बैंक अफ काठमाण्डूको ७९ औं शाखा सुन्दरबजारमा
काठमाडौं । बैंक अफ काठमाण्डू लि.ले आफ्नो ७९ औं शाखा कार्यालय सुन्दरबजारमा विस्तार गरको छ । बैंकले बुधबार एक समारोहका बीच उक्त विस्तारित शाखाको उद्घाटन गरेको हो । उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालक मदनलाल जोशी, सुन्दरबजारका मेयर जनकराज मिश्र तथा लमजुङ्ग चेम्बर अफ कमर्शका अध्यक्ष राजेश थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०७४/२०७५ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ७० अर्ब ४३ करोड रुपैयाँ परिचालन गरी कुल कर्जा ६४ अर्ब ६६ करोड रुपैयाँ प्रवाह गरेको छ । हाल बैंकले ७९ शाखा, ६७ एटीएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बैंकिङ सेवाबाट आप्mनो ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
अगामी साफा बैठक अफगानिस्तामा हुने, यो वर्षको नेतृत्व नेपालले गर्दै
काठमाडौं। दक्षिण एसियाली लेखा व्यवसायी महासंघ(साफा)को आगामी वर्षको ५२ औं बैठक अफगानिस्तानमा हुने भएको छ । बिहीबार राजधानीमा सम्पन्न ५१ औं सञ्चालक समितिको बैठक तथा ८६ औं एसेम्बली बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार उक्त ५२ औं वैठक अप्रिल ५–६ तारीखमा हुने भएको छ । यदि अफगानिस्तानमा सुरक्षाका कारण हुन नसके विकल्पको रुपमा भुटान वा श्रीलंकालाई छनौट गरिएको साफाले जनाएको छ । त्यसैगरी बैठकले साफाको अध्यक्षमा नेपालकातर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्व अध्यक्ष सिए सुबोधकुमार कर्णलाई मनोनित गरेको छ । उनी सन् २०१८ का लागि अध्यक्ष भएका हुन् । उपाध्यक्षमा भारतका सीएमए पीभीएस जगनमोहन राव मनोनित भएका छन् । त्यस्तै बिहीबार सम्पन्न साफाको पहिलो बैठकले विभिन्न ८ उपसमितिले प्रस्तुत गरेको एजेन्डालाई अनुमोदन गरेको छ । विश्वको पछिल्लो लेखा व्यवसायको चुनौति र समय सापेक्ष गरिनुपर्ने परिवर्तनका विषयमा छलफल भएको बताइएको छ । बैठकमा चार्टर्ड एकाउन्टेन्सहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेस (आइएफएसी) अन्तर्गतको चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड एकाउन्टेन्सी (सीआईपीएफए)सँग प्राविधिक सहयोग आदान प्रदान गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको जनाइएको छ । सहमतिमा चार्टर्ड एकाउन्टेन्टहरुको क्षमता अभिवृद्धि गर्नको लागि सेन्टर अफ एक्सिलेन्स खोल्ने सम्बन्धमा प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख छ ।
नेपालमा दैनिक २५ लाख अण्डा उत्पादन, अन्तर्राष्ट्रिय बजार खोजिदै
काठमाडौं । अण्डा उत्पादनमा नेपाल आत्मानिर्भर बनेको छ । मासु लगायत अन्य बस्तुहरु विदेशबाट आयत गर्नु परिरहेको बेला अण्डा उत्पादनमा नेपाल आत्मानिर्भर बनेको हो । दैनिक नेपालमा २५ लाख अण्डा उत्पादन हुँदै आएको छ । त्यसमध्ये ६५ प्रतिशत अन्डा उत्पादन चितवन जिल्लामा मात्रै उत्पादन हुँदै आएको नेपाल अण्डा उत्पादक संघका कार्यकारी अधिकृत शिव प्रसाद बरालले जानकारी दिए । नेपाली अण्डाको बजार व्यावस्थापनमा कुनै पनि समस्या नरहेको बताउँदै अब नेपाली अण्डालाई अन्तराष्ट्रिय बजारमा समेत पुर्याउने प्रयास भैरहेको बरालले बताए । अहिले महासंघले प्रतिगोटा अण्डाको मूल्य १२ रुपैंया तोकेको छ ।
नेसनल ट्रेडिङको खारेजीले भारतमा रहेको करोडौंको जग्गा गुम्ने
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेसनल ट्रेडिङ लिमिटेड खारेजी हुदै गर्दा भारतको कोलकोतामा उसको नाममा रहेको करोडौं मूल्यको जग्गा गुम्ने भएको छ । भारतमा जग्गा भाडामा लिएवापत नेसनलले मोहियानी हक पाउँछ । कम्पनीनै खारेज भएपछि मोहियानी हकवापत पाउने करोडौ मूल्य पर्ने जग्गा गुमाउने अवस्था आएको आपूर्ति मन्त्रालयले जनाएको छ । कोलकोताको सरकारी अड्डाहरु रहेको सो स्थानमा वि.सं. २०२६ सालमा ट्रेडिङले आफ्नो शाखा खोलेर हालसम्म सोही शाखामार्फत ट्रेडिङले भारतसँगको व्यापारअघि बढाउदै आएको आपूर्ति मन्त्रालयको उपसचिव लवराज जोशीले बताए । उनका अनुसार जग्गा भोगचलन गरेवापत नेसनलले मोहियानी हक वापत जग्गा पाउने छ । पश्चिम बंगालको कानुन अनुसार कुनै पनि एकै स्वामित्वको व्यक्ति वा सस्था एकै स्थानमा १० बर्षभन्दाबढी बसे मोहियानी हक लाग्छ । जसअनुसार ट्रेडिङले पनि जग्गावालाबाट निश्चित जमिन पाउने उनको भनाइ छ । ‘१० वर्षभन्दा बढी एकै ठाँउमा एकै स्वामित्वको कम्पनी हालसम्म रहेको हुनाले मोहियानी हक अन्तर्गत ट्रेडिङको जग्गा कोलकोता रहेको स्थानमा कम्पनीले जमिन पाउने भएको हो,’ उनले भने ‘जसमा सामान्य (१२/१२ को) आठदेखि १० कोठा हुने गरिको जमिन पाउने देखिएको छ ।’ जमिनको मूल्य करौडौं रुपैयाँ पर्छ । सामान्यतया त्यहाँ जग्गा खरिद गर्नै नसकिने उनको बुझाइ छ । उनका अनुसार पछिल्लो समय त्यहाँ ट्रेडिङ रहेको पुरानो घरलाई भत्काएर जग्गाधनीले सिटी सेन्टर बनाउने योजना अघि सारेको छ । ‘यदि सिटी सेन्टर बनाए पनि ट्रेडिङले मोहियानी हक अनुसारको १००० स्क्वायर बराबरको जमिन पाउने भएको छ,’ उनले थपे ‘जसमा उल्लेखित करिब १० कोठा निस्कनेछ ।’ ट्रेडिङ खारेज भएपछि सो जग्गा नेपाल सरकारको स्वामित्वमा आउछ आउदैन त्यो भन्न नसकिने उनको भनाइ छ । सम्झौता अनुसार स्वामित्व (मोही) परिवर्तन भएको खण्डमा मोहियानी हक नपाउने कानुन रहेको उनले बताए । त्यस्तै आपूर्ति मन्त्रालयका प्रवत्ता मुकुन्दप्रसाद पौड्यालले अहिले कलकत्तामा एक तलाको फ्लाट भएको ट्रेडिङको विल्डीङ रहेको बताए । ‘कोलकोता स्थित नेपालको महावाणिज्य दुतावसा नजिकै छ,’ उनले भने ‘अब ट्रेडिङ नै खारेजी हुने भएपछि उक्त जग्गा सम्बन्धमा अन्योले देखिएको छ ।’ मन्त्रालयका अनुसार उक्त जग्गा कोलकोताको केन्द्र भएको तथा नजिकै भारतीय सरकारी अड्डाहरु, समुद्रीक बन्दरगाहा लगायत रहेको कारणले पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण छ । सरकारले व्यापार गर्नका लागि वि.सं. २०१८ सालमा नेसनलको स्थापना गरेको हो । कम्पनी स्थापना गर्न चीनको सहयोग थियो । ट्रेडिङले चामल, चिनी, मल, कृषि उपकरण, विद्युतिय यन्त्र, सिमेन्ट, छड, मदिरा र ड्युटी फ्रिका वस्तुको खरिद बिक्री गर्दै आएको थियो । सोही क्रममा कम्पनीले पाँच दशकअघि भारत र नेपालको व्यापारलाई सहज बनाउन भारत स्थित कोलकोताको हारबोर्ड रोडमा आफ्नो शाखा स्थापना गरेको थियो ।
एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०८४ रुपैयाँ
काठमाडौं । शुक्रबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९६ रुपैयाँ रहेको थियो ।
जीतबहादुर र लक्ष्मीबहादुरलाई २८ करोडको धक्का, एनसीसी बैंकको संस्थापक सेयर मूल्य १७० कि २१० रुपैयाँ ?
काठमाडौं । एनसीसी बैंकको ७० लाख कित्ता सेयर सेयर लिलामीमा राखेको जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ (एनबी समूह)लाई २८ करोड रुपैयाँको ध्रक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा प्रतिकित्ता ४० रुपैयाँ कम तोकेरे सोही बैंकको संस्थापक सेयर बिक्री गर्न नेपाल इन्स्योरेन्स कम्पनीले लिलामीको सूचना प्रकाशित गरेपछि श्रेष्ठ दाजुभाईलाई २८ करोड घाटाको जोखिम देखिएको छ । एनबी समूहले एनसीसी बैंकको संस्थापक सेयर प्रति कित्ता २१० रुपैयाँ न्यूनतम मूल्य राखेर ७० लाख कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको भोलिपल्ट नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । एनबी समूहका लक्ष्मी, जेन र जीतबहादुर श्रेष्ठ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ मूल्य पाउने सम्भावनालाई कमजोर बनाएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ । लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटललिनले जनाएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो । एउटै कम्पनीकाे संस्थापक सेयर मूल्य देखिएकाे यति ठूलाे अन्तर संयाेग मात्र हाे वा कपाेर्रेट वार हाे ? भविष्यमा खुल्दै जाने छ ।
छुट्टै महिला समिति बनाउने निर्णय गर्दै, सकियो साफा मम्मेलन
काठमाडौं। राजधानीमा गएको मंगलबारदेखि सुरु भएको दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलन बिहीबार सम्पन्न भएको छ । सम्मेलनको ५१ औं सञ्चालक समितिको बैठक तथा ८६ औं एसेम्बली बैठकले साफामा छुट्टै महिला लेखा व्यवसायी सम्बन्धि समिति बनाउने निर्णय गरेको हो । सार्क क्षेत्रमा महिलाहरुको लेखा व्यवसायमा बढीभन्दा बढी आबद्धता बढाउने उद्देश्यले बैठकले त्यस्तो सैद्धान्तिक सहमति गरेको छ । सहमति अनुसार बन्ने महिला समितिमा सम्पूर्ण पदाधिकारी महिला नै हुने बताइएको छ ।
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै अटोप्राइज प्रणाली अनुसार निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजलमा र मट्टीतेलमा २/२ रुपैयाँले मूल्य समायोजन गरेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर एक सय अमेरिकी डलर बढाएको छ । मूल्य समायोजन गरेपछि पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य क्रमशः १०४, डिजेल र मट्टीतेललाई ८३ रुपैयाँ पर्ने भएको छ । मूल्य बढे पनि निगमलाई यो पाक्षिक (१५ दिन)मा १४ करोड ९२ लाख रुपैयाँ घाटा हुने निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए ।