जनता बैंकको संस्थापक सेयर लिलामी हुदै
काठमाडौं । जनता बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका केही संस्थापकले सेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले बिक्रीको प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक सेयर खरिदका लागि प्रस्ताव गर्न भनेको छ । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य र संख्या खुलाएको छैन् । यस्तो सेयर १० लाख कित्ता भन्दा बढी भएको बैंकले जनाएको छ ।संस्थापक सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ । यसअघि प्रतिकित्ता १२५ रुपैयाँमा संस्थापक सेयर किनबेच भएको थियो । हाल जनताको सेयर मूल्य घटेर प्रतिकित्ता १८३ रुपैयाँमा कारोबार भएको छ ।
युनाइटेड मोदी हाइड्रोपावरको नाफा ५ करोड ४९ लाख
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ५ करोड ४९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेका थियो । युनाइटेडको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा छ । कम्पनीले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिन थालेको छ । कम्पनीले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ । यस्तै साढे १० मेगावाटको मोदी आयोजना पनि बनाउदै छ ।
नेपाल टेलिकमको पैसामा विवाद हुँदा नविल सीईओमा लफडा ! जोशी किन गए, शाह किन आए ?
काठमाडौं । नेपाल टेलिकमको पैसाका कारण नबिल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले बैंकबाट हात धुनु परेको तथ्य उजागर भएको छ । एनसेलले नबिल बैंकमा राखेको निक्षेप फिर्ता लिने निश्चित भएपछि सीडी रेसियो मिलाउन बैंकका प्रमुख कार्यकारी अधिकृतले सशीन जोशीले नेपाल टेलिकमले गरेको निक्षेप टेण्डरमा उच्च व्याजदर विड गरेका थिए । १३ प्रतिशतभन्दा माथि गएर करिव ३ अर्ब रुपैयाँ निक्षेप टेलिकमसँग लिएपछि बैंक सञ्चालक समितिले प्रमुख कार्यकरी अधिकृत जोशीसँग असन्तुष्टि जनाएको थियो । सञ्चालक समितिसँग समन्वय नगरी महंगो ब्याजदरमा निक्षेप लिएको भन्दै अध्यक्ष शम्भु पौडेलले केरकार गरेपछि सशीन जोशीले राजीनामा दिएको स्रोतले बतायो । जोशीले फागुन ५ गतेदेखि लागु हुने गरि मंसिर दोस्रो साता राजीनामा दिएका थिए । अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच ठाकठूकले निम्त्याएको राजीनामा बैंक सञ्चालक समितिले मंसिर १९ गते स्वीकृत गरेको थियो । जोशीको राजीनामा स्वीकृतसँगै बैंक थप समस्यामा परेको थियो । खासगरी निक्षेप संकलनमा बैंकले धेरै मिहेनत गर्नु पर्ने अवस्था थियो । राजीनामा स्वीकृत भईसकेको सीईओले त्यसमा जोड नदिएपछि बैंकको निक्षेप घट्न थालेको थियो । गत असोजमा १२३ अर्ब रुपैयाँ निक्षेप भएको नविलमा पुस मसान्तमा १२१ अर्ब रुपैयाँ निक्षेप भएको छ । सोही अवधिमा एनआईसी एशिया बैंकले करिव २० अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ । चर्को दवावपछि अनिल शाहलाई डेपुटी सीईओ नविललाई निक्षेपको अभाव खड्किँदै गएको थियो । बैंक सञ्चालकका नजरमा निक्षेप बढाउन सक्ने एक मात्र सिईओ अनिल शाह मात्रै देखिए । सञ्चालक समितिले अनिललाई सेञ्चुरी बैंकबाट नबिल ल्याउने निर्णय गरे । तर केन्द्रिय बैंकले कुलिङ पिरियडको मापदण्ड ल्याएर अनिललाई नबिल जानबाट रोक लगायो । त्यसपछि नविलले आफूलाई झन् असुरक्षित महसुस गर्यो । माग १५ गतेसम्म २७ वटा वाणिज्य बैंकहरु वित्तीय विवरण सार्वजनिक भयो । पुस मसान्तको रिपार्टमा नविल बैंकले आफ्नो पोजिशन गुमाउने स्थिति देखियो । खुद नाफामा नविल भन्दा इन्भेष्टमेन्ट बैंक ७३ लाख रुपैयाँ पछाडि देखियो । निक्षेप नविलको भन्दा ८ अर्ब बढी इन्भेष्टमेन्ट बैंकको देखियो । अहिलेकै वृद्धिदर कायम भएमा चैत मसान्तसम्ममा निक्षेप र कर्जा दुबैमा एनआईसी एशिया बैंक अगाडि आउने भयो । त्यसले नविल बैंक सञ्चालक समितिलाई झनै तनावमा पुर्यायो । अनिल शाहलाई ६ महिना कुर्दा असार मसान्तसम्ममा नबिल बैंकले यसअघि अगुवाई गरेका सूचकाङ्क मध्ये धेरैमा अरु बैंकले अगुवाई गर्नेस्थिति देखियो । उता अनिल शाह पनि आफ्नो नविलमा पुन सीईओ बन्ने आफ्नो प्रयासलाई अर्जुन दृष्टि लगाएका थिए । विनोद चौधरी देखि गभर्नरसम्मका व्यक्तिसँग लविङ गर्दै उनी डेपुटी सीईओ स्वीकार गर्न तयार भएको थिए । नविलमा अनिल प्रभाव यसअघि अनिल शाहले नै नबिललाई स्ट्याण्डर्ड चाटर्ड बैंक भन्दा अगाडी पुर्याएर निजी क्षेत्रका बैंकमा अब्बल बैंकको उपमा उभ्याएका थिए । अनिलकै नेतृत्वमा नबिलले नाफा, सेयर मूल्य, व्यवसाय लगायतका सूचांकमा अन्य बैंकलाई उछिनेको थियो । कुलिङ पिरियड लाग्ने र नयाँ सिइओ ल्याउन नसक्दा असार मसान्तको वित्तीय विवरणमा नबिललाई नेपाल इन्भेष्टमेन्ट बैंकले धेरै सुचांकमा जित्ने खतरा मडारिरहँदा सञ्चालकहरुले विकल्प निकाले । र अनिल शाहलाई डेपुटी सिईओका रुपमा नियुक्ती दिलाए । कुलिङ पिरियडको बन्देज हटे लगत्तै नबिलले शाहलाई नै सिईओ नियुक्त गर्नेछ ।
बागमती सफाई महाअभियानलाई टेलिकमको सहयोग
काठमाडौं। बागमती सफाई महाअभियानलाई नेपाल टेलिकमले आवश्यक सामाग्रीहरु प्रदान गरेर सहयोग गरेको छ । टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आज (शनिबार) उक्त सहयोग गरेको हो । टेलिकम पनि २४७ औँ हप्ताको बागमती सफाई महाअभियानमा सहभागि भएको जनाइएको छ । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाई कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेकी थिइन् । अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि उनले १ सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, ३ सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से, मास्क लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको जनइएको छ । टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीले बागमतीका साथै नेपालका अन्य नदीहरु पनि सफा गर्नुपर्ने आवश्यकतामा जोड दिदै यस्ता कार्यमा कम्पनीले अझै पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । टेलिकमका अनुसार शनिबार कम्पनीमा कार्यरत कर्मचारीहरु बागमती कोरिडोर हुँदै शंखमुल निकट सफाई स्थल बागमती पुगेर महाअभियानमा सहभागिता भएका थिए । त्यस्तै वार्षिकोत्सवकै अवसरमा कर्मचारीहरुबीच कम्पनीले विभिन्न खेल खेलाएको र विजयी खेलाडीहरुलाई एक कार्यक्रम आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको कम्पनीको सहप्रवत्ता शोभन अधिकारीले जनाएको छ ।
ठहिटीमा अन्तर्राष्ट्रिय स्तरको क्लासिक रक क्याफे, रक कन्सर्ट लाईटिङ र मोडलिङले सुसज्जित
काठमाडौं। राजधानीको पर्यटकीय नगरीको रुपमा रहेको ठमेल स्थित ठहिटी चोकमा अन्तर्राष्ट्रिय स्तरको क्लासिक रक कफी क्याफे एण्ड बार सञ्चालनमा आएको छ । ग्राहकहरुलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद पस्कने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो । शुक्रबार राधानीमा आयोजित पत्रकार सम्मेलनमा क्याफेको सञ्चालक पान्देन रोटाले क्याफे सम्बन्धि जानकारी दिएका थिए । उनले क्याफे अमेरिकन फाइन्चाइसको अनुमति र मापदण्ड अनुसार तयार परिएको नेपालको पहिलो कफी क्याफे एण्ड बार भएको बताए । उनका अनुसार क्याफेमा लोकप्रिय मानिएको फाइन्चाइसको कफी लगायतका विभिन्न कन्टिनेन्टल फुड, कक्टेल, मक्टेलका साथै नेपाली लोकप्रिय परिकार ममः लगायत उपलब्ध हुनेछ । ‘विदेशी पर्यटक र स्वदेशी खाना पारखी दुवैलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याएका छौं,’ उनले भने ‘क्याफेको मुख्य आकर्षणका रुपमा अमेरिकी प्रविधिमा उत्पादित कफी र स्मोकिन जोज पिजा रहेको छ ।’ क्याफेमा प्रवेश गरेसँगै ग्राहकरुले अमेरिकाको क्याफेको अनुभव बटुल्ने उनको विश्वास छ । उनका अनुसार आफु पहिल्यैदेखि युरोपियन रक म्युजिकप्रति आकर्षित भएकोले उक्त क्याफे समेत रक कन्सर्ट लाईटिङ र मोडलिङले सुसज्जित गरिएको छ । अमेरिकामा अध्ययन गरेपश्चात कार्पेट उद्यम सञ्चालन गरिरहेका उनले क्याफेलाई क्रमिक रुपमा राजधानीका अन्य क्षेत्रमा समेत विस्तार गर्ने लक्ष्य राखेका छन् । उद्घाटनको अवसरमा विभिन्न परिकारमा ग्राहरुलाई १० प्रतिशत छुट दिइएको उनको भनाइ छ । उक्त छुट करिब ३ महिनासम्म कायम रहनेछ । सञ्चालित क्याफेको क्षमता ९० जनाको छ । अमेरिकाबाट विभिन्न मुलुकमा विस्तार भएको उक्त क्लासिक रक कफी क्याफे एण्ड बार हाल भारत, पाकिस्तान, दुवइ, कतार र नाइजेरिया लगायतका मुलुकमा सञ्चालनमा छ ।
अंग्रेजी बोल्दैमा र देश परिवर्तन गर्दैमा भविष्य राम्राे हुँदैन-गायक संजीव पराजुली, अष्ट्रेलिया
संजीव पराजुली गायन क्षेत्रमा उदाउँदा युवा कलाकार हुनुहुन्छ । उहाँले गाएको गीत ‘नाई मलाई थाहा छैन’ले निकै चर्चा पाएकाे छ । शुक्रबारसम्ममा यो गीत यूट्यूवबाट मात्र २ करोड पटक हेरिएको छ । गत साता मात्र उहाँले गाएको गीत हिट्हिट्को भिडियो सार्वजनिक भएको छ । विराटनगरमा जन्मेका, वाणिज्य शास्त्र र शास्त्रीय संगीतमा औपचारिक अध्ययन गर्नु भएका पराजुली पेशाले ग्राफिक डिजाईनर हुनुहुन्छ, त्यो पनि अष्ट्रेलियामा स्वरोजगारको रुपमा । अष्ट्रेलिया रहेर पनि गायनमा सफलताकाे सिंढी चढ्न सफल भईरहनु भएका पराजुली नेपाल फर्कने सोचमा हुनुहुन्छ । युवा पुस्ता विदेश जानको लागि घर, परिवार, समाज, देश पुरै छोड्न तयार भईरहेको समयमा अाखिरी किन उहाँ नेपाल फर्कने कुरा गर्दै हुनुहुन्छ ? यसै सन्दर्भमा विकासन्युजले पराजुलीसँग गरेको अन्तरवार्ताको सार । गायन क्षेत्रमा कसरी आउनु भयो ? म विराटनगरमा जन्मे, हुँर्केको हुँ । सानैदेखि गीत गाउँथे । घरमा सांगीतिक माहौल थियो । बुबाले रेडियो बजाउने गर्नुहुन्थ्यो र म पढ्ने बेलामा गीत गुनगुनाउने गर्थेँ। त्यतिबेला गीतसंगीत सुन्नका लागि रेडियो नेपाल मात्र थियो । अल इन्डिया रेडियोमा हिन्दी गीत सुन्थ्यौं । संगीत गुरु कुशेश्वर राईले चलाउनु भएको स्वर संगम संगीतालयमा पाँच वर्ष क्लासिकल संगीत सिकेँ विराटनगरमै । स्नातकसम्मको अध्ययन विराटनगरबाटै गरेको हुँ । काठमाडौं आएपछि मञ्जुश्री संगीत विद्यालयमा दुई वर्ष क्लासिकल म्यूजिक सिकेँ । सन् २००४ मा रेडियो नेपालमा स्वर परिक्षा दिएँ, पास पनि भएँ र उपहार स्वरुप रेडियो नेपालमा गीत रेर्कड गर्ने मौका पनि पाएँ । म र विराटनगरका साथी विपिन चन्द्र गजुरेल मिलेर देशभक्तीको गीत ‘देश हाम्रो कति राम्रो’ बोलको गीत गायौं । जसको शब्द रचना निरभिम दाईको थियाे । संगीत दीपक भट्टराईको थियो । संगीतकार उपेन्द्र रायमाझीले तारतम्य मिलाउनु भएको थियो । स्टूडियोमा गाएको पहिलो गीत, पहिलो अनुभव त्यहि थियो । सन् २००५ मा पहिलो पटक ‘नेपाली तारा’ कार्यक्रम भयो । त्यसमा नेपालभरबाट १० हजार भन्दा बढीले सहभागिता जनाएका थिए । त्यसमा टप ट्वान्टीबाट टप टेन छनौट गर्दा म बाहिरिन पुगेँ, गीतको एक वाक्य बिर्सिएर । म एकदमै लजालु थिएँ । पाँच जनाको अगाडि उभिएर बोल्नुपर्दा पनि गाला राताराता हुन्थे । त्यो समस्या अहिले पनि छ । कहिले काहीँ गाह्रो नै हुन्छ । नेपाली ताराबाट बाहिरिए पनि मेरो आत्मविश्वास बढेर गयो । त्यसपछि पहिलो कमर्शियल रेकर्डिङ स्टूडियोमा गएर गीत रेकर्ड गरियो । त्यो गीतको बोल थियो ‘तिमीले रोजेको जस्तो म मान्छे रहेनछु’ … । निरभिम दाईको शब्द थियो । संगीत दीपक भट्टराई र स्वर मेरो । अहिलेसम्म कति गीत रेकर्ड गराउनु भएको छ ? २५ भन्दा बढी गीत रेकर्ड भएका छन् । १८ वटा गीत सार्वजनिक भएका छन् । दुई वटा एकल एल्बम सार्वजनिक भएका छन् । पहिलो एल्बम ‘सुनय’ हो जसको अर्थ सुमार्ग हो । यसमा पाँच वटा गीत छन् । सबैमा मेरो स्वर छ । शब्द र संगीत फरक फरक व्यक्तिहरुको छ । करिव ७ महिनाअघि सो एल्बम सार्वजनिक भएको थियो । यस गीतमा ‘नाई मलाई थाहा छैन’ बोलको गीत निकै चर्चित भयो । यस गीतमा टीका प्रसाईंले मलाई स्वरमा साथ दिनु भएको छ । यो गीत यूट्यूवमा २ करोडभन्दा बढीले हेरेका छन् । ‘त्यो सपना’ नामको दोस्रो एल्बम हालै सार्वजनिक भएको छ । यसमा पनि पाँच वटा गीत छन् तर फरक फरक भावनालाई समेटिएको छ । शब्द, स्वर, संगीत सबैमा धेरै फरक छ । यसमा ‘त्यो सपना’, ‘पहिलो भेटैमा’, ‘हिट्हिट्’, ‘मेरी मायालु’ र ‘बेदनाले भरिएको छाती’ बोलको गीतहरु समेटिएका छन् । पहिलो भेटैमा बोलको गीतमा टिका प्रसाईंले पनि स्वर दिनु भएको छ । यी पाँच वटै गीतको शब्द रचना होमनाथ न्यौपानेको छ । पाँच वटै गीतमा दीपक भट्टराईको संगीत रहेको छ । त्यसबाहेक फुटकर अरु एल्वमहरुमा पनि मैले गाएको गीतहरु समावेश भएका छन् । ‘सँगसँगै’ नामको नयाँ एल्बमको तयारीमा पनि छौं हामी । तपाईं, होमनाथ र दीपकबीचको सम्बन्ध के हो ? म अष्ट्रेलियामा बस्छु । दीपक भट्टराई जापानमा बस्नुहुन्छ । होमनाथ न्यौपाने नेपालमा बस्नुहुन्छ, चौधरी ग्रुपमा महाप्रबन्धक हुनुहुन्छ । हाम्रो सांगीतिक गठबन्धन शुरु भएको १७ वर्ष भयो । त्यतिबेला देखि नै हामीले एल्बम निकाल्ने सपना देखेका थियौं । त्यो सपना पूरा भएको छ । हामी सबै काठमाडौंमा जुटेर त्यो एल्बम सार्वजनिक गरेका छौं । तपाई नेपालमा नबसेर किन अष्ट्रेलियामा बस्नुहुन्छ ? शंकरदेवबाट व्यवस्थापनमा स्नाकोत्तर गरेपछि मैले आप्का हाउस प्रिप्रेसमा काम थालेँ । ६ वर्षसम्म त्यहाँ काम गरेँ । त्यसपछि थप अध्ययनको सिलसिलामा म १० वर्षअघि अष्ट्रेलिया गएँ । खासगरी ग्राफिक डिजाईनमा आफूलाई दक्ष बनाउनु थियो । पढ्दै गर्दा काम पनि थालियो । विभिन्न बन्धनमा बाँधिदै गइयो । अष्ट्रेलियामा पनि म ग्राफिक डिजाइन र प्रिप्रेसको काम गर्छु । म स्वरोजगार छु । अष्ट्रेलियामा आफ्नै घरमा प्रेस राखेको छु । विभिन्न एजेन्सीबाट काम लिन्छु । अष्ट्रेलिया गएपछि पनि साधनाको प्रयास जारी थियो । गायन प्रयास जारी राखेँ, नेपालीहरुले आयोजना गरेका स्टेज प्रोग्रामहरुमा गीत गाउँदै आएको छु तर गीत रेकर्डिङ गर्ने मौका मिलेन । अब मलाई नेपाल नै फर्कन र गायनलाई जोड दिन मन छ । नेपालको सांगीतिक क्षेत्रमा केही योगदान गर्ने सोच ममा विकसित हुँदै आएको छ । आफूलाई लागेको इच्छा पूरा भयो भने मात्र खुशी हुन सकिन्छ । अरु नेपालीहरु आफ्नो परिवार पनि विदेश लैजानेतर्फ अभ्यस्त छन् । तपाई सपरिवार नेपाल फर्कने कुरा गर्नुहुन्छ, किन ? म १० वर्षदेखि विदेशमा बस्दै आएको छु । धेरै साथीहरुको परिवारलाई देखेको छु, बुझेको छु । अंग्रेजी लवज आउँदैमा, अंग्रेजीमा राम्रो बोल्न, लेख्न आउँछ भन्दैमा उसको भविष्य राम्रो हुन्छ भनेर सोचियो भने त्यो मूख्र्याईं हुन्छ । राम्रो भविष्य भनेको खुशी हो । जीवन सहज, सरल र सुगम हुनुपर्छ । पैसा सबै थाेक होइन, पैसाले खुशी दिँदैन र विदेश जाँदैमा पैसा टन्न कमाई हुन्छ भन्ने पनि होइन । पैसा कमाईएला तर त्यसले खुशी दिएको छ कि छैन भन्ने कुरा मुख्य हो । तपाई अष्ट्रेलियामा बस्दा कति कमाउनु हुन्छ, नेपाल फर्कनु भयो भने कति कमाउनु हुन्छ ? अष्ट्रेलियामा दिनमा १०० डलर कमाएको छ तर १० डलर पनि बचाउन सकिएको छैन भने त्यो के कमाई भयो र ? मैले काठमाडौंमा धेरै साथी भेटेको छु जसले मासिक लाख रुपैयाँ भन्दा बढी बचाउनु हुन्छ । नेपालमा पनि राम्रो कमाई देखिन्छ । उहाँहरुको केटाकेटी पनि राम्रै स्कूल कलेजमा पढिरहेको देख्छु । देशविदेश पनि घुम्नुहुन्छ । देश परिवर्तनले मात्र भविष्य राम्रो हुन्छ भन्ने मान्यताप्रति मेरो विश्वास छैन । नेपालमा भन्दा अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूरोप वा जापानमा अलि राम्रो शासन व्यवस्था छ, केही राम्रो सेवा सुविधा नागरिकले पाएका छन् । आफूलाई सुरक्षित पनि ठान्छन् । नेपालमा राम्रो शासन व्यवस्था छैन । अरु सबै कुरामा नेपाल कहाँ हो कहाँ । यो देश, यो समाज धेरै राम्रो छ । यहाँ बस्न, जीउन निकै सहज र रमाईलो छ । गायनलाई पेशा बनाउन सकिन्न ? कुनै पनि गायकले गीत गाएर गरिएको कमाइले सेलिब्रेटी बन्न गाह्रो होला तर परिवार पाल्न सक्छ । विदेशमा बसेर गीत गाएर परिवार पाल्न भने सकिँदैन । तपाईं पैसा कमाउन गीत गाउनु हुन्छ, अरुलाई मनोरञ्जन दिन गीत गाउनु हुन्छ कि आत्मसन्तुष्टि प्राप्तिको लागि गीत गाउनु हुन्छ ? मैले कमाउन गीत गाएको होइन । गाउनु मेरो हवी हो । मेरो आत्मसन्तुष्टिको लागि नै मैले गीत गाउँछु । मलाई रुची लागेको गीत गाउँछु । तपाईले आफ्नो रुची र आत्मसन्तुष्टिका लागि गाएको गीत स्रोताले किन मन पराउने ? गीतका स्रोताको रुची पनि फरक फरक हुन्छ । कसैलाई माया पिरतीको गीत मन पर्ला, कसैलाई दुःख वेदनाका शब्दले भरिएको गीत मन पर्ला । सबैका आ-आफ्नाे छनाैट हुन्छ । म मलाई मन पर्ने गीत गाउँछु । त्यहि गीत कसैलाई मन पर्ला, कसैलाई मन नपर्ला । उमेर र अनुभवले पनि परिपक्व बनाउँदै लैजान्छ । अहिले म मेरो सन्तुष्टिको लागि पनि गीत गाउँछु अनि स्रोताको रुचीका आधारमा पनि गीत गाउँदै अाएकाे छु ।
गाडी खरिदमा खोटांगकी शर्मिस्ता अधिकारीले पाइन् ३० ग्राम सुन
काठमाडौं । अशोक लेलैंड १६१६ कार्गो क्याब फुल्ली बिल्ट ७.५ क्युबिक मिटर (६ चक्के टिप्पर)गाडीको खरिदमा खोटांगकि शर्मिस्ता अधिकारीले ३० ग्राम सुन पाएकी छिन् । आइएमइ ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइएमइ मोटर्स प्रालिले अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गत अधिकारीलाई सो मात्राको सुन हस्तान्तरण गरेको हो । हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्याण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेल्याण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको विश्वमा ९ ओटा कारखाना छन् । अशोक लेल्याण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेल्याण्ड यात्री परिवहनको १८ सिट देखि ७४ सिट सम्मका विभिन्न विकल्प छन् र बसको बजारमा ठूलो पकड रहेको छ । अशोक लेल्याण्ड ट्रक वर्गमा ७.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् ।
सीसीडी रेसियो हटाउनुपर्छ, लगानी योग्य पुँजी २ खर्ब थप्न सकिन्छ-ज्ञानेन्द्र ढुंगाना
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ज्ञानेन्द्र ढुंगाना नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष पनि हुन् । २५ बर्षदेखि बैंकिंङ क्षेत्रमा क्रियाशिल ढुंगानासँग ७ बर्ष बैंक अफ काठमाण्डू र १० बर्ष नेपाल राष्ट बैंकमा काम गरेको अनुभव छ । चाटर्ड एकाउण्टेन्टको अध्ययन सकेर बैंक अफ काठमाण्डूमा कम्पनी सचिवको जागिर आरम्भ गरेका ढुंगाना राष्ट्र बैंक हुँदै एनबी बैंकमा आईपुगेका छन् । ढुंगानासँग लगानीयोग्य पुँजी अभावका कारण र समाधानका उपायबारे विकासन्युजका लागि नारायण पौडेलले गरेको कुराकानी । गत बर्ष पनि लगानीयोग्य पुँजीको अभाव देखियो र यसपाली पनि दोहोरियो, यस्तो किन भयो ? गतसाल र यसपालीको लगानी्योग्य पुँजीको अभावको श्रृंखलामा खासै फरक छैन । हाम्रो जस्तो देशमा पहिलो र दोश्रो त्रैमासिकमा यस्तो समस्या आउनु स्वभाविक हो । सरकारले तेश्रो त्रैमासिकबाट मात्रै विकास बजेट खर्च गर्ने प्रचलन छन् । तेश्रो त्रैमासिकमै राजश्व संकलन पनि बढ्ने हो । पहिलो र दोश्रो त्रैमासिकमा सरकारी विकास बजेट खर्च नहुने भएकाले गत साल भन्दा पनि लगानीयोग्य पुँजीका अभाव बढेको हो । यसपाली निर्वाचनमा पैसा त बजारमा गयो तर वित्तिय प्रणालीमा आउन समय लाग्यो । यसपाली अर्काे थपिएको समस्या भनेको रेमिटेन्सको आप्रवाहमा गिरावट पनि हो । चुनावमा भएको खर्च पनि वित्तीय प्रणालीमा अझै आएको छैन र अझै पनि आउन केहि समय लाग्छ । त्यसैले गत बर्षभन्दा पनि यसपाली लगानीयोग्य पुँजीको अभाव बढी भएको हो । तर, चुनाव भयो, स्थायी सरकार आउँछ भनेर उद्योगीहरु पनि लगानी गर्न अग्रसर देखिए । हामी बैंकरहरुले पनि उत्साहका साथ कर्जा लगानीको प्रतिवद्धता बढायौं । प्रतिवद्धताअनुसार कर्जा नदिँदा बैंकहरुको शाख गुम्ने भएकाले कर्जा दिनै पर्ने बाध्यता आयो । तर निक्षेप भने अपेक्षा गरे अनुसार वृद्धि भएन् । निक्षेप वृद्धिदर भन्दा कर्जा प्रवाह बढेकाले अहिले यस्तो समस्या आएको हो । एक/दुई हप्तादेखि हामी कर्जा प्रवाहमा सचेत भएका छौं । निक्षेपको प्राकृतिक वृद्धि कायम भएसँगै पुनः कर्जा लगानीलाई अघि बढाउँछौं । नयाँ परियोजनामा लगानी बढाउँछौं । तर अहिले भने कर्जा लगानीमा सचेत नै छौं । बैंकमा निक्षेप बढ्ने अवस्थामा पुगिएको हो ? निक्षेप त सधैँ बढेकै छ । निक्षेप १५ प्रतिशतले बढेको छ तर कर्जा १७ भन्दा बढि प्रतिशतले बढेकाले नै समस्या आएको हो । केहि समय कर्जा रोकेर निक्षेपलाई बढाएपछि मात्रै हामी नयाँ कर्जा प्रवाह गर्छाै । बैंकरहरुले लगानी योग्य पुँजी छैन भन्छन् तर अन्तर बैंक ब्याजदर चाँही अझै ३ प्रतिशत भन्दा तल नै छ, केन्द्रिय बैंकको आपत्ति पनि यसमै छ, यस्तो किन ? मौद्रिक अर्थतन्त्रमा तरलता व्यवस्थापनका केहि उपाय हुन्छन् । ट्रेजरी बिल, रिपो, रिभर्स रिपो लगायतका वित्तीय उपकरणले नै ती काम गर्ने हुन् । बजारमा नभए पैसा पठाउने अनि धेरै भए बजारबाट उठाउने हो । तर सिसिडी रेसियो नभएका देशमा मात्रै यी उपायहरुले तरलता व्यवस्थापन गर्न काम गर्छन् । हामी कहाँ पैसाको अभाव नै होइन, बैंकहरुसँग पर्याप्त पैसा छ तर लगानी योग्य पुँजी मात्रै नभएको हो । हामी कहाँ अन्तर बैंक ब्याजदर त शुन्यमा पुग्नु पर्ने हो । हामीसँग यथेष्ठ पैसा छ तर लगानी गर्ने पैसा छैन् । त्यसको कारण भनेको सिसीडी रेसियो नै हो । त्यसो भए सीसीडी रेसियो हटाउनुपर्छ भन्ने यहाँको भनाई हो ? वित्तिय क्षेत्रमा तरल सम्पत्ति केहि मात्रामा हुनु आवश्यक छ । बैंकहरुले सबै पुँजी लगानी गर्दा भोली निक्षेप फिर्ता गर्न सक्दैनन् भन्ने चिन्ता सधै रहन्छ । अन्तराष्ट्रिय मान्यता पनि केहि तरल सम्पति चाहिन्छ भन्ने नै छ । त्यसका लागि सिआरआर, एसएलआर लगायतका उपकरणबाट व्यवस्थापन गरिनुपर्छ । त्यसैले नेपालमा सीसीडी आवश्यक नै छैन् । हामी कहाँ एउटै चिजलाई सबैतिरबाट समाउने काम गरियो । पाँच/पाँच प्रतिशत तान्दा पनि ठुलो पैसा आइडल भयो । अहिले एसएलआर १२ छ, सिआरआर ६ छ । २० प्रतिशत चाहिने हो भने सिआरआरलाई १४ बनाइदिए हुन्छ नी । एसएलआर १४ र सिआरआर ६ गरेर २० बन्छ अनि सीसीडी हटाइदिए हुन्छ । त्यसो भयो भने थप २ खर्ब रुपैयाँ लगानी योग्य पुँजी तत्काल बजारमा आउँछ । संसारभर यस्तै अभ्यास भैरहेको छ । नेपालमा पनि यस्तै गर्नुपर्छ भन्ने हामी बैंकरको भनाई हो । राष्ट्र बैंक र अर्थमन्त्रालयसँगको छलफलमा कस्तो प्रतिक्रिया पाउनुभयो ? हामी निरन्तर छलफल गरिरहेका छौं । उहाँहरु पनि सकारात्मक नै हुनुहुन्छ । एसएलआर बढाएर २० पुर्याउयनुस् भनेकै छौं । समस्याको समधान गर्नुको सट्टा धेरै तिरबाट चेप्ने काम नगरौं भन्ने मात्रै हो । २ अर्ब रुपैयाँ पुँजीका बैंक ८ अर्ब रुपैयाँमा पुगेका छन् । २ अर्ब पुँजी हुँदा ४० अर्ब रुपैयँ निक्षेप संकलन गर्ने बैंकहरुले अहिले १ खर्ब रुपैयाँ हाराहारीमा निक्षेप संकलन गरेका छन् । त्यसको २० प्रतिशत रकम आइडल हुनु भनेको त ठुलो कुरा हो । आज २२ खर्ब रुपैयाँको निक्षेप छ । जगेडा कोषमा मात्र प्रत्येक बैंकसँग औषतमा १० अर्ब रहँदा २ खर्ब ८० अर्ब रुपैयाँ हुन आउँछ । त्यसरी हेर्दा कुल २४ खर्ब ८० अर्ब रुपैंयाँ हुन आउँछ । त्यसको २० प्रतिशत भनियो भने ५ खर्ब रुपैयाँ हुन आउँछ । ५ खर्ब रुपैंयाँ आइडल बसेको छ । सीसीडी हटायो भने तत्काल २ खर्ब रुपैयाँ ऋण लगानी बढाउन सकिन्छ । ३ खर्बले सिआरआर र एसएलआर व्यवस्थापन गर्न सकिन्छ । २ खर्ब लगानी योग्यपुँजी तत्काल ऋण लगानी गर्न सकियो भने तत्काललाई राहत मिल्छ । त्यतिञ्जेलमा निक्षेप पनि बढ्ला, सरकारी खर्च पनि बढ्छ, निर्वाचनको खर्च पनि वित्तीय प्रणालीमा आईसक्छ । हामीले अहिले सीसीडी रेसियोलाई गणनामा मिलाऔं वा सरकारी कोषको पैसा ल्याऔं भनेका हौं । अहिले प्रणालीमै समस्या आएको हो । त्यसैले सबै मिलेर समाधान गर्नु पर्छ भन्ने छ । अर्थसचिवले नै कानुन संसोधन गरेरै भने पनि समस्या समाधान गर्छाै भन्नु भएको छ । सरकारी कोषमा पैसा थुप्रिने तर लगानीकर्ताले ऋण नपाउने कुरा ठिक भएन भन्नु भएको छ । त्यस्तो अवस्थामा मौद्रिक अर्थतन्त्रले काम नगरेको सन्देश जान्छ । हामीले चन्दा मागेका होइनौं, निक्षेपका रुपमा दिनोस, हामी ब्याज दिन्छौं भनेका हौं । चाहिएका बेलामा लैजानुस् पनि भनेका छौं । राष्ट्र बैंकले नै निक्षेप संकलन भन्दा बढि कर्जा लगानी किन गरेको भनेर यहाँलाई प्रश्न गरिरहेको छ । यसको कारण के हो ? कति निक्षेप बढाउने, कति कर्जा बढाउने ? कति आर्थिक वृद्धिदर हासिल गर्ने भन्नेबारे केन्द्रिय बैंकले योजना बनाउने हो । ७.२ प्रतिशत आर्थिक वृद्धिदर २० प्रतिशत कर्जा बढ्नुपर्छ । २० प्रतिशत कर्जा बढ्न निक्षेप २५ प्रतिशतले बढ्नु पर्छ । हामीले सोही उदेश्य अनुसार नै १६/१७ प्रतिशत मात्रै कर्जा प्रवाह गरेका हौं तर निक्षेप अपेक्षाकृत रुपमा बढेन् । निक्षेप नबढी कर्जा किन बढाएको भन्ने प्रश्न आएको छ । एउटा बैंकरले कति निक्षेप बढ्छ भनेर आंकलन गर्न सम्भव हुन्न । हामी बैंकरले भोली के हुन्छ ? भन्ने अनुमान गरेर कर्जा लगानी गर्ने हो । चुनाव भयो, स्थिर सरकार आउँदैछ, स्थानीय तहले काम गर्छन र निक्षेप पनि बढ्छ भनेर कर्जा लगानीको योजना बनाएका थियौं । तर चुनावको पैसा आउन पनि ढिलो भयो अनि सरकारी खर्च पनि बढेन् । फेरी सबै बैंकले धेरै कर्जा प्रवाह गरे भनेर आरोप लगाउन पनि मिल्दैन् । कुनै बैंकको कर्जा वृद्धिदर ८० प्रतिशतसम्म छ, कतिपयले ६ प्रतिशत मात्रै कर्जा बढाएका छन् । मेरै बैंकको कर्जा वृद्धि जम्मा ६ प्रतिशत मात्रै छ । त्यसैले सबैलाई दोष दिन मिल्दैन् । वित्तिय क्षेत्रले आर्थिक वृद्धिदर र मौद्रिक नीतिको मर्म अनुसार अलि बढी नै महत्वकांक्षी भएर काम गर्दा समस्या आएको हो । रेमिटेन्स घटेको छ, त्यो किन घट्यो भनेर अध्ययन गरिनुपर्छ । भन्सारले समातेका सुनहरुको भुक्तानी कसरी भयो ? अनौपचारिक अर्थतन्त्र मौलाएको होकी भनेर पनि सोच्नु पर्ने बेला आएको छ । १२/१३ प्रतिशत ब्याज दिँदा पनि निक्षेप बढेन, किन ? ब्याजदर बढाउँदैमा प्रणालीमै नभएको पैसा आउने होइन् । बजारमा पैसा भए पो ब्याजदर बढाउँदा निक्षेप पनि बढ्छ । अहिले त बजारमा पैसा नै छैन् । अहिले ब्याजदर बढाउनु भनेको एउटा बैंकको पैसा अर्काे बैंकमा सार्नु मात्रै हो । संस्थागत निक्षेप कर्ताहरुको मोलमोलाई (बार्गेनिङ) ले मुद्धति निक्षेपको ब्याजदर बढाउने बाध्यता आईपरेको छ । लगानीयोग्य पुँजी अभावको अवस्था कहिले सुल्झिन्छ ? अब सुल्झिन थालिसक्यो । पुस मसान्तदेखि निक्षेपको परिचालन बढेको छ । ठुला निक्षेप कर्ताहरुले एउटाले १२ प्रतिशत दियो, तपाईले १३ दिनुस भनेर अलि अलि बार्गेनिङ गरिरहेका छन् । ब्याजदर बढाउन सबै भन्दा ठुलो भूमिका संस्थागत निक्षेपकर्ताकै छ । तर यतिबेला चाँही निर्वाचनमा गएको पैसा धमाधम बजारमा आईरहेको छ । निक्षेपको ब्याजदर २ अंकमा पुग्नु हुन्न । त्यसले कर्जाको ब्याजदर बढाउँछ र नेपाली उद्यमी व्यवसायीको उत्पादकत्व घट्छ । धेरै ब्याजदर हाम्रो अर्थतन्त्रले धान्दैन् । हामीले मुद्रास्फिति दरकै हाराहारीमा बचतको ब्याजदर कायम गर्नुपर्छ । निक्षेपको ब्याजदर दुई अंकमा पुग्नै हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता हो । सस्तोमा ऋण लिने वातावरण कहिले बन्ला ? २ बर्षअघि हामीले ६ प्रतिशतमा ऋण दिएका हौं । तर त्यो साह्रै थोरै थियो । फेरी पनि त्यस्तै अवस्था आउन सक्छ तर केहि समय चाँही अवस्य पनि लाग्छ । माघ भित्रैमा ११.१२ प्रतिशतको ब्याजदर ८.९ प्रतिशतमा झर्छ भन्ने लाग्छ । त्यसको आधार चाँही के हो त ? हामीले अधिक तरलता र न्युन तरलता समस्याको दीर्धकालिन समाधानका लागि सीसीडी रेसियो हटाउने वा सरकारी ढुकुटीमा रहेको पैसा निक्षेपका रुपमा दिनुस् भनेका छौं । सरकारी कोषबाट १ खर्ब रुपैयाँ आउन सक्ने सम्भावना छ । निक्षेपका रुपमा त्यो पैसा आयो भने समस्या समाधान हुन्छ । यस्तो कदमले न्युन ब्याजदर हुने र उच्चदर पुग्ने दुबै जोखिम हट्छ । सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार योजना कहाँ पुग्यो ? करिब २ सय वटा स्थानीय तहमा शाखा विस्तार भैसकेको छ । थप १ सयवटामा विस्तारको काम अघि बढेको छ । कतिपय यस्ता स्थानीय तह छन जहाँ मान्छे पनि जाडो समयमा बसाई सरेर बेसी झर्छन् । त्यस्ता ठाउँमा त तत्कालै कसरी बैंकको शाखा खोल्न सकिन्छ र ? बैंकका शाखा खोल्न विद्युत, सडक, इन्टरनेट, सुरक्षा जस्ता पुर्वाधार अनिवार्य हुन्छन् । एउटा शाखामा पाँच जना कर्मचारी आवश्यक पर्छन् । ४ हजार नयाँ कर्मचारी तत्काल चाहिन्छ, त्यस्ता जनशक्ति पनि अहिले छैन् । काठमाडौंको मान्छेलाई लोमान्थाङको शाखामा काम गराउन सकिन्न । त्यसका लागि स्थानीय मानिस नै तयार पारिसक्नु पर्छ । सुरुमा हामीले निक्षेप संकलन गर्ने प्रयोजनले मात्रै शाखा खोलेका छौं । अब कर्जाको सुबिधा पनि दिन्छौं । मेरै बैंकले पनि ५ वटा स्थानीय तहमा शाखा खोलिसकेको छ । अब छैठौं शाखा खोल्ने प्रक्रिया अघि बढेको छ । स्थानीय तहमा बैंकको शाखा विस्तार गर्दा वित्तीय पहुँच विस्तार पनि हुन्छ र हामीलाई निक्षेप बढाउन पनि सहयोग नै पुग्छ ।