेरधन राईसमेत मुख्यमन्त्रीको आकांक्षी भएकाले सभामुखको उम्मेदवार टुंगो लागिसकेको छैन । दुई दलीय कार्यदलले सभामुख चयनमा यसअघि नै सहमति जुटाएको हो । प्रदेश नं २ मा भने राष्ट्रिय जनता पार्टीले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । सभामुख चयनका सम्बन्धमा छलफल जारी रहेको र केही दिनभित्रै उम्मेदवार चयन गरिने राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । सुमन स्वयं पनि सभामुखको दाबेदार हुन् । सो प्रदेशमा मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालले दाबी गरेको छ । प्रदेश नं ३ को सभामुखमा हालका ज्येष्ठ सदस्य डोरमणि पौडेलको सम्भावना नै बढी रहेको एमाले नेताहरुको भनाइ छ । सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको सो प्रदेशमा यही माघ २७ गते सभामुख चयन गर्ने कार्यसूची रहेको छ । यस्तै प्रदेश नं ४ मा माओवादी केन्द्रका तर्फबाट पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला मुख्य प्रतिस्पर्धी छन् । यस्तै गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित लेखबहादुर थापाले पनि सभामुखका लागि आकांक्षा व्यक्त गरेका छन् । यस्तै प्रदेश नं ५ मा मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको सन्दर्भमा गुल्मीबाट निर्वाचित सुदर्शन बराल, पूर्व रुकुमबाट निर्वाचित पूर्ण घर्तीले इच्छा व्यक्त गरेका छन् । त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुखका लागि इच्छा व्यक्त गरेको भए पनि पार्टीले गर्ने निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने उनीहरुको भनाइ छ । प्रदेश नं ६ को मुख्य मन्त्री माओवादी केन्द्रले पाउने सहमति भएकाले सभामुखमा एमाले हालसम्म आधिकारिक उम्मेदवार टुंगो लगाएको छैन । सो प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा छन् । पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्ने शाहीको भनाइ छ । यस्तै प्रदेश नं ७ मा पनि मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेकाले सभामुखमा एमालेको तर्फबाट नै उम्मेदवारी दिने तयारी छ । एमालेको तर्फबाट कञ्चनपुरबाट निर्वाचित तारालाल तामाङ, बझाङबाट निर्वाचित अर्जुन थापाको चर्चा रहेको छ । तर आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ । मुख्यमन्त्रीमा भने माओवादी केन्द्रले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । रासस

पल्सर डेयर भेन्चर तेस्रो संस्करण: अमित श्रेष्ठले जिते १० लाख रूपैयाँ

काठमाडौं । पल्सर डेयर भेन्चरको तेस्रो संस्करणमा बेस्ट राइडरको अवार्ड अमित श्रेष्ठले जितेका छन् । नेपालमा मोटरसाइकल बेच्दै आएको एचएच बजाजले आयोजना गरेको कार्यक्रममा बेष्ट राइडर रनर अप पबिन कार्की र मस्ट पपुलर राइडर अवार्ड बिबिद थापाले जितेका हुन् । विजयी श्रेष्ठले नगद १० लाख रुपैया सहित एनएस मोटरसाइकल र सामसुङ ८ प्लस पाएका छन् भने रनरअप कार्कीले ५ लाख नगद सहित पल्सर एनएस र सामसुङ ८ प्राप्त गरे । त्यसैगरी, तेस्रो स्थानमा रहेका थापाले पल्सर एनएस प्राप्त गरेका छन् । पुरस्कार वितरण गर्दै एचएच बजाजका निर्देशक हुलास गोल्छाले आमामी वर्षमा थप नयाँ कार्यक्रम प्रस्तुत गर्ने बताए । प्रतियोगितामा १० जनाले भाग लिएका थिए ।

सिद्धार्थ बैंक अब बेनी बजारमा पनि

काठमाडौं । सिद्धार्थ बैंकले  बेनीको बेनी बजारमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । आइतबार(आज) एक विशेष समारोहका बीच बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यी शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने र यस स्थानका व्यापारी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालै बैंकले देशभर ९२ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटीएम, र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

चौतर्फी दवावपछि दर्जनबढी उद्योगले सिमेन्ट र डण्डीको भाउ घटाए ५० पैसादेखि ५० रुपैयाँसम्म

काठमाडौं । चौतर्फी दवावपछि अन्ततः सिमेन्ट र डन्डीको भाउ घटेको छ । दर्जनबढी उद्योगहरुले ५० पैसादेखि ५० रुपैयाँसम्म सिमेन्ट र डण्डीको मूल्य घटाएका हुन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारसम्ममा १४ ओटा उद्योगले २० किसिमका सिमेन्ट र डण्डीको मूल्य घटाएको जानकारी दिएको छ । विभागको अनुसार वृज सिमेन्ट ईण्डष्ट्रिजको ओपिसी, पिपिसी र पिएससी सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँको दरले घटाएको छ । अर्घाखाँची सिमेन्टले बोराको ४५ रुपैयाँ घटाएको छ । भु–गर्व सिमेन्टको ओपिसी, पिपिसीमा बोराको ३० रुपैयाँको दरले भाउ घटाएको छ । शिवम् सिमेन्टको मूल्य भने सबैभन्दा पहिलेनै २२ रुपैयाँ ६० पैसा घटाएको हो । निर्माण सिमेन्टमा प्रतिबोरा १५ रुपैयाँ घटेको छ । अम्बे, दोभान, शुभ श्री जगदम्बा, मारुतीका विभिन्न ब्राण्डका सिमेन्टमा प्रतिबोरा २० रुपैयाँ घटेकोछ । नरायणी, सर्वोत्तम, अग्नि, घोराही लगायतका विभिन्न किसिमका प्रतिबोरा सिमेन्टमा १० रुपैयाँ घटाएको विभागले जानकारी दिएको छ । जगदम्बा स्टिलले डण्डीमा प्रतिकिलो ५० पैसा घटाएको छ । उल्लेखित विभिन्न उद्योगहरुको सिमेन्टको प्रतिबोरा घटेको मूल्य ६९५ देखि ८८७ रुपैयाँसम्म तोेकिएकोे छ । जसमा सबैभन्दा बढी मूल्य शिवम् सिमेन्टको छ भने कम मूल्य घोराही सिमेन्टको रहेको छ । विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठले अधिकांश सिमेन्टहरुको मूल्य घटेको बताए । ‘अझै पनि घटाउन बाँकी सिमेन्ट उद्योगहरुले मूल्य घटाइरहेको छ,’ उनले भने ‘त्यस्तै दण्डीको मूल्य समेत घट्ने क्रममा छ ।’ बाँकी डण्डी उद्योगहरुले पनि मूल्य घटाउने उनको विश्वास छ । उद्योगीहरुले मूल्य घटाइसकेको अवस्थामा बिक्रेताहरुले घटाए नघटाएको सम्बन्धमा समेत विभागले अनुगमन सुरु गरिसकेको बताए । उनले भने, ‘विभागले सिमेन्ट र डण्डी बिक्रेता कम्पनीहरुलाई उद्योगीहरुले घटाएको मूल्यमा विक्री गर्न निर्देशन गरिसकेका छ ।’ सिमेन्ट र डन्डीको घटेको मूल्य र सम्बन्धि उद्योगहरुको सूचि हेर्नुहोस्ः–